कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२७

हरि सरको ‘पिटी’ सरकारको ‘योग’

रामेश्वरी पन्त

गृह मन्त्रालयले केही समयअघि उपत्यका अन्तर्गतका सरकारी कार्यालयका कर्मचारीहरूलाई कार्यालयमा हाजिर भएपछि १५ मिनेट (१० बजेदेखि सवा १० बजेसम्म) अनिवार्य योग र प्राणायम गर्न उर्दी जारी गर्‍यो ।

हरि सरको ‘पिटी’ सरकारको ‘योग’

कर्मचारीहरूलाई ‘सदाचारी’ र ‘नैतिकतावान्’ बनाउने उद्देश्यले जारी गरिएको उक्त आदेश सर्वत्र खिल्लीको विषय बन्यो । गृहको यस्तो परिपत्र पढेपछि मचाहिँ आफ्नो विद्यालय जीवनतिर हराउन पुगें ।

गाउँले जीवन । बिहानै गोठको काम सकेर घाँसदाउराका लागि बेंसी झर्नुपर्ने अनि पढ्न स्कुल पुग्नुपर्ने । घाँसदाउराको भारी पुर्‍याएर हतारहतार उकालो लागिन्थ्यो । घरमा आइपुग्दा नौ बजिसकेको हुन्थ्यो । आमाले पकाएको भात, आटो, ढिँडो जे छ, गुन्द्रुकको झोल र मोही मिसाएर लपाकलुपुक खाएर स्कुल ड्रेस लगाई हतारमै उकालो लाग्थ्यौं र तीनधारेको तत्कालीन लिमीठाना निमाविमा पुग्थ्यौं । हामी मात्र होइन, प्रायः सबैको दैनिकी यस्तै हुन्थ्यो ।

स्कुल पुग्दा प्रायः १० बजेको प्रार्थनाको घण्टी बजिसकेको हुन्थ्यो । कहिले त बाटैमा घण्टी बजेको सुनिन्थ्यो र स्याँस्याँ गर्दै प्रार्थनाको लाइनमा पुग्थ्यौं । अलि ढिलो पुग्दा हरि सरको लौरो खानुपर्थ्यो । स्कुल मैदानमा त्यति बेला प्रार्थना मात्र हुँदैनथ्यो । आठ नम्बरसम्मका अनेक भावभंगीका पिटी खेल्नुपर्थ्यो । पिटी मास्टर हुनुहुन्थ्यो— उनै हरि सर । असाध्यै कडा ! खाना खानेबित्तिकै हिँडेकाले स्कुल पुग्दा पेटको कुनाकुना चस्किरहेको हुन्थ्यो । चस्किएको पेटले हरि सरका आठै आइटम पिटी नखेली नहुने । कुनै अगाडि निहुरेर हातले पैताला छुनुपर्ने, कुनै पछाडि निहुरेर । कुनै दायाँबायाँ निहुरिनुपर्ने, कुनै उफ्रिनुपर्ने । एउटाचाहिँ बाबा रामदेवले सिकाउनेजस्तै दुवै हातका औंलालाई कुममा राखेर कुहिनालाई उल्टो–सुल्टो दिशातिर घुमाउनुपर्ने । यति गरिसक्दा भर्खर खाएको खाना बाहिरै निस्केलाजस्तो हुन्थ्यो । पेट चस्केर यसो ठग्न खोज्यो, हरि सर टुप्लुक्क आइपुगेर ढाडमा लौरो बजार्नुहुन्थ्यो ।

