संसदीय छानबिन समिति बनाउन प्रधानमन्त्रीले राखेको मध्यमार्गी प्रस्तावमा कांग्रेस लचक

काठमाडौँ — संसद्को गतिरोध खोल्न प्रधानमन्त्री पुष्पकमल दाहालले राखेको मध्यमार्गी प्रस्तावप्रति कांग्रेस सकारात्मक बनेको छ । प्रधानमन्त्री दाहालले कांग्रेस नेताहरुसँग आइतबार राखेको प्रस्तावलाई लिएर आज बिहान बसेको पदाधिकारी बैठकमा छलफल भएको थियो ।

संसदीय छानबिन समिति बनाउन प्रधानमन्त्रीले राखेको मध्यमार्गी प्रस्तावमा कांग्रेस लचक

प्रधानमन्त्री भनेजस्तै समस्याग्रस्त सबै सहकारी र सहकारीको बचत अपचलनमा संलग्नै सबै ‘ठग’हरुप्रति छानबिन गर्ने संसदीय समिति बन्ने भएमा कांग्रेसले त्यसलाई स्वीकार्ने संकेत गरेको हो ।

प्रधानमन्त्री दाहालले उपप्रधान तथा गृहमन्त्रीलक्षित नभएर समस्याग्रस्त सबै सहकारीका र सहकारीका बचत अपलचनमा जोडिएका सबैमाथि छानबिन हुनेगरी संसदीय समिति बनाउन सकिने मध्यमार्गी प्रस्ताव अघि सारेका थिए ।

कांग्रेसले सहकारीको बचत अपचलनमा गृहमन्त्री लामिछाने संलग्न रहेको तथ्य प्रमाण नै सार्वजनिक भइसकेकाले उनीमा र समस्याग्रस्त सबै सहकारीका बारेमा छानबिन गर्नेगरी संसदीय समिति बनाउनुपर्ने माग गर्दै आएको थियो । खासगरी कांग्रेसको मुख्य निशाना उपप्रधान तथा गृहमन्त्री लामिछानेमाथि केन्द्रित रहेकाले सत्तारुढ दलले त्यसलाई अस्वीकार गर्दै आएका थिए ।

निकासका लागि सत्ता र प्रमुख प्रतिपक्ष दुवै दबाबमा पर्दै आएपनि प्रधानमन्त्री दाहालले सरकारको नीति तथा कार्यक्रमका प्रस्तुत हुने समय अघिनै संसद्को निकास खोल्ने गरी मध्यमार्गी सहमतिको कार्ड अघि सारेका हुन् । संघीय संसदको मंगलबार बस्ने संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले बजेटको नीति तथा कार्यक्रम वाचन गर्ने सरकारको कार्यक्रम छ ।

त्यसलाई लिएर दाहालले सोमबार एमाले अध्यक्ष केपी ओलीसँग छलफल गर्ने र त्यसलगत्तै कांग्रेस नेताहरुसँग बसेर सहमति बनाउने तयारी छ ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री समिति बनाउन सकारात्मक देखिएपनि सत्तारुढ अन्य दलको भूमिकाबारे शंका रहेको बताए ।

‘सहकारीबाट आम गरिब नेपाली जनताको पैसा अपचलन र ठगी भएको छ । सहकारीहरुको बचत अपचलन गर्नेहरुलाई कार्बाही गर्नुपर्छ भन्ने हाम्रो आधारभूत माग हो । त्यसभित्र रविजी पनि पर्नुहुन्छ’ लेखकले भने,‘रविका विरुद्धको मात्रै कुरा पनि होइन । देशभरीका ठगीकाविरुद्धको कुरा हो । कुनैपनि पार्टी अथवा नेता सहकारीका ठगीलाई बचाउन अगाडि आउनुभयो भने कांग्रेस दृढतापूर्वक लडाईं लड्न तयार छ ।’ उनले सहकारीको समस्या देशभरकै भएको बताए ।

‘समिति हाम्रो न्यूनतम माग हो । देशभरीका ठगीकाकाविरुद्ध हाम्रो आन्दोलन हो । सहकारीका बचत अपचलन गर्नेलाई बचाउन केही पार्टीहरु अगाडि आउन खोजीरहेका छन् । त्यसकाविरुद्धको आन्दोन रोकिँदैन’ उनले भने,‘संसदीय समिति बनाउने कुरामा अहिले संवाद भइरहेको छ । प्रधानमन्त्री यसमा सकारात्मक हुनुहुन्छ ।’

प्रकाशित : वैशाख ३१, २०८१ १४:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

८ देशका लागि सिफारिस भएका राजदूतको नाम कस्तो लाग्यो ?

x