कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

मधेशमा पनि छोरीहरू ‘लक्ष्मी’ बनेर जन्मिन पाऊन् 

मधेशमा वर्षौंदेखि जरो गाडेर रहेको ‘दाइजो’ नामको विषवृक्षलाई जरैदेखि उखेलेर फाल्न र मधेशका छोरीहरूलाई बचाउन राज्य र अन्यबाहेक मधेशकै सिंगो समाज, बुद्धिजीवी, नेता, सामाजिक अभियन्ता, साहित्यकार, पत्रकार सबैको सक्रियता अत्यन्त जरुरी छ ।
रामेश्वरी पन्त

सधैं छोरा बस्ने तरकारी पसलमा एकदुई दिनदेखि बाबुले तरकारी बेचिरहेको देखेपछि सोधें, ‘तपाईंको छोरा कहाँ गए र आफैं यहाँ हुनुहुन्छ, दाइ ?’ तराईवासी ती दाइले भने, ‘नातिनी जन्मेकी छ । त्यसैले छोरा अस्पतालतिरै छ ।’ मैले ‘घरमा लक्ष्मी आइछन्, बधाई छ’ भन्दा उनको अनुहारमा उज्यालोको कुनै धर्सो देखिएन ।

मधेशमा पनि छोरीहरू ‘लक्ष्मी’ बनेर जन्मिन पाऊन् 

बरु मलिन स्वरमा भने, ‘तपाईंहरूकहाँ पो छोरी जन्मिँदा लक्ष्मी आउँछिन् होला, हामीकहाँ त छोरी जन्मनु अभिशापजस्तै हुन्छ ! ‘अहिलेको समयमा पनि किन यस्तो कुरा गरेको ?’ भन्दा उनले भने, ‘नगरेर के गर्नु ! तपाईंहरूले छोरी जन्मँदा लक्ष्मी आएको भन्नुहुन्छ, हाम्रो मधेशमा छोरी जन्मिए भने कङ्गाल भइन्छ ।’

वर्षौंदेखि मधेशका छोरीहरूले दाइजोका कारण ज्यान गुमाउँदै आएका खबर सुन्दै–पढ्दै आएकी पंक्तिकारलाई उनको भनाइको आशय थाहा नभएको होइन तर पनि उनीसँग अरू कुरा कोट्याउन मन लाग्यो । उनले आफ्ना दुःखको पोको खोल्दै गए, ‘मेरा तीनवटी छोरी छन् । नातिनीहरूको त के कुरा गर्नुहुन्छ ! हुर्केर पनि बिहे गर्ने उमेरका भइसके तर पनि म यो उमेरमा अहिलेसम्म पनि छोरीहरूकै लागि दुःख गरिरहेको छु । छोरीहरूको घरतिरबाट आइरहने डिमान्ड पूरा गर्न नसके ज्यानै लिइदेलान् भन्ने डर । मारपिटको त कुरै नगर्नु ! तपाईंहरूको जस्तो हो र ? छोरीलाई पढाइदिएका छौं, अरू केही दिन सक्दैनौं भने पनि हुन्छ भन्छन् तर हाम्रोतिर छोरीलाई जति धेरै पढायो, बिहेको उति धेरै पिरलो हुन्छ । पढेकी छोरीलाई पढेकै केटा खोज्नुपर्‍यो । पढेको केटाको रेट नै बढी हुन्छ । भनेजति पुर्‍याउन नसके कुट्ने, मार्ने, आगो झोस्ने गर्छन् । त्यसैले म नातिनीहरूको धनी भएर के गर्नु, मेरा छोराहरू झन् गरिब हुँदै छन् !

