कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२२

सुरक्षा चासोमा पृथ्वीनारायणको उक्ति

छिमेकी देशहरूको निश्चित स्वार्थ पूर्ति गर्ने उद्देश्यका लागि सुरक्षा मामिलामा कूटनीतिक हस्तक्षेप हुन दिनु हुँदैन ।

ऐतिहासिक कालदेखि नेपालले अपनाउँदै आइरहेको सुरक्षा रणनीतिबारे चर्चा पर्दा पृथ्वीनारायण शाहको नाम छुटाउन मिल्दैन । सुरक्षा चासो सम्बन्धमा उनको उक्ति थियो, ‘सन्धिसर्पन हेरी गढी तुल्याई राख्नु र रस्ता–रस्तामा भाँजा हाली राख्नु । जाइ कटक नगर्नु, झिकी कटक गर्नु र श्रीगंगाजीको साँध पनि लाग्नेछ ।’

सुरक्षा चासोमा पृथ्वीनारायणको उक्ति

यसैबमोजिम सिन्धुलीगढी, रसुवागढी, जीतपुरगढी, मकवानपुरगढी जस्ता मुख्य–मुख्य प्रवेशनाकामा किल्ला बनाइएको थियो । नेपाल–अंग्रेज सीमायुद्धका सन्दर्भमा सिन्धुलीगढीतर्फ उक्लन लागेको क्याप्टेन किनलकको फौजका धेरै सैनिक मरेकाले अंग्रेज फौज उत्तर घुस्न सकेको थिएन ।

नेपाल–तिब्बत युद्धताका रसुवागढीबाट तिब्बती फौज नेपालतर्फ बढ्न नसक्नुको कारण पनि त्यही थियो । उनको उक्ति पढ्दा वर्तमानमा पनि राष्ट्रको सिमानामा सुरक्षा बल तैनाथ गर्नुपर्छ भन्ने बुझ्न सकिन्छ । तर पृथ्वीनारायणको उक्ति बेलामौकामा अनुसरण नभएकाले दक्षिण सीमारेखाको सुरक्षा हुन नसकी नेपालका ७१ भन्दा बढी ठाउँमा सीमा अतिक्रमण, मिचान, वादविवाद हुन पुगेको छ ।

सीमा व्यवस्थापन र शान्ति–सुरक्षा

देशको सीमा पद्धतिको व्यवस्थापन र जनताको शान्ति–सुरक्षाका सवालमा पृथ्वीनारायणले भनेका छन्, ‘पक्की किल्ला बनाउनु, किल्लैपिछे तोप लम्छट् गरि राषीदिनु र जति भञ्ज्याँ ई छन् भञ्ज्याँपीछे यक यक फलामे ढोका बनाई ढोकापिछे यक यक तोप लम्छट् गरि राषीदिनु र पपाच सिपाहिँ राषीदिनु र यस्व भयापछि चेवा गर्न्या, चर्चा गर्न्या, भागन्या, नास्न्या, ढुकुवा, फसादि, षुनि यस्ताहरूको पनि केही चल्नेछैन, चारै बादसाही चढाइँ गरि आयो भन्या पनि कसैको केही चल्न्या रहेनछ ।’ यस उक्तिको मनसाय हो— अंग्रेज अत्यन्तै चतुर जाति हो, लडाइँ–झगडा नगरी छलकपट गरेर भए पनि हाम्रो देशभित्र आउन सक्छन्, त्यसैले सन्धिसर्पन हेरी उचित ठाउँमा किल्ला बनाई रोक्न सकिन्छ ।

यसअनुसार सिन्धुलीजस्ता डाँडाको गढीमा अग्लो पर्खालको किल्ला बनाई फलामे तोप तथा बमगोलाहरू राखिएका थिए । देशको राजधानी रहेको काठमाडौंवरिपरिका चार भन्ज्याङ (साँगा भन्ज्याङ, थानकोट बाड भन्ज्याङ, काउले रानीपौवा भन्ज्याङ र लेले चन्द्रागिरि भन्ज्याङ) लाई प्रवेशनाका कायम गरिएको थियो । अचेल पनि यी भन्ज्याङहरूमा प्रहरी चौकी छन् र शान्ति–सुरक्षाका हिसाबमा यिनलाई संवेदनशील मानिएको छ । उपत्यकाभित्र कुनै आपराधिक घटना भएमा यी नाकाहरूमा कडाइका साथ चेक–जाँच गरिन्छ । स्मरणीय छ, थानकोट सुरक्षा जाँच टोलीले भारतको उत्तर प्रदेश सरकारका खाद्य तथा रसदमन्त्री सुरेन्द्रविक्रम सिंहका सहोदर भाइ ब्रजेशप्रताप सिंह तथा दुई भारतीय सुरक्षा अधिकारीसहित छ भारतीयलाई एक थान एसएमजी, एक थान पेस्तोलसहित केही वर्षअघि पक्राउ गरी भारतीय दूतावासमा बुझाएको थियो ।

