कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३२

क्वियरफोबिया न्यूनीकरणमा शिक्षकको हात

प्रणेता

विद्यालय तहमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायबारे पढाउन थालिएको छ, जुन विशेषतः समाजमा पहिचानविहीन जीवन बाँचिरहेकाहरूका निम्ति सुखद पक्ष हो । यस समुदायका विद्यार्थीले पाठ्यवस्तुमा आफूलाई देख्न पाउने भएका छन् भने, सबैखाले विद्यार्थीले आफू वरपरको संसारबारे प्रामाणिक र यथार्थ बुझाइ हासिल गर्न ज्ञानको औपचारिक स्रोत पाएका छन् । 

क्वियरफोबिया न्यूनीकरणमा शिक्षकको हात

पाठ्यवस्तुमा भएका कमीकमजोरी सुधारिँदै जालान्, परिमार्जन गरिएलान् । जे होस्, आधारभूत तह कक्षा ६, ७ र ८ को स्वास्थ्य शारीरिक तथा सिर्जनात्मक कला, माध्यमिक तह कक्षा १० को सामाजिक अध्ययन र कक्षा १२ को सामाजिक अध्ययन तथा जीवनोपयोगी विषयमा यौनिक तथा लैंगिक अल्पसंख्यक (एलजीबीटीक्यूआईप्लसप्लस) सम्बन्धी पाठ्यवस्तु पछिल्ला दुई–तीन शैक्षिक सत्रदेखि पढाइँदै आइएको छ । महिला र पुरुषभन्दा फरक पहिचान भएको बताउने अर्थात् सीमान्तकृत यौन अभिमुखीकरण, लैंगिक पहिचान तथा यौन विशेषता (यौभिकयौता) का हरूलाई क्वियर व्यक्ति पनि भनिन्छ, जसलाई अंग्रेजीमा सेक्सुअल ओरिएन्टेसन, जेन्डर आइडेन्टिटी, जेन्डर एक्सप्रेसन एन्ड सेक्स क्यारेक्टरिस्टिक्स (सोजिसेक) भएका व्यक्ति भनिएको छ ।

शिक्षामा समावेशिताको अवधारणा लागू गर्न नेपालको राष्ट्रिय शिक्षा नीति–२०७६ ले यसको उद्देश्य, रणनीति तथा नीतिहरूमा सबै किसिमका वर्ग, समुदाय, भाषाभाषीका विद्यार्थीको शिक्षामा पहुँच बनाउने व्यवस्था गरेको छ । यस नीतिको व्यावहारिकताका लागि विद्यालय तहका पाठ्यपुस्तकमा क्वियर समुदायबारे विषयवस्तु राखिनु सकारात्मक त छँदै छ, त्योभन्दा महत्त्वपूर्ण छ तिनलाई कक्षाकोठामा प्रसार गर्ने शिक्षक वर्ग विषयवस्तु, व्यवहार र चेतना दुवै हिसाबले स्पष्ट र निष्पक्ष हुनु ।

यहाँ एक विषम यौनिक व्यक्ति (स्ट्रेट पर्सन) का रूपमा रहेको शिक्षकले यौनिक तथा लैंगिक अल्पसंख्यक (एलजीबीटीक्यूआईप्लसप्लस/क्वियर/यौभिकयौता) समुदाय सम्बन्धित पाठ्यवस्तुलाई सबै धर्म, जात, लिंग (सेक्स), लैंगिकता (जेन्डर), यौनिकता (सेक्सुआलिटी) भएका विद्यार्थीमाझ कसरी प्रभावकारी रूपमा प्रस्तुत गर्न सक्छ र विपरीत यौनिकता (हेटेरोसेक्सुआलिटी) लाई मात्र सामान्य र प्राकृतिक ठान्ने सामाजिक सोचलाई कसरी खारेज गर्न सक्छ भन्नेबारे बहस चलाउन खोजिएको छ ।

