कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जैविक विविधतामा समृद्ध कर्णाली

कर्णाली प्रदेशमा नेपालमा पाइने चराका ४६ प्रतिशत, स्तनधारी जनावरका ४२, माछाका ३२, उभयचरका ४३, सरीसृपका ११, पुतलीका २२ र फूल फुल्ने बिरुवाका ४२ प्रतिशत प्रजाति पाइन्छन् ।
कृष्णप्रसाद भुसाल

नेपालको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन–२०२९ ले संरक्षीत वन्यजन्तुको सूचीमा राखेको भए पनि विश्वकै दुर्लभ जंगली चौंरीगाईको नेपालमा उपस्थितिका सम्बन्धमा भने अनुसन्धानकर्ताहरू आशंका व्यक्त गरिरहन्थे ।

जैविक विविधतामा समृद्ध कर्णाली

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र आईयूसीएनद्वारा प्रकाशित ‘द स्टेट्स अफ नेपाल्स म्यामल्सः द नेसनल रेड लिस्ट सेरिज–२०११’ मा त नेपालबाट जंगली चौंरीगाई सम्भवतः लोप भएको उल्लेख गरिएको थियो । त्यसपछि धेरैलाई लाग्यो, जंगली चौंरीगाई नेपालबाट लोप भयो । तर, ‘प्रकृतिका साथीहरू’ नामक संस्थाका अनुसन्धानकर्ताहरूमा कर्णालीका दूरदराजमा यो प्रजाति जीवित रहेको हुन सक्छ भन्ने झिनो आशा थियो । त्यसैले हुम्लाको लिमी उपत्यकामा उनीहरूले सन् २०१३ मा दुईमहिने खोज–अनुसन्धान अभियान चलाए र जंगली चौंरीगाई नेपालमा अहिले पनि पाइन्छ भन्ने प्रमाणित गरे ।

सन् २०१४ मा नरेश कुसी र जेराल्डिन वेरहानले सोही उपत्यकामा जंगली चौंरीगाईको तस्बिर खिचे । नेपालमा जंगली चौंरीगाई भेटिएको बारे सन् २०१५ को म्यामलिया जर्नलमा ‘वाइल्ड याक बस म्युट्स इन नेपाल : रिडिस्कभरी अफ अ फ्ल्यागसिप स्पेसिस’ शीर्षकमा अनुसन्धानकर्ता राजु आचार्य, यादव घिमिरे, जेराल्डिन वेरहान, नरेश कुसी, विधान अधिकारी र विनोद कुँवरले वैज्ञानिक आलेख नै प्रकाशित गरे । सन् २०२१ मा पनि हुम्लामा जंगली चौंरीगाईको तस्बिर खिचिएको थियो । गत असोजमा वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाले त्यस क्षेत्रमा खिचेको सुन्दर जंगली चौंरीगाईको तस्बिरले देश–विदेशमै चर्चा कमायो र यसको व्यापक प्रचार–प्रसार पनि भयो । नेपालमा जंगली चौंरीगाई भएको प्रमाण हालसम्म कर्णाली प्रदेशको हुम्लामा मात्र भेटिएको छ ।

लिमी उपत्यका जंगली गधाको सबैभन्दा ठूलो बथान पाइने क्षेत्र पनि हो । संसारको सबैभन्दा ठूलो जंगली भेडा (नायन), घोवा, हिउँ चितुवा, ‘स्टिप पोलक्याट’, पालास बिरालो, पाहन बिरालो, नाउर, फ्याउ मुसा, हिमाली भालु, हिमाली रातो भालु र कस्तूरी मृगको समेत उपयुक्त बासस्थान हो यो । नेपालका अन्य भागमा अति विरलै अभिलेख गरिएको कालीकण्ठे सारसले लिमी उपत्यकामा भने प्रजनन नै गर्ने राजु आचार्य र यादव घिमिरेद्वारा प्रकाशित लेखमा उल्लेख छ । सन् २०१५ मा नरेश कुसी र जेराल्डिन वेरहानले माथिल्लो हुम्लाको ग्याउँ उपत्यकाबाट नेपालकै लागि नयाँ चरा हिमाली भारद्वाज पत्ता लगाए । ११६ भन्दा बढी मुलुकमा चरा र तिनको बासस्थान सम्बन्धमा अध्ययन तथा संरक्षण गर्ने संस्था बर्डलाइफ इन्टरनेसनलले लिमी उपत्यकालाई ‘महत्त्वपूर्ण चरा तथा जैविक विविधता क्षेत्र’ का रूपमा सूचीकृत गरेको छ ।

