कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निकुञ्जमा औपनिवेशिक चिन्तन

हामीले अब राष्ट्रिय निकुञ्जको संरक्षण, मान्यता, पद्धति, रणनीति नफेरी भएको छैन । जैविक विविधता संरक्षण गर्नुपर्दैन भन्ने होइन, तर त्यो जनतालाई छेकेर सम्भव छैन । स्थानीय समुदायसँग द्वन्द्व निम्त्याएर जैविक विविधताको संरक्षण हुन सक्दैन ।
सोमत घिमिरे

आयातित विचार र राजाको सिकार खेल्ने इच्छा
नेपालमा २०२९ सालमा पहिलो राष्ट्रिय निकुञ्ज स्थापना भएपछि अभियानका रूपमा निकुञ्ज आरक्ष, सिकार आरक्ष, संरक्षित क्षेत्रको स्थापना गरियो । नेपालको वनको ठूलो मात्रा यस्तै क्षेत्रहरूमा पर्छ ।

निकुञ्जमा औपनिवेशिक चिन्तन

जैविक विविधता संरक्षणको लोकप्रिय नाराको झन्डामुनि यी निकुञ्ज आरक्षहरूको स्थापना भयो । पश्चिमा देशहरूमा चलेको औद्योगिकीकरणको प्रक्रियाले प्राकृतिक स्रोत र जैविक विविधता धेरै नष्ट भएको थियो । पश्चिमा देशहरू संसारको माया गरेजस्तो गर्दै साना देशहरूलाई जैविक विविधताको संरक्षणको उपदेश दिन कस्सिएका थिए । अमेरिकामा एलोस्टन नेसनल पार्क स्थापना भएपछि यो स्वर धेरै ठूलो भयो । यही समय नेपालमा राजा महेन्द्रको महत्त्वाकांक्षाले गर्दा लोकतन्त्रको हत्या भई पञ्चायतको सुरुआत भएको थियो । नेपालको पहिलो राष्ट्रिय निकुञ्ज चितवन शाही परिवारको सिकार खेल्ने थलो थियो । दलबलसहित चितवन जानु, पाहुनापासा लिएर जानु, गैंडा मार्नु ठूलो बहादुरी थियो । २०१५ सालमै गैंडा संरक्षणका नाममा गैंडा गस्ती सुरु भएको थियो । विदेशी पाहुना र राजपरिवारका सदस्य सिकार खेल्न जानका लागि त्यहाँ सेना तैनाथ थियो । सिकार खेल्ने राजाको इच्छा र जैविकता संरक्षण गर्ने विदेशीहरूको महान् लक्ष्यले नेपालमा राष्ट्रिय निकुञ्ज स्थापना हुन पुग्यो- २०२९ सालमा ।

जैविक विविधता, समुदायको सम्बन्ध, हाम्रो अभ्यासमा धावा

जैविक विविधता संरक्षण गर्नुपर्ने विषय हो । तर संरक्षण गर्ने कसरी हो, कुन मान्यतामा हो, किन होजस्ता प्रश्नहरूमा राजाको शासनमा छलफल चल्न सम्भवै थिएन । जैविक विविधता संरक्षणका हाम्रा आफ्नै अभ्यास र पद्धतिहरू थिए । सबैभन्दा पहिले त जैविक विविधता आफ्नै घरबारीमा संरक्षण गर्थ्यौं । घरबारीमा विविधता कायम गरेर आफूलाई चाहिने खाद्यान्न, तरकारी, मसला, फलफूल, डालेघाँस, औषधिमूलोका लागि जडीबुटी लगाएर घरलाई विविधतायुक्त बनाइन्थ्यो । वनको विविधतालाई पनि कायम राख्नपर्थ्यो, किनभने आवश्यकता त्यस्तै थियो । घर बनाउन चाहिने काठ, औषधिमूलो गर्न चाहिने जडीबुटी, मल व्यवस्थापनका लागि चाहिने पत्कर र स्याउला, पशुपालनका लागि चाहिने डालेघाँस एउटै वनबाट व्यवस्थापन गर्नुपर्ने अभ्यास थियो । तर जैविक विविधता संरक्षणमा औपनिवेशिक चिन्तन भित्रिएपछि सुरु भयो एउटा वन जोगाउन सेना राख्नुपर्ने कुरा । वन जोगाउन कर्मचारी पाल्नुपर्ने कुरा । यो औपनिवेशिक चिन्तन र राजा महेन्द्रको महत्त्वाकांक्षाले ‘ठूलो महत्त्व’ को काम गर्‍यो, जनतालाई वनजंगलमा जान छेकेर ।

