उपेन्द्र–सीके टकरावको अन्तर्य

उपेन्द्र र सीकेबीचको प्रतिद्वन्द्विता उपनिर्वाचनको जितहारको सन्दर्भसँग मात्रै सीमित छैन । यो प्रतिद्वन्द्विताको अन्तर्य हो— मधेशको मुद्दा कसले बोक्ने ? मधेशको सर्वेसर्वा नेता को हुने ?
राजाराम गौतम

आम निर्वाचन–२०७९ मा जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतसँग पराजित भएर निरासिएका जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवको ओठमा हाँसो फर्कन थालेको छ । पछिल्ला दुइटा घटनाक्रमबाट उनको निराशा उत्साहमा बदलिएको हो ।

पहिलो, जसपा मधेश प्रदेशको अंकगणितमा तेस्रो स्थानमा खुम्चिँदा पनि उनले मुख्यमन्त्री पार्टीको पोल्टामा पार्न सके र आफू निकट नेता सरोज यादवलाई मुख्यमन्त्री बनाए । एमाले बाहिरिएर सत्तारूढ गठबन्धनमा कांग्रेसको प्रवेश भएपछि पनि मधेश प्रदेश सरकारको नेतृत्व कायम राख्न उनी लागिपरेका छन् । दोस्रो, सत्तारूढ गठबन्धनमा सामेल भएर उनले पार्टीको भागमा उपराष्ट्रपति पद पारे । र, त्यसमा पनि आफू निकट बारा क्षेत्र नं २ बाट निर्वाचित सांसद रामसहायप्रसाद यादवलाई अघि सारे ।

रामसहायप्रसाद मुलुकको तेस्रो उपराष्ट्रपति चुनिएपछि उक्त क्षेत्र रिक्त भएको छ । र, अब उपेन्द्रको नजर बारातिर केन्द्रित छ । आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा चुनिएर उनी संसद् छिर्न चाहन्छन् । उनले उम्मेदवारीको औपचारिक घोषणा गरेका छैनन्, यद्यपि दृश्य/अदृश्य अभ्यासले उनको त्यो आकांक्षा प्रकट भएको बुझ्न कठिन छैन ।

पाँच महिनाअघि जनमतबाट अस्वीकृत उपेन्द्र फेरि चुनावी परीक्षामा होमिन खोज्दै छन् । हुन त चुनावमा उम्मेदवारी दिन पाउनु उनको अधिकार हो । एक पटक पराजित हुँदैमा उम्मेदवार हुनै नपाइने होइन । तर, पाँच वर्षका लागि जनताबाट अस्वीकृत भएर पराजित भइसकेपछि तत्कालै उम्मेदवार बन्दा त्यसले नैतिक प्रश्न त खडा गर्छ नै, राम्रो सन्देश पनि जाँदैन । चर्चाकै चरणमा अनेक प्रश्न उठ्दा पनि उनी त्यसको बेवास्ता गर्दै संसद् छिर्ने प्रयत्नमा जुटेका छन् र सत्तारूढ गठबन्धनबाट साझा उम्मेदवार बन्ने माहोल बनाउने कसरतमा छन् । जसपाका प्रवक्ता मनीष सुमनले हालै गरेको दाबी त्यो कसरतको प्रारम्भ हो । उनको दाबी छ, ‘बारा–२ मा हाम्रो हक लाग्छ । सत्ता गठबन्धनबाट साझा उम्मेदवार हुँदा हामीले नै पाउने हो ।’

कांग्रेस सभापति शेरबहादुर देउवाले उपेन्द्रलाई सघाउने वचन दिएको समाचार आए पनि सत्ता गठबन्धनले उपनिर्वाचनमा साझा उम्मेदवार खडा गर्ने वा मित्रवत् प्रतिस्पर्धा गर्ने निर्क्योल गरिसकेको छैन । यद्यपि सम्भावित उम्मेदवार उपेन्द्रका लागि प्रतिद्वन्द्विताको पर्खालचाहिँ खडा भइसेकेको छ ।