यसबाट पनि पृथ्वीनारायणको दिव्य उक्ति कति सार्थक छ भन्ने प्रमाणित हुन्छ । नेपाली फौजका सम्बन्धमा पृथ्वीनारायणको भनाइ थियो, ‘सिपाहि भन्याको तिषारिराषनु तिषारिराष्याका सिपाहि कसैका मलाजामा पस्तैनन् र आफनु काज फत्य हुन्छ ।’ यसअनुरूप नेपाली सेनाले आफ्ना सैन्य बललाई तिखारिराख्न अर्थात् चुस्त राख्न विभिन्न तालिम तथा सैन्य शैक्षिक कोर्स सञ्चालन गर्दै आएको छ । उदाहरणका लागि, काठमाडौंको शिवपुरीमा आर्मी कमान्ड एन्ड स्टाफ कलेज, नगरकोटमा नेपाली आर्मी वार कलेज, भक्तपुरको खरिपाटीस्थित लप्टनडाँडामा मिलिटरी इन्टेलिजेन्स स्कुल चलिरहेका छन् । क्षेत्रगत स्तरमा पनि तालिमको प्रबन्ध गरिएको छ ।

युद्धकला तिखार्ने शैक्षिक कोर्स अथवा तालिम पूरा नगरेको सिपाहीलाई बढुवा गरिँदैन । नेपालको सुरक्षाका निम्ति चीनको सीमातर्फ ९ र भारतीय सीमातिर २४३ बोर्डर अब्जर्भेसन पोस्टमा सशस्त्र प्रहरी बल खटाइएको छ । उनीहरूलाई सीमा सुरक्षाका लागि सुसज्जित पार्न काठमाडौंको मातातीर्थमा रहेको सशस्त्र प्रहरी स्टाफ कलेजमा विभिन्न शैक्षिक कोर्स, प्यानल छलफल तथा तालिम दिने प्रबन्ध छ । यसबाट पनि पृथ्वीनारायणकालको सुरक्षाचासो आज पनि सान्दर्भिक रहेको बुझिन्छ ।

यसको अर्को पाटोको कुरा गर्दा, रकेट र मिसाइलको यो जमानामा हाम्रा गढीमा तोप र बमगोला राख्नुको के मतलब रहन्छ र भन्ने भनाइ आउन सक्छ । तर नेपाल–तिब्बत र अंग्रेज–नेपाल युद्धताकाका रसुवागढी र सिन्धुलीगढीमा रहेका यस्ता ऐतिहासिक पौराणिक वस्तु अवलोकन गर्न विदेशी र आन्तरिक पर्यटक आइरहेका छन् । यस्ता किल्ला र किल्लाभित्र रहेका सामरिक जिनिसको जगेर्ना र स्याहार–सम्भारको व्यवस्थापन आधुनिक तवरमा गर्न सके पर्यटन अवलोकनको मात्रा बढ्न सक्छ ।

पृथ्वीनारायणको उक्तिअनुसार गढी र किल्लालाई चुस्त–दुरुस्त राख्नका लगि होला, सिन्धुलीगढी र मकवानपुरगढी किल्लामा त्यस बेलाको झलक नमर्ने गरी हाल आधुनिक तरिकाले साजसज्जा गरिएको छ । स्वदेशी तथा विदेशी पर्यटक तथा भ्रमणकर्ताले टिकटका लागि तिरेको रकमले केही मात्रामा भए पनि प्रदेश सरकारले आय आर्जन गर्न सकेको छ ।