जनतालाई छेकेर सेना र कर्मचारी

हिजोसम्म चितवन राष्ट्रिय निकुञ्ज भएको जंगल चितवनका समुदायहरूको घरबारी थियो । बर्सेनि घर छाउन त्यहीँको खरबारी काम लाग्थ्यो । रापती, रियु, नारायणी नदीमा बोटे माझीहरू माछा मार्ने गर्थे । त्यो माछा धानसँग साटेर भात खान्थे । आफ्नै जंगलबाट जडीबुटी ल्याएर औषधोपचार गर्थे । निकुञ्ज बनेपछि सेना बस्यो, लाठी र बन्दुक लिएर । कतै मानिस घाँस काट्न आइहाल्लान् कि, कतै आदिवासी जनजाति समुदाय खोलामा माछा मार्न आइहाल्लान् कि, कोही निहुरो टिप्न आएर जैविक विविधता नष्ट गरिहाल्लान् कि भनेर सरकारलाई जैविक विविधताको अगाध प्रेमले गर्दा निकुञ्जमा मानिसलाई छेक्न बन्दुकसहित सेना तैनाथ भयो । हिजोसम्म रनवन गरेको वन छेकियो । हिजोसम्म माछा मारेको र पौडी खेलेको खोलो छेकियो । निकुञ्जवरिपरिका समुदायहरूलाई जैविक विविधता नष्ट गर्नेका रूपमा चित्रित गर्न थालियो । प्रकृतिपूजक समुदायलाई छेकेर भनियो- अब तिमीहरू नआओ, जैविक विविधता नष्ट हुन्छ । मानिस र प्रकृतिको सहयात्रा र सहअस्तित्व थियो । चितवनका मानिसहरूको जिन्दगी त्यही स्रोतसँगको सम्बन्धले चलेको थियो तर उनीहरूलाई नै राक्षस देखियो । कहाँका हुन् कहाँका, सेना र कर्मचारीहरू जैविक विविधताको संरक्षक भए । त्यो जंगल उनीहरूका लागि केवल जागिर खानुसँग सम्बन्धित थियो भने स्थानीय समुदायको जीवनसँग सम्बन्धित । जंगल र स्थानीय समुदाय सँगसँगै हिँडेका थिए । जंगलकै भरथेगले समुदायको जीवन चलेको थियो । समुदायकै मायाप्रेमका कारण जंगल पनि विविधतायुक्त थियो । समुदाय र जंगलको प्रेममाथि ठूलो धावा बोलियो । व्यवस्थापनको जिम्मा सेना र कर्मचारीमा केन्द्रित गरेर समुदायलाई बाहिर पारियो । लामो समयदेखिको प्रेममा बलपूर्वक बाधा उत्पन्न गराइयो । औपनिवेशिक चिन्तन र राजा महेन्द्रको सिकार खेल्ने रहरका अगाडि स्थानीय समुदायको के जोर चल्थ्यो ? ऊ बाहिर पर्‍यो, परिरहेकै छ । हाम्रा गाउँघरतिर एउटा मान्यता छ- छोरीलाई विवाह गरेर दिँदा छोरीको बाबुले केवल धानको कुनिउँ मात्रै हेर्दैनथ्यो, जंगल कहाँ छ, पानी ल्याउने धारा कहाँ छ, घाँस काट्ने ठाउँ कहाँ छ भनेर पनि ख्याल गर्थ्यो । यी सब थोक वरिपरि भएको केटाको खोजी हुन्थ्यो । प्राकृतिक स्रोतवरिपरि बस्ने मानिस सुखी हुन्छन् भन्ने मान्यताले यसमा काम गरेको थियो तर यो मान्यता चितवन राष्ट्रिय निकुञ्जवरिपरिका मानिसलाई ठ्याक्कै उल्टो छ । निकुञ्जवरिपरि बसेकै कारण उनीहरूका दुःख कहालीलाग्दा छन् ।

मानव–वन्यजन्तु विवाद

चितवन राष्ट्रिय निकुञ्जले अहिलेसम्म गरेको महत्त्वपूर्ण काममा सधैं भनिन्छ- गैंडाको संरक्षण । तर चितवन राष्ट्रिय निकुञ्जका कारण कति आदिवासी जनजाति समुदायको जीविका खोसियो, सेनाबाट कतिले कुटाइ खाए, वन्यजन्तुका कारण कति सख्त घाइते भए, कति सामान्य घाइते भए, कति पशुधनको क्षति भयो, कति मान्छे मरे, कति घरधुरीको अन्न बाली क्षति भयो भन्नेजस्ता विषयहरू सार्वजनिक बहसमा आउँदैनन् । उदाहरणका लागि, २०७९–८० सालको क्षति विवरण यस्तो छ-

