२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३९

मानसिकता परिवर्तनको पर्खाइ

महिला आन्दोलनका कारण महिलालाई सम्बोधन गर्ने खालका केही कानुन बनाउन मद्दत त पुग्यो तर कार्यान्वयनको पाटोमा भने हाम्रा सामाजिक संरचना र अलिखित कानुनहरूले अवरोध नै गरिरहेका छन् ।
सुशीला शर्मा

विश्वमै महिलाहरूको स्थिति दोस्रो दर्जाको छ । महिलालाई कम श्रेणीको मान्ने सामाजिक संरचना छ । हिंसामा कोही पनि पर्न हुँदैन, चाहे महिला होस् या पुरुष । तर, हामी यस्तो सामाजिक संरचनामा छौं कि पुरुष हिंसामा पर्‍यो भने आश्चर्यचकित हुने अनि महिलाको कुरा आउँदा ‘त्यही त्यस्ती’ या ‘आइमाईले अलिअलि त भोग्नैपर्छ नि’ भन्ने गरिन्छ ।

मानसिकता परिवर्तनको पर्खाइ

त्यसैले महिला हिंसाका कैयौं घटना त्यत्तिकै दबाइन्छन् । महिलाका सवाललाई महिला नेताहरूको राजनीतिक तवरले उठाइरहेकै छन्, महिला हिंसाविरुद्धका दिवसहरू मनाइरहिएकै छन्, तर पनि महिलामाथि हुने हिंसा घटेको होइन, बलात्कारजन्य अपराध तथा सामाजिक विभेद हटेको होइन । हाम्रो सोच बदलिन नसकेको किन होला ?

महिलालक्षित बहसहरू हेर्दा महिला नेतृत्वसम्बन्धी आम मनस्थितिको अनुमान लगाउन सकिन्छ । स्थानीय सरकारलाई नेतृत्व दिइरहेका व्यक्तिहरू परिवार, समाज र त्यहाँभित्रका सामाजिक–सांस्कृतिक मूल्यमान्यता, चालचलनबारे जानकार हुन्छन् भन्ने मान्यता हुन्छ । तर तिनमा पनि महिलाप्रति संकुचित दृष्टिकोण नै पाउन सक्छौं ।

राजनीतिमा सक्रिय महिलाहरूले आफ्ना घरका हरजिम्मेवारी निर्वाह गर्दै आएका हुन्छन् । जसरी पुरुष राजनीतिकर्मीले सम्पूर्ण रूपले राजनीतिमै सक्रिय हुन पाउँछ, त्यो स्थिति महिलालाई छैन । स्थानीय निकायमा निर्वाचित महिलाहरू कुनै कार्यक्रममा जानुपूर्व बिहानैदेखि उठेर घरायसी दैनिक जिम्मेवारीहरू पूरा गर्छन् । उस्तै परे आफूलाई भेट्न आउने पाहुनालाई चियानास्ता पनि बनाएर सत्कार पनि आफैं गरिभ्याउँछन् महिला राजनीतिकर्मी । भन्नेहरूले फेरि यो पनि भनिदिन्छन्— यो त महिलाहरूको खुबी र सीपको कुरा हो नि ! तर, यस्तै कामहरूमा अल्झिँदा अपडेट हुनुपर्ने कतिपय कुरामा पछि पर्दा या समुदायबाट टाढा हुँदा फेरि पितृसंरचनात्मक संरचनाले महिलाहरू समय दिन नसकेका कारण राजनीतिमा पछाडि परेको भन्न पनि भ्याउँछन् ।

प्रायः महिलाकेन्द्रित कार्यक्रमहरूमा महिलाको मात्रै उपस्थित हुन्छ, सीमित पुरुष, उपल्लो तहका नेताको उपस्थिति देखिन्छ । यस्तै एक कार्यक्रममा पुरुष नेताले महिलाको महिमामण्डन गरिदिए । उनी महिलालाई आफ्नो नेता मान्ने मान्छे हुन् रे ! उनी भन्दै थिए, ‘के हामीले महिला सरस्वती, लक्ष्मी, महाकाली भएको बिर्स्यौं ? शक्तिमा दुर्गाको रूपमा, सम्पत्तिमा लक्ष्मीको रूपमा, विद्यामा सरस्वतीको रूपमा अनि अन्यायमा कालीको रूपमा महिलालाई नै त मानिन्छ नि ! राज्यच्यूत भएका इन्द्रले देवी दुर्गाको स्तुति गाएपछि राज्य फर्काएका हुन् ।’ यस्तो सुन्दा महिलालाई भुल्याउन केके भन्न भ्याउँछन् टाठाबाठाहरू भन्ने लाग्छ । ती नेता फेरि आफ्नो हैसियतमा आइहाले । भने, ‘केको रोनाधोना हो फेरि ? आखिर आमाले छोराछोरी दुवैलाई उस्तै गरी हुर्काउने हुन्, किन महिलाहरू अगाडि नबढेका ?’ उनले आफू पुरुषवादी अहं बोकेको परिचय दिन भ्याए । उनीजस्ता थुप्रै नेता महिलाका समस्या र महिलालाई हेर्ने सामाजिक संरचनाको जरोबारे नै अनभिज्ञ हुन्छन् । ‘सबै थोक महिलाको हातमा छ, सदुपयोग किन नगरेको ? अगाडि किन नबढेको ?’ भन्दै पुरुषहरू जंगिन्छन्, तर महिलाका व्यवधानहरूबारे बुझेर पनि बुझपचाउँछन् ।