सरकारको सुरक्षाचासो

नेपालको सुरक्षा कार्यका सम्बन्धमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले दुई वर्षअघि जंगीअड्डामा दुइदिने कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय सुरक्षाको साझा चुनौती पहिचान गरी यसको सामना गर्न नेपाली सेना अगाडि बढ्नुपर्छ भनेका थिए । अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षाको अवस्था विश्लेषण गर्दै उचित रणनीति अपनाएर नेपाली सेनाले त्यो उत्तरदायित्व काँधमा लिएको छ । नेपाली सेनालाई समयमै प्रतिरक्षाका लागि तयार रहन पनि उनले स्मरण गराएका थिए । त्यसै कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाले राष्ट्रिय सुरक्षा र यसको स्थायित्वका लागि अविरल अध्ययन, मनिटरिङ र सुपरिवेक्षण गर्दै आइरहेको उल्लेख गर्दै यससम्बन्धी चुनौती सामना गर्न सदा तत्पर रहिआएको कुरा व्यक्त गरेका थिए ।

आकाशीय सीमा सुरक्षा

गत वर्ष नेपाली सेनाको सीमा अनुगमन तथा सर्भे निर्देशनालयले जंगीअड्डामा अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनसम्बन्धी दुईदिने सेमिनार आयोजन गरेको थियो । सेमिनारको समापनमा प्रधानसेनापति प्रभुराम शर्माले सुरक्षाको परिप्रेक्ष्यमा नेपाल–भारत खुला सीमा नियन्त्रणमा जोड दिँदै र सीमामा तारबार लगाउनुपर्ने उल्लेख गर्दै थपेका थिए, ‘अब आकाशको सिमानाको पनि कुरा गर्नुपर्छ । आकाशमा भएका रणनीतिका कारण देशको सुरक्षामा सकारात्मक–नकारात्मक प्रभाव पार्छ । हामीले आकाशे सीमाको पनि अध्ययन गर्नुपर्छ र नेपाली सेनालाई यसका लागि उपकरणले सुसज्जित गराउनुपर्छ । अन्य सुरक्षा निकायले नसकेको अवस्थामा भौगोलिक अखण्डताको रक्षा सेनाले गर्नुपर्ने संवैधानिक दायित्व रहेको छ ।’

निष्कर्ष

कुनै पनि राष्ट्रले बाह्य तथा आन्तरिक चुनौती सामना गर्नका लागि सुरक्षानीतिको तर्जुमा गर्नुपर्छ । सबै प्रकारका सुरक्षा खतराको न्यूनीकरण एवं सामना गर्दै शान्ति–अमनचैन कायम गरी देश विकास र समृद्धिको बाटोमा अघि बढ्नुपर्छ । जमिनको मात्रै होइन, आकाशीय सीमाबाट आइपर्ने खतरालाई पनि आजको सुरक्षानीतिमा सम्बोधन गर्नुपर्छ । आजभोलि ड्रोन उपकरणका माध्यमबाट शान्ति–सुरक्षा अनुगमन गर्ने प्रचलन आएको छ ।

नेपालका लागि सुरक्षा चुनौती खास गरी छिमेकी मुलुकहरूसँगको सीमा व्यवस्थापन, सीमा विवाद हो । नेपाली भूमि छिमेकी राष्ट्रविरुद्ध अवाञ्छित तत्त्वले उपयोग गर्न नपाओस् भन्नेमा सजग हुनुपर्छ । छिमेकी देशहरूको निश्चित स्वार्थपूर्ति गर्ने उद्देश्यका लागि सुरक्षा मामिलामा कूटनीतिक हस्तक्षेप हुन दिनु हुँदैन । नेपालले विगतमा अपनाएको सुरक्षा व्यवस्था र त्यसको कमीकमजोरीबाट उत्पन्न खतराबारे अध्ययन–अनुसन्धान गरी त्यस्ता जोखिमको सामना गरी समाधान गर्नेतर्फ विशेष ध्यान पुर्‍याउनुपर्छ ।

आइपर्ने सुरक्षा खतराका सम्बन्धमा समयमै गम्भीर भई आवश्यक कदम चाल्न सक्नुपर्छ । आवश्यक परेको खण्डमा राज्यले सामना गर्न सक्ने गरी नेपाली सेनालगायतका सुरक्षा निकाय देशको भौगोलिक अखण्डता, स्वाधीनता, सार्वभौमिकता र स्वतन्त्रताको रक्षा गर्न पूर्वतयारी अवस्थामा रहनुपर्छ । यिनै परिप्रेक्ष्यमा सुरक्षानीति तयार पार्दा पृथ्वीनारायणका पालादेखिका सैन्य क्रियाकलापलाई विश्लेषण तथा मनन गर्नुपर्छ ।

प्रकाशित : पुस २७, २०८० ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?