कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

ईः, बालेन र बदलिँदो क्षितिज

हामी हरदम नायक खोजिरहेका हुन्छौं । लाग्छ, सहरमा फेरि अर्को ‘नायक’ जन्मने क्रममा छ ।
सुधीर शर्मा

सामान्यतः सार्वजनिक रूपमा बोल्नसमेत नचाहने मेयर, अनि उनलाई बोलेर होइन, झन्डै २०० घण्टा उभिएरै सार्वजनिक रूपमा जवाफदेही बनाउने सडकको प्रतिवाद नेपाली समाजमा आइरहेको प्रवृत्तिगत बदलावको एउटा सूचक हो । चुनाव जितेर काठमाडौं महानगरको मेयर बनेपछि बालेन्द्र शाह (बालेन) ले कसैको कुरा सुनिरहेका थिएनन्, जनस्तरबाटै उठिरहेका आवाजलाई पनि नसुनेझैं गरिरहेका थिए । उनलाई पहिलोचोटि जवाफ दिनुपर्ने, आम मान्छेका मुद्दाप्रति आँखा चिम्लिन नपाउने अवस्थामा ईःले पुर्‍याएका छन् ।

ईः, बालेन र बदलिँदो क्षितिज

यी ईः को हुन्, के हुन्, के गर्न चाहन्छन्— यसबारे मलाई त्यति थाहा छैन । भोलि यिनले कुन बाटो लेलान्, त्यो पनि भन्न सक्दिनँ । तर आजका मितिमा उनले एउटा व्यक्तिको आँट र अग्रसरताले समाजको ठूलो पंक्तिलाई नै उद्वेलित बनाउन सक्दो रहेछ भन्ने देखाएका छन् । सबैभन्दा मुख्य कुरा— जसको स्वर हिजो सडकमै दब्ने गर्थ्यो, तिनलाई सामूहिक रूपमा उभिन र बोल्न सक्ने बनाइदिएका छन् । महानगरसँगको सहमतिपत्रमा तीन जना सडक पसलेको पनि हस्ताक्षर रहेछ; कोही भोजकुमारीको नाम पनि देखें । लाग्यो, हातमुख जोर्ने उपाय नै नभएर सडकमा पुगेका, तर त्यहाँ हरदम नवबर्दीधारी जत्थाबाट लछारपछार खेप्दै आएको वर्ग कम्तीमा अब आफ्नो जिउने अधिकार खोज्ने अवस्थामा पुगेछ । यो सबै ईःको कारणले सम्भव भएको हो ।

त्यसो भए अब फुटपाथका समस्याको ‘उचित व्यवस्थापन’ भइहाल्ला त ? त्यो भने त्यति सहज देखिन्न । किनभने यो मामिला राजधानी नगरको बहुमुखी जटिलतासित गाँसिएको छ । अहिले बल्ल सहर, सडक र फुटपाथ कसको हो भन्ने मुद्दामाथि पहिलोचोटि औपचारिक बहस सुरु भएको छ । यसको स्थायी निदान नहुन्जेल कम्तीमा बर्दीधारीहरूले फुटपाथमा थप ज्यादती नमच्चाए हुने ! त्यति भए पनि धेरै हुने थियो ।

खासमा अहिले देशैभरि हरेकजसो नगरपालिकाले आफ्नो पहिलो काम भनेको आफ्नै पुलिस बनाउने हो भनेजसरी युवालाई बर्दी थमाउँदै, जनतालाई सेवा दिने होइन, जनतामाथि नै शासन जमाउने होडबाजी गरिरहेको देखिन्छ । यो बेथिति हेर्दा यस्ता नगरप्रहरी नामधारी नयाँ–नयाँ दस्ताको औचित्य र आवश्यकता छ र भन्नेतर्फ पनि अब विमर्श हुन जरुरी भइसक्यो । किनभने नगरपालिकालाई कुनै कामविशेषमा प्रहरी चाहिएको खण्डमा नेपाल प्रहरीको सहयोग लिए भइहाल्यो । त्यसै पनि मुलुकमा सेनादेखि दुईखाले प्रहरी, प्रदेश प्रहरीहरू र नगर प्रहरीसमेत गरी लाखौं बर्दीधारीहरू भइसके ।

