१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६६९

तेस्रो उमेरको विश्वविद्यालय

साक्षरलाई निरन्तर शिक्षा दिन फ्रान्समा एक्स्ट्रामुरल शैक्षिक व्यवस्था छ । ल्याटिन भाषामा एक्स्ट्रा भनेको बाहिरी, मुरल भनेको अध्ययन हो । स्कुलकलेज बाहिरको अध्ययन । संरचनाको हिसाबमा निरन्तर शिक्षाका लागि प्रबन्धित शिक्षालय । यही प्रबन्धको विस्तारित रूप नै तेस्रो उमेरको विश्वविद्यालय हो ।
विद्यानाथ कोइराला

तेस्रो उमेर 
वैदिक पुर्खाले सय वर्षलाई पूर्ण उमेर माने । जिवेम शरदः शतम् । यसकै आधारमा २५ वर्षे उमेर समूह बनाए । ब्रह्मचर्य पहिलो उमेर हो । पढ्ने बेला । गृहस्थाश्रम दोस्रो उमेर हो । घरबार गर्ने बेला । वानप्रस्थ तेस्रो उमेर हो । घरबारसँग मोहभंग गर्ने बेला । संन्यास चौथो उमेर हो । 

तेस्रो उमेरको विश्वविद्यालय

ब्रह्मऊर्जा (कस्मिक इनर्जी) सँग आफ्नो ऊर्जा (आत्मा) मिलाउने बेला । पुर्खाका शब्दमा, परमात्मासँग आत्मा मिलाउने बेला । तर पश्चिमाले चाहिँ सेवानिवृत्तिको उमेरलाई तेस्रो उमेर माने । नेपाली शब्दावलीमा कतै ५८ वर्षे । कतै ६० वर्षे । कतै ६३ वर्षे । कतै ६५ वर्षे । स्वैच्छिक अवकाश लिए कुनै पनि वर्षे ।

पूर्वीय संस्कारले तेस्रो उमेरमा स्वज्ञानलाई प्रमुख मान्यो । आफैंलाई पढ्ने । आफैंमा पढ्ने । अहं ब्रह्मास्मि भनेको त्यही हो । अनुसन्धानको शब्दावलीमा व्यक्ति ब्रह्माण्डको नमुना (स्याम्पल) हो भनेको हो । व्यक्ति पढ्दा ब्रह्माण्डको ज्ञान हुन्छ भनेको हो । व्यक्ति शरीर हो । यसबाट पदार्थीय ज्ञान हुन्छ । व्यक्ति मन हो । यसबाट संज्ञान क्षेत्रको ज्ञान हुन्छ । व्यक्ति ऊर्जा हो अथवा चेतन हो । यसबाट ऊर्जा वा चेतनको भूमिका थाहा हुन्छ । अर्थात्, व्यक्ति भनेको ऊर्जा वा चेतन, मन एवं पदार्थ मिलेर बन्छ भन्ने कुरा बुझिन्छ । यसबाट मिश्रणको ज्ञान पनि हुन्छ । मिश्रणको छुट्टिने तथा छुट्याउने ज्ञान । रसायनशास्त्रको ज्ञान हुन्छ । जन्मको अवस्थामा ऊर्जा, मन र पदार्थ जोडिने ज्ञान । मृत्युको अवस्थामा ती तीनवटै कुराको छुट्टिने ज्ञान । त्यही ज्ञान बुझ्न पुर्खाले संन्यास रोजे । सोही ज्ञान बाँड्न पुर्खाले सत्संगको अभ्यास गरे ।

पश्चिमाले चाहिँ परज्ञानलाई प्रमुख माने । अरूसँग पढ्ने । अरूलाई पढाउने । यही परिवेशमा तेस्रो उमेरको विश्वविद्यालय बनेको हो । फ्रान्सका पिर्रे भेल्लासलाई यसको श्रेय जान्छ । यिनले सन् १९७३ मा तेस्रो उमेरको विश्वविद्यालयको चिन्तन ल्याएका थिए ।

विश्वविद्यालयको स्वरूप के हो ?