सैद्धान्तिक स्पष्टता

एलजीबीटीक्यूआईप्लसप्लस व्यक्ति वा यौभिकयौता विशेषताका व्यक्तिसम्बन्धी पाठ्यवस्तु विद्यार्थीसामु राख्नुअघि शिक्षकमा तत्सम्बन्धी सैद्धान्तिक स्पष्टता हुनु पहिलो सर्त हो । विषयप्रति अस्पष्टता छ वा पाठ्यवस्तुमा उल्लेख गरिएको परिभाषा वा परिचयप्रति केही सन्देह छ भने पनि शिक्षक अतिरिक्त अध्ययन सामग्रीको सहयोग लिएर यसबारे पूर्ण जानकार हुनु अति जरुरी छ । लेखक तथा दलित क्वियर अभियन्ता गौरी नेपालीले ‘विद्यालय तहको पाठ्यक्रममा समावेशिताका सम्बन्धमा तयार गरेको अवस्था पत्र’ मा कक्षा १२ को सामाजिक अध्ययन तथा जीवनोपयोगी

पाठ्यपुस्तकमा पाठ्यक्रम निर्माताद्वारा ‘सूचना दिनमा केही भूल भएको, ट्रान्सजेन्डर (पारलैंगिक) लाई ट्रान्ससेक्सुअलका रूपमा चिनाएको’ उल्लेख गरेकी छन् । जबकि यसले सर्जरी र हर्मोन थेरापीमार्फत आफ्नो जन्मजात लिंगको अवस्थालाई परिवर्तन गरिसकेको व्यक्तिलाई जनाउँछ । यसरी सिद्धान्ततः अस्पष्टता भए न विद्यार्थीमा सही ज्ञान प्रसारित हुन्छ न घुर्मैलो मस्तिष्क लिएर शिक्षकले विद्यार्थीलाई सम्बन्धित विषयबारे छर्लंग पार्न सक्छ । पहिचानविहीन बनाइएका वा अपमानजन्य शब्दावलीद्वारा सम्बोधन गरिँदै आएका व्यक्तिलाई समाजमा चिनाउन शिक्षक उनीहरूको पहिचान र परिचयबारे सैद्धान्तिक रूपले पूर्ण परिचित हुनु अत्यावश्यक छ । जकडिएको विभेदकारी मानसिकताविरुद्ध सांस्कृतिक र शैक्षिक परिवर्तन ल्याउन शिक्षक साधन भएर मात्र पुग्दैन, प्रसारण गर्ने विषयवस्तुबारे दखल भएको ज्ञाता बन्न सक्नुपर्छ ।

विविधतालाई सम्मान र स्वीकार गर्ने त्याचलैंगिक (सिस्जेन्डर) शिक्षकले विभिन्न लैंगिक पहिचान तथा यौन अभिमुखीकरण भएका विद्यार्थीप्रति समानुभूति (इम्प्याथी) राख्न सक्नुपर्छ । जन्मँदा लिएर आएको शरीरसँग मेल खाने लैंगिक अनुभूति भएको व्यक्ति (महिला वा पुरुष) का रूपमा शिक्षकले जन्मँदा लिएर आएको यौनांगका आधारमा इंगित गरिएको लिंगसँग मेल नखाने लैंगिक पहिचान भएका पारलैंगिक विद्यार्थी (ट्रान्सजेन्डर) हरू, आफूलाई महिला वा पुरुषभन्दा फरक मान्ने र यी दुवैभन्दा फरक र भिन्न भनी पहिचान गराउने तेस्रो लिंगी विद्यार्थीको स्वानुभूतिप्रति समानुभूतिजन्य भावना राखी सोहीअनुरूप व्यवहार गरेमा उनीहरूमा सञ्चारसम्बन्धी आत्मविश्वास कैयौं गुणा वृद्धि हुन्छ ।