हुन त पहाडी समुदायमा दाइजोकै कारण कुनै छोरीले ज्यानै गुमाउनुपरेको अवस्था चाहिँ छैन, तर पनि पछिल्ला दिनहरूमा ‘पढालेखा’ र आत्मनिर्भर भएका छोरीहरूको (उही रूपमा छोराहरूको पनि) विवाहमा बढ्दो तडकभडकले गर्दा निम्न तथा मध्यमवर्गीय परिवारका लागि विवाह समस्याकै रूपमा देखिन थालेको छ । ‘दाइजो दिनुपर्दैन तर बिहेमा हाम्रो इज्जत राखिदिनुहोला’ भन्दै जन्ती सत्कार एवं परिवार र नातागोतालाई ‘उपहार’ को फर्माइस गतिलै रूपमा हुन थालेको छ ।

हालै मात्र, दाइजोको निहुँमा पतिको कुटपिटबाट हत्या भएको भनिएकी धनुषाकी आरती साहका माइतीले काठमाडौंको माइतीघरमा १७४ दिनसम्म अनेकौं हन्डर खाँदै धर्ना र अनशन बसेपछि सर्वोच्च अदालतले आरतीका पतिलाई थुनामा पठाउने आदेश दिएको छ । यदि हत्या प्रमाणित भएर वास्तविक अपराधीले सजाय पायो भने आरतीका माइतीले केही सन्तोषको महसुस त गर्न सक्लान् तर पनि कानुनले अपराधीलाई दण्डित गर्दैमा मृत्यु भएकाहरूको जीवन त फर्केर आउँदैन !

मधेशी समुदायमा विषवृक्षका रूपमा जरा गाडेको दाइजोका कारण बर्सेनि कैयौं छोरीबुहारीले मानसिक र शारीरिक यातना पाउने, अंगभंग हुने मात्र होइन, ज्यानैसम्म जाने गरेका घटना निरन्तर सार्वजनिक भइरहन्छन् । दाइजो नल्याएको, कम ल्याएकै बहानामा मधेशमा छोरीहरूमाथि ज्युँदै आगो लगाइएका घटना पनि सार्वजनिक भइरहन्छन् । मुलुकमा दाइजोविरोधी कानुन छ तर पनि दाइजोकै निहुँमा कैयौं छोरी वर्षौंदेखि मारिँदै आएका छन् । कानुन बन्दैमा न अपराधीले सजाय पाएको देखिन्छ न त छोरीहरू मारिने क्रम नै रोकिएको छ । यदाकदा कसैले सजाय पाइहाले पनि आखिर ज्यान गुमाउनेहरू फिर्ता आउन सक्ने त होइनन् । कानुनले अपराधीहरूलाई सजाय दिलाउने मात्र हो, अपराध नै रोक्न चाहिँ कानुन खासै सफल भएको हाम्रोजस्ता मुलुकमा देखिँदैन । अपराध रोक्न त आम मानिसमा कानुनको जानकारीका साथै अपराधजन्य कार्यविरुद्ध सामाजिक तथा व्यक्तिगत सचेतना जाग्नु र जगाउनुपर्दछ ।

‘निरंकुश’ भनिएको पञ्चायती सत्ता ढलेर लोकतन्त्र हुँदै देशले गणतन्त्रको यात्रामा पाइला राखेको पनि यतिका वर्ष भइसक्यो । यसबीच मधेशको राजनीतिमा पनि अनेक उतारचढाव आए । अधिकार र पहिचानका नारा निकै घन्किए । पुरानो पुस्तादेखि नयाँ पुस्तासम्मका अनेक व्यक्ति मधेशको राजनीतिमा चम्किए । मधेशलाई पछाडि पारियो, मधेश पेलियो भन्दै राज्यसँग पौंठेजोरी खेल्दै आजसम्म मधेशबाट सत्तामा पुगेर हालिमुहाली गरेका नेताहरूले मधेशकै लागि र पिछडिएका र निम्नवर्गीय समुदायका मधेशीहरूका लागि खासै के गरे त भनेर औंला भाँचेर भन्न सक्ने अवस्था छैन । मधेशको राजनीतिमा पहिलो पुस्ताका नेता गजेन्द्रनारायण सिंहदेखि पछिल्लो पुस्ताका सीके राउत र मनीष झासम्म कसैले पनि मधेशका भुइँमान्छे र मधेशी महिलाका समस्यालाई सदन र सडकमा उठाएको सायदै सुनिएको छ ।