माथि प्रस्तुत अनुसन्धानको तथ्यांक कति भरपर्दो हो, कुन प्रक्रियाद्वारा गरिएको हो, त्यो बेग्लै बहसको विषय हो तर माथिको चार्ट आफैं बोल्छ, स्थिति कति भयावह छ भनेर । गैंडा संरक्षणको विश्वव्यापी रूपमा बजाइएको सफलताको धुन आफ्नै घरको मानिस गुमाएकालाई कस्तो लाग्दो हो ? कस्तो सुनिँदो हो त्यो धुन ? खेतको अन्नबाली भित्र्याउन नपाएर अनिकाल पर्दा जैविक विविधता संरक्षणको गीत कस्तो सुनिँदो हो भोकै बस्नेका कानमा ? जसका पशु मरे, उसलाई कस्तो लाग्दो अहिलेको निकुञ्जको संरक्षण प्रक्रिया ? १५ वर्षअघि विश्वव्यापी रूपमा मानव अधिकारका सबै सन्धिमा दस्तखत गरेको हाम्रो देशमा शिखाराम चौधरीलाई हिरासतमा मारियो, तस्करको आरोपमा समातेर । त्यति बेला लोकतन्त्रलाई कसरी बुझ्यो होला चितवनले ? केही वर्षअघि गरिएको एउटा अध्ययनले भनेको छ- ११७ बच्चा त सेनासँगको ललाइफकाइबाट जन्मेका छन् । ती केटाकेटी बिनाबाबुका होइनन्, तर बिनाबाबुको बन्नुपरेको छ । ती केटाकेटीले राज्यको नागरिकताको झन्झट बेहोर्नुपरेको छ । लगभग १३ वर्षपहिले काउलो नामको साग खोज्न गएका तीन दलित महिलालाई जैविक विविधता संरक्षण गर्न खटिएको सेनाले गोली ठोकेर मार्‍यो । तत्कालीन रक्षामन्त्री विद्यादेवी भण्डारीले सैनिक प्रवक्ताको जागिरे जिम्मेवारीजसरी भन्दिनुभयो, ‘तस्करहरूलाई सेनाले नियन्त्रण गरेको हो ।’ साग खोजेर जीविका गर्न गएका स्थानीय गरिब–दलित महिलाहरूलाई तस्कर भन्दिनुभयो कम्युनिस्ट पार्टीकी नेत्रीका हैसियतले । कम्युनिस्टहरू कसका पक्षमा छन्, यही घटनाबाट अनुमान गर्न सकिन्छ । यो रङ झन् गाढा हुँदै गएको छ । यो पृष्ठभूमिमा हामीले अब राष्ट्रिय निकुञ्जको संरक्षण, मान्यता, पद्धति, रणनीति नफेरी भएको छैन । जैविक विविधता संरक्षण गर्नुपर्दैन भन्ने होइन, तर त्यो जनतालाई छेकेर सम्भव छैन । जैविक विविधता संरक्षणमा सबैभन्दा ठूलो मान्यता के छ भने स्थानीय समुदाय र जैविक विविधताबीच द्वन्द्व भयो भने जैविक विविधताको संरक्षण हुन सक्दैन । जैविक विविधता संरक्षणमा सबैभन्दा ठूलो तनाव नै यही हो । स्थानीय समुदायको सार्वभौमिकतालाई स्वीकार गर्दै स्थानीय समुदायको नेतृत्वमा, स्थानीय समुदायकै निर्णयमा चल्ने निकुञ्ज अहिलेको खोज हो । सेना र कर्मचारीमा केन्द्रित प्रक्रियाबाट उम्किएर स्थानीय समुदायकेन्द्रित प्रक्रियामा जान ढिलो भइसकेको छ ।

