कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

तपाईं कति डिग्री दलित ?

जातीय दमन दलितको मात्रै समस्या ठानिन्छ, तर यो बुझाइ सरासर गलत छ । यथार्थमा धेरै चोखा वा उपल्ला जात भनिने मानिसहरू पनि मनुवादका कारण दलिएका छन्, पिल्सिएका छन् । दलित होइन भन्दाभन्दै पनि दलित बनाइएका छन् ।
मित्र परियार

छुवाछुत र जातीय विभेद हाम्रो देशको धेरै पुरानो तर खतरनाक महारोग हो, कोभिडजस्तै । यो एक प्रकारको घातक मनोवैज्ञानिक, सांस्कृतिक, धार्मिक संक्रमण वा इन्फेक्सन हो । ज्वरो थर्मोमिटरले सेल्सियस वा फरेनहाइट डिग्रीमा नापेजस्तै जातीय इन्फेक्सन वा दलित डिग्री ‘थरमिटर’ ले मापन गरिन्छ ।

तपाईं कति डिग्री दलित ?

हुन त जातीय दमन दलितको मात्रै समस्या ठानिन्छ, तर यो बुझाइ सरासर गलत छ । यथार्थमा धेरै चोखा वा उपल्ला जात भनिने मानिसहरू पनि मनुवादका कारण दलिएका छन्, पिल्सिएका छन् । दलित होइन भन्दाभन्दै पनि दलित बनाइएका छन् । दैनिक जीवनमा गैरदलितहरू पनि जातकै कारण हेपिएका छन्, कुटिएका छन्; केही त मारिएका पनि छन् ।

तसर्थ, राज्य र कानुनले पहिचान गरेका दलित मात्रै दलित होइनन् भन्ने हामीले हेक्का राख्नुपर्‍यो । दलित आयोगमा दर्ज नभएका धेरै जात–थर पनि व्यवहारतः दलितकै पीडा भोग्न बाध्य छन् । समग्रमा फरक केवल दलित डिग्रीको हो ।

थरमिटरले नापेर हेर्दा दलित भनेर चिनिएकाहरूको अनुमानित दलित डिग्री ८०–९० होला । फेरि दलित समाज आफैं भिरालो छ— जातिवाद त्यहाँ पनि हावी छ । तसर्थ, कामी ८० डिग्री दलित होला, दमाई ८५ डिग्री । अझ तल्लो ठानिने बादी र गन्दर्भ त ९० डिग्री दलित होलान् । त्यस्तै, तराईका दलित समुदायमा पासवानको ७० डिग्री दलित छ, चमार र मुसहरको ८० डिग्री होला र डोम ९० डिग्री दलित होला ।

गैरदलित भनिएका पहाडे समाजमा बाहुन अनुमानित १० डिग्री दलित हो । क्षत्रीको दलित डिग्री ३० छ भने जनजातिको करिब ६० डिग्री ! तर यी समुदायहरूको दलित डिग्री अनुमान गर्न त्यति सरल छैन । कारण, दलितमा जस्तै हरेक समुदायभित्र, जातिभित्र फेरि अलग्गै जातीय अहंकार छ; श्रेणीगत विभेद छ ।

सायद आफूलाई उच्चभन्दा पनि उच्च ठान्ने २.५ प्रतिशत जनसंख्या भएका उपाध्यायले जिरो दलित डिग्री महसुस गर्लान् कि ? उनीहरूलाई तल्लो वा अपवित्र भन्ने त कोही छैन, भलै त्यहा पनि ठाडो टीके र तेर्सो टीके, यो भगवान् पुज्ने र त्यो भगवान् पुज्नेजस्ता विवाद छँदै छन् ।

सबै उपाध्याय बाहुनले तल्लो देख्ने जैसी बाहुनको दलित डिग्री थोरैमा पनि ५–१० हुनुपर्छ । राजतन्त्र फ्याँकेपछि त झन् ब्राह्मणवाद सबल बन्दै गएको छ र क्षत्रीहरू राज्यसत्ताबाट पाखा लाग्दै छन् । तिनका परम्परागत अवसरहरू गुमेका छन् । तसर्थ, गणतन्त्रको उदयपश्चात् दोस्रो दर्जाका जातिको दलित डिग्री उकालो लाग्दै छ भनी अनुमान गर्न सकिन्छ ।