बिचरा हरि सर ! अहिले रामदेव बाबाले सिकाउने योग नै त्यो बेलाको ‘पिटी’ (व्यायाम) रहेछ । फरक यत्ति हो कि, रामदेवले बिहान खाली पेटमा योग र प्राणायम गराउँछन्, हरि सरले भने खाना खाएपछि । ठ्याक्कै अहिलेको सरकारको ‘मेरुदण्ड’ गृह मन्त्रालयले जसरी नै । कार्यालय पुग्नेबित्तिकै योग गर्नुपर्ने आदेशलगत्तै कर्मचारीहरूका लागि एकदिने योग शिविर सञ्चालन भएको खबर पनि सञ्चारमाध्यममा आयो । खास गरी माथिल्लो तहका कर्मचारीलाई नैतिकता र सदाचारको पाठ सिकाउने सरकारको यो आइडिया कर्मचारीहरूबाट हुने भ्रष्टाचार र घूसखोरी नियन्त्रण गर्ने सुन्दरतम उपाय हो रे ! नागरिकका नजरमा ‘नालायक’ साबित सरकारले आफ्ना संयन्त्रहरूलाई चुस्त–दुरुस्त राख्दै बढ्दो दलाली, तस्करी, भ्रष्टाचार, घूसखोरी, अनियमितता र महँगी नियन्त्रण गर्नुपर्नेमा खाना खानेबित्तिकै कार्यालय पुगेका कर्मचारीलाई योग गर भन्नु नौटंकीबाहेक केही होइन ।

भ्रष्टाचार नियन्त्रण गर्न अख्तियार दुरुयोग अनुसन्धान आयोग नामको संयन्त्र त छ तर भ्रष्टाचारको पारो ओरालो लाग्नुको सट्टा उकालो मात्रै लागिरहेको छ । दलीय भागबन्डामा परेको यो संयन्त्रले साना माछा समात्ने र ठूला माछालाई उन्मुक्ति दिने वा अनदेखा गर्ने गरेको छ । अपराध नियन्त्रण गर्ने अंगलाई स्वतन्त्र भएर काम गर्न दिइँदैन । तिनलाई अनेक दबाब र प्रभावमा पारेर प्रमुख राजनीतिक दलहरू नै आ–आफ्ना कित्ताका अपराधीहरूलाई उन्मुक्ति दिन लागिरहन्छन् ।

अर्कातिर, निजामती कर्मचारीहरूको मनोबल उच्च राख्न सरकारले खासै गतिलो व्यवस्था गरेको पाइँदैन । बढ्दो महँगी, महँगो शिक्षा, महँगो डेराभाडालाई हेरेर कर्मचारीहरूका परिवारको लालनपालन र जीवनयापनमा सहजता ल्याउन समयानुकूल तलब दिन सकेको छैन । यसकारण पनि कर्मचारीहरूको मनमा ‘चोर’ ले बास गर्न पुग्छ । देसमा व्याप्त नीतिगत भ्रष्टाचारको त कुरै नगरौं । यसले माथिदेखि तलसम्मैका कर्मचारीहरूलाई भ्रष्टाचार गर्न प्रेरित गरेको हुन्छ ।

केही समययता महँगीले आकाश छुन खोज्दै छ र सर्वसाधारणको ढाड सेकिएको छ, तर महँगी नियन्त्रण गर्ने निकाय कानमा तेल हालेर बसिरहेको छ । दाल, चामल, तरकारीको मूल्य बढेको बढ्यै हुँदा गरिबले नुन र भात मात्र खान पनि मुस्किल भएको छ । सर्वसाधारणको दैनिकीमा प्रत्यक्ष असर पर्ने विषयमा सरकारको ध्यान पुग्न सक्दैन, तर जब दसैं आउँछ, अनुगमनको नाटक गर्छ । त्यो अनुगमनको लाभ पनि नागरिकले नभएर अरूले नै लिन भ्याउँछन् । अनि ‘भरिपेट’ का कर्मचारीलाई पन्ध्र मिनेट योग गराएर भ्रष्टाचार निर्मूल हुन्छ ?

हो, योग, प्राणायम र व्यायामले व्यक्तिको स्वास्थ्यमा फाइदा पुग्छ नै, तर योग गर्दैमा मानिसभित्रको ‘चोरवृत्ति’ हट्ने भए किन रामदेवको उद्योगका उत्पादनहरू ‘गुणस्तरहीन र नक्कली भेटिए’ भनेर प्रतिबन्ध लगाउनुपर्थ्यो ? अतः योगको नाटक गर्नुभन्दा आफ्ना संयन्त्रहरूलाई प्रभावकारी रूपमा परिचालन गरी देशमा विधिको शासन छ भन्ने अनुभूति आम नागरिकलाई गराउन सक्दा मात्र सरकार लोकप्रिय हुन सक्छ ।

प्रकाशित : आश्विन २६, २०८० ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?