हुम्लाको लिमी उपत्यकामा खिचिएको जंगली चौंरीगाई । तस्बिर सौजन्य : चुङ्बा शेर्पा

सन् २०१४ मा यस पंक्तिकारको नेतृत्वमा जाजरकोट जिल्लाको उत्तरपूर्व बारेकोट क्षेत्रमा गरिएको अनुसन्धानमा विश्वमै दुर्लभ अति संकटापन्न सुन गिद्धको गुँड पत्ता लागेको थियो । त्यसअघि सुन गिद्धको गुँड पाल्पा जिल्लामा मात्र भेटिएको थियो । यसका अलावा दुर्लभ सेतो गिद्ध, हिमाली गिद्ध र हाडफोर गिद्धका गुँड पनि यस क्षेत्रबाट अभिलेख भएका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनद्वारा संरक्षित वन्यजन्तुको सूचीमा राखिएका विश्वमै दुर्लभ चिर कालिज, हाब्रे (रेड पान्डा), कस्तूरी, हिउँचितुवा, डाँफे, मुनालसहित ओत, वन कुकुर (ढोले) र हिमाली भालु, फोक्राससमेत पाइने बारेकोट क्षेत्रलाई पनि ‘महत्त्वपूर्ण चरा तथा जैविक विविधता क्षेत्र’ घोषणा गरिएको छ । अन्तर्राष्ट्रिय मान्यता पाएको भए पनि राज्यले भने यि महत्त्वपूर्ण चरा तथा जैविक विविधता क्षेत्रको अपनत्व र प्रवर्द्धन गर्न सकेको छैन । त्यसै गरी डोल्पा र जुम्ला जिल्लासँग सीमा जोडिएको बारेकोट क्षेत्रका प्राकृतिक स्रोत–साधन र जैविक विविधताको दिगो संरक्षण, सदुपयोग र प्रवर्द्धनका लागि संरक्षित क्षेत्र बनाउन सम्भाव्यता अध्ययन गरिएको वर्षौं बितिसक्दा पनि हालसम्म यसले मूर्तरूप लिन सकेको छैन ।

नेपालमा जाडो याममा उत्तरी भूगोलबाट बसाइँ सरी आउने भनिएको ठूलो जलेवाको गुँड नेपालमै पहिलो पटक सन् २०१६ मा यस पंक्तिकार र गोविन्दबहादुर सिंहले रुकुम र जाजरकोट जिल्लाको सीमामा बग्ने भेरी नदी किनारमा फेला पारेका थियौं । सन् २०१९ मा सोम जीसी, राजु आचार्य र नवराज चापागाईले पनि कालीकोट जिल्लामा ठूलो जलेवाको गुँड भेट्टाएका थिए । हालसम्म यस चराको गुँड कर्णालीबाहेक अन्यत्रबाट अभिलेख भएको छैन । सन् १९९१ पछि नेपालमा भरपर्दो अभिलेख नभएको कालो ओंत पनि गोविन्दबहादुर सिंह नेतृत्वको समूहले जाजरकोटमा सन् २०२१ मा फेला पारेको थियो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनद्वारा संरक्षित हुँडार पनि सल्यान र रुकुमबाट अभिलेख भएको छ ।

हुम्लाको लिमी उपत्यकामा खिचिएको जंगली चौंरीगाई । तस्बिर सौजन्य : चुङ्बा शेर्पा

नेपालको सबैभन्दा ठूलो ताल रारा हो, जुन मुगुको रारा राष्ट्रिय निकुञ्जमा पर्छ । नेपालमा मात्र पाइने छ प्रजातिका स्थानिक माछामध्ये तीन प्रजातिका रारामा मात्र पाइन्छन् । एकएक प्रजातिका भ्यागुता र सर्प पनि रारामा मात्र पाइन्छन् । फूल फुल्ने बिरुवाका १६ भन्दा बढी प्रजाति रैथाने छन् जुन रारा राष्ट्रिय निकुञ्जमा मात्र पाइन्छन् । करिब २९० प्रजातिका चरा र ५१ भन्दा बढी प्रजातिका स्तनधारी जनावर पनि पाइने रारा राष्ट्रिय निकुञ्ज प्रमुख पर्यटकीय गन्तव्य पनि हो । नेपालको सबैभन्दा गहिरो ताल फोक्सुन्डो शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा पर्छ । डोल्पा र मुगु जिल्लामा फैलिएको शे–फोक्सुण्डो नेपालको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्जसमेत हो । हिमालपारि रहेको यस निकुञ्जमा तिब्बती वातावरणमा पाइने प्राकृतिक सम्पदा पाइन्छन् । हिउँचितुवा, तिब्बती खरायो, चिरु, तिब्बती गधा, नायन, नाउरजस्ता स्तनधारी जनावरसँगै डाँफे, मुनाल, चिर कालिज, सेतो गिद्ध लगायतका करिब ३०० प्रजातिका चरा, ६ प्रजातिका सरीसृप, ३२ प्रजातिका पुतली र २८६ प्रजातिका जडीबुटी पनि पाइन्छन् । विभिन्न वैज्ञानिक अध्ययनबाट यो निकुञ्ज हिउँचितुवाका लागि सबैभन्दा उपयुक्त बासस्थान रहेको प्रमाणित भएको छ । सन् २०१६ मा नरेश कुसी र जेराल्डिन वेरहानको टोलीले यही निकुञ्जबाट नेपालकै लागि नयाँ चरा कैलोपुच्छ्रे चाचर पत्ता लगाएको थियो ।