ईः प्रकरणको अर्को एउटा सकारात्मक पाटो भनेको मेयर बालेनको शैलीमा देखिएको धेरथोर सुधार हो । उनले ढिलै भए पनि सडक–सरोकारलाई सुन्ने धैर्य देखाएका छन् । आफूले गर्न सक्ने र नसक्ने काम स्पष्टसित खुलाइदिएका छन् । मुख्य कुरा सार्वजनिक संवादमा आएका छन् । अहिलेको आम दबाबले उनलाई कुनै पनि जननिर्वाचित अगुवा जवाफदेहिताबाट पन्छन पाउँदैन रहेछ भन्ने बोध गराएको हो भने त्यो राम्रै कुरा भयो । यो कुरा उनका आगामी कार्यशैलीहरूबाट छर्लंग हुँदै जाला ।

बालेन जुन पृष्ठभूमिबाट आए, त्यो हेर्दा उनमा यति बदलाव आउनु पनि ठूलै कुरा हो । उनी कुनै राजनीतिक दलको पिरामिड चढेर, कसैको आशीर्वाद लिएर बल्लतल्ल मेयरमा उक्लिएका थिएनन् । अरू नेताझैं आमसभा वा चर्का भाषण गर्दै चुनाव जितेका पनि होइनन् । उनी सबै परम्परागत तौरतरिकालाई ‘क्रमभंग’ गर्दै, पुरानाजति कसैलाई उनकै शब्दमा, ‘बाल नदिएरै’ यो पदमा पुगेका हुन् । यो सफलताबाट उत्पन्न अहम् र आत्मविश्वास उनको बोली, व्यवहार र अनुहारमा प्रस्टसँग झल्कन्छ । सायद उनलाई यही शैली अपनाएरै अझ माथि पुग्छु, राष्ट्रिय राजनीतिमा छाउँछु भन्ने लाग्दो हो । ‘पुराना’ हरूको कुरा सुन्न थाल्यो भने आफू पनि त्यस्तै भइन्छ कि भन्ने मनोविज्ञान पनि होला ।

यहाँनेर मैले बालेनबारे अलि चर्चा किन गरेको भने उनी बदलिँदो नेपाली राजनीतिका एक प्रतिनिधि पात्र हुन् । नेपाली राजनीतिमा आइरहेको बदलावलाई ठम्याउन बालेन र बालेनजस्ताहरूको उदयलाई बुझ्नैपर्ने हुन्छ । उनीहरू सबैले अहिले मुलुकमा चौतर्फी ढंगले मुखरित भइरहेको कुनै पनि किसिमको संस्थापनको विरोध गर्ने भाव (एन्टी–स्टाब्लिसमेन्ट सेन्टिमेन्ट) लाई प्रतिनिधित्व गरिरहेका छन् । यो सोचले नेता, मन्त्री, प्रधानमन्त्री, प्रहरी, प्रशासन, पत्रकार, बुद्धिजीवी लगायत कसैलाई ‘बाल’ दिँदैन । यी सबै हाम्रो प्रगति र देशको उन्नतिका बाधक हुन् भन्ने ठान्छ ।

यथार्थमा मुख्य समस्या मुख्य राजनीतिक दलहरूको असफलता, अकर्मण्यता र अनियमिततासँग जोडिएको छ । सत्तापक्ष र विपक्षबीच भेद नहुने विडम्बनाबाट सृजित छ । हरेक ठूला भ्रष्टाचारमा ‘राष्ट्रिय सहमति’ हुने रोग उत्पन्न भइरहेको छ । तर समाजमा भित्रभित्रै पन्पनाइरहेको विद्रोही धारले राजनीति, गैरराजनीति लगायत समाजका सबै अंग र तिनका अगुवालाई जोडेर हेर्छ, वा मिसमास गरेर बुझ्छ । हरेक विषयलाई सामान्यीकरण गर्दै ‘सबै उस्तै त हुन्’ भन्ठान्छ । र, यो अवस्थाको अचुक समाधान ‘पपुलिस्ट’ नारा दिनेहरूमा देख्छ । कुनै चामत्कारिक ‘हिरो’ आएर रातारात संकट सुल्झाइदिन्छ भनेर साँच्चै विश्वास गर्छ । यस्तो धारणालाई सामाजिक सञ्जालका अदृश्य लहराहरूले झनै फैलाइदिन्छन् । यस्ता सबैखाले संस्थापनविरोधी सोच आगामी दिनमा अरू विस्तार हुँदै जाने देखिन्छ । यहीँनेर अनुदारवादी दक्षिणपन्थीहरूले पनि आफ्नो हात सेक्न खोजिरहेका हुन् ।