साक्षरलाई निरन्तर शिक्षा दिन फ्रान्समा एक्स्ट्रामुरल शैक्षिक व्यवस्था छ । ल्याटिन भाषामा एक्स्ट्रा भनेको बाहिरी हो । मुरल भनेको अध्ययन हो । स्कुलबाहिरको अध्ययन । कलेज बाहिरको अध्ययन । विश्वविद्यालय बाहिरको अध्ययन । संरचनाको हिसाबमा निरन्तर शिक्षाका लागि प्रबन्धित शिक्षालय । यही प्रबन्धको विस्तारित रूपलाई नै तेस्रो उमेरको विश्वविद्यालय भनिएको हो ।

भेल्लासको चिन्तनलाई सन् १९९० मा विस्तार गरियो । त्यसको तत्कालीन नाम फुर्सदमा सिक्ने विश्वविद्यालय (युनिभर्सिटी अफ फ्रिटाइम लर्निङ) थियो । सन् २००९ पछि यसको नाम भर्चुअल विश्वविद्यालय बन्यो । यो नाम हुँदा यसले मूलतः हिँड्न नसक्ने तथा दीर्घरोगीलाई लक्षित गर्‍यो । बेलायतले चाहिँ यो अवधारणामा परिष्कार गर्‍यो । अनि ५५ वर्षमाथिका व्यक्तिहरूलाई पठनपाठन गर्ने संस्थाका रूपमा विकसित गर्‍यो । सेवानिवृत्तहरूले यसमा योगदान दिए । अमेरिकाले यसलाई निरन्तर शिक्षाका रूपमा अभ्यास गरायो । अहिले आएर यो विश्वविद्यालयमा बच्चा हुर्काइसकेकाहरू पनि संलग्न छन् । काममा नलागेकाहरू पनि यसका शिक्षार्थी भएका छन् । अन्य जिज्ञासुहरू पनि यसमा अध्ययनरत छन् । सिक्छन् । सिकाउँछन् । यस अर्थमा अब यो विश्वविद्यालय दूर शिक्षा विश्वविद्यालय पनि बनेको छ । सबै उमेर समूहको बनेको छ । प्रत्येक जिज्ञासुको बनेको छ । वेभमा पनि चल्ने । आमनेसामनेमा पनि चल्ने । वेभमा चल्दा डिजिटल विश्वविद्यालय । आमनेसामने बन्दा सत्संगी विश्वविद्यालय ।

अहिले पनि पढ्नेहरूको स्वैच्छिक दानले यो विश्वविद्यालय चल्ने गरेको छ । कुनै व्यक्तिगत रूपका नियमित दाता पनि छन् । कतै च्यारिटी कोष पनि बनाइएको छ । कतै सरकारले केही रकम दिने प्रबन्ध पनि गरेको छ ।

कुन देशमा कस्तो अवस्था छ ?

तेस्रो उमेरको विश्वविद्यालय विश्वव्यापी बन्दै गएको छ । पोल्यान्ड, चेक, स्लोभाकियाका ४० वटा विश्वविद्यालयमा तेस्रो उमेर समूहको विश्वविद्यालय चलेको छ । तिनीहरू एकअर्कामा सञ्जालित पनि छन् । इटालीले पनि देशमा भएका विश्वविद्यालयलाई सञ्जालित गरी तेस्रो उमेरको विश्वविद्यालय सञ्चालन गरेको छ । अस्ट्रेलियाले सन् १९८४ मा तेस्रो उमेर समूहको विश्वविद्यालय सुरु गरेको थियो । सन् २०२३ मा त्यहाँ २५० वटा तेस्रो उमेर समूहका विश्वविद्यालयहरू बनिसकेका छन् । त्यस्तै, क्यानाडाले सन् २००७ मा तेस्रो उमेर समूहको विश्वविद्यालय खोल्यो । अहिले त्यहाँको विश्वविद्यालयमा उच्च माध्यमिक तहदेखि विश्वविद्यालय तहसम्मका विषयवस्तुहरूको पठनपाठन भइरहेको छ । सन् २०१८ सम्ममा त्यहाँ २१ वटा विषयगत समूह बनिसकेका थिए । हाल त्यो संख्यामा वृद्धि भइरहेको छ । चीन, रुस, ल्याटिन अमेरिका तथा मोरिसस लगायतमा पनि यस्ता विश्वविद्यालयहरू सञ्चालनमा आएका छन् ।

के पढाइ हुन्छ ?