यादवको मनसुवाविरुद्ध चुनौतीका रूपमा उभिएका छन्, जनमत पार्टीका नेता सीके राउत । सीकेले बारा–२ मा आफ्नो पार्टीबाट उम्मेदवार उठाउने घोषणा गरिसकेका छन् । बारामै पुगेर उनले भने, ‘उपेन्द्र यादव फिरंगी हुन् । सप्तरीका जनताले जसरी हराए, त्यसरी नै बारामा पनि हराउनुपर्छ ।’

हालै सम्पन्न उपराष्ट्रपति निर्वाचनमा पनि जनमत पार्टीले मधेशका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति आदि पार्टी समेटेर जसपाविरुद्ध उम्मेदवार खडा गरेको थियो ।

जसपा र जनमत पार्टी दुवै सत्तारूढ गठबन्धनमा छन् । मधेश प्रदेशमा पनि यी दुई पार्टीहरू सरकारमा सामेल छन् । तर, दुई पार्टीका यी दुई नेताबीचको टकराव बढ्दै गएको छ । उपेन्द्र र सीकेबीचको प्रतिद्वन्द्विता उपनिर्वाचनको जितहारको सन्दर्भसँग मात्रै सीमित छैन । यो प्रतिद्वन्द्विताको अन्तर्य हो, मधेशको मुद्दा कसले बोक्ने ? मधेशको सर्वेसर्वा नेता को हुने ? यो विश्लेषण यी प्रश्नमा केन्द्रित रहनेछ ।

‘मसिहा’ दौड

नेपाली राजनीतिको विभिन्न कालखण्डमा तराई–मधेशका मुद्दा बोकेर नेताको उदय हुने अनि ती मुद्दाप्रति न्याय गर्न नसक्दा तिनको अवसान हुने गरेको ऐतिहासिक दृष्टान्त छन् । जब–जब तराई–मधेशका मुद्दा उठाउने नेताहरूको प्रसंग आउँछ, वेदानन्द झा स्मरणमा आउँछन् । किनभने, तराई–मधेशका मुद्दा उठाउने पहिलो श्रेय उनै झालाई जान्छ । उनले २००८ सालमा नेपाली कांग्रेसबाट विद्रोह गरेर नेपाल तराई कांग्रेस गठन गरे । हिन्दीलाई सम्पर्क भाषा, तराईको स्वशासन र समावेशीकरणको मुद्दा उठाएर बेग्लै पार्टी बनाएका झा अन्ततः राजा महेन्द्रको अप्रजातान्त्रिक कदमलाई समर्थन गरेर पञ्चायतमा मिसिए ।

२०४० सालमा कांग्रेसबाटै बाहिरिएका गजेन्द्रनारायण सिंह पनि तराई–मधेशका मुद्दा उठाएर राजनीतिमा स्थापित भएको नाम हो । २०४६ मा प्रजातन्त्रको पुनःस्थापनापछि नेपाल सद्भावना पार्टीमार्फत उनले तराई–मधेशका मुद्दा अघि बढाएका थिए । तर सत्तालिप्सा, गुटफुट, शक्तिस्वार्थहरूको कठपुतली बन्ने प्रवृत्ति हुर्कदै जाँदा यो पार्टीले आफ्नो उपादेयता पुष्टि गर्न सकेन । सिंह जीवित हुँदासम्स उनी मधेशी राजनीतिको मियोजस्तै थिए । उनको निधनपछि यो पार्टी दर्जनौं पटक छिन्नभिन्न हुँदै अहिले भए–नभए बराबरको अवस्थामा छ ।

२०६३ को राजनीतिक परिवर्तनपछि तराई–मधेशमा नयाँ राजनीतिक शक्ति जन्मियो— मधेशी जनअधिकार फोरम । जसको नेता थिए, उपेन्द्र यादव । सद्भावना पार्टीको गतिहीनताको विकल्पमा फोरमको उदय भएको थियो ।

