कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४०

एकपाखे सोचले रोकेको उत्थान 

राष्ट्र उत्थानका निम्ति विश्व समुदायको सहयात्री हुन छाडी चौतर्फी शत्रुको घेराबन्दीमा परेको अनुभूति सँगालेरै बसिरहने हो भने हामी कहीँका पनि हुने छैनौं । उत्तर कोरिया तथा दक्षिण कोरियाले विश्वलाई त्यही पाठ सिकाएका छन् ।
विनोद सिजापति

नेपाल भन्नासाथ विश्वले सम्झनेमध्ये प्रमुख पक्ष हो— हिमाली शृंखलाको काखमा रहेको र दुई उदीयमान शक्तिराष्ट्र भारत तथा चीनबीच रहेको भूपरिवेष्टित राष्ट्र । विश्वको सर्वोच्च शिखर सगरमाथासहित अन्य ८ उच्च हिमशिखरहरू भएको, प्राकृतिक सुन्दरता तथा सांस्कृतिक सम्पदाले भरिपूर्ण देश । साम्राज्यवादी शक्तिसँग भिडेर स्वतन्त्र अस्तित्व कायम गर्न सकेको ऐतिहासिक वास्तविकता ।

एकपाखे सोचले रोकेको उत्थान 

निडर तथा साहसी अनि सदा हँसिलो मुहार भएको, परिश्रमी, इमानदार, स्वामीप्रति बफादार एवं आज्ञापालक नागरिक भएको देश । विश्वको अति विपन्न राष्ट्र जुन प्राकृतिक प्रकोप, मौसम र जलवायु परिवर्तनको उच्च जोखिममा पर्छ । केही दशकपूर्वसम्म स्थापित शान्तिपूर्ण राष्ट्रको छविमा एक दशक लामो माओवादी हिंसा, आतंक तथा राजा वीरेन्द्रको बीभत्स रूपमा वंश नाशपछि धमिरा लागेको छ । अहिले नयाँ नेपालको पहिचान बन्न पुगेको छ— युवा जनशक्ति निर्यात गर्ने राष्ट्र ।

माथि उल्लेख गरिएको स्थापित दृष्टिकोणकै आधारमा विश्वले हामीलाई हेर्ने गर्छ । शीतयुद्ध कालखण्डमा अमेरिकी तथा रुसीले प्रतिस्पर्धा गर्थे नेपाललाई आफ्नो हितैषी राष्ट्र बनाउन । सन् १९९२ (शीतयुद्ध समापन) पश्चात् अमेरिका एकल विश्व महाशक्तिराष्ट्रका रूपमा उदाएपछि नेपालले पाउँदै आएको अन्तर्राष्ट्रिय सामूहिक महत्त्वमा केही गिरावट आयो । एक्काइसौं शताब्दीको दोस्रो दशकदेखि विश्व शक्ति सन्तुलनले नयाँ मोड लिँदै छ । अमेरिकालाई चीनले प्रतिस्पर्धात्मक चुनौती दिन थालेको छ ।

बदलिँदो विश्व शक्ति सन्तुलनमा भूराजनीतिक र रणनीतिक महत्त्वका कारण नेपालको सान्दर्भिकता फेरि बढ्न थालेको छ । दुई छिमेकी उदीयमान शक्ति राष्ट्रहरूको नेपालप्रतिको हेराइमा पनि परिवर्तन आउन थालेको छ । परम्परादेखि नेपाललाई भारतले आफ्नो राष्ट्रिय सुरक्षाको अवधारणाअनुरूप हेर्दै आएको थियो । वर्तमान कालखण्डमा भारतले यस दृष्टिकोणलाई अझ बढी हस्तक्षेपकारी तुल्याएको छ । यही कारण उसको वर्तमान भूमिका असल छिमेकीको भन्दा सँधियारका रूपमा प्रकट हुँदै छ । अर्कोतर्फ, विगतमा तिब्बतबाहेक अन्य मामिलामा चीनले खासै चासो राख्दैनथ्यो । नेपालउपर हुने भारतीय थिचोमिचोतर्फ समेत उसले मौनधारण गर्ने नीति अख्तियार गर्थ्यो । वर्तमान कालखण्डमा भने चिनियाँ सक्रियता तथा चहलपहल बढ्न थालेको छ । उसको प्रमुख चासो चीनलाई घेराबन्दी गर्ने अमेरिकी रणनीतिमा नेपाल फस्न जाला भन्नेमा छ ।