फोक्सुन्डो ताल र रारा ताल दुवै विश्व रामसारमा सूचीकृत सिमसार क्षेत्र पनि हुन् । यसका अलावा सुर्खेतको वराह ताल, सल्यानको कुपिण्डे दह, रुकुमको स्यारपु ताल र जुम्ली पोखरीसँगै कर्णाली नदी र यसका सहायक नदीहरू महत्त्वपूर्ण सिमसार हुन् । सुर्खेतको काँक्रेविहार वन संरक्षित वन क्षेत्र हो । कर्णाली प्रदेशमा करिब ४,५०० सामुदायिक वनÙ ८६१ कबुलियत वन र १० धार्मिक वन पनि छन् ।

हुम्लाको लिमी उपत्यकामा खिचिएको जंगली चौंरीगाई । तस्बिर सौजन्य : चुङ्बा शेर्पा

कर्णाली प्रदेश मुलुकको सबैभन्दा ठूलो मात्र होइन, जैविक विविधता, विविधतायुक्त भुबनोट, प्राकृतिक सम्पदा, संस्कार, संस्कृति, रहनसहनमा पनि अब्बल प्रदेश हो । कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा सन् २०२० मा प्रकाशित ‘कर्णाली प्रदेशको जैविक विविधता : वर्तमान अवस्था र संरक्षण’ पुस्तक अनुसार यस प्रदेशमा नेपालमा पाइने चराका ४६ प्रतिशत, स्तनधारी जनावरका ४२, माछाका ३२, उभयचरका ४३, सरीसृपका ११, पुतलीका २२ र फूल फुल्ने बिरुवाका ४२ प्रतिशत प्रजाति पाइने उल्लेख छ । कर्णाली प्रदेशमा मात्र पाइने ४७ प्रजातिका वनस्पति छन् । तर कर्णाली प्रदेशका तल्लो हिमाली क्षेत्रदेखि लिएर उच्च हिमाली र हिमालपारि क्षेत्रका कतिपय स्थानमा अनुसन्धानकर्ता तथा संरक्षणकर्मी पुग्नै सकेका छैनन् ।