वेब सिरिज ‘हेर्ने कथा’ को चौबीसौं अंकमा पर्वतका विनोद परियारले विद्यालय पढ्दाताका आफ्नो पहिचानसँग जोडिएका नमिठा अनुभवहरू साटेका छन्, ‘मलाई क्लासमा कुनै पनि केटाले साथी भनेर कहिल्यै एसेप्ट गरेनन् । मेरा साथीहरू गर्ल्स (केटीहरू) हुन्थे ।’ कथाको भिडियोमा पनि उनी छात्राहरूको समूहमा घुलमिल भएर गफ गरिरहेका देखिन्छन् । उनले थप भनेका छन्, ‘एकातिर म दलित, अर्कोतिर मेरो अस्तित्वमा मान्छेले सवाल उठाउन थाले । मेरो ड्याडी ५ वर्ष हुँदा गयो । त्यसपछि मैले फोन हान्दा तँ यस्तो क्याटगोरीको होस्, तँ छक्का होस्, मैले तँलाई किन सम्पत्ति जोगाउनु, मलाई तेरो केही वास्ता छैन भन्नुभयो । मलाई यो समाजले स्विकार्न चाहन्न । वरिपरि मान्छेले ह्युमिलेट र नेग्लेट गरिरहन्छन् ।’ यी दलित क्वियर (दलित पारलैंगिक) महिलाको विद्यालयमा सहपाठीहरूदेखि परिवारसम्मको तीतो अनुभव दक्षिण एसियाको जात व्यवस्थामा आधारित सामाजिक संरचनामा दलित समुदाय र क्वियर समुदाय दुवैले भोग्नुपर्ने यथार्थ हो । यी विविध हिंसात्मक भोगाइहरूमा ब्राह्मणवादी विषम यौनिकतामा आधारित पितृसत्तात्मक समाजले दलित यौनिक तथा लैंगिक अल्पसंख्यक व्यक्तिहरूमाथि गरिरहेको ऐतिहासिक विभेद तथा बहिष्करण प्रतिबिम्बित भएको छ । यस्तोमा चेतना र व्यवहार परिवर्तनका संवाहक शिक्षकले पनि उनीहरूप्रति हीनभावना राख्नु असंवेदनशील र आलोच्य हुन जान्छ ।

अतः शिक्षक समाज र सिकिरहेका विद्यार्थीको यही विषम यौनिकता समभाव (हेटेरोनर्मेटिभिटी) अर्थात् विपरीतलिंगी व्यक्तिप्रति मात्रै समभाव राख्ने, महिला वा पुरुषलाई मात्र सामान्य र प्राकृतिक ठान्ने सोच/दृष्टिकोणलाई खारेज गर्न कक्षाकोठाको सोचमा परिवर्तन ल्याउने गरी प्रयत्नशील बन्न सक्छ । शिक्षकले समाजका एलजीबीटीआईक्यूप्लसप्लस लगायत बहुल सीमान्त समुदायलाई पहिचान दिलाउने र समाजमा स्वीकृत पात्र बन्ने गरी आफ्ना पाठयोजनाहरू क्वियर सिद्धान्तमा आधारित भई तयार गर्न सक्छ । यसकारण फरक यौनिकता र लैंगिकताको अनुभूति गर्ने विद्यार्थीलाई खुल्न प्रेरित गर्ने सम्मानजनक वातावरण बनाउने र आफूलाई स्वस्फूर्त चिनाइसकेका क्वियर विद्यार्थीमा शैक्षिक प्रगतिका लागि आत्मविश्वाससहित करुणा (कम्प्यासन) भर्नेदेखि सबै खाले विद्यार्थीलाई जोड्न निष्पक्ष व्यवहार प्रस्तुत गरेर कोही शिक्षक क्वियर व्यक्तिप्रति भावनामा ‘समानुभूतिसहितको क्वियर शिक्षक’ बन्न सक्छ । यस्ता प्रयासहरूमार्फत हरेक शिक्षकले हरेक यौनिकता र लैंगिक पहिचानका विद्यार्थीहरूका निम्ति महत्त्वपूर्ण सकारात्मक प्रतिनिधि पात्र बन्ने चेष्टा राख्नुपर्छ ।

क्वियरमैत्री कक्षाकोठा र विद्यालय प्रशासन निर्माण

आफ्नो लैंगिक पहिचान वा यौनिकताबारे स्पष्ट भइसकेका र सोहीअनुरूप खुलेर आफूलाई चिनाउने सवालमा क्वियर समुदायप्रति परिवार र समाज कति लचिलो या संवेदनशील छन् भन्ने विषयले महत्त्व राख्छ । यसर्थ विद्यालय र कक्षाकोठा संस्कृति जति क्वियर समुदायमैत्री हुन्छ, उति विद्यार्थी आफूलाई सहजतापूर्वक चिनाउन उत्प्रेरित हुन्छ । आफ्नो भावना, रुचि, स्वभावजन्य विशेषता थाहा पाएर पनि आफू के हुँ वा होइन भनेर ठम्याउन नसकेका विद्यार्थीलाई शिक्षकले पाठ्यपुस्तक वा बाह्य सामग्रीको सहायतामा प्रसार गर्ने सैद्धान्तिक ज्ञान (शब्दावली, परिभाषालगायत) ले आफूलाई चिन्न सहज हुन्छ । तसर्थ कक्षादेखि समग्र विद्यालय प्रशासन क्वियर बालबालिकालाई सुरक्षित आभास गराउने गरी मैत्रीपूर्ण हुनु आवश्यक छ ।