नयाँ विश्व शक्ति समीकरणसँगै अमेरिकाको नेपाल हेर्ने दृष्टिमा पनि परिवर्तन आएको छ । भारतीय चस्मा पहिरेर नेपालको मामिला हेर्ने अभ्यासलाई उसले त्यागेको छ । त्यस्तै, आर्थिक सहयोग गरेर लोकतान्त्रिक प्रणाली प्रवर्द्धन, मानवअधिकार संरक्षण, खाद्य पदार्थको उत्पादन वृद्धि तथा नेपालीको जीवन उकास्नमा सहयोग गर्न अग्रसर उसको चासो अहिले विपन्नताको भुमरीमा परेको राष्ट्रमा आतंककारी गतिविधि नियन्त्रणतर्फ केन्द्रित छ ।

‘वसुधैव कुटुम्बकम्’ (समस्त विश्व हाम्रो परिवार) हाम्रो पुरातन संस्कार हो । वर्तमान कालखण्डमा विश्वलाई हेर्ने नेपाली नजर विरोधाभासपूर्ण छ । राज्य सञ्चालकहरूमा मित्रराष्ट्रको सहयोगबिना सत्तासीन हुने वा टिकिरहने सम्भावना शून्यसरह भएको पाइन्छ । स्वदेशीलाई कज्याउने तथा विदेशीलाई रिझाउने प्रचलन शीर्षस्थ नेताहरूमा हाबी भएको छ । सत्तासीन हुनुपूर्व तथा सत्ताच्युत भएपछि उनीहरू नै फेरि राष्ट्रवादी कहलिन ‘विदेशीले देशलाई बिगार्‍यो, विदेशमा शिक्षा प्राप्त गर्नेले देशलाई तहसनहस तुल्याए, देश विदेशीको चलखेल गर्ने क्रीडास्थलमा परिणत भयो’ भनेर कुप्रचार गर्ने गर्छन् ।

राजनीतिक वृत्तमा ‘उग्र राष्ट्रवादी’ कहलिन एक किसिमको प्रतिस्पर्धा नै छ । कम्युनिस्ट कहलिन भारत, युरोपियन युनियन (ईयू) तथा अमेरिकाको भर्त्सना गर्नु अनिवार्य हुन्छ । त्यस्तै, पुरातन राजावादीलाई नेपालको संविधान–२०७२ विदेशीले निर्माण गरेको भन्ने छ । उनीहरूले पहिलो र दोस्रो जनआन्दोलनको सफलता, शान्ति प्रक्रिया, गणतन्त्र, संघीयता तथा धर्मनिरपेक्षता सबै विदेशीको हस्तक्षेपमा भएको भन्ने भाष्य निर्माण गरेका छन् । २००७ सालदेखि थाती राखिँदै आए पनि अन्ततः सम्भव भएको ‘नेपाली नागरिकका निर्वाचित प्रतिनिधिले निर्माण गरेको संविधान’, एक दशक लामो माओवादी द्वन्द्व, तराई–मधेशमा भएको केन्द्रीय शासन प्रणालीविरुद्धको विद्रोह उनीहरूका निम्ति आयातित हुन् ।

नेपाली उग्र दक्षिणपन्थी तथा वामपन्थीको सम्मिश्रणबाट ‘उग्र राष्ट्रवादी’ जन्मिएका छन्, जो विदेशी शक्ति (भारत तथा पश्चिमा राष्ट्र) नेपाललाई भताभुंग तुल्याउन लागिपरेको भाष्य निर्माण गर्न प्रयत्नशील छन् । ‘कागले कान लग्यो’ भन्नासाथै कान नछामी आकाशमा उडेको कागको पछि दौडनु त नेपाली चरित्र नै हो । यस्तो नकारात्मक सोचाइले सर्वसाधारणमा ठूलै प्रभाव परेको छ । उग्र राष्ट्रवादीहरू यही राष्ट्रिय चरित्रलाई भजाउन व्यस्त रहँदै आएका छन् ।