तीतो सत्य के हो भने, कर्णाली आफैंमा जैविक विविधतामा समृद्ध हुँदाहुँदै पनि यसको विस्तृत अध्ययन, अनुसन्धान र प्रवर्द्धन हुन सकेको छैन । दर्जनौं दह र झरना, मनोरम लेकाली पाटन, घाँसे मैदान, परम्परागत बस्ती, हिमाली तथा तिब्बती आकर्षक भू–दृश्यजस्ता राष्ट्रिय–अन्तर्राष्ट्रिय महत्त्व तथा पर्यापर्यटनका खजाना भए पनि यिनको उचित प्रवर्द्धन हुन नसक्दा समृद्ध कर्णालीले समृद्धि ल्याउन सकेको छैन । घोडाहरू चरिरहेका लमतन्न पाटन, ढुंगाहरूमा छेलिँदै खेलिरहेका हिमाली हिउँकुखुराका बथान, रंगीबिरंगी भुइँफूलहरू, चट्टानमा हाड खसालेर फोरी खाइरहेका हाडफोर गिद्ध, ससाना पुतलीहरू, पाटनको छाती फोरेर निस्किएका मूलहरू, कालिगडले कुँदेजस्ता चट्टान तथा तिनको संरचना र टिलपिलाइरहेका दहका दृश्यहरू कर्णालीमा मात्र देख्न पाइन्छ । विषम भूगोलमा अवस्थित यी प्राकृतिक सम्पदा, यहाँको पारिस्थितिकीय संरचना, जैविक तथा अजैविक पक्ष अध्ययन–अनुसन्धानको हिसाबले पनि उत्तिकै महत्त्वपूर्ण छन् । खास गरी ओझेलमा परेका नयाँ भूगोलमा पदयात्रा र अन्वेषण गर्न रुचाउने प्रकृति तथा वन्यजन्तुप्रेमीहरूका लागि कर्णाली उपयुक्त गन्तव्य हो । डोल्पा र हुम्लाका माथिल्ला हिमालपार क्षेत्रहरूले भौगोलिक, जैविक, राजनीतिक, सामाजिक र सांस्कृतिक परिदृश्यमा अनुपम, अलग र विशिष्ट पहिचान बोकेका छन् । यो क्षेत्र नेपालमा हिमाली गिद्ध र हाडफोर गिद्धको उच्च घनत्व भएको उत्कृष्ट बासस्थानसमेत हो । यस क्षेत्रमा बस्ने तिब्बती मूलका लामा समुदायमा मृत आफन्तको शव गिद्धलाई खुवाउने चलन छ र गिद्धलाई मृतक (आत्मा) लाई स्वर्ग पुर्‍याउने दूतका रूपमा पुज्ने गरिन्छ । ती क्षेहरूमा अन्त्येष्टि संस्कार र गिद्धको सम्बन्ध प्राचीनकालदेखि अन्योन्याश्रित र घनिष्ठ रहँदै आएको छ । यस क्षेत्रमा जैविक विविधतासँगै यहाको संस्कृति, रीतिरिवाज र यस्ता अपवाद मानव–वन्यजन्तु सम्बन्ध अध्ययन र अवलोकनमा पनि पर्यटक तथा अनुसन्धाताहरू आकर्षित हुन सक्छन् ।

कान्जिरोवा हिमालको काखमा अवस्थित रामसारमा सूचीकृत नेपालको सबभन्दा ठूलो ताल राराताल किनारमा रमाउँदै हिउँदे आगन्तुक एवं बटुवा कलहाँस र बसाइँसराइँको क्रममा विश्वको सर्वाधिक उचाइबाट उड्ने खोया हाँस । तस्बिर : टेक घर्तीमगर

विकट र पिछडिएको क्षेत्रका रूपमा मात्र कर्णालीलाई व्याख्या र प्रचार गर्नु कदापि शोभनीय हुँदैन । बरु यी सम्पदाहरूको अध्ययन, अनुसन्धान र प्रवर्द्धनमा जोड दिँदै, लिमी उपत्यका र बारेकोट क्षेत्रजस्ता महत्त्वपूर्ण क्षेत्रलाई संरक्षण क्षेत्र बनाउँदै पर्यटन अभिवृद्धि र स्थानीय बासिन्दाको जीविकोपार्जनमा सुधार तथा विकास मूल मुद्दा बनाउनुपर्छ । कर्णाली प्रदेशमा मुलुककै सबैभन्दा ठूलो परिमाणमा उच्च गुणस्तरीय जडीबुटीहरू पाइने हुँदा तिनको अनुसन्धान, दिगो उत्पादन, प्रशोधन र बजारीकरणमा जोड दिनुपर्छ । सचेतनाको अभाव र विभिन्न प्रलोभनमा परेर स्थानीय बासिन्दाले वन्यजन्तुको चोरीसिकार तथा ओसारपसार गरिरहेका र पक्राउ परिरहेका समाचारहरू कर्णालीबाट धेरै आउँछन् । यसलाई रोक्न पनि आम चासो, प्रतिबद्धता र उचित कार्यक्रमको खाँचो छ । यसका लागि गाउँ/नगरपालिका, जिल्ला तहसँगै प्रदेश र केन्द्र सरकार एवं सरोकारवाला निकाय सबैको हातेमालो आवश्यक छ । कर्णालीका यी सुन्दर प्राकृतिक सम्पदा र वन्यजन्तुको संरक्षण तथा पर्यापर्यटन प्रवर्द्धन यस प्रदेशको समृद्धिको आधार हो भन्ने मनन गरी अघि बढ्न जरुरी छ ।

एक दशकयता कर्णाली प्रदेशका विभिन्न जिल्लामा चरा, अन्य वन्यजन्तु र तिनको बासस्थानको अनुसन्धान तथा संरक्षणमा सक्रिय भुसाल पन्छी विज्ञ हुन् ।

प्रकाशित : वैशाख १२, २०८० ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?