१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

फोहोर व्यवस्थापनमा लैंगिक पाटो

सडकमा पाइएका फोहोरमध्ये अधिकांश सुर्तीजन्य पदार्थ, अझ गुट्खाका खोलहरूको मात्रा करिब दुईतिहाइ भेटियो । त्यसपछि पानीका बोतल, प्लास्टिकका झोला लगायतका वस्तुहरू पाइए । गुट्खा खानेमा अधिकांश पुरुष हुन्छन् ।
नम्रता थापा

काठमाडौँ — सञ्चारकर्मी टीकाराम यात्रीले अमेरिका भ्रमणका क्रममा नेपालीभाषीहरूसँग गरेको अन्तरक्रियाको भिडियो युट्युबमा हेरेकी थिएँ । १ जनवरी २०२३ मा अपलोड गरिएको त्यस भिडियोमा मेरो ध्यान अमेरिकी समाजबाट हामीले सिक्नुपर्ने मुख्य दुई कुराले ताने- सरसफाइ र समय व्यवस्थापन ।

फोहोर व्यवस्थापनमा लैंगिक पाटो

त्यसै समयको आसपास यता भक्तपुरको मध्यपुर–थिमी नगरपालिका क्षेत्रमा केही अभियन्ता भने ‘राष्ट्रका लागि दुई घण्टा अभियान’ को श्रीगणेश गर्दै थिए । यो अभियानको उद्देश्य मध्यपुर नगर क्षेत्रभित्रका विभिन्न नदी, सडक एवम् सार्वजनिक स्थलहरू सरसफाइ गर्दै आम रूपमा फोहोर व्यवस्थापनका लागि सामाजिक जनचेतना जगाउने र फैलाउने भन्ने छ ।

जनघनत्व बढेसँगै फोहोरको मात्रा बढ्ने गर्दछ, यो विश्वव्यापी सत्य हो । तर त्यो फोहोरलाई कसरी र कहाँ व्यवस्थापन गर्ने भन्नेचाहिँ सभ्यता, संस्कार र शासनको पक्ष हो । बिरालोले पनि दिसा गरेपछि छोप्ने गर्दछ भने हामी त झन् मानिस भयौं, सृष्टिकै विवेकशील र बुद्धिमान् प्राणी । तर पनि तिनै विवेककशील र बुद्धिमान् प्राणी धेरै बस्ने सहरबजारमा फोहोरको मात्रा किन यसरी बढेको छ त ? उपभोग बढेसँगै यसको व्यवस्थापनमा क–कसको कमजोरी रह्यो ?

‘राष्ट्रका लागि दुई घण्टा’ अभियानमा सहभागी भएपछि भने मैले सार्वजनिक स्थानहरूमा देखिएका फोहोरहरू के–कस्ता रहेछन् र तिनलाई बढी कसले प्रयोग गर्ने रहेछ भन्ने कोणले हेर्न थालें । सडकमा पाइएका फोहोरमध्ये अधिकांश सुर्तीजन्य पदार्थ, अझ विशेष गरी गुट्खाका खोलहरूको मात्रा करिब दुईतिहाइ रहेको पाइयो । त्यसपछि पानीका बोतल, प्लास्टिकका झोला लगायतका वस्तुहरू पाइए ।

गुट्खा खानेमा अधिकांश पुरुष हुन्छन् । प्याकेट खोल्यो,

गुट्खा मुखमा हाल्यो र प्याकेट सडकमा फालिदियो । एउटा नागरिकको दायित्व सकियो त ? ‘मैले फालेको फोहोरले मेरो र मपछिको पुस्तालाई के–कस्तो असर गर्ला’ भन्ने ज्ञान रत्तिभर पुर्‍याएको देखिएन । तर त्यस्तै व्यक्तिहरूलाई फोहोर व्यवस्थापनका चुनौतीहरूका विषयमा निबन्ध लेख्न वा मन्तव्य राख्न भन्ने हो भने तथ्यांकसहित मजाले प्रस्तुत हुन सक्छन् ।