तेस्रो उमेर समूहको विश्वविद्यालयमा इतिहास, संगीत, विज्ञान, सामाजिक, गणित, दर्शन, नाच, कम्प्युटर, भाषा, उद्यम, परम्परागत नीतिनियम, धर्म, राजनीति, सीप शिक्षा, शारीरिक क्रियाकलाप, संवाद तथा खेलका विषयहरूको पठनपाठन हुन्छ । कतिपय अनौपचारिक रूपका । कतिपय औपचारिक शिक्षालाई सघाउने खालका । छोटो भाषण, संवाद, प्रश्नोत्तर, छलफलजस्ता विधिबाट ती विषयहरूको पठनपाठन हुने गरेको छ ।

उपलब्धि के हो ?

तेस्रो उमेर समूहको विश्वविद्यालयले अनेकन् उपलब्धि हासिल गरेको छ । प्रथमतः यसले साक्षर तथा साक्षरोत्तरलाई निरन्तर शिक्षा सुनिश्चित गरेको छ । निष्क्रिय बस्न बाध्य भएको जनशक्तिलाई थप सचेत बनाएको छ । विधागत रूपमा अन्तरसंवाद गरे–गराएको छ । शारीरिक रूपमा स्वस्थ रहनका लागि जनतालाई सघाएको छ । अन्तरपुस्तैनी शिक्षालाई बलियो बनाएको छ । यानबिन चेन र साथीहरूले सन् २०१८ मा गरेको चीनको अध्ययन अनुसार, तेस्रो उमेर समूहको विश्वविद्यालयले गाउँ तथा सहरको दूरी घटाएको छ । विश्व बैंकले सन् २०२१ मा भारत तथा इन्डोनेसियामा गरेको अध्ययनले भन्छ— यो विश्वविद्यालयले अन्तरपुस्तैनी ज्ञान जोडेको छ । सीप जोडेको छ । प्रविधि जोडेको छ । लैंगिक दूरी घटाएको छ । अभिभावकलाई फाइदा दिएको छ । अभिभावकमैत्री विद्यालय बनाउन सघाएको छ । साथै यो विश्वविद्यालयले एकअर्को पुस्ताको ज्ञान, सीप तथा प्रविधि हस्तान्तरण गरेको छ । पुरानो पुस्ताको ज्ञान नयाँ पुस्तामा स्थानान्तरण पनि गरेको छ । पुनरुत्पादनका रूपमा । संशोधित रूपमा । रूपान्तरित रूपमा ।

नेपाली अभ्यास

कोरोनाकालमा केही नेपालीले तेस्रो उमेर समूहको विश्वविद्यालयको स्वाद चाखे । कहिले स्वास्थ्यको विषयमा । कहिले शिक्षाको विषयमा । कहिले विदेशीको उपस्थितिमा । कहिले स्वदेशीको उपस्थितिमा । त्यसमा सेवानिवृत्तहरू मात्रै थिएनन् । स्कुलकलेजका विद्यार्थीहरू पनि थिए । शिक्षक, प्राध्यापक पनि थिए । सेवारत । सेवानिवृत्त । यो अभ्यासले अहिले खास रूप लिन थालेको छ । परिणामतः अहिले केही सञ्जाल बनेका छन् । पहिलो, प्रशंसा चौतारी । दोस्रो, गुरु गोरखनाथ अध्यात्म केन्द्र । तेस्रो, जयतु संस्कृतं आध्यात्मिक पाठशाला । चौथो, जीवन दर्शन । यी सबै कार्यक्रमका पछाडि अम्बादत्त भट्ट, सुवर्ण कर्माचार्य, रमाकान्त सापकोटाजस्ता व्यक्तिहरूको लगन छ । सोच छ । परिश्रम छ । अरू सहयोगीहरू पनि यस कार्यमा समर्पित छन् ।

