२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

कानुनले तह लगाउन नसकेको दाइजो प्रथा

‘मेरी छोरीको मृत्युमा केटाको घरका सबै सदस्यको हात छ, छोरीमाथि हिंसा भइरहँदा नत्र किन उनीहरू चुप बसे त ?’
सुशीला शर्मा

‘छोरी राम्री थिई । ऊ त्यो फोटोमै हेर्नुस् न । पढ्दै पनि थिई । केटा पक्षबाट कुरा आयो । केटा इन्जिनियर हो, हामीलाई दाइजो केही चाहिँदैन पनि भने । आफन्तजनसँग सरसल्लाह, रिनपान गरेर छोरीको विवाह गराइदिएका थियौं ।’ यति भनेपछि आरती साहका आमाबाबु अगाडि बोल्न सकेनन् । मधेशको यो परिवारलाई दाइजोको कुराले जीवनभर नमेटिने पीडा दिएको छ ।

कानुनले तह लगाउन नसकेको दाइजो प्रथा

दाइजो लिन्नौं भन्ने परिवारले जबजब विवाहको दिन नजिकिन थाल्यो, केटी पक्षले तय गरेको विवाहस्थल नै परिवर्तन गर्न लगायो । केटी पक्षले त्यो ठाउँलाई एड्भान्सस्वरूप ५० हजार रुपैयाँ बुझाइसकेको थियो । केटा पक्षलाई त्यो विवाहस्थल स्ट्यान्डर्ड भएन रे ! विवाहको मिति तोकिसकिएको भए पनि केटी पक्षले विवाहस्थल बदल्यो ।

‘हामी किसान हौं, किसानी गरेरै आफ्ना तीन छोराछोरीलाई पढाएका पनि हौं । छोरीलाई पढाउँदै गरेको भए पनि राम्रो घर र इन्जिनियर केटो माग्न आएपछि विवाह गरिदिने निर्णय गर्‍यौं । छोरीलाई राम्रो घरबाट माग्न आएकाले दहेजमा पनि रिनधन गरेर २५ लाख खर्च गर्‍यौं । १६ तोला सुन र २५ तोला चाँदी दिएका थियौं ।’ ती आमाबाबुले भने ।

तर आरतीले विवाहपछि शारीरिक र मानसिक यातना पाउन थालिन् । विवाहको दुई वर्षपछि २५ वर्षीया उनले ज्यान गुमाउनुपर्‍यो । पछिल्लो समय आरतीको लोग्नेले मोटरसाइकल र दराज ल्याउनुपर्ने भन्दै तनाव दिने गरेको थियो । आरतीले यो कुरा आफ्नी आमासँग भनेकी थिइन् रे ! आमाबाबुले आरतीको मृत्यु भइसकेको एक दिनपछि मात्र ‘तपाईंकी छोरी अस्पतालमा छिन्, भेट्न आउनू’ भन्ने खबर पाएका थिए । आरतीका बाबुले भने, ‘मेरी छोरीको मृत्युमा केटाको घरका सबै सदस्यको हात छ, छोरीमाथि हिंसा भइरहँदा नत्र किन उनीहरू चुप बसे त ?’

साह परिवार चुप बसेन । उनीहरूले मुद्दा हाले । यो मुद्दा अहिले अदालतमै छ । उनीहरू महिला आयोग, मानव अधिकार आयोगसम्म पुगे । ती निकायले आफूहरूले यो मुद्दाको अवलोकन गरिसकेको तर अहिले अदालतमा पुगेकाले कुनै पहल गर्न नसक्ने बताए ।

आरतीले न्याय पाउनुपर्ने माग लिएर साह परिवार काठमाडौंको माइतीघरमा धर्ना बसिरहेको छ । आरतीका भाइ भन्छन्, ‘मेरी दिदी गर्भवती थिइन् । दुई महिनाको गर्भवती दिदी आफैं मरिन् या उनलाई मर्न बाध्य बनाइयो ? दिदी ब्याचलर सेकेन्ड इयर पढ्दै थिइन् । विवाह अगाडि केटा पक्षले उनको पढाइलाई निरन्तरता दिने पनि भनेको थियो । तर विवाहलगत्तैदेखि दहेजका लागि पो बार्गेनिङ सुरु हुन थाल्यो ।’

