कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८६

तपाईंको मुटुको ख्याल अरूले गरिदिँदैनन्

उच्च रक्तचापको उपचार गरेका, नियन्त्रण भएकाको संख्या बढ्दै छ । चिनीरोगको उपचारमा उल्लेखनीय प्रगति हुँदै छ । शारीरिक व्यायाम गरेको पनि देखिन्छ, तर तनावयुक्त व्यक्तिहरू पनि कम छैनन् ।
राजेन्द्र कोजु

बिहान चार बजे अस्पतालबाट फोन आयो । धुलिखेल अस्पतालको आकस्मिक कक्षबाटै सहकर्मी चिकित्सकले भन्नुभयो, ‘३४ वर्षीय पुरुषलाई एक घण्टादेखि छाती दुख्यो भनेर इमर्जेन्सीमा ल्याइएको छ । ईसीजीमा मायोकार्डियल इन्फार्कसन (हृदयाघात) को परिवर्तन देखिएको छ । रगतको रिपोर्ट आउन बाँकी छ ।’

तपाईंको मुटुको ख्याल अरूले गरिदिँदैनन्

थप सोधपुछपछि मैले हृदयाघात भएको र तुरुन्तै क्याथल्याबमा लगेर पीसीआई गर्नुपर्ने निर्णय गरी सो अनुसार तयार गर्न भनें । र, अस्पताल पुगें । म अस्पताल पुग्दा चिकित्सक एवं नर्स साथीहरू क्याथल्याबमा छाती दुखेका भाइलाई टेबलमा राखेर आवश्यक तयारी गर्दै थिए । चिकित्सकले भाइका परिवारजनलाई क्याथल्याबमा पीसीआई (एन्जियोग्राम/एन्जियोप्लास्टी) गर्नुपर्ने कारण र यसबाट हुन सक्ने खतराबारे बताइसक्नुभएको थियो ।

क्याथल्याबका लागि लुगा फेरेर भित्र गएपछि मैले भाइको अनुहार हेरें । आवश्यक सोधपुछ सहकर्मी साथीहरूले गरिसके पनि, मैले नजिक गएर नामले बोलाएर सोधें, ‘कति बेलादेखि छाती दुखेको ?’

‘दुई घण्टाजति भयो ।’ भाइले भन्नुभयो ।

‘यस्तो पहिला कहिल्यै दुखेको थियो ?’

‘छैन ।’

इमर्जेन्सीमा रगत पातलो हुने औषधि, छाती दुखाइ कम हुने औषधि दिइसकिएको थियो । नाक–मुख छोपिने गरेर अक्सिजनको मास्क, हातमा भेन खोलिएको थियो ।

‘अहिले कस्तो छ छातीको दुखाइ ?’ सोधें ।

‘दुखिराखेको छ ।’

सहकर्मी चिकित्सकले दाहिने हातको नाडी र खुट्टाको काछमा स्टेराइल पेन्ट गरिसकेर ड्रापले छोपिसक्नुभएको थियो । र, मैले स्टेराइल गाउन र ग्लोभ (पन्जा) लगाएँ ।

‘नआत्तिनुस् । हामी भरसक छिट्टै उपचार गर्छौं,’ मैले भनें ।

क्याथको मेसिन मिलाएर, मनिटरमा आवश्यक ईसीजी र अरू सूचकांक हेर्दै मैले भाइको नाडीको रक्तनली छामें । सानो, नदुख्ने सुई दिएपछि क्याथेटर छिराउने बाटो बनाउन हातको रक्तनलीमा शिथ राखें ।

‘हातमा दुखेको छ, भाइ ?’ सोधें ।

‘छैन ।’ छातीको पीडाले गर्दा भाइ धेरै बोल्नुभएन ।

‘चुरोट खानुहुन्छ ?’

जवाफ आएन ।

डाएग्नोस्टिक क्याथेटर मुटुमा पुर्‍याएर एन्जियोग्राम गर्‍यौं । दायाँ साइडको, मुटुलाई रक्त सञ्चार गर्ने दुई ठूला रक्तनलीमध्ये एउटा पूरै बन्द देखियो । बायाँको राम्रो थियो । दुई घण्टाजति अघि बन्द भएको हुन सक्ने आधार लक्षण, ईसीजी र एन्जियोग्रामबाट देखियो ।

बन्द भएको रक्तनलीबाट रक्त सञ्चार हुनुपर्ने मुटुको मांसपेशी आवश्यक रक्तप्रवाह नभई अक्सिजन कम हुन गएकाले मर्ने अवस्थामा पुगेको थियो । दुखाइ पनि यसै कारणले भएको थियो । यस्तोमा बन्द रक्तनली जति छिटो खोल्न सक्यो त्यति मांसपेशी बच्ने सम्भावना बढ्छ र दुखाइ जान्छ ।

रक्तनली खोल्न सबै सामान तयार गर्‍यौं । त्यसपछि औषधि दिएर सानो लचिलो तार (गाइड वाएर) नाडीको शिथ हुँदै गाइडिङ क्याथेटरको सहायतामा बन्द रक्तनलीमा पठाइयो । मनिटरको फ्लरोस्कोपिक भिडियोमा हेर्दै कोसिस गर्दा रक्तनली खुल्यो र गाइड वाएर बन्द भएको रक्तनलीको तल्लो भागसम्म पुग्यो ।