अर्को दृष्टिबाट हेर्दा, जनतामा निराशा र आक्रोश फैलनु त्यति अस्वाभाविक पनि होइन । किनभने हिजो जसले राजनीतिक परिवर्तन ल्याउन भूमिका खेलेका थिए, उनीहरूले व्यवस्था त परिवर्तन गरे, आफ्नो अवस्था पनि बदले तर जनताको जीवनमा उल्टो खाले परिवर्तन ल्याइदिए । आम मानिसको दैनन्दिनी नै दुष्कर बनाउने गरी बेथिति थप्दै गए । त्यसैले यो जमेको पोखरीमा कसै न कसैले ढुंगा त हान्नु नै थियो— पहिले बालेन अघि सरे, अनि रवि लामिछानेहरू । भोलि अरू पनि आउलान् । मूल कुरा यथास्थिति र विसंगतिविरुद्धको त्यो ढुंगा प्रहार क्षणिक प्रतिक्रियामै सीमित रहन्छ कि फलदायी पनि हुन्छ, त्यो अहिल्यै भन्न सकिन्न । कहिलेकाहीँ भने लाग्छ, पुराना नेताहरूले ‘राजनीति’ गर्न धेरै जान्ने भएकाले नै हाम्रो राजनीति बिग्रिएको हो, बरु राजनीति नबुझ्ने भनिएकाहरूले नै केही गर्लान् कि ! कम्तीमा उनीहरू धेरैसित जोस, जाँगर र केही गरौं भन्ने इच्छाशक्ति त छ, यदाकदा ढंग नपुर्‍याउनु अर्कै कुरा भयो ।

यहाँनेर फेरि बालेनमै फर्कंदा, उनको संस्थापनविरोधी सोचले सबैलाई आफ्नोविरोधी या विपक्षी मात्र देख्यो । फुटपाथ पसलेका आवाजलाई समेत ‘पुरानै’ हरूको उक्साहट ठान्यो । समस्या के भइदियो भने उनले कसैको कुरा सुन्न चाहेनन्, आफैंलाई जिताउने जनताको पनि । जनप्रतिनिधिले त्यसरी संवादको ढोका बन्द गर्नु आफैंमा एउटा समस्या हो । आफ्नो इन्जिनियरिङ पृष्ठभूमिले गर्दा पनि हुन सक्छ, उनको ध्यान मान्छेभन्दा ज्यादा भौतिक पूर्वाधार र ऐतिहासिक सम्पदातर्फ गएको देखियो । जबकि महानगरका मुटु भनेका मान्छे नै हुन् । तिनलाई तिरस्कार गर्दा अन्ततः तिनले फेरि अर्को बालेन खोज्ने हुन् । किनभने हामी त्यसै पनि सदैव नायककै खोजीमा हुन्छौं । सायद बालेनले बल अन्यत्र जान सक्ने ढिलै भए पनि बुझे ।

ईःले अकस्मात् पाएको समर्थन त्यसको संकेत थियो । मधेश आन्दोलनका बेला प्रहरी ज्यादतीको विरोधमा सिंहदरबार र बालुवाटारका भित्तामा रातो रङ छ्यापेर गिरफ्तारीमा पर्दा होस्, वा ‘संसार बुझ्न’ दक्षिण एसियाका अनेक गाउँ–ठाउँ पैदलै छिचोल्ने लहडपन देखाउँदा— उनी अरूभन्दा अलि फरक हुन् भन्ने उसबेलै देखिन्थ्यो । ईःले राखेको आफ्नो अनौठो नामबाटै यो बुझ्न सकिन्छ । समाजलाई तरंगित पार्न कहिलेकाहीँ यस्तै लहडी आत्मविश्वास चाहिने रहेछ ।