कुनै बेला मधेशी पृष्ठभूमिका नेताहरूले साझा मञ्चका रूपमा प्रयोग गर्न भनेर बनेको गैरसरकारी संस्था मधेशी जनअधिकार फोरमले राजनीतिक दलको रूप लिएपछि यसको नेतृत्वमा मधेश आन्दोलन उठ्यो । आन्दोलनको दबाबले मुलुकमा संघीयता आयो । माओवादीको हिंसात्मक विद्रोहको अवतरणसँगै उठेको उक्त आन्दोलनपछि राजनीतिमा समावेशीकरणका मुद्दाले प्रवेश पायो । सहभागितामूलक र समावेशी प्रतिनिधित्वको वकालत हुन थाल्यो । मूलधारको राजनीतिबाट पिछडिएको महसुस गर्ने मधेशी लगायतका सीमान्तीकृत समुदायले धेरै हदसम्म राहतको अनुभूति पनि गरे । त्यो अवस्था निर्माण गर्नमा उपेन्द्र नेतृत्वको फोरमको निर्णायक भूमिका रह्यो ।

त्यसो त मधेशी राजनीतिमा उनीभन्दा बढी भोटा फटाएका पाका नेताहरू नभएका होइनन् । तर, ०६४ को पहिलो संविधानसभाबाट फोरम उदाएसँगै उपेन्द्र मधेशी राजनीतिको ‘अनुहार’ बने । उनलाई मधेशका ‘मसिहा’ भन्न थालियो । फोरमको उदयसँगै कांग्रेस, एमाले, सद्भावना पार्टीको पृष्ठभूमिका नेताहरू पनि फोरमतिर आकर्षिक हुन थाले । एकातिर फोरम फैलँदै थियो भने अर्कोतर्फ जन्मसँगै विभाजन र फुटको बीजारोपण भइसकेको थियो । त्यो फुटको बीज कति झाँगिँदै गयो भने, यो पार्टी कैयौं पटक विभाजित भयो । पदीय लाभ र सत्ताका लागि पार्टी विभाजन एवं अदलबदल गर्नु सामान्य हुँदै गयो ।

हुन त मुलुकको समग्र राजनीति नै मुद्दामुखी नभई सत्तामुखी हुँदै गएको आजको यथार्थ हो । यो रोग कमबेसी सबैतिर छ । यद्यपि, मधेशी राजनीतिक वृत्तमा यो रोग बढी नै देखियो । पछिल्लो आम निर्वाचनमा मधेशी दलको क्षयीकरणको मुख्य कारण यही थियो । यही पृष्ठभूमिमा जनमत पार्टीका सीके राउतको उदय भएको हो । २०६४ मा उपेन्द्रलाई मधेशको ‘मसिहा’ ठान्ने जनमत अहिले सीकेतिर आकर्षित छ । अर्थात् मधेशी राजनीतिमा उदाउँदै गरेका सीके र मधेश आन्दोलनको ‘ब्रान्ड’ बोकेका उपेन्द्रबीच मधेशको ‘मसिहा’ बन्ने होड चलेको छ ।

उपेन्द्र भर्सेस सीके

उसो त उपेन्द्र र सीके दुवैको राजनीतिक पृष्ठभूमि विवादमुक्त छैन । यादव अन्तरिम संविधान जलाएर राजनीतिमा चर्चामा आए र त्यससँगै उनको राजनीतिक उत्थानको यात्रा सुरु भयो । एमाले हुँदै कुनै बेला माओवादी निकट मानिने उनलाई संशयपूर्ण नजरले पनि हेरिन्थ्यो । पछि गौर हत्याकाण्डमा पनि उनको नाम मुछियो ।

सीके त झन् ‘बेग्लै मधेश राज्य’ को माग गर्दै पृथकतावादी मनसुवा बोकेर राजनीतिमा प्रवेश गरेका व्यक्ति हुन् । अतिवादी सोचका कारण उनी दर्जनौं पटक पक्राउ परे, राजद्रोहको मुद्दा नै खेपे । आफूले उठाएको विखण्डनको मुद्दामा कहीँकतै समर्थन र सहानुभूति नभेटेपछि अन्ततः ती विवादास्पद गतिविधि त्याग्दै मूलधारमा आएका सीकेले पार्टी गठन गरेको चार वर्षमै उल्लेख्य सफलता प्राप्त गरेका छन् । २०७५ साल चैत ४ गते स्थापना भएर पहिलो पटक आम निर्वाचनमा होमिएको सीके नेतृत्वको जनमत पार्टीले राष्ट्रिय दलको मान्यता पाएको छ ।

