धार्मिक द्वन्द्व नमच्चाऔं

झमक घिमिरे

गत हप्ता भारतका विवादास्पद बाबा धीरेन्द्रकृष्ण शास्त्रीले नेपालमा आफ्नो हर्कत देखाए । यी बाबालाई ल्याउनमा नेपालकै उद्योगपति विनोद चौधरीहरूको हात थियो भन्ने सुनिएको छ ।

धार्मिक द्वन्द्व नमच्चाऔं

विनोद चौधरीजस्ता मान्छेहरूलाई नेपालका साधु–सन्तका धार्मिक प्रवचन, सत्संग सुन्न चित्त बुझेनछ र भारतका विवादास्पद बाबा ल्याए । सत्संग र प्रवचन गराएर आफ्नो घर, परिवार, समाज पवित्र पारे होलान् !

सबै मान्छेले आफ्नो आस्था अनुसार आआफ्ना धर्मका देवीदेवतालाई छातीमा सजाएर हिँड्न पाउँछन् । यो कसैको आपत्तिको कुरो होइन । तर धीरेन्द्रकृष्णले नेपाल आएर धार्मिक कर्मकाण्ड मात्र गरेनन्, शारीरिक–मानसिक रोगीहरूलाई झारफुक गरेर निको हुन्छ भन्ने भ्रमसमेत छरे । सबैभन्दा ठूलो कुरो, उनले नेपालको अखण्डता र राष्ट्रियतामाथि धावा बोले । उनले स्पष्ट रूपमा भने, ‘नेपाल भारतको अभिन्न अंग हो ।’ यी बाबाहरूलाई लाग्छ, नेपाल उनीहरूकै भूभाग हो । यिनीहरूलाई नेपाल स्वतन्त्र देश हो भन्ने कहिले ज्ञात होला ? नेपालीहरू पनि जो बाबा, जो महाराज भारतबाट आएर जे भने पनि चुपचाप बसिरहेका हुन्छन् । त्यसको प्रतिकार नगर्ने, जे भने पनि ‘हो गुरुजी’ भनेर टाउको हल्लाइरहने ! मानौं मनमा नेपालित्व नै छैन !

धीरेन्द्रकृष्ण शास्त्रीका नेपाली भक्तजन भन्दै थिए, ‘उहाँ त महात्मा गान्धीभन्दा पनि साहसी मान्छे !’ गान्धीले चाहेका भए भारतलाई हिन्दु राष्ट्र बनाउन सक्थे तर चाहेनन् । गान्धी धर्मका नाममा फरक भावना र फरक आस्थाहरूको अपमान गर्न चाहँदैनथे । तर धीरेन्द्रकृष्णमा त्यो सहिष्णुता पाइँदैन । उनी त आफूलाई दैवी ज्ञानप्राप्त मान्छे सोच्छन् । आफूलाई मन नपरेका मान्छेहरूलाई तल्लो स्तरको व्यवहार गर्छन् । श्रद्धाले मान्छेले खुट्टा छुनु, ढोग्नु बेग्लै कुरा हो, तर उनले त भक्तजनलाई खुट्टा ढोगाउने मात्र होइन, मन नपरेका मान्छेलाई अछुत भन्दै भगाएको कुरा जगजाहेरै छ ।

आफ्ना भक्तजनहरूमा छुत र अछुत छुट्याउने मान्छे पनि धर्मगुरु हुन्छन् ? न शास्त्रले छुत र अछुत भनेर छुट्याएको छ, न त सारा ब्रह्माण्डले ठूलो–सानो, उच–नीच, धनी–गरिब भन्ने व्यवहार गरेको छ । प्रकृतिले पनि मान्छेहरूलाई समान रूपमा दिएकी छन् सब थोक । तर पनि मान्छेले आफूलाई विशेष हुँ भन्ने सोच्न छोड्दैन ।

अहिलेको युगमा कसैले पनि कुनै पनि अन्धविश्वासको भ्रम छर्नु हुँदैन । कसैको धार्मिक आस्थामा ठाडो हस्तक्षेप गर्नु भनेको सामाजिक शान्तिलाई भड्काउन खोज्नु हो । यस्ता मान्छेहरू जतासुकै पाइन्छन् । अहिले धर्मका नाममा, परम्पराका नाममा एकआपसमा लड्ने वातावरण बनिरहेको छ । देशमा धर्मयुद्ध मच्चाउने तत्त्व सक्रिय भइरहेको छ । सबै नेपालीले बुझ्नुपर्छ, यो हामीलाई लडाएर लुट्ने खेल हो । यहाँ कुनै खालको युद्धको आवश्यकता छैन । अब यस्ता तत्त्वलाई बेलैमा चिनेर खेद्नुको विकल्प छैन । यो देश सबै जात, धर्म, संस्कृतिका मान्छेहरू बस्ने साझा फूलबारी हो । यहाँको सामाजिक सहिष्णुतालाई भत्काएर छिन्नभिन्न पार्न खोज्दै छन् केही तत्त्व । धार्मिक विविधता छ, जातीय विविधता छ, सांस्कृतिक विविधता छ र पनि आपसमा बलियो सहिष्णुता छ । आपसी सहिष्णुता, सद्भाव भत्काएर हामी कस्तो खालको समाजको परिकल्पना गर्दै छौं ?

संसारले हामीलाई सहिष्णुताको पहरेदार भनेर चिनेको छ, शान्तिकामी भनेर चिनेको छ । आफ्नो पहिचानलाई बिगारेर हामी कुन खालको पहिचान बनाउन खोजिरहेका छौं ? हाम्रो समस्या हिन्दु हुनुमा नै हो ? बौद्ध हुनुमा हो ? कि अरू हो ? हामी त्यसभन्दा माथि किन उठ्न सक्दैनौं ? मानवताभन्दा अर्को ठूलो कुरो कुनै छ ? हामीबीचको लडाइँको कारण के हो, आपसमा छलफल गरेर समाधान खोज्ने प्रयास तत्कालै गरौं । नत्र विदेशीले घुसेर खेल्ने मौका पाउँछन् । हाम्रो अस्तित्वमै प्रश्न उठ्ने काम नगरौं । नेपालमा धार्मिक युद्ध गराएर आफ्नो स्वार्थ सिद्ध गर्न विदेशी शक्तिहरू सलबलाएको कुरो राम्ररी बुझौं ।

प्रकाशित : भाद्र १५, २०८० ०७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले यस वर्ष ल्याउने वार्षिक नीति तथा कार्यक्रम मुख्य रुपमा कुन क्षेत्रमा बढी केन्द्रित हुनुपर्छ ?