नेपालीले चलाएका तेस्रो उमेर समूहका विश्वविद्यालयहरूमा साहित्य, योग, न्युरो, मुटु, फिजियोथेरापी, राजनीति, शिक्षा, यात्रा संस्मरण, कृषिजस्ता विषयमा संवाद भएका छन् । ती संवादहरूको फेसबुक लाइभ पनि हुने गरेको छ । त्यहाँ जुम मिटिङ पनि हुन्छ । विज्ञता प्रदर्शन गर्न पनि पाइन्छ । सुन्न पाइन्छ । प्रश्न गर्न पाइन्छ । विशेष सञ्जालहरूले चाहिँ बेलाबेलामा आमनेसामने संवाद पनि गर्ने गरेका छन् । तर पीडा के हो भने, आमनेसामने संवादमा खर्च लाग्छ । सो खर्च दिने कसले हो ? जुम संवादमा धेरै श्रोता नभए विज्ञहरू उत्साहित हुँदैनन् । गर्ने के हो ? फेसबुक लाइभमा कतिले राम्ररी हेरे भन्न गाह्रो हुन्छ । व्यक्ति वा समूहले कार्यक्रम सञ्चालन गर्दा चाहिँ दिगोपनाको समस्या आउँछ । सुने–जानेका कुरा कति व्यवहारमा उतारिए भन्ने प्रामाणिक आधारहरू पनि पाइँदैनन् । नेपालका तेस्रो उमेर समूहका विश्वविद्यालयहरूले भोगेका समस्या यिनै हुन् ।

भोलिको सम्भावना

क्लिक विकासले गर्दा भेटको संस्कृति भिन्न बन्यो । नहिँडीकनै हुने भेट । चाहनासँगै हुने भेट । यो भेटलाई नेटको जानकारीले थप ऊर्जा दियो । यसले गर्दा हाम्रा कामहरू बदलिए । गैंची र साबेलले बाटो खन्नेहरू कामविहीन बने जस्तै । कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स) ले कारिन्दाहरू कामविहीन भएजस्तै । यही हालत हामी सबैको हुँदै छ । किनकि अबको मान्छे मेसिन बनाउँछ । मेसिन स्वचालित हुँदै जान्छ ।

यो स्थितिमा ज्ञान बाँड्ने कुरा गौण हुन्छ । अनुभव बाँड्ने कामचाहिँ केही समय रहन्छ । च्याट जीपीटीजस्ता सोच बढे भने अनुभव बाँड्ने काम पनि यान्त्रिक हुन सक्छ । यो स्थितिमा पनि भोलिका तेस्रो उमेर समूहका विश्वविद्यालयहरू सञ्चालित हुने स्थिति छ । किनभने यिनलाई संरचनाले बाँध्दैन । नेतृत्वले अलमल्याउँदैन । अर्थात्, न प्रशासकको नियन्त्रण । न व्यवस्थापकको जरुरी । न राजनीतिज्ञको दबाब । यसरी चल्ने भोलिको यो विश्वविद्यालय एकलपुस्तीय हुन सक्छ । बालबालिकाको मात्र । युवाको मात्र । प्रौढको मात्र । लैंगिक हुन सक्छ । पुरुषको मात्र । स्त्रीको मात्र । तेस्रोलिंगीको मात्र । तत्तत् समूहले चाहेको अन्तरसमूहको हुन सक्छ । अहिले भएको अन्तरपुस्तीय हुन सक्छ । विषयगत बन्न सक्छ । अन्तरविषयक बन्न सक्छ ।

अहिले तेस्रो उमेर समूहको विश्वविद्यालय समयकटनी बनेको छ । अनुभव बाँड्ने भएको छ । कालान्तरमा सल्लाहकार समूह बन्न सक्छ । राजनीतिक सल्लाहका लागि । आर्थिक सल्लाहका लागि । शैक्षिक सल्लाहका लागि । देशीय सल्लाह खोजे पनि हुने । अन्तरदेशीय सल्लाह खोजे पनि हुने । यो स्थिति बन्नासाथ सल्लाहकारहरूको नोकरी हराउन सक्छ । स्वदेशी सल्लाहकारको । विदेशी सल्लाहकारको ।