नेपाली महिला सबैभन्दा कठिन परिश्रम गर्नेमध्ये पर्दछन् । अनौपचारिक काम गर्ने, कम ज्यालामा काम गर्ने अनि स्वयंसेविकाकै रूपमा पनि काम गर्ने महिलाहरू भएको देश हो हाम्रो । तर हाम्रै समाजमा यस्ता थुप्रै कुप्रथा छन् जसले महिलालाई सदियौंदेखि अगाडि बढ्नबाट रोकिराखेका छन् । हामीकहाँ सतीप्रथा थियो, कमलरी प्रथा थियो, देउकी र झुमा प्रथा थिए । यी प्रथाहरू हटेका छन् तर अझै पनि छाउपडी प्रथा, बोक्सी प्रथा, दाइजो प्रथाहरू चलनचल्तीमै छन् । विभिन्न समयमा यस्ता कुप्रथाका सिकार महिला तथा किशोरीहरू भइरहेकै छन् । कतिपय पुरातन मान्यतालाई चटक्कै छोडेर अगाडि बढ्नै सकेका छैनौं । धर्मका नाममा महिनावारीको पाप कटाउन हामी पञ्चमीमा अन्धविश्वासले भरिएका शास्त्र पढ्दै पूजा लगाउँछौं भने योग्य पति पाउन फेरि माघको ठण्डीमा एक महिनाभरि स्वस्थानी व्रत बस्छौं । परिवारले छोरीलाई ‘कन्यादान’ गरिदिन्छन् । हामी संस्कृति बचाउने नाममा मानवता र समानतालाई नै भुलिरहेका छौं । धर्म र संस्कृतिमै समयसापेक्ष हुन सकेका छैनौं । यस्तै कुरीतिका कारण बर्सेनि हजारौं महिला बलात्कारजन्य घटनामा घरेलु हिंसामा, जातपातको हिंसामा पर्ने गरेका छन् ।

महिलाको कामको मूल्यांकन छैन । स्वास्थ्य, शिक्षा, रोजगारी, राजनीतिलगायतमा महिलालाई न्यून अवसर छ । यस्तो अवस्थामा महिलाले समताको कुरा गर्दा, आरक्षणको कुरा गर्दा या महिलावादी (समतावादी) दृष्टिकोणको कुरा गर्दा एकथरी महानुभावहरू भने ‘महिलाले आफ्नो भाग आफैं तयार गर्नुपर्छ, सबै उनीहरूसमक्ष उपलब्ध नै त छ’ भन्छन् । के महिलाले पैतृक सम्पत्तिमा पुरुष बराबर हक सहजै पाएका छन् ? के महिलाले आमाका नामबाट सजिलै नागरिकता पाएका छन् ? के महिलाले निर्णायक तहमा आफ्नो वर्चस्व कायम गर्ने मौका पाएका छन् ?

महिला आन्दोलनका कारण महिलालाई सम्बोधन गर्ने खालका केही कानुन बनाउन मद्दत त पुग्यो तर कार्यान्वयनको पाटोमा भने हाम्रा सामाजिक संरचना र अलिखित कानुनहरूले अवरोध नै गरिरहेका छन् । मुख्य पदहरूमा पुग्न, योग्यता र क्षमताको उचित कदरका लागि, आफ्नो शरीरको नियन्त्रण आफैंमा रहोस् भन्न, अनौपचारिक कामको सम्मानका लागि तथा अनेक प्रकारका हिंसाको न्यूनीकरणका लागि अझै महिला आन्दोलन जरुरी छ । यो महिलाको मानव अधिकारको खातिर पनि अपरिहार्य छ ।

महिलाका यस्ता तमाम मुद्दामा फेरि पनि पुरुषहरूको संलग्नता हुनुपर्छ । महिलालाई पुरुषवादी अहंले हेर्ने र अधिकार पुरुष पक्षले दिने भन्ने मानसिकता त्याग्नुपर्छ । महिलालाई विभिन्न सांस्कृतिक कसीमा राखेर उनीहरूको भूमिका नै त्यही त हो भनेर हेर्ने दृष्टिकोण नै एक प्रकारको हानिकारक परम्परा हो । यो सब हाम्रो सामाजिक संरचनाका कारण भएको हो, जसको अन्त्य जरुरी छ ।

प्रकाशित : पुस १०, २०८० ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?