कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३७

न कलाचेत न लैंगिक चेत

प्रकाश सपूत ‘पब्लिसिटी स्टन्ट’ मा होइन, अलि गहिरा र सााच्चै कलाचेतले भरिएका सृजनामा लागून् ।
सरिता तिवारी

शक्तिशाली लेखक पारिजातले जन्माएकी अविस्मरणीय पात्र सकम्बरीको नाम टिपेर चल्तीका गायक प्रकाश सपूतले गीत बनाए, जसले सुरुकै हप्ता ‘करोड भ्युज’ बटुलेर रेकर्ड बनायो । टिकटकको ‘ट्रेन्डिङ’ मा बाँकी सबै गीतलाई पछि पारेर अहिले यही अत्यधिक बजेको छ ।

न कलाचेत न लैंगिक चेत

गीतको अर्थ र आशय कता छ, त्यसले गर्ने इसारा र संकेत के हो भन्ने सामान्य बोधसम्म नगरी यसका लाइनलाइनमा अभिनय गर्ने प्रतिस्पर्धा छ । बजारमा झर्न नपाउँदै लोकप्रियताको चुली टेक्ने यो गीतमा केही त अवश्यै छ जसले एकैसाथ यति धेरै मानिसलाई प्रभाव पार्दै छ । त्यो अरू केही नभएर समाजको ठूलो हिस्साले सुन्न र बोल्न मन पराउने स्त्री–अस्तित्वविरोधी भाष्य नै हो । गीतका अन्तरापिच्छे कुनै पुरुषबिना महिलाले आफ्नै बल, बर्कत, विवेकले आत्मनिर्भर भएर आफ्नो र परिवारको गर्जो टार्नै सक्दिन भन्ने असाध्यै हेपाहा र विकारग्रस्त प्रश्न भरिएका छन् तर ती सबै कुरालाई चिर्ने अपेक्षित सशक्त तर्क र जवाफ यसमा छैनन् । अन्तिममा सबैतिरबाट हेपिएर, थप्पड खाएर बल्ल मुख खोलेकी युवती पात्रको बोलीबाट जे व्यक्त भएको छ, त्यो प्रश्नका तुलनामा असाध्यै झिनो, कमजोर र अपर्याप्त छ ।

गीतमा बाबुबाट असह्य रूपको घरेलु हिंसा र कोप खपेकी अबोध ग्रामीण बाला फूलमायादेखि सहरिया मोडल/हिरोइन सकम्बरीसम्म, चरम आभावविरुद्ध परिवारको दायित्व लिएर कठोर संघर्षका दौरान गाउँले ‘दाइ’ को जिम्मा लागेर काठमाडौं पुगेकी, दोहोरी साँझकी ‘वेट्रेस’ हुँदै उच्च दरकी यौनकर्मी र अझ पछि प्रसिद्ध कलाकारसम्मको कायाकल्पको कथा देखाइएको छ । यो सम्पूर्ण कथाको आधार हो- पितृसत्ताले आफ्नै ऐयासी र शरीरसुखका लागि स्त्रीदेहमाथि गर्दै आएको मोलमोलाइ र शोषणमा पुरुषको भूमिकालाई गौण ठहर्‍याएर महिलालाई मात्रै लाज र ‘पाप’ लाग्नुपर्छ भन्ने सामाजिक सोचग्रन्थि । तर जुन सोचग्रन्थिलाई आक्रमण गर्नुपर्ने हो, त्यसलाई भत्काउने तर्क, ढंग र विवेक नपुग्दा उल्टै त्यही सोचको ‘प्रवक्ता’ बन्न पुगेको छ यो गीत । यस अर्थमा प्रकाशको गीत एउटा असफल, व्यर्थ र घोर प्रत्युत्पादक चीज बनेको छ । बच्चाबच्चाका दिमागका भित्तामा चिप्किने गरी गुन्जिने ‘फूलमया, तिम्लाई कल्ले किन्दियो ? तिम्लाई कल्ले भन्दियो ?’ जस्ता पंक्तिले कसरी मन्दविषले झैं चेतनाका जरा कुहाउँछन्, जुन हाम्रा नांगा आँखाले देख्दैनन् ।