अमेरिकन फेडरेसन अफ टिचर्स (एएफटी) ले ‘सार्वजनिक विद्यालयहरूले प्रायः बृहत् समाजका लागि समावेशिता र बहुलवादको मोडल पछ्याउँछन्’ भनेको छ । उसका अनुसार, शिक्षकहरूले कक्षाकोठालाई समावेशी, सौहार्दपूर्ण र सुरक्षित बनाउन विभिन्न कदम चाल्न सक्छन् । जस्तै— कक्षाकोठा हरेक विद्यार्थीमैत्री छ भन्ने अनुभूति दिलाउन ढोकामा स्टिकर वा पोस्टरहरू टाँसेर त्यसलाई ‘सेफ स्पेस’ तोक्न सकिन्छ । यसले विद्यार्थीलाई आफ्नो शिक्षक एलजीबीटीक्य्मूैत्री छ, एलजीबीटीविरोधी भाषा वा उत्पीडनलाई चुनौती दिन इच्छुक छ भन्ने आभास गराउँछ । यसरी टाँसिएका ‘सेफ जोन स्टिकर’ हरूले विद्यार्थीहरूलाई शिक्षक र विद्यालय प्रशासनसम्बद्ध सबै कक्षाकार्यका बेला होस् या सामान्य कुराकानीमा, एलजीबीटीआईबारे कुरा गर्ने खुला सोच राख्छन् भन्ने जनाउ दिन्छन् । एएफटीले विद्यालयमा एलजीबीटी समूह बनाउन सुझाएको छ । त्यस्ता समूहहरूबाट पाठ्यक्रम र विद्यालयको वातावरणलाई अनुकूल बनाउन, त्यहाँको असमानता सम्बोधन गर्न, एलजीबीटी विद्यार्थीहरूविरुद्ध भेदभाव न्यूनीकरण गर्ने दिशामा प्रतिरोधका लागि सघाउन, उनीहरूको हितलाई प्रवर्द्धन गर्न र विद्यालयमा चेतना जगाई सुरक्षित तथा मैत्रीपूर्ण वातावरणलाई बढावा दिन सकिन्छ । यी समूहले विद्यालय नीति र पाठ्यक्रम समावेशी छन् भनी सुनिश्चित गर्न सक्छन् भन्ने मान्यतामा एएफटीले एलजीबीटी समूह गठन गर्न सुझाएको हो ।

एएफटीले शिक्षकलाई ‘होमोफोबिया’ विरुद्ध उभिन पनि सुझाव दिएको छ । उसले गे लेस्बियन र स्ट्रेट एजुकेसन नेटवर्क (जीएलएसईएन) को एउटा अनुसन्धान उल्लेख गर्दै भनेको छ, ‘एलजीबीटीक्यू युवाहरूले आफ्ना साथीहरूका तुलनामा धेरै बुलिङको सामना गर्नुपर्छ । र, यसले आत्महत्याजस्तो कहालीलाग्दो हृदयविदारक परिणाम निम्त्याउँछ । शिक्षकहरूले यही प्रवृत्ति बदल्न मद्दत गर्न सक्छन् ।’ उल्लिखित नेटवर्कले बुलिङ, पूर्वाग्रह र विविधतासम्बन्धी पाठ्य योजनाहरू प्रदान गर्छ जसलाई शिक्षकहरूले