बन्द भएको भाग, पहिला नै साँघुरिएको ठाउँमा रगत जमेर डल्लो बनी (थ्रोम्बस) पूरै बन्द भएको थियो । रगत जमेर बन्द भएको रक्तनलीलाई जतिसक्दो छिटो खोल्यो, उति छिटो मुटुको मांसपेशीमा रक्त सञ्चार पुर्‍याउन सकिन्छ र मृत्यु हुने सम्भावनाबाट जोगाउन सकिन्छ । लामो समयसम्म खोल्न सकिएन भने मांसपेशी मर्छ र मुटुको कार्यमा नराम्रो असर पर्छ ।

गाइड वाएरले खुलेपछि बेलुन पठाएर साँघुरो भागलाई फुलाइयो । त्यसपछि स्टेन्ट (मसिनो जाली) राखियो । रक्तनली पूरै खुल्यो । रक्तप्रवाह राम्रो भयो । ईसीजी राम्रो भयो ।

‘भाइ, छाती दुखेको कस्तो भयो ?’ मैले सोधें ।

‘एकदम कम भयो ।’ उनको अनुहार पनि पीडामुक्त देखियो ।

अन्तिम पटक फेरि जाँचेर हेरियो । सबै ठीक देखियो ।

‘तपाईं चुरोट खानुहुन्छ, हो ?’ मैले फेरि सोधें ।

‘अँ ।’ स्वीकारोक्ति आयो ।

‘अबदेखि नखानुस् है ?’

‘हुन्छ, अब खान्नँ । साँच्चै, यस्तो कसरी हुन्छ डाक्टर साब ?’ भाइले सोध्नुभयो ।

‘धूमपान, उच्च रक्तचाप, चिनीरोगले यसरी मुटुको रक्तनली साँघुर्‍याउन सक्छ । रगतमा खराब चिल्लोको मात्रा धेरै भयो भने पनि यस्तो हुन्छ । धेरै मोटो शारीरिक व्यायाम नगर्ने मान्छेलाई पनि जोखिम हुन्छ ।’ मैले भनें र सोधें, ‘तपाईंको उच्च रक्तचाप छ ? चिनीरोग छ ?’

‘उहाँले जँचाउनु नै भएको छैन । पहिलो पटक हो ।’ सहकर्मी चिकित्सकले भन्नुभयो ।

भाइले फेरि सोध्नुभयो, ‘उच्च रक्तचाप, चिनीरोगले गराउने हो यस्तो ?’

‘चुरोट–खैनी खाने, चिनीरोग भएका, उच्च रक्तचाप नियन्त्रणमा नहुने, रगतमा खराब चिल्लो (एलडीएल) बढेका, धेरै मोटा, शारीरिक व्यायाम नगर्ने, धेरै तनाव लिने मान्छेलाई यस्तो धेरै हुन्छ ।’

‘आजभोलि युवावस्थामै कत्ति हृदयाघात भैराखेको छ ! अर्का सहकर्मी चिकित्सकले भन्नुभयो ।

‘हो नि ! वंशानुगत त मुख्य नै भैहाल्यो, त्यसमाथि यी विभिन्न जोखिम बढाउने कारण थपिएपछि त हृदयाघातको सम्भावना बढिहाल्छ ।’

एन्जियोप्लास्टी सकेर शिथ निकालिसकेपछि भाइले सोध्नुभयो, ‘अब मैले के के गर्नुपर्छ ? अस्पताल कति दिन बस्नुपर्छ ?’

‘अझै दुई दिन सघन कक्षमै राखेर हेर्छौं । सबै ठीक भयो भने तेस्रो दिन घर जान मिल्छ ।’ मैले भनें, ‘अब लेखिदिएको औषधि नछुटाई खानुपर्छ ।’

सबै सकेपछि आईसीयूमा सार्‍यौं । भाइको दुखाइमुक्त अनुहार देखेर आनन्द लाग्यो ।

***

हरेक हप्ताजसो हृदयाघातका यस्ता केसहरू अस्पतालमा आइरहन्छन् । समाजमा धूमपान घटेको देखिँदैन । उच्च रक्तचाप भएका, चिनीरोग भएका व्यक्ति बढेकै छन् । जनचेतना बढेको छ तर धूमपान त्यागेको वा सुरु नै नगरेको त्यत्ति देखिँदैन । उच्च रक्तचापको उपचार गरेका, नियन्त्रण भएकाको संख्या बढ्दै छ । चिनीरोगको उपचारमा उल्लेखनीय प्रगति हुँदै छ । शारीरिक व्यायाम गरेको पनि देखिन्छ, तर तनावयुक्त व्यक्तिहरू पनि कम छैनन् ।

हृदयाघातको उपचार सम्भव हुँदै आएको छ तर सक्दो रोकथाम अपरिहार्य नै हो । आफ्नो मुटुको ख्याल आफैंले राख्नुपर्छ । जीवनशैलीमा आवश्यक परिवर्तन आफैंले गर्नुपर्छ ।

प्रकाशित : पुस २६, २०८० ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?