राज्य, बजार र समुदाय : नमिलेको अंशबन्डा

अहिले राज्य, बजार र समुदायबीच अंशबन्डा नमिलेको हो । १,९०,४५८ पर्यटक आए चितवनमा यो वर्ष । यही पर्यटनमार्फत धनी हुन निकुञ्ज बनाइएको हो भन्ने तर्क गरिन्छ । पर्यटक आएकै हुन् । तर किन पर्यटनले चितवनका आदिवासी थारू, बोटे माझी, कुमाल, दराईको जीवनस्तर उकास्न सकेन ? किन जीविकाको संकट बढ्दै गयो ? जैविक विविधता संरक्षण केवल पर्यटनका लागि हो ? जसको आँसुले चितवन राष्ट्रिय निकुञ्ज बन्यो, त्यो आँसु थारू, बोटे माझी, कुमालको थियो र हो । तर उनीहरूकै जीवनमा पर्यटनले खासै केही गरेन । केही गरेको भए, उनीहरूको जीवन यति पीँधमा हुने थिएन । यस दृष्टिकोणबाट विश्लेषण गर्दा अब पर्यटनको मूल्य–मान्यता, रणनीति पनि फेर्नुपरेको छ । पर्यटन सीमित घरानाको नाफा खाने माध्यम बनिरहनु हुँदैन; कसरी सामुदायिक र स्थानीय अर्थतन्त्र बढाउन सकिन्छ, त्यो खोज्नु छ । र, राष्ट्रिय निकुञ्जको संरक्षण, व्यवस्थापन हाम्रै सन्दर्भको सामुदायिक नेतृत्वको पद्धतिमा जान जरुरी छ । अन्यथा जैविक विविधताको संरक्षण हुन सक्दैन । कसैको आँसुले केही धनी हुने प्रक्रिया रोकिनुपर्छ । तर अहिले राज्य, बजार र समुदायको अंशबन्डा नमिल्दा स्थिति झन् कहालीलाग्दो छ । राज्य र बजार मिलेर समुदायको सीमान्तीकरण गरिएको छ । अझ नेपालमा त राज्यले बजारको प्रतिनिधित्व गर्लाजस्तो, बजारले राज्यको प्रतिनिधित्व गर्लाजस्तो भयावह स्थिति छ ।

चित्तौन कचेहेरी : एउटा फरक बहस

यस्ता गम्भीर विषयहरूलाई सार्वजनिक छलफलमा ल्याइएको छैन । सबै तहबाट लुकाउन खोजेजस्तो देखिन्छ । यहीबीच चितवनका आलोचनात्मक चेत भएका र जागरुक युवाहरूले ‘चित्तौन कचेहेरी’ को आयोजना गरेर दुःखका कथाहरू स्वयं दुःखीहरूकै मुखबाट बाहिर ल्याउने प्रयत्न गर्‍यो । दुःखीहरूको दुःखलाई सिद्धान्तको मालाभित्र उनेर छलफल र विमर्श गर्‍यो । दुःखबाट कसरी निस्कन सकिन्छ, एउटा सानो प्रयास गर्‍यो । सबभन्दा पहिले त नाम नै ‘चित्तौन कचेहेरी’ राखेर चित्तौनको ऐतिहासिकताको उजागर मात्रै नगरी ‘कचेहेरी’ शब्दमार्फत थारू संस्कृतिको सम्मानसमेत गरिएको छ । कचेहेरीमा आइमाया चेपाङ पनि थिइन्, जसको छोरा राजकुमार २०७८ साउन १ गते माछा मार्न र निहुरो टिप्न निकुञ्ज गएका थिए । सेनाले नियन्त्रणमा लिएर कुटपिट गरेर छाडिदियो । एक हप्तापछि राजकुमारको मृत्यु भयो । आइमाया कचेहेरीमा बोल्नै सकिनन् । बोल्न मात्रै के खोजेकी थिइन्, बलिन्द्रधारा आँसु झरी वाक्य बन्द भयो । लुकेका पीडाहरूलाई यस्ता कचेहेरीका माध्यमले बाहिर ल्याएर बहसको विषय बनाउँदै निकुञ्जको पुनःसंरचना गर्नु छ । कर्मचारी र सेनामा होइन, समुदायमा विश्वास गरिएको संरचना बनाउन ढिलो भइसकेको छ । अहिलेको चितवन बनाउनका लागि थारूहरूले औलोसँग लड्न आफ्नो ज्ञान, सीप र पौरख पोखे । बस्नलायक चितवन बनाएका थारूहरूको पहिचानको झन्डालाई पनि यसले उठाएको छ । यस्तै–यस्तै वैकल्पिक बहसले हाम्रा नयाँ गन्तव्यहरू निर्धारण गर्ने हुन् ।

प्रकाशित : जेष्ठ २४, २०८० ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?