कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७८

बढ्दो गर्मीले जोखिममा बालबालिका

वर्षा झा

नेपाली बालबालिकाका लागि शिक्षाका मुख्य अवरोधहरूमा गरिबी, जातीय विभेद, शारीरिक अस्वस्थता, आप्रवासन, बालश्रम, बाल विवाह, बेचबिखन, जड सामाजिक मूल्यमान्यता, लैंगिक पक्षपात, विद्यालयको पूर्वाधार, कर्मचारीको कमजोर अवस्था, भाषिक अवरोध, बन्द–हडताल, कमजोर सुशासन तथा आर्थिक स्थिति आदि रहे पनि हालसालै जलवायु परिवर्तनका कारण अत्यधिक गर्मी हुनुजस्ता प्राकृतिक विपत्तिलाई पनि एक महत्त्वपूर्ण कारण मान्न थालिएको छ ।

बढ्दो गर्मीले जोखिममा बालबालिका

मौसम परिवर्तन, धूवाँ–धूलो तथा तापक्रम वृद्धिजस्ता कारणले गर्मी मौसममा बालबालिकामा विभिन्न स्वास्थ्य समस्या देखा पर्छन् । अन्य मानिसका तुलनामा बालबालिकालाई गर्मीले बढी सताउने गर्छ । किड्सराइट्स सूचकांकले विश्वका एकतिहाइभन्दा बढी बालबालिका (करिब ८२० मिलियन) हाल गर्मीको चपेटामा परेको जनाएको छ । पानीको अभावले विश्वभर ९२ करोड बालबालिकालाई असर गरेको छ, जबकि मलेरिया र डेंगुजस्ता रोगहरूले झन्डै ६० करोड बालबालिका प्रभावित भएको डच एनजीओ किड्सराइट्सले जनाएको छ । सूचकांक अनुसार, १८५ देशमध्ये आइसल्यान्ड, स्विडेन र फिनल्यान्डलाई बालबालिकाको अधिकारका लागि उत्कृष्ट मानिएको छ भने सिएरा लियोन, अफगानिस्तान र चाडलाई सबैभन्दा खराब ।

केही दिनयता तराईमा बढ्दो गर्मीका कारण तराई मधेश क्षेत्रका अधिकांश सरकारी तथा निजी विद्यालयहरू धमाधम बन्द गर्न थालिएको छ । अत्यधिक गर्मीले पठनपाठनमै समस्या भएपछि अधिकांश विद्यालयले वर्षे बिदाबाट कट्टा हुने गरी विद्यालय बन्द गर्नु सराहनीय भए पनि अभिभावक घरमा नहुने बच्चाहरूलाई विशेष निगरानी र स्याहार चाहिनेमा पनि सबै पक्ष गम्भीर हुन जरुरी देखिन्छ ।

गर्मीबाट बच्न बालबालिका खोला वा तालमा जमेको पानीमा पौडी खेल्न मन पराउँछन्, जसका कारण विभिन्न संक्रमणको सम्भावना बढ्छ । यो समयमा बालबालिकामा ज्वरो, झाडापखाला, घमौरा, ठेउलो लगायत भाइरल ज्वरोजस्ता समस्या देखा पर्छन् । फ्रिजको चिसो खानेकुरा र अन्य चिसो पेयपदार्थ खाइरहँदा हाडे आउने सम्भावना पनि प्रबल हुन्छ । नियमित खानपानसँगै धूलो–धूवाँबाट जोगिएमा यस्ता समस्याबाट बालबालिकालाई जोगाउन सकिन्छ ।

बालबालिकाको सुरक्षामा मुख्य रूपमा अभिभावक स्वयं जिम्मेवार रहने हुँदा बिदाको बखत आफ्ना बालबच्चा कुन अवस्थामा छ भन्नेबारे अभिभावक सचेत हुनुपर्छ । बिदामा अभिभावकको साथ नपाएका बच्चाहरू टीभी, मोबाइल र ससाना बन्दुक, गुलेली तथा पब्जीजस्ता आक्रमक शैलीका खेलौनामा रमाइरहेका हुन्छन् । ती खेलौनाको नकारात्मक प्रभाव बालमस्तिष्कमा कसरी परिरहेको हुन्छ भन्ने ख्याल अभिभावक वर्गलाई हुँदैन । केही क्षणको आनन्दका लागि या टीभीमा देखिएको काल्पनिक घटनालाई यथार्थमा उतार्न खोज्दा अपरिपक्व सोच र बालबिज्याइँका कारण हत्या र बलात्कारका घटनाहरू हुन सक्छन्, भएका पनि छन् ।