विद्यालय, कलेज तथा विश्वविद्यालयले तेस्रो उमेर समूहसँग सहकार्य गर्ने बेला भएको छ । अंग्र्रेजीको यु आकारको पढाइ बदल्न । अर्थात्, त्यही शिक्षकले सधैं पढाउने तरिकामा फेरबदल गर्न । अर्को शब्दमा, भुइँस्तरमा उपलब्ध बहुशिक्षकको उपयोग गर्ने संस्कृति बन्नमा । बनाउनमा । यसो गर्नाले शिक्षा जीवनसँग जोडिन्छ । बहुदृष्टिकोणीय बन्छ । अर्थात्, शिक्षकहरू जताततै हुन्छन् । विद्यार्थीले त्यहीँ शोध गर्न पाउँछ । परियोजना कार्य गर्न पाउँछ । यो स्थितिका लागि तेस्रो उमेर समूहको विश्वविद्यालय उपयोगी हुने देखिन्छ ।

विश्वविद्यालयहरू जनस्तरमा जोडिएनन् । अहिलेको जनगुनासो हो यो । तेस्रो उमेरको विश्वविद्यालय हाल भएका विश्वविद्यालयहरूको अभिन्न अंग हुन सक्छ । जनजनको विश्वविद्यालय बन्न सक्छ । जनताका कुरा सुन्ने । जनतालाई सुनाउने । भुक्तभोगीका कुरा सुन्ने । सरकारलाई सघाउने । अनुभव बाँडेर युवालाई थप सोचाउने । सम्भावना खोजाउने । खोज्न प्रेरित गर्ने ।

तेस्रो उमेर समूहको विश्वविद्यालय चलाएकाहरूको मीठो अनुभव छ । तीतो अनुभव पनि छ । यी दुवै अनुभवका आधारमा यो विश्वविद्यालयलाई आकारित गर्न सकिन्छ । मीठो अनुभवका आधारमा सबै उमेर समूहको बनाउने । तीतो अनुभवका आधारमा आमनेसामने विश्वविद्यालय बनाउने । टीभी विश्वविद्यालय बनाउने । अनलाइन विश्वविद्यालय बनाउने । फेसबुक विश्वविद्यालय बनाउने । फेसबुक लाइभको विश्वविद्यालय बनाउने । यसो गर्नासाथ तेस्रो उमेर समूहको विश्वविद्यालय समयको बन्देजबाट मुक्त हुन्छ । जहिले चाहियो तहिले पढ्ने संरचनामा जान्छ । यो कार्यलाई अहिलेदेखि नै अभ्यासमा ल्याउने सम्भावना देखिन्छ ।

डिजिटल आर्काइभ अर्को आवश्यकता हो । कुन बेला कसले के भन्यो भन्ने कुरा सहजै हेर्न पाउने । यो आर्काइभ बन्ने क्रममा छ । त्यसलाई तेस्रो उमेर समूहको विश्वविद्यालयले उपयोगमा ल्याउन सक्छ । यति गर्नासाथ यो विश्वविद्यालय सबैको बन्न पुग्छ । अनि अर्को चिन्तन बन्छ— यो विश्वविद्यालयको नाम नै फेर्ने कि ? उमेरमा आधारित यो विश्वविद्यालय सबैको साझा बनेपछि त्यही नाम बोक्नु ठीक होला र ? यो सोचले तेस्रो उमेर समूहको विश्वविद्यालय बहुमुखी बन्छ । बहुलता समेटेको । पढी–विज्ञ तथा अनुभव–विज्ञको ज्ञान, सीप तथा प्रविधि जोड्न सक्ने । जोडाउन सक्ने । कतै यसबारे थप सोच्ने कि ?

प्रकाशित : वैशाख ८, २०८० ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?