राजनीतिले कोल्टो फेर्दैमा समाजले कोल्टो फेर्दो रहेनछ भन्ने प्रमाण मधेशमा व्याप्त अशिक्षा, पछौटेपन र मुख्यतः दाइजोको समस्याले देखाउँछ । मधेशका छोरीहरू दाइजोका कारण निरन्तर प्रताडित बन्दै मरिरहे । दाइजोको माग पुर्‍याउँदा–पुर्‍याउँदै कैयौं परिवार कङ्गाल बन्न विवश भए । दाइजोकै कारण कैयौं बाबुआमाले आफ्ना छोरीहरू गुमाए, गुमाइरहेका छन् । तर मधेशबाट प्रतिनिधित्व गर्दै पटकपटक सत्ता र नीतिनिर्माणको तहसम्म पुगेर हालिमुहाली गरिरहेका राजेन्द्र महतो, उपेन्द्र यादव, शरदसिंह भण्डारी आदि कसैले कुनै सार्वजनिक फोरममा यस विषयमा बोलेको सुनिएन । अस्ति भर्खर त्यतिका दिनसम्म माइतीघरमा आरती साहका आमाबुबाले धर्ना दिइरहँदा र राज्यका प्रहरीले पटकपटक लछारपछार पारिरहँदा समेत पछिल्लो समय मधेशको राजनीतिमा उदाएका युवाहरूले न्यायका लागि सक्रियता देखाएको पाइएन ।

दाइजोको समस्या एउटी आरतीका बाबुआमाको मात्र थिएन र होइन । देशको काँचुली फेर्न भन्दै संसद्मा भाषण दिएका, मधेशी महिलाको प्रतिनिधित्व गर्दै सदनसम्म पुगेका र मन्त्री भएका मधेशी महिला नेतृहरू कसैको प्राथमिकतामा मधेशमा व्याप्त दाइजोको समस्या परेको देखिएको छैन । यी सबैलाई आआफ्नै राजनीतिक स्वार्थको रोटी सेक्नमै फुर्सद छैन ।

सिंगो देशलाई अर्ती–उपदेश दिने बुद्धिजीवीहरूले आफ्नै समाजभित्र छिरेर व्यक्ति–व्यक्ति, परिवार–परिवारलाई दाइजो लिनु र दिनु दुवै अपराध हो भन्दै चेतना फैलाउने काम कति गरे होलान् ? त्यहाँको गरिबी र अशिक्षा हटाउन के–कति भूमिका खेले होलान् ? आफ्नै छातीमा हात राखेर प्रश्न गरून् । देशको अवस्थालाई गाली गर्दै हरेक वर्ष सिस्नुपानी लगाउन तम्सने मधेशका साहित्यकारहरूले आफ्नै समाजभित्र रहेको दाइजोरूपी शत्रुलाई सिस्नुपानी लगाउनुपर्छ भन्ने सोचे कि सोचेनन् होला ?

माथि उल्लिखित सबैले भन्लान्— हामीले दाइजोविरोधी कानुन बनाएका छौं, योभन्दा अरू के गर्नुपर्‍यो ? तर कानुन बन्दैमा अपराध रोकिन्न । यसका लागि भुइँतहमै पुगेर चेतना फैलाउनुपर्छ । अतः मधेशमा वर्षौंदेखि जरो गाडेर रहेको ‘दाइजो’ नामको विषवृक्षलाई जरैदेखि उखेलेर फाल्न र मधेशका छोरीहरूलाई बचाउन राज्य र अन्यबाहेक मधेशकै सिंगो समाज, बुद्धिजीवी, नेता, सामाजिक अभियन्ता, साहित्यकार, पत्रकार सबैको सक्रियता अत्यन्त जरुरी छ । मधेशमा पनि छोरीहरू ‘लक्ष्मी’ बनेर जन्मिन पाऊन् ।

प्रकाशित : मंसिर २५, २०८० ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?