यस्तो बेला बालबालिका विशेष रूपमा बालयौन दुर्व्यवहार, साइबर अपराध, लागूऔषध दुर्व्यसन, मानव बेचबिखन लगायतका हिंसामा पर्न सक्ने उच्च सम्भावना हुन्छ । अभिभावक बन्नु प्राकृतिक नियम हो, तर अभिभावकत्व निभाउनु सबैभन्दा ठूलो चुनौती हो । अभिभावकले आफ्ना अनगिन्ती खुसी, इच्छा, चाहना तथा समस्याहरूलाई व्यवस्थापन गर्दै बालबालिकाको विकास र सर्वोत्तम हितका लागि सधैं प्रयासरत रहनुपर्छ ।

विडम्बना, हामीमध्ये धेरैजसोले आफ्ना सन्तानहरूलाई समयको साटो आवश्यक भौतिक सुविधा जुटाइदिने गरेका छौं । यसरी अभिभावकले विलासितामा समय बिताउन खोज्दा बच्चासँग सम्बन्ध तोडिन गई मानवीयता स्वतः समाप्त भएर जान थालेको छ । अहिले अभिभावक वर्गबाट बालबालिकालाई बालबालिकाका रूपमा नहेरेर सम्झौताका रूपमा हेर्न थालिएको छ । हामीले हाम्रा बालबालिकालाई असल होइन धनी बनाउनेमा केन्द्रित गरेका छौं । अभिभावकले आपसी मतभेदबारे बालबालिकाहरूका अगाडि कुरा गर्नु हुँदैन । आफ्ना कुराहरू बालबालिकालाई भनेर उनीहरूबाट सहानुभूति लिने कोसिस गर्नु हुँदैन । अभिभावकले एक–अर्कालाई सम्मान गर्नुपर्छ र बालबालिकालाई पनि सम्मान गर्न सिकाउनुपर्छ ।

यस्ता कुराले बालबालिकालाई खास गरेर अहिले गर्मी यामको बिदाको बखत असर गर्ने हुँदा अभिभावक वर्ग आफ्ना बच्चा घरमा कुन अवस्थामा छन् भन्नेबारे सदैव जानकार हुनुपर्छ । यदि बालबालिकामा रिसाउने, कराउनेजस्ता व्यवहार देखियो भने सजग हुनुपर्छ । आफूमा नियन्त्रण राख्नुपर्छ । त्यसपछि पनि बालबालिकामा कुनै परिर्वतन आएन भने कुनै राम्रो काउन्सिलरलाई भेट्नुपर्छ । साथै गर्मी मौसममा संक्रमण चाँडो फैलने भएकाले बालबालिकाको उचित हेरचाह गर्नुपर्छ । भीडभाडमा जाँदा मास्क लगाउन लगाउने, घाममा धेरै खेल्न नदिने, फोहोर पानीको सम्पर्कबाट टाढा राख्ने र खानपानमा ध्यान दिने हो भने बालबालिकालाई स्वास्थ्य समस्याबाट जोगाउन सकिन्छ । बालबालिकाको मनोभावलाई अभिभावकहरूले सही सम्बोधन गर्न सकेको खण्डमा मात्र उनीहरूको आत्मविश्वास र आत्मसम्मान बढ्छ । यसका लागि राज्यका संयन्त्रहरूले अभिभावक शिक्षामा जोड दिनुपर्छ ।

झा अधिवक्ता हुन् ।

प्रकाशित : जेष्ठ २९, २०८० ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको १६ वर्ष पुरा भएको छ । गणतन्त्रको गति कस्तो लागिरहेको छ ?