उता उपेन्द्र नेतृत्वको जसपा शृङ्खलाबद्ध फुट र विभाजनपछि खुम्चँदै गएको छ । पहिलो संविधानसभामा मधेशी जनअधिकार फोरम ५४ सिटसहित बलियो क्षेत्रीय राजनीतिक शक्तिका रूपमा उदाएको थियो । पहिलो संविधानसभाको शक्ति सन्तुलनमा फोरमसहितका मधेशी दलको उपस्थिति प्रभावशाली थियो । तर, दोस्रो संविधानसभा हुँदै दोस्रो आम निर्वाचनसम्म पुग्दा यी दल र तिनका नेता खिइँदै गएका छन् ।

२०६३ पछि मधेशी राजनीतिक वृत्तमा छाएका जति पनि नेताहरू छन्, तिनको साख र विश्वसनीयताको धरातल यतिबेला कमजोर छ । कतिपय स्थापित नामहरू भ्रष्टाचारको दाग लागेर किनारा भइसकेका छन् । सबैभन्दा शीर्ष नेता महन्थ ठाकुर राजनीतिक उत्तरार्द्धमा छन् । मधेश आन्दोलनको ‘अनुहार’ मानिएका उपेन्द्र राजनीतिक अवसरवादका प्रतीक बनेका छन् । जातीय संकीर्णवादको घेरामै रमाउने आरोप लाग्ने गरेका उनको सत्ताका लागि जस्तो सम्झौता गर्न पनि पछि नपर्ने चरित्र बनेको छ । उनमा त्यो चरित्र कति छ भन्ने देखाउन पछिल्लो ५/६ महिनायताका सन्दर्भ नै काफी छन् । यसबीच उनी कहिले कांग्रेस–माओवादी गठबन्धन छोडेर एमालेसँग कुम जोड्न पुगे । चुनावपछि माओवादी–एमालेसँग मिलेर सरकार गठन गर्न पुग्दा त्यहीँ पुगेका उनी अहिले कांग्रेससहितको गठबन्धनमा पनि सत्ता–लाभ लिन पछि परेका छैनन् । उपेन्द्र सत्ता राजनीतिमा पारङ्गत हुँदै जाँदा उनको मुद्दा र मैदानसँगको नाता टाढिँदो छ ।

यहीँनेर सीकेले आफ्नो राजनीति फल्ने/फुल्ने अवसर देखेका छन् । उपेन्द्रका कमजोरीबाट कसरी लाभ लिन सकिन्छ भन्ने उनको ध्याउन्न छ । जसरी उपेन्द्र सत्तामा जान हतारिएका देखिन्छन्, सीकेमा त्यो हतारो छैन । उनले पार्टीका अरू सदस्यलाई सरकारमा पठाए पनि आफूलाई राजनीतिक रूपमा स्थापित गर्न खोज्दै छन् ।

उपेन्द्र जब सत्ताबाहिर हुन्छन्, तब मात्रै उनलाई मधेश आन्दोलनको स्मरण हुन्छ, मधेशका मुद्दा सम्झिन्छन् । सीके जब–जब संसद्को रोस्ट्रममा उभिन्छन्, खास मुद्दा अघि सार्छन् । कृषि, मलखादका समस्यामाथि उनी

निरन्तर बोलिरहेका छन् । यसले कहीँ न कहीँ उनलाई मधेशका मुद्दासँग जोडिराखेको छ । संसद्को रोस्ट्रममा उभिएर मधेश आन्दोलनका सहिदप्रति मौनधारण गरेर उनले ‘सेन्टिमेन्ट’ आफूतिर आकर्षित गर्न खोजे । खासमा उनी आफ्नो विगतको विवादित छवि रूपान्तरणको अभियानमा छन् । संसद् अथवा विभिन्न अन्तर्वार्ताहरूमा उनी शालीन र तर्कपूर्ण शैलीमा प्रस्तुत हुँदा ‘के यी तिनै राउत हुन् जो राज्यविप्लवको अतिवादी र आपत्तिजनक सोच पाल्थे ?’ भनेझैं लाग्छ ।

