२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

खेलकुदमार्फत राष्ट्रिय एकता

खेलकुद राष्ट्रको इज्जत, प्रतिष्ठा र गौरवसँग जोडिएको हुन्छ । खेलकुदमा मानिसहरूलाई एकताबद्ध गर्ने र समाजमा रहेका विभिन्न किसिमका भेदभावहरू तोड्ने शक्ति हुन्छ । किनभने, राष्ट्रका गहना भनिने खेलाडी सबैका साझा हुन्; उनीहरू जात, लिंग, धर्म, सम्प्रदायभन्दा माथि हुन्छन् ।

खेलकुदमार्फत राष्ट्रिय एकता

यसर्थ खेलाडीहरू राष्ट्रिय एकताका प्रतीक पनि हुन्; अनि त जब अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन हुन्छ, सारा जनता आपसी मनमुटाव बिर्सेर एक हुन्छन् र आफ्नो देशका खेलाडीलाई समर्थन गर्न पुग्छन् ।

नेपाल र यूएईबीच केहीअघि भएको एसीसी प्रिमियर लिग फाइनल हेर्न जम्मा भएका हजारौंहजार समर्थक भारी वर्षाको परबाह नगरी कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा उपस्थित भएको उदाहरण ताजै छ । खराब मौसमका कारण लामो समयसम्म खेल स्थगित हुँदा पनि समर्थकहरू भने छाता ओढेर धैर्यपूर्वक नेपालको खेल हेर्न उभिएको दृश्य सामाजिक सञ्जालमा भाइरल पनि भयो । फाइनलमा यूएईलाई ७ विकेटले जितेपछि नेपालले अब भारत, पाकिस्तानजस्ता क्रिकेटका हस्ती राष्ट्रहरूसँग आगामी सेप्टेम्बरमा तय भएको एसिया कपमा खेल्ने अवसर पाउने भएकाले हामी सबै नेपाली उत्साही छौं, भलै पाकिस्तान र भारतको आपसी मनमुटावका कारण पाकिस्तानले आयोजना गर्न लागेको एसिया कप पूर्वनिर्धारित समय र राष्ट्रमा हुनेमा आशंकै छ ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा मात्र नभई स्थानीय रूपमा सञ्चालन हुने स–साना खेलकुद प्रतियोगिताहरूमा समेत सबैले आपसी भाइचारा प्रकट गर्ने गरेका छन् । आफ्नो विद्यालय, टोल, वडा, पालिकाको खेल अर्कोसँग हुँदा त हामी आपसी मनमुटाव बिर्सेर एकजुट भई आफ्नो टिमलाई समर्थन गर्न पुग्छौं भने राष्ट्रको प्रतिनिधित्व हुँदा झन् सबै काम बिर्सेर खेल हेर्ने समय निकाल्छौं । मैदानमै पुग्न असमर्थ हुनेले पनि विभिन्न माध्यमबाट समर्थन गरिरहेका हुन्छौं ।

विदितै छ, विश्वमा धेरै मानिसले रुचाउने फुटबल नेपालमा पनि सबैभन्दा लोकप्रिय छ । दशरथ रंगशालामा हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल खेल प्रत्यक्ष हेर्न म आफैं पनि प्रायः पुगिरहेको हुन्छु । म बक्सिङसँग सम्बन्धित भए पनि फुटबल, क्रिकेट, टेबल टेनिस लगायतका खेलमा अत्यन्त रुचि राख्ने गर्छु । हालैका दिनमा नेपाली क्रिकेटले पाएको एकपछि अर्को लोभलाग्दो सफलताले अन्तर्राष्ट्रिय स्तरमै धेरैको ध्यान खिचेको छ । यस्तै स्थितिमा नेपाली क्रिकेटले आफूलाई उभ्याउन सके अबको केही समयमा नेपाली खेलकुद क्षेत्रमा लोकप्रियताका दृष्टिले यस खेलले फुटबललाई उछिन्दैन भन्न सकिन्न ।

लोकप्रियता वृद्धि हुँदै जाँदा यी खेलहरू सारा नेपालीलाई जोड्न थप सक्षम हुनेछन् । खेल र खेलाडीहरू नेपालीहरूबीच आपसी भाइचारा वृद्धि गर्ने तन्तु बन्नेछन् । विश्वभरकै उदाहरण यही हो । जुनै मुलुकमा पनि खेलकुदले मानिसलाई एकजुट बनाउन विशेष भूमिका खेलेको पाइन्छ । गत वर्ष कतारमा सम्पन्न विश्वकप–२०२२ फाइनल जितेर अर्जेन्टिनी टिम स्वदेश फर्किंदा करिब आधा करोड समर्थक अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्सको सडकमा खुसियाली मनाउन जम्मा भएका थिए । फुटबल विश्वकप–२००६ का लागि जब आइभोरी कोस्ट सुडानलाई ३–१ ले पराजित गरेर पहिलोपल्ट विश्वकपमा छनोट हुन सफल भयो, तब आइभोरी कोस्टको गृहयुद्ध रोकिएको थियो । विश्वचर्चित नेता नेल्सन मन्डेलाको ‘खेलकुदले सबै निराशालाई जितेर आशा जगाउने गर्छ र यो जातीय भेदभावहरू तोड्न विश्वभरका सरकारहरूभन्दा बढी शक्तिशाली छ’ भन्ने भनाइबाट खेलकुदको महत्त्व बुझ्न सकिन्छ । त्यसै गरी सन् २०१० को शीतकालीन ओलम्पिकमा, क्यानडामा पुरुष हक्की टोलीले स्वर्ण पदक जित्दा क्यानडाका बासिन्दा एकजुट भई सडकहरूमा खुसियाली मनाएको अभूतपूर्व दृश्य देखियो । सन् २००२ को विश्वकपमा सेमिफाइनलसम्म पुगी इतिहास रच्न सफल हुँदा दक्षिण कोरियाका सडकमा हर्षोल्लास मनाउन लाखौं समर्थक ओर्लिएका थिए ।

खेलकुदमा राजनीतिक, धार्मिक र सामाजिक हैसियतलाई बिर्सिएर समान भावना उत्पन्न गराउने शक्ति हुन्छ । धर्म, जात, वर्ग सबै बिर्सेर एकजुट भई साझा जोसमा केन्द्रित भई आफ्नो टोलीलाई समर्थन गर्न पुग्नु नै खेलकुदको विशेषता हो । आपसी सद्भाव र आर्थिक–सामाजिक विकास मात्र होइन, मानव स्वास्थ्यका लागि पनि खेलकुदलाई प्राथमिकतामा राख्नुपर्छ, जसको सुरुआत नेपाल सरकारले आगामी बजेट मन्तव्यबाटै गर्न सक्छ ।

प्रजापति पूर्व बक्सिङ खेलाडी तथा आइबा रेफ्री हुन् ।

प्रकाशित : वैशाख ३१, २०८० ०६:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?