सडक पसलेहरूमाथि नगर प्रहरीले गरेका अमानवीय ज्यादती तपाई–हामीले प्रत्यक्ष वा भिडियोमा देख्दै आएका हौं । त्यसको विरोधमा फेसबुक–ट्वीटरमा स्टाटसहरूको बाढी नै आए पनि त्यसलाई वास्तविक अर्थमा मुद्दा बनाउने प्रण यिनै ईःले मात्र गर्न सके । त्यसपछि हामी सबै फेरि सेल्फी लिने दौडमा सामेल भयौं । त्यो गलत पनि होइन, किनभने कोही अन्यायविरुद्ध उभिँदै छ भने उसप्रति ऐक्यबद्धता र समर्थन जनाउनु सचेत समाजको परिचायक पनि हो । फेरि प्रतिवादको अगुवाइ जोकसैले गर्न सक्ने पनि होइन, कोही एक जना वा कुनै समूहले त्यसको थालनी गर्छ, बाँकीले त्यसलाई पछ्याउँछन् । यो चल्दै आएको रीत नै हो ।

यस अर्थमा समाजको गैरराजनीतिक हिस्सा, नागरिक तप्काको समर्थनलाई बुझ्न सकिन्छ । तर अलि नबुझेको कुरा— सत्ता चलाइरहेका वा चलाइआएका राजनीतिक दलका नेताहरूचाहिँ कुन मुख लिएर ईःसँग उभिन गएका होलान् ? यसबारे बालेनले गरेको प्रश्न जायज छ— अहिलेका मागहरू सही रहेछन् भन्ने, तर वर्षौं सत्ता चलाउँदा वा अहिले पनि आवश्यक कानुन बनाउने हैसियतमा छँदा खोइ फुटपाथ व्यापारलाई व्यवस्थापन गर्ने भूमिका खेलेको ? आखिर यो समस्या भनेको महानगरको मात्र होइन, संघीय र प्रादेशिक सरकारको पनि हो ।

खासमा यस्तै–यस्तै सस्तो लोकप्रियताले बालेन र ईःहरू जन्माउने हो । खासमा जनसरोकारका यस्ता मुद्दाहरूमा प्रमुख राजनीतिक दलहरू देखिएको भए, यी मुद्दा नेताहरूको चासो र प्राथमिकतामा परेको भए ईःहरू सडकमा उभिनै पर्दैनथ्यो । यद्यपि उनले उभिएरै भए पनि विरोधको नयाँ शैली स्थापित गरेका छन् । पहिले पहिले विरोध भनेको उग्र प्रदर्शन गर्नु भन्ने बुझिन्थ्यो । रेलिङ भाँचिन्थे, टेलिफोनका क्याबिनेटहरू तोडिन्थे । पछि त केहीले विरोधका नाममा बन्दुक नै उठाए । नागरिक आन्दोलनहरू पनि नारा–जुलुसतर्फै मोडिए । तर ईःले आफ्नो खुट्टा बेस्कन सुन्निने गरी सास्ती पाउँदै भए पनि ठिंग उभिएरै आफ्नो मौन आवाज चौतर्फी फैलाएर देखाए । हिजो डा. गोविन्द केसीले गर्ने अनशन वा अचेल माइतीघरतिर गरिने धर्नाभन्दा यो विरोधको नितान्त फरक शैली हो, जुन निकै प्रभावकारी देखिएको छ ।

माथि भनिएकै वाक्य दोहोर्‍याऊँ— हामी हरदम नायक खोजिरहेका हुन्छौं । १५ वर्षयताकै नाउँहरू सम्झियौं भने थुप्रै अनुहारहरू अगाडि आउँछन्, कति त अहिले गुमनाम नै भइसके । लाग्छ, सहरमा फेरि अर्को ‘नायक’ जन्मने क्रममा छ ।

प्रकाशित : आश्विन १२, २०८० ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?