यस गीतका सम्बन्धमा सामाजिक सञ्जालका भित्तामा अनेकौं कोणबाट सार्वजनिक टिप्पणी भइरहेका छन् । गीत र यसले ग्रहण गरेको परिवेशको आलोचना र समर्थनमा थुप्रै बहस छेडिएका छन् । यसैबीच यो गीतले रात्रिकालीन व्यवसायमा संलग्नहरूलाई अपमान गरेको भनी सम्बद्ध पेसाकर्मीले कडा आपत्ति जनाए । ‘करोड क्लब’ मा नपुगुन्जेल आफूमाथिका सबै आलोचनालाई ‘कलाचेतको कमी’ भन्दै उपेक्षा र उपहास गरेका प्रकाश करोड ‘भ्युज’ को सिँढी चढेपछि सार्वजनिक माफीनामा लेख्न तयार भए । यसअघि पनि उनले काम गरेको ‘गलबन्दी’ नामक गीतमाथि चोरीको आरोप लागेको हो । पछिल्लो अर्को गीतमा ‘जनयुद्ध’ मा सहभागी माओवादी पूर्वलडाकुलाई अपमान गरेको भन्दै विवाद आइलागेको पनि हो । यी दुवै गीतको प्रसंगमा अहिलेजसरी नै उनले माफ मागेका हुन् । गीतका अंशसमेत निकालेर पुनः खिचेर सम्पादन गरेका हुन् । विवादित हुने गरी गीत तयार गर्ने र पछि आएर माफी माग्ने सिलसिला हेर्दा के देखिन्छ भने, प्रकाश जानीजानी सार्वजनिक विवाद जन्मने गरी काम गर्छन्Ù आफूले तयार पार्ने गीतका कतिपय शब्दको प्रभाव मूल्यांकन नै नगरी वा त्यसका विषयमा सामान्य ‘रिसर्च’ पनि नगरी । समाजले ‘रुचाएको’ वा बजारले चाहेको शब्द र भाष्यमै अडिएर गीत बनाउने उनको मूल प्रवृत्ति आफ्नो गीत उधुमसँग चलाउँदै करोड भ्युज नघाउने काइदाको ‘पब्लिसिटी स्टन्ट’ नै रहेछ । यस्तो निष्कर्षमा पुग्न उनका एकपछि अर्का गीत नै प्रमाण बनेका छन् । यो पछिल्लो गीत पनि उनको ‘पब्लिसिटी स्टन्ट’ नियतकै अर्को विषाक्त नमुनाका रूपमा आयो ।