साह परिवार न्याय खोज्दै देशकै राजधानी आएको डेढ महिना भइसकेको छ, तर अहिलेसम्म उनीहरूको मागको सुनुवाइ भएको छैन । साह परिवार न्याय पाएमा आउँदा दिनमा आफूहरू पनि दाइजोविरुद्धको आन्दोलनमा लाग्ने बताउँछ । तर न्यायको आवाज उठाउने क्रममा उनीहरूले सुरक्षाकर्मीको लछारपछार भोगिसकेका छन् । आरतीका बाबु भन्छन्, ‘माओवादीले आन्दोलन यत्तिकै गरेको होइन रहेछ । हामी किसान मान्छे । हाम्रो कुनै पनि पार्टीसँग सम्बन्ध छैन । हामीलाई कोही भेट्न पनि आएको छैन । पुलिसले मेरी छोरीका सासू र देवरलाई पनि पकड्नुपर्‍यो । उनीहरू पनि मतियार हुन् । डाक्टरले दिएको पोस्टमार्टम रिपोर्ट फेरि हेर्नुपर्‍यो । हामीलाई त अब घर फर्किन पनि डर भएको छ ।’

दाइजोरूपी कुसंस्कारले समयसमयमा अमानवीय घटनाहरू निम्त्याइरहेको छ । दाइजो सम्बन्धी धेरैजसो घटना बाहिर नआउने र आए पनि कानुनी दण्ड–सजाय निकै कम रहेकाले पनि पीडकभन्दा पीडित पक्ष झन् मारमा पर्ने गरेको छ । नेपालको संविधानमा दाइजो लिने मात्र होइन दिने पनि सजायको भागीदार हुनेछ भनिएको छ, जसका कारण पनि केटा पक्षले दाइजो माग्यो भनेर उजुरी कमै पर्ने गरेको छ । दाइजो माग्ने पनि र दिने पनि चुप बसिरहँदा कालान्तरमा एउटी युवती घरेलु हिंसाको मारमा परिरहने या अझ अप्रिय घटनाको सिकार हुने गरिरहेकी छ । दाइजो प्रथा थोरबहुत जतासुकै छ तर पनि बढी देखिएका मधेशका जिल्लाहरूमा त्यसको ‘डिमान्ड’ र ‘बार्गेनिङ’ धेरै देखिन्छ । पहिले लेखपढ नगरेका महिलाहरू दाइजोको चपेटामा पर्ने गरेका थिए भने अहिले लेखपढ गरेकै युवतीहरू पनि यसको बलि चढ्न विवश बनिरहेका छन् ।

मुलुकी अपराध संहिता–२०७४ अनुसार, विवाहमा लेनदेन गर्न पाइँदैन; आफ्नो परम्परादेखि चलिआएको सामान्य उपहार, भेटी, दक्षिणा वा शरीरमा लगाएको एकसरो गहनाबाहेक दुलहा–दुलहीबाट कुनै किसिमको चल–अचल दाइजो वा कुनै सम्पत्ति माग गरी वा लेनदेनको सर्त राखी विवाह गर्न वा गराउन पाइँदैन । तर कानुनमा जेसुकै उल्लेख गरिएको भए पनि त्यो व्यवहारमा भने लागू भएको देखिँदैन । कानुनको प्रभावकारी कार्यान्वयन हुने हो भने दाइजोजस्तो कुरीति निर्मूल हुन सक्ने थियो ।

केटा जति बढी पढेलेखेको भयो, दाइजो त्यति नै अचाक्ली माग्ने गरिएको भुक्तभोगीहरू बताउँछन् । डाक्टर, इन्जिनियर पढ्दा लागेको खर्च केटा पक्षले केटी पक्षबाट असुल्न चाहन्छ । जति बढी शिक्षा, उति बढी लोभ ! केटा पक्षको असीमित लोभले छोरीहरूको जीवनलाई दुष्कर बनाइरहेको छ । मधेशका समाजमा व्याप्त यस्तो लालचलाई हटाउन राजनीतिकर्मी, सामाजिक अगुवा र सम्बन्धित निकायहरू अघि बढ्न ढिलो भइसकेको छ । जति ढिलाइ हुँदै जान्छ, त्यति नै छोरीहरूले अकालमा ज्यान गुमाइरहनुपर्नेछ ।

प्रकाशित : श्रावण १२, २०८० ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?