विडम्बना, आर्थिक सम्पन्नता हासिल गर्न ‘विदेश नगई धरै छैन’ भन्ने जनविश्वास देशव्यापी छ । देशको एकीकरणपूर्वदेखि नै सुखसुविधा प्राप्तिका निम्ति थातथलो छोड्नुपर्छ भन्ने मान्यता बस्दै आएको हो । वर्तमान कालखण्डमा उक्त भनाइ ‘देश नै छोड्नुपर्छ’ भनेर बदलिएको छ । तिनै उग्र राष्ट्रवादीहरूले आफ्ना सन्ततिलाई विदेश जान, चाहे अध्ययनार्थ होस् अथवा रोजगारीका निम्ति, उक्साउने गर्छन् । विदेशोन्मुख सन्ततिलाई आशीर्वाद दिँदै ‘सके उतै बस्नू, बरु मिले हामीलाई पनि बोलाउनू’ भन्नेहरूमा उग्र राष्ट्रवादीहरू नै बढी हुने गर्छन् । आफ्नालाई विदेशमुखी तथा अन्यलाई स्वदेशमुखी तुल्याउन उनीहरू माहिर छन् ।

सर्वसाधारणमा पनि विगतमा रोजगारी अथवा अध्ययनका निम्ति जुनसुकै मुलुकमा पुगे पनि स्वदेश फर्कने प्रवृत्तिलाई सकेसम्म विदेशमै बस्ने प्रवृत्तिले विस्थापित गर्दै छ । सुखसुविधा स्वदेशमा बसेर पाइँदैन भन्ने विश्वस पहिलो जनआन्दोलनको सफलतापछि बढेको हो । ‘द लाइट द्‍याट फेल्ड : अ रेकनिङ’ पुस्तकमा लेखकद्वय इभान क्रस्तेभ तथा स्टेफेन होल्मस्ले यस्तो धारणा विकास हुनुका कारकहरू खोतलेका छन् । लेखकद्वयको भनाइमा स्थापित शासनको अन्त्य हुनासाथै उच्च आर्थिक जीवनशैली स्वतःस्फूर्त आउँछ भन्ने विश्वास हुन्छ । नेपालमा पनि पञ्चायतको पतनपश्चात् ‘राम राज्य’ स्थापना हुने जनविश्वास थियो । राम राज्यको कल्पनालाई कुशासन तथा भ्रष्टाचारले विस्थापित गर्‍यो । अकासिएको जनआकांक्षाअनुरूप देशले काँचुली फेर्न सकेन । देशमा व्याप्त निराशाबाट उन्मुक्ति पाउन विदेश पलायन हुनु प्रमुख विकल्प सावित हुँदै गयो ।

विश्वलाई हेर्ने दृष्टिकोणमा भ्रमपूर्ण प्रचारकहरूको ठूलो भूमिका छ । अर्को नेपाली चरित्र हो— आफूले विश्वास वा आदर गरेको पात्रसँग प्रश्न नगर्नु । अन्यथा ‘विदेशीहरू नेपाललाई तहसनहस तुल्याउन चाहन्छन् ? नेपाल बिग्रँदा कुन राष्ट्रलाई फाइदा हुन्छ ?’ लगायतका प्रश्न गरिने थिए । वास्तविकता के हो भने, नेपाल असफल हुँदा कुनै पनि राष्ट्रलाई लाभ होइन, हानि नै हुन्छ । छिमेकी राष्ट्रहरूका निम्ति उन्नत नेपाल जति लाभदायक हुन्छ, त्यसको ठीक विपरीत विफल नेपाल हुन्छ । उनीहरूका निम्ति नेपालमा अस्थिरता बढ्नु अथवा द्वन्द्व हुनु भनेको नेपाली शरणार्थीको ओइरो थेग्नु हो, यहाँ भएको बजार गुमाउनु हो । जहाँसम्म शक्ति राष्ट्रहरूको सवाल छ, उनीहरूका निम्ति विफल राज्य घाँडो हुन्छ । तिनका नागरिकले तिरेको ट्याक्स असफल राष्ट्रलाई सहयोग गर्न तथा त्यहाँबाट ओइरिने शरणार्थीहरूको भरथेग गर्न खर्चिनुपर्ने हुन्छ ।