०००

अहिले सामाजिक सञ्जाल र विभिन्न लेखमार्फत यो बहसमा समावेश भएका कतिपयले यस गीतमाथिका आलोचनामा प्रत्यालोचना गर्दै गीतले गरेको परिवेश चित्रणलाई जायज ठहर्‍याएको देखिन्छ । गीतमा झुम्का र बुलाकीदेखि मोबाइल, टीभी र स्कुटर किन्नैका लागि ‘महिलालाई यौनकर्मी बनेको देखाइयो’ भनिएको भनेर गरिएका टिप्पणीहरूमाथि आक्रोश पनि देखिन्छ । तर गीतमाथिका आलोचनात्मक टिप्पणी र विमर्शहरू युवती पात्रलाई यौनकर्मीका रूपमा देखाइयो भनेरै मात्र आएका होइनन्, बरु त्यसमा प्रयुक्त भाषा र विम्बमाथि असहमतिस्वरूप आएका हुन्Ù तिनले ध्वनित गर्ने भाष्यलाई प्रतिवाद गर्नका लागि आएका हुन् भन्नेमा स्पष्ट हुनु आवश्यक छ । यथार्थमै, आज मुलुकभित्र र बाहिर हजारौं महिला विभिन्न स्तर र रूपका यौनकर्ममा हेलिएर परिवारको आर्थिक व्यवस्थापन गरिरहेको तथ्यमाथि कसैले आँखा चिम्लन मिल्दैमिल्दैन, न त यो आजको मात्रै कथा हो । यो त दशकौंदेखि, अझ त्योभन्दा पनि अघिदेखि स्त्रीदेहका ठेकेदारहरूबाट निरन्तर चलिरहेको छ । यसलाई सम्पूर्ण सामाजिक पद्धतिको एउटा आयामकै रूपमा यसरी चलाइएको छ कि, कैयौं महिला र पछिल्ला दशकहरूमा त पुरुषसमेत व्यावसायिक रूपमै आफ्नै छनोट (त्यो कति निजी/स्वतन्त्र छनोट हो वा कति निर्विकल्प भन्ने विषयमा सम्बन्धित व्यक्तिले बाहेक अरूले बोल्न गाह्रो छ) मा यौनकर्म गरिरहेको भन्ने तथ्यहरूसमेत बाहिरिने गरेका छन् । ‘आफ्नै रोजाइ’ मा किन नहोस्, यौनकर्मीका रूपमा काम गरेर अर्थोपार्जन गर्नु नैतिक–अनैतिकको तुलामा तौलिएर ठीक–बेठीक ठहरिने हो कि होइन भन्ने बहस संसारभर नै लामो समयदेखि चलिरहेको छ । ‘सेक्स वर्क’ लाई वैधानिक पेसाका रूपमा ग्रहण गर्न–गराउन गरिएका आन्दोलन र निर्धारित ‘रेडलाइट एरिया’ हुनुपर्छ भनेर उठेका आवाजलाई कसरी हेर्ने भन्नेमा समाजको मत विभाजित छ भन्ने तथ्यलाई पनि बेवास्ता गर्ने भनेको होइन । (यद्यपि, समाज भनेका कोको हुन् ? समाजको मनोविज्ञान र निर्णयका मानक संरचक केके हुन् ? यो पनि बहसकै विषय हो ।) यौनकर्मलाई हेय वा तुच्छ भन्ने र संरचनागत आर्थिक असमानता, बेरोजगारी, उपभोक्तावादको चरम भुमरीमा परेर किशोरी र महिलाहरूले भोग्नुपरेका असहनीय त्रासदी, वैदेशिक रोजगारीका नाउँमा हुने संस्थागत ठगी, गन्तव्य मुलुकमा पुगेपछि यौनजन्य श्रममा होमिदिने र अझ कतिपय अवस्थामा त घरेलु श्रमका लागि भनेर जाँदा यौनशोषणको विकराल जालोभित्र समेत फस्नुपर्ने स्थितिको सिकार भएका अनेकौं प्रकरणलाई अस्वीकार गर्ने भनेको पनि होइन ।

कुरा के हो त भने, प्रकाशको गीतले सुदूर गाउँदेखि काम दिलाइदिने नाउँमा एउटी युवतीलाई सहरमा ल्याएर जालझेलपूर्वक यौनशोषणको भयावह चक्रभित्र झोस्ने परिवेशको चित्रण त गरेको छ तर यसका नियामक संरचनाका घेरा र तिनका कर्ताप्रति लगभग मौन छ । त्यहाँ गायक पात्रबाट व्यक्त भएका प्रश्नले बोक्ने भाष्य अत्यन्तै पूर्वाग्रही र खतरनाक छन् । प्रतिकारमा युवती पात्रबाट व्यक्त गराइएका संवाद भने अत्यन्तै निम्छरा र निरीह छन् । र अन्तमा यौनकर्मसँग जोडेर गरिएको पापको व्याख्या त सबभन्दा डरलाग्दो छ जसले आफूलाई यो दुश्चक्रमा फसाउने सारा पात्रसँगै ‘सायद पाप मलाई पनि लाग्छ’ भन्दै ‘धर्म’ र कथित ‘इज्जत’ का परम्परागत मूल्यलाई नै सकारेको छ । त्यसभन्दा अघि बढेर विद्रोहको भाषा बोल्न सकेको छैन । र अन्तमा उसले कुनै पुरुषकै ‘अफर’ मा राजनीतितर्फ फड्को मार्ने सम्भावनामा ल्याएर बिसाइएको छ । ‘शिरीषको फूल’ बाट प्रभावित भएर आफूलाई ‘सकम्बरी’ नाउँमा चिनाउन चाहने युवतीको मुखबाट आफ्नै देह लुछेर यहाँसम्म पुर्‍याउने पुरुषको थप्पडपछि गरिएको प्रतिवादमा मात्रै पनि गीतभरिका स्त्रीद्वेषी प्रश्नको दमदार जवाफ दिन लगाइएको भए यो गीत वास्तवमै सानदार हुन सक्थ्यो । यसको भाष्य पुरुष आफूद्वारा ‘भोगिने’ स्त्रीलाई झुम्का–बुलाकी लगायतका सामान दिन–दिलाउन सक्ने र स्त्री कुनै पुरुषलाई देहसुख दिएर मात्रै ती चीज किनाउन–प्राप्त गर्न सक्ने हुन् भन्ने विन्दुमा अड्केको छ । कलाचेतको तर्क गरेर आलोचकहरूलाई बारम्बार होच्याउने प्रकाशले कति नै मिहिनेत गरेर बनाएको यति लामो भिडियोको सार पूर्ण रूपले सपाट र भाग्यवादी छ । यथार्थ देखाउनै खोजेको हो भने पनि यथार्थका आधारभूत तहभित्र गहिरिन सकेको छैन । यस गीतका अधिकांश शब्दको भाव घुमीघुमी ‘स्त्री आफैंमा कोही पनि र केही पनि होइन’ भन्नेमै थेग्रिएको छ । तर मुख्य पात्रबाट त्यसको सशक्त तार्किक प्रत्युत्तरसहितको प्रतिकार भएको छैन । स्त्री चरित्रमाथि आजसम्म समाजका कथित ‘इज्जतदार’ ले तेर्स्याउने गरेका प्रश्नलाई नै दोहोर्‍याएर, तिनैलाई बलियो बनाएर प्रस्तुत गर्दा प्रकाशले दाबी गरेको ‘लघु चलचित्र’ सम्मैको मिहिनेत शून्य मात्रै होइन, उल्टै गीतमाथि नै ब्याक फायर हुने गरी ‘बुमर्‍याङ’ साबित भएको छ ।