मैले दस वर्षयता विभिन्न कलेजमा अध्यापन गर्दै आइरहेकी छु । यस क्रममा निरन्तर युवा पुस्तासँग साक्षात्कार गर्ने अवसर मिलिरहेको छ । विद्यार्थीलाई फोहोर व्यवस्थापनका सम्बन्धमा आफ्नो अनुभव साट्ने गर्दा, विशेष गरी छात्राहरू अलि संवेदनशील हुने र छात्रहरू भने लापरबाही गर्ने प्रवृतिका पाएकी छु । छात्राहरूमा खाएपछिको फोहोर व्यवस्थापन तोकिएको स्थानमा गर्ने र छात्रहरूमा जहाँ उभिएको छ त्यही फ्याँक्ने बानी बढी देखिन्छ । पुरुष शौचालयका भित्ता र सतहमा देखिने फोहोरको तुलनामा छात्राहरूको शौचालय निकै सफा देखिन्छ । सडकमा हिँड्ने क्रममा छात्रहरू बीचबाटामा थुक्ने गर्छन् भने छात्राहरूमा त्यस्तो बानी त्यत्ति पाइँदैन । घरपालुवा कुकुरलाई डोर्‍याएर सडकमा दिसापिसाब गराउनेमा पनि पुरुषहरू नै बढी देखिन्छन् ।

हामी सडकमा हिँडिरहेका बेला निजी सवारीसाधनका चालक सिटको झ्यालबाट कहिले चुरोटका ठुटा त कहिले पानीका बोतल फुत्त फालेको देखिन्छ । त्यस्तो गर्नेहरूमध्ये ९८ प्रतिशत पुरुष हुन्छन् । सार्वजनिक सवारीचालकहरूको पनि स्थिति र आँकडा त्यस्तै छ । उनीहरूकै गफचाहिँ

फेरि विदेशको सरसफाइ र नियम कानुनबारे हुन्छ । कति नमिल्दो र ढोङ व्यवहार र सोच !

त्यसो त हामीले आज देखेका पश्चिमा देशहरू पनि रातारात सफासुग्घर बनेका र भएका होइनन् । अमेरिकामा सन् १९१८ मा स्पेनी फ्लुको महामारी फैलनुअघिसम्म पनि सहरका बाटाहरू खकार र सिँगानले भरिपूर्ण हुने तथ्यहरू पढ्न पाइन्छ । जब स्पेनी फ्लुको महामारी द्रुत गतिमा फैलियो तब यसलाई नियन्त्रण गर्न सरकारले विभिन्न उपायबारे विज्ञहरूसँग परामर्श गर्‍यो । त्यस्ता परामर्शहरूको निचोड रह्यो— आम मानिसले सडकमा थुक्ने बानी हटाएनन् भने स्पेनी फ्लु भयावह हुनेछ । त्यसपछि सरकारले सडकमा थुक्ने बानी हटाउनका लागि कडा निगरानी गर्दै जरिवानाको समेत व्यवस्था गरेर मानिसहरूको बानीमा सुधार ल्याउँदै गयो । बिस्तारै त्यसलाई बालबालिका तहसम्म विस्तार गरेपछि सफाइ एउटा संस्कारका रूपमा विकास भयो । विश्वका पुराना सभ्यताहरू रोम, हडप्पा आदिमा पनि ढलसहितको सहर रहेको पुष्टि भएको छ, जसबाट त्यस समयका मानिसहरू पनि फोहोरप्रति कति संवेदनशील रहेछन् भन्ने बुझ्न सकिन्छ । इतिहास र पुर्खाका सकारात्मक पक्षलाई आत्मसात् गरेर पश्चिमा सभ्यता आफूलाई अगाडि बढाउँदै सुकिलो र सुग्घरी बनाउँदै अगाडि बढिरहेको छ ।