मधेशमा एउटा तप्काचाहिँ अझै छ, जो सीकेलाई संशयपूर्ण नजरले हेर्छ । उनीसँगको अभियानमा जोडिएका कतिपय नेता–कार्यकर्ताले नातावाद, कृपावादको आरोप लगाएर उनलाई छाडेका उदाहरण पनि छन् । उपेन्द्रका समर्थकहरू त झन्, उनलाई विदेशी शक्तिकेन्द्रको उत्पादन ठान्छन् । उपेन्द्र निकट एक नेता दाबी गर्छन्, ‘भारतले उपेन्द्रलाई घेराबन्दी गर्न विगतमा महन्थ ठाकुर, जेपी गुप्ता, राजेन्द्र महतोलाई अघि सारेजस्तै अहिले सीकेलाई प्रयोग गरिरहेको छ ।’

विदेशी शक्तिस्वार्थको चपेटामा सिङ्गो नेपाली राजनीति छ । मधेशी नेताहरू त्यसबाट मुक्त छैनन् । तर, उपेन्द्रको राजनीति ओरालिएको उनको आफ्नै कारणले हो । सत्ताकांक्षामा उनी यति ग्रस्त छन् कि, आन्दोलन र मुद्दासँग उनको अब सरोकार रहेन । ती सत्ता उक्लिने भर्‍याङ मात्रै बने । अहिले पनि उनी जसरी उच्च राजनीतिक तहबाट सेटिङ गरेर संसद् छिर्ने दाउपेच खेल्दै छन्, त्यो त्यसैको एउटा कडी हो ।

सत्ताप्राप्ति नेपाली राजनीतिमा सफलताको मानक बन्दै गएको छ । जसरी पनि सत्ताप्राप्तिको मनसुवा उपेन्द्रमा सायद त्यसैकारण जागेको हो । तर, जब कोही नेता जनमत र मुद्दासँग टाढिन्छ, उसको राजनीतिले सार्थकता पाउँदैन । अहिले मधेशी राजनीतिमा एकातिर सत्ता दाउपेचमा पारङ्गत उपेन्द्र छन् भने अर्कोतिर राजनीतिक रूपान्तरणतर्फ बढेका सीके । यी दुवै सामान्य पारिवारिक पृष्ठभूमिबाट आएका नेता हुन् । एउटासँग आन्दोलनको विरासत छ, अर्कोसँग बौद्धिक व्यक्तित्वको छवि । एउटा परीक्षण भइसकेका छन् र अर्को परीक्षण हुने क्रममै छन् । एउटासँग ‘शंकाको सुविधा’ छ अर्कोसँग साख फर्काऊने चुनौती अब हेर्नु छ, आगामी दिनमा यीमध्ये को मधेशी राजनीतिको असली ‘सिकन्दर’ कहलिन्छ ?

प्रकाशित : चैत्र १३, २०७९ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्

गठबन्धनका लागि विकल्प : जण्ड–सुधार

सत्ताका मूलपात्र हिजोका वरिष्ठ क्रान्तिकारी हुन् भनेर मान्छेले भोको पेट र नांगो आङसहित ठिंग उभिएर ‘दर्शन–नमस्ते’ भनेर राजेश पायल राईको गीत गाइरहँदैन । क्रान्तिकारीबेगरकै क्रान्ति बोल्न मान्छे हतारिएका छन् ।
हरि रोका

संसद्‌मा उपस्थित मुख्य राजनीतिक दलहरू दर्शन र सिद्धान्तमा आधारित राजनीति कम, मौकापरस्त सत्ता–राजनीतिको चाकाचुलीमा बढी रमाइरहेका छन् । सैद्धान्तिक तथा कार्यक्रमिक एजेन्डालाई आधार नबनाएपछि मौकापरस्त राजनीतिमा कोसँग गठजोड, कोसँग कार्यगत एकता र कोसँग दलगत एकता हुन सक्छ भन्ने कुनै प्रकारको लक्ष्मणरेखा कोरिएको हुन्न ।