०००

प्रकाशको गीतका शब्दले आजको चेतनाका स्त्रीहरूको भाषा नबुझेको मात्रै होइन, आफ्नै पात्रमाथि संवेदनाको गहनता छुने भाव पनि दिएको देखिन्न । तर्कका झापडले कसेर बजार्ने ‘ग्राउन्ड’ रहँदारहँदै पनि मुखर विद्रोहसहितको न्यायिक बैठान गरेको देखिन्न । यसमा त यौन–शोषणकारी पात्रकै बोली पो बलियो देखियो । उसैका रूखा र क्रूर प्रश्नहरू समाजका जिब्राजिब्रामा झुन्डिने गरी, मोबाइलका भित्तापिच्छे गुन्जिने गरी ‘सेट’ हुने भए । तर त्यस्ता प्रश्नको उत्तर असाध्यै निम्छरो र लुरे भयो । भाग्यवादी र अकर्मण्यवादीसमेत भयो । उनीमाथि आलोचनाको चुरो कारण यही हो । किनभने यो इतिहासको एकादेशकी युवतीको कथा होइन, आजकी नयाँ संस्करणकी ‘सकम्बरी’ को कथा हो । उनले वा उनीजस्ता तमाम सर्जक, कलाकारले आजका स्त्रीहरू चिन्ने आँखा उघारून् ।

प्रकाशको गीतले समाजका वास्तविक ‘फूलमाया’ हरूलाई न्याय गर्ने त कता हो कता, आफैंले उभ्याएकी सकम्बरीलाई सम्म न्याय दिन सकेको छैन । यसले दिने सन्देश पूरापूर पितृसत्तावादी, शोषणकारी, भाग्यवादी भाष्यलाई नै फाइदा पुग्ने गरी विषाक्त छ । पारिजातले जन्माएका अविस्मरणीय पात्रहरू सकम्बरी र सुयोगवीरका नाम प्रयोग गरिएकामा पारिजात स्मृति केन्द्रले त क्षमायाचनासहित केही दृश्य सच्याउन भनेको रहेछÙ मेरो ठम्याइमा यो गीत जति दिन, घण्टा र मिनेट आम पहुँचमा उपलब्ध हुन्छ, त्यति नै तीव्रताले यसले समाजको सामूहिक चेतलाई उल्टो गतिमा घुमाउँछ । प्रकाश सपूत यस्ता ‘पब्लिसिटी स्टन्ट’ मा होइन, अलि गहिरा र साँच्चै कलाचेतले भरिएका सृजनामा लागून् । यस पटक उनी आफैंले यसलाई ‘एउटा विषालु फूल फुट्यो’ भनेर खारेज गर्ने आँट गरून् । तब उनको ‘कलाचेत’ मात्रै होइन, समयचेत र लैंगिक चेतसमेत लाई सलाम गरौंला ।

प्रकाशित : वैशाख १२, २०८० ०७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?