आफूलाई हिन्दुवादबाट अलग ठान्ने जनजातिहरूमा पनि दलितीकरणको समस्या चर्को छ । पहिलेको राज्यले ‘मासिन्या मतवाली’ भनेर तल झारेको तामाङको दलित डिग्री झन्डै दलितकै हाराहारीमा छ । गुरुङ जातिभित्रै पनि सोह्रजाते गुरुङको दलित डिग्री ६० होला भने चारजाते गुरुङको ५० । नेवार समुदायको त झन् जटिल अवस्था छ । समग्र जात व्यवस्था अन्तर्गत रहे पनि नेवारको आफ्नै अलग्गै समानान्तर जात व्यवस्था छ जहाँ बज्राचार्यहरूको दलित डिग्री ५–१० होला भने पोडे र च्यामेको ७०–८० ! श्रेष्ठहरू अति हुनेखाने र अवसरप्राप्त जाति हुन्, तैपनि उनीहरूको दलित डिग्री २० वरिपरि हुनुपर्छ ।

भन्नै परोइन, तराईको समाज समथर भूमिमा बसे पनि त्यहाँको सामाजिक संरचना पहाडको भन्दा पनि भिरालो छ । त्यहाँका झा, तिवारी, मिश्र लगायत कतिपय ब्राह्मणको दलित डिग्री पनि जिरोदेखि १० सम्म छ भन्न सकिन्छ । जति नै चुरीफुरी गरे पनि यादवको दलित डिग्री ३०–४० होला । सबैभन्दा पीडित डोम र चमारको हालत त माथि नै उल्लेख गरिसकियो ।

कतिपय पश्चिमा देशका अस्पताल र क्लिनिकहरूमा उपचार पद्धति बढी प्रभावकारी बनाउने उद्देश्यले शारीरिक पीडालाई संख्यामा रूपान्तरणको प्रयास गरिएको पाइन्छ । जस्तो, डाक्टरले बिरामीको दुखाइ कति छ भन्ने जान्न ‘तिम्रो दुखाइ १ देखि १० सम्मको स्केलमा हाल्नुपर्दा कति हुन्छ ?’ भनेर सोध्छ । बिरामीले अनुमानकै भरमा एउटा अंक बताउँछ ।

मेरो कथित थरमिटर र दलित डिग्रीको सिद्धान्तलाई पनि त्यस्तै अर्थमा बुझ्नुपर्छ । दलित उत्पीडनका घटनाहरू, घटनाका पीडक र पीडितहरूलाई पक्कै गणना गर्न सकिन्छ, तर जातीय उत्पीडन र घृणाको अनुभवलाई संख्यामा वर्णन गर्न सम्भव हुँदैन । तर मेरा अनुमानित संख्याहरू कपोलकल्पित नै सह, जातीय उत्पीडन वा दलितीकरणको यथार्थ चित्रण गर्ने प्रयासस्वरूप प्रस्तुत भएका हुन् । विश्लेषणको यो नयाँ तरिका पाठकले बुझ्छन् भन्ने आशा छ ।

मेरो मुख्य जोड के कुरामा हो भने, जातीय दमन र अत्याचारको सबसे बढी पीडा दलितलाई छ, तर अन्य जातिका मानिस पनि समान पीडामा छन् भन्ने सत्य भुल्नु हुँदैन । आजसम्म यो सत्यप्रति सबैले आँखा चिम्लिएको जस्तो लाग्छ, जुन राम्रो होइन ।

निर्धारित जातिहरूलाई दलितको संज्ञा दिइएको भए पनि दलितीकरणको संक्रमणले हरेक तह र तप्कामा छोएको छ । उच्च भनिएका जातिका मानिसहरू पनि मनुवादी नीतिका कारण दमन र अत्याचारमा परेका छन् । यो सबैले देखेभोगेको सत्य हो, तैपनि यसलाई अझै पनि सार्वजनिक बहसमा ल्याइएको छैन । अझै पनि छुवाछुतका केस हाल्न गैरदलितहरू अदालत आउँदैनन् । उनीहरूको ‘डिग्निटी’ को, जीउधनको रक्षाका लागि पनि हामीले बोल्नुपर्छ; काम गर्नुपर्छ ।

अचम्मको कुरो, जातीय उत्पीडन र दमनविरुद्ध आजसम्म एक जना गैरदलितले पनि अदालतमा मुद्दा हालेको थाहा छैन । कति गैरदलितलाई त थाहा पनि छैन होला, उनीहरूले पनि जातीय विभेद र छुवाछुत घटनामा मुद्दा चलाउन पाउँछन्, मुद्दा चलाउनुपर्छ । कसैले पनि परम्परागत अपमान र घृणा सहेर चुपचाप बस्नु हुँदैन ।

गत वर्ष ताप्लेजुङ जिल्लाको सदरमुकाम पुग्दा एउटा जातीय हिंसाको घटनामा एउटी युवतीको हत्या भएको केसले म झस्किएँ । ती लिम्बू केटीको एक जना कार्की केटासँग प्रेमसम्बन्ध रहेछ । तर लिम्बूजस्तो ‘तल्लो जात’ की तिनलाई बुहारी बनाउन क्षत्री परिवार तयार भएन । त्यो जोडीलाई धेरै तनाव भयो । आखिरमा त्यो प्रेमीले नै केटीलाई ढुंगाले किचेर मारेछ र भीरबाट फाल्दिएछ ।