नेपालमा पनि फोहोरलाई लिएर बेलाबखत विभिन्न अभियान चल्दै आएका छन् । तर, हाम्रा बस्तीहरू भने झन् पछि झन् फोहोरी देखिँदै गइरहेका छन् । यसको कारक हो— हाम्रो हेपाहा बानी । कसैले देखेको छैन भनेपछि हामी जे पनि गरिहाल्छौं । काठमाडौं नगरपालिका स्थापना भएदेखि नै फोहोर उठाउने क्रम सुरु भए पनि हालसम्म त्यसको वैज्ञानिक विधि तय भइसकेको छैन । नयाँ बनेका नगर र नगरोन्मुख गाउँहरूले पनि उदाहरणीय रूपमा फोहोर व्यवस्थापनको काम गरेर देखाउन सकेका छैनन् । फोहोर व्यवस्थापन एवम् सफाइ अभियानमा केही व्यक्तिगत प्रयास पनि नभएका होइनन् । अस्ट्रेलिया बस्दै आएका खेम शर्माले सन् २०१५ मा भरतपुर विमानस्थल सफाइ गरेर सफाइ अभियानलाई अघि बढाउन खोजेका थिए । उनकै पहलमा त्रिभुवन विमानस्थल, पशुपति क्षेत्र, वीर अस्पताल आदिमा पनि सफाइ अभियान चलाएर नागरिकको तहलाई घचघच्याउन खोजियो । तर हामीकहाँ गरुन्जेल हुने, त्यसपछि बिर्सने बानीले निरन्तरता पाउन छाडेन । त्यसो त बागमती सफाइ अभियानले थकाइ मारेको छैन ।

पछिल्लो समय पशुपति क्षेत्रमा हरेक शनिबार सरसफाइ अभियान चल्ने गरेको छ, जसमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्रीमसमेत सहभागी हुने गर्छन् । समाचार अनुसार, केहीअघिको एउटा शनिबार मन्त्रीले पशुपति क्षेत्रमा फोहोर गर्नेमध्ये अधिकांश पुरुष दर्शनार्थी र प्रातःभ्रमणमा निस्कने पुरुषहरू रहेको आफूले पाएको बताएका थिए ।

माथिका तथ्यहरू राखिरहँदा मैले पुरुषहरू मात्र फोहोरका एकल सर्जक र कारक हुन् भन्न खोजेको होइन । तर पनि सडकमा निस्किएका फोहोरहरूको प्रकृति हेर्दा र वरपरको व्यवहारहरू हेर्दा निश्चय पनि पुरुषहरूले आफ्नो व्यवहारमा परिवर्तन गर्नुपर्ने देखिन्छ । प्रयोग गरिसकेका वस्तुहरूको व्यवस्थापन कहाँ र कसरी गर्ने भन्नेमा पुरुष वर्ग अलिकति सजग भइदिने हो भने सडकमा फोहोरको मात्रामा निकै कमी आउनेछ । अतः सरसफाइको अभियान चलाउने क्रममा मुख्यतया पुरुषप्रधान जनचेतना नै प्रमुख पक्ष हुनुपर्छ । हामीले घर–घरबाटै बुवा, श्रीमान्, छोरा, भाइ, भतिजा र भान्जाहरूलाई यसबारे सचेत गराउनुपर्छ देखिन्छ । विद्यालय तहदेखि नै फोहोर व्यवस्थानका आचरणगत पक्षलाई अनिवार्य शिक्षाको एक पक्ष बनाउनसमेत ढिलो गर्नु हुँदैन । हरेक विषयवस्तुमा पश्चिमा संस्कृतिलाई प्रधानता दिने युवा पुस्तामा उनीहरूको सफाइको चेत घुसाइदिनुपर्छ । आउनुस्, यसमा सबैले हातेमालो गरौं; सानै भए पनि चेतनाको झिल्को आफ्नो ठाउँबाट झोस्न सुरु गरौं ।

थापा अध्यापक हुन् ।

प्रकाशित : जेष्ठ १४, २०८० ०७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?