प्राविधिक कारणले एक राष्ट्रले अर्को राष्ट्रका गतिविधिको निगरानीका निम्ति भूउपयोग गर्नु अनावश्यक भइसकेको छ । चीनलाई घेराबन्दी गर्ने प्रयासमा नेपाललाई अमेरिकाले प्रयोग गर्दै छ भन्ने भाष्य पूर्वाग्रही छ । भारतको सहयोगबिना अमेरिकालाई नेपाल प्रवेश गर्न सम्भव छैन । भारत–अमेरिका सम्बन्ध जतिसुकै सुध्रिए पनि प्रगाढ र मैत्रीपूर्ण भने छैन । भारत आफ्नै हैसियत निर्माणतर्फ उन्मुख छ । उसले किन अमेरिकाको सहयोगमा खर्बौंको व्यापारलाई तिलाञ्जली दिँदै चीनसँग निहुँ खोज्ने ? भारतले अमेरिकालाई नेपाल प्रवेश गर्न दिँदा उसको कुन राष्ट्रिय स्वार्थ पूर्ति हुन्छ ?

अर्को आधारहीन धारणा ‘ईयूले नेपालमा क्रिस्चियानिटी फैलाउँदै छ’ भन्ने हो । हेक्का होस्, संयुक्त राष्ट्रसंघ जस्तै ईयू पनि एक, क्षेत्रीय राष्ट्रहरूको संगठन हो, यो कुनै राष्ट्र होइन । दोस्रो, ईयू सदस्य राष्ट्रहरूका नागरिकमा धर्मप्रति विश्वास कमजोर हुँदै गइरहेको छ । यहाँ इभान क्रस्तेभ र स्टेफेन होल्मस्लाई स्मरण गर्नु आवश्यक हुन्छ । उनीहरूको भनाइमा, पोल्यान्ड तथा हंगेरीजस्ता क्याथोलिक जनसंख्याको वर्चस्व भएका राष्ट्रहरू ईयूका प्रशासकहरू नास्तिक भएकामा रुष्ट छन् । धर्म प्रचारकको धर्म नै धर्म प्रचार गर्नु हो भन्ने वास्तविकतालाई आत्मसात् गर्नैपर्छ । नेपालमा धर्म परिवर्तनको प्रमुख कारण छुवाछूत र विपन्नता हो । अरूलाई सत्तोसराप गर्नुको सट्टा हाम्रो ऊर्जा गरिबी निवारण तथा समावेशितातर्फ केन्द्रित हुनु बढी सार्थक हुन्छ ।

दुर्गालाल श्रेष्ठ रचित र आनी छोइङ डोल्माले गाएको गीत ‘फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार’ को मर्म बुझ्ने हो भने हामी राष्ट्र उत्थानका निम्ति विश्व समुदायको सहयात्री हुन सक्छौं । तर, यदि चौतर्फी शत्रुको घेराबन्दीमा परेको अनुभूति सँगालेर नै बसिरहने हो भने कहीँको पनि हुने छैनौं । उत्तर कोरिया तथा दक्षिण कोरियाले विश्वलाई त्यही पाठ सिकाएका छन् । चौतर्फी शत्रुको घेराबन्दीबाट त्रस्त उत्तर कोरिया आणविक बम तथा क्षेप्यास्त्र निर्माण गरेर सुरक्षित हुने प्रयासमा लागेको लाग्यै छ । उसका नागरिकहरू वर्षैपिच्छे भोकमरीको चपेटमा पर्ने गर्छन् । उदार दक्षिण कोरिया विकसित राष्ट्रको कोटीमा पर्छ जहाँ हजारौंहजार नेपाली युवा रोजगारी पाउन लालायित हुने गर्छन् । कुन मार्ग छनोट गर्ने, त्यो राष्ट्रले राख्ने विश्व दृष्टिमै निर्भर हुन्छ ।

प्रकाशित : मंसिर २७, २०८० ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?