मलाई अझ बढी अचम्म के लाग्यो भने, उक्त घटनामा पीडितलाई न्याय दिलाउने हेतु सक्रिय भएका ताप्लेजुङे लिम्बू र अन्य केही जनजाति अगुवाहरूले पनि त्यो जातीय हिंसा हो भन्नेमा त्यति जोड दिएनन् । यथार्थमा त्यो अन्तरजातीय बिहेको केसमा दलित मारेको जस्तै घटना हो, तर त्यसरी लिम्बू समाजले बुझेन वा बुझ्न चाहेन । सायद लिम्बूहरूले आफूलाई दलितको स्थानमा राख्न नचाहेर पो त्यसो गरेका होलान् कि ?

अब हामीले दलित को हो, के हो भन्ने सवाललाई बृहत् रूपमा लैजानुपर्छ । प्याजजस्तो पत्रैपत्र भएको हाम्रो समाजमा केवल पानी नचल्ने भनिएकाहरू मात्रै दलित हुन् भन्ने परिभाषा नै अपुरो भयो कि ? भात नचल्नेहरू पनि त छुवाछुतको मारमा छन् । बैंस नचल्नेहरू पनि त दलितकै स्थानमा राखिएका छन् !

फेरि चरम जातीय घृणा र अपमान सहिरहेका जातिहरूबीच पनि उस्तै विभेद हुँदा पीडक जातलाई के भन्ने ? कथित उपल्ला जातले जस्तै मेरा गाउँका कतिपय कामी र सार्कीले मलाई घरभित्र लग्दैनन्, सँगै बसेर खाँदैनन्, रोटीबेटी चलाउँदैनन् । मलाई नै दल्ने उनीहरू कसरी दलित भए त ?

हिजोआज ‘दलित’ शब्द हटाउनुपर्ने आवाज निकै चर्को बन्दै गएको छ । कतिपय दलित अगुवा र युवाहरूले नै यो शब्दप्रति घृणा पोखेको देखिन्छ, खास गरी सामाजिक सञ्जालहरूमा ।

मेरो विचारमा, शब्दसँग दुस्मनी गरेर केही हुँदैन । यसै पनि दलित भनेको ‘अछुत,’ ‘पानी नचलिने जात’, ‘कुजात’ जस्तै राज्यले वा कथित उपल्ला जातले हेपेर राखेको नाम होइन । यो त लामो संघर्षको नाम हो, पहिचान हो, इतिहास हो । तसर्थ, दलित शब्द फेर्नुभन्दा पनि यसको परिभाषालाई पुनरवलोकन गर्नुपर्छ । दलितको दायरा फराकिलो बनाएर हरेक तहमा जातीय समानता र एकताको पहल गर्नुपर्छ ।

हामीले दलितको बृहत् परिभाषाका निम्ति सरकारसँग, संसद्सँग, न्यायपालिकासँग पहल गर्नुपर्छ । आवश्यक परे संविधान र कानुन पनि फेर्नुपर्छ । गैरदलितको दलित पीडा (मेरो भाषा ‘दलित डिग्री’) बारे पनि सार्वजनिक

बहस हुनुपर्छ । र छुवाछुत, जातीय विभेदमा परेका कथित उपल्ला जातका पीडितले पनि न्याय पाउने अवस्था बनाउनुपर्छ ।

जातभातको प्रश्न दलितको मात्रै सवाल हुँदै होइन । लगभग सबै जातका मानिस कुनै न कुनै रूपमा जातिवादी संस्कार र संस्कृतिको, धार्मिक परम्पराको सिकार भएका छन् । तसर्थ छुवाछुत र जातीय उत्पीडन सम्पूर्ण समाजको, सिंगो राष्ट्रको मुद्दा हो । जातीय दमन र अत्याचार तमाम नेपालीको साझा मुद्दा हो भन्ने बुझ्यौं र सोही अनुसार काम गर्‍यौं भने मात्रै समाजबाट जातीय कोरोना सदाका लागि हटाएर मुलुकलाई तीव्र समृद्धि र दिगो शान्तिको मार्गमा अगाडि बढाउन सकिनेछ ।

परियार समाजशास्त्री तथा दलित अभियन्ता हुन् ।

प्रकाशित : जेष्ठ २८, २०८० ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सार्वजनिक गर्ने अन्तिम तयारीमा रहेको मौद्रिक नीति किन रोकिएको होला ?

×