आफ्ना विद्यार्थीलाई प्रशिक्षित गरेर अपेक्षित ज्ञान दिलाउन प्रयोग गर्न सक्छन् । सबै उमेरका विद्यार्थीले कक्षाकोठामा कहिलेकाहीं होमोफोबिक अभिव्यक्ति दिन्छन् र त्यस्तो क्वियरद्वेषी बोलीवचन निषेधित छ भनेर शिक्षकले जनाउ दिनुपर्छ । शिक्षकले क्वियर समुदायसँगको बहस, अन्तर्क्रियामार्फत पनि विषयगत दक्षता हासिल गर्न सक्छ । यस्ता कार्यक्रमहरूबाट कुनै विद्यालय कति समावेशी, सुरक्षित र एलजीबीटीका लागि कत्ति सौहार्दपूर्ण, आत्मीय र मैत्रीपूर्ण छ भन्ने सुनिश्चित तथा निर्धारण गर्न टेवा पुग्छ । क्वियर अधिकारका लागि सैद्धान्तिक र व्यावहारिक रूपमा सक्रिय भएका नेतृत्वदायी व्यक्तिसँगको पटकपटकको बसाइले पाठ्यवस्तुमा सैद्धान्तिक स्पष्टता र व्यवहारमा संवेदनशीलता हुर्काउन सकिन्छ । क्वियर समुदायबारे विषयगत दक्षता पाएको शिक्षक कुनै विद्यार्थीलाई हुन सक्ने ह्यारेसमेन्ट र बुलिङलाई व्यवस्थापन गर्न उत्कृष्ट अभ्यासहरू अवलम्बन गर्न सक्षम हुन्छ । यसले क्वियर/एलजीबीटीआईक्यूप्लसप्लस विद्यार्थीलाई शिक्षक र विद्यालय दुवैले आफूलाई अन्यकरण गर्दैनन् भन्ने आत्मानुभूति दिन्छ, जसले गर्दा उनीहरूको खुसी र स्वस्थ शैक्षिक जीवन निर्धारण हुन सक्छ ।

अन्तमा, कलिला बालबालिकाले आफ्नो यौनिकता तथा लैंगिक पहिचानका कारण परिवार, विद्यालय वा समाजमा अपहेलित भएर आफ्नै जीवनलाई हानि नपुर्‍याऊन् भन्न, उनीहरूको अमूल्य जीवन अनिश्चितताको भुमरीमा नधकेलियोस् भन्न वा अध्ययन नबिगारुन् भन्न, शिक्षकले महिला र पुरुष भनी चिनिने द्वियौनिक (बाइनरी) समुदायको क्वियरद्वेषी मानसिकतामा परिवर्तन ल्याउन कक्षाकोठालाई मुख्य आधार बनाउन सक्छ । कक्षामा हिंसाविरोधी (एन्टिबुलिङ) नीतिहरू बनाएर, कुनै पनि क्वियर/पारलैंगिक विद्यार्थीलाई आम महिला वा पुरुषजस्तै नदेखिएकामा अपमानित महसुस गराएर वा एक्ल्याएर होइन कि विद्यार्थीले आफ्ना अनुभूति खुलेर भन्न सकेकामा प्रशंसा गरेर, क्वियर साथीप्रति दुर्भाव राख्ने सहपाठीहरूलाई हरेक लैंगिक पहिचान सामान्य र प्राकृतिक हुन् र ती सम्मानयोग्य, स्वागतयोग्य छन्, उनीहरूप्रति गरिने घृणायुक्त व्यवहार सामाजिक अपराध हो भन्ने बुझाएर हरेक शिक्षक क्वियर विद्यार्थीका लागि भरपर्दो व्यक्ति बन्न सक्छ ।

कक्षाकोठालाई समावेशी बनाउनपट्टि लाग्नुपहिले शिक्षकले यौनिक तथा लैंगिक पहिचानसम्बन्धी विविधतालाई मनैदेखि अँगाल्न जरुरी छ । शिक्षकले यी विविधता आत्मसात गर्नु भनेको विषम यौनिकता/विपरीत यौनिकता तथा लैंगिकतालाई मात्र ‘आँखा नबिझाउने यौनिकता वा लैंगिकता’ ठान्ने सामाजिक मानसिकता (हेटेरोनर्मेटिभिटी) मा वैचारिक परिवर्तन ल्याउने, समयौनिक वा पारलैंगिक वा सर्वयौनिक वा द्वियौनिक वा अन्तरलिंगी लगायत व्यक्तिप्रतिको त्रास (क्रमशः होमोफोबिया, ट्रान्सफोबिया, पानफोबिया, बाइफोबिया र इन्टरफोबिया) अर्थात् समग्रमा क्वियर व्यक्तिप्रतिको त्रास र घृणा (क्वियरफोबिया) लाई न्यूनीकरण गर्दै निमिट्यान्न पार्ने दिशामा प्रस्थानविन्दु हो । सीमान्तकृत यौनिक तथा लैंगिक पहिचानलाई समाजको मूलधारमा ल्याउने पहलको सुरुआत हो ।

प्रकाशित : माघ १, २०८० ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?