वैचारिक तथा कार्यक्रमिक एजेन्डा नभएपछि कुन किसिमको एकता कहिलेसम्म गतिशील हुन्छ भन्ने कसैले पनि भविष्यवाणी गर्न सक्तैन । यस्तो सत्ता राजनीतिको कुनै समयसीमा हुँदैन । जब मौकापरस्त राजनीति हावी हुन्छ, तब त्यस कालखण्डमा कुनै पनि कामहरू (दीर्घकालीन योजना, नीति, कानुन तथा न्याय सम्पादन) सहज, दिगो र सामाजिक तवरमा न्यायपूर्ण हुँदैन, हुन सक्तैनन् ।

सत्ताको फोहोरी खेलमा तमासा देखाइरहेका राजनीतिक दलका बहुसंख्यक नेताहरूलाई भुइँतहका समस्याबारे एक त जानकारी नै छैन, अर्को सक्कली मुद्दाबारे जानकारी भए पनि समाधानको उपायस्वरूप योजना र कार्यक्रमहरू के–कसरी र कस्तो बनाउन सकिन्छ भन्नेबारे कुनै चिन्तन, अन्वेषण, तथा निर्माणमा कोही पनि संलग्न रहेको देखिन्न । ‘जड’ भएर जमेको मुलुकको अर्थराजनीतिक संरचनाको निरन्तरताले मुलुकलाई आत्मनिर्भर र बाँकी विश्वका मुलुकहरूको तुलनामा समयसापक्ष गतिशील अर्थतन्त्र निर्माण गर्न कहीँकतै सहयोग पुर्‍याउने देखिँदैन । बितेका डेढ दशकको अर्थराजनीतिक गतिविधि, जस्तो उदारवाद र नवउदारवादविरुद्ध दक्षिणपन्थी लोकप्रियतावाद तथा नवउदारवादकै निरन्तरता अबको विश्वव्यापी मुद्रास्फीति तथा मन्दीले ल्याइरहेको संकटको निकास हुन सक्तैन भन्ने त प्रमाणित नै भइसकेको छ । त्यसैले सामान्य सुधारले मात्रै मुलुकले अब गति लिन सक्दैन, व्यापक जण्ड–सुधारको आवश्यकता भइसक्यो भन्ने निर्क्योल निकाल्न जरुरी भइसकेको छ ।

के हुन् आजका जल्दाबल्दा समस्या ?

१. जमिन बाँझिने क्रम जारी छ । कृषि क्षेत्रमा आधाभन्दा बढी श्रमशक्ति व्यस्त रहेको सरकारी तथ्यांकले जनाइरहेका छन् । अर्कोतर्फ, खर्बौं रुपैयाँ बराबरको खाद्यान्न आयात गरिरहनुपरेको छ । यो विषम परिस्थितिको सुधार कृषिमा संरचनागत परिवर्तनबेगर सम्भव देखिन्न ।

२. जलवायु परिवर्तनले कृषि क्षेत्रमा बृहत् विकराल समस्या देखा परेका छन् । कतै खण्डवृष्टि, कतै अतिवृष्टि र कतै कम वर्षात वा खडेरीले ग्रामीण जनजीवन अस्तव्यस्त हुन पुगेको छ । अव्यवस्थित पूर्वाधार निर्माण मात्र होइन, त्यसले पार्ने वातावरणीय प्रभावको समेत आकलन नगरीकन खनिएका बाटा–घाटाहरूका कारण पिउने पानी तथा सिँचाइ असुविधा प्रत्येक वर्ष बढिरहेको छ । त्यसका कारण मुख्य खाद्यान्न बाली उत्पादनमा तीव्रगतिमा ह्रास देखिएको छ । पिउने पानीको अभावले कतिपय पहाडी गाउँहरू रित्तिने क्रम जारी छ । पूर्वाधार निर्माण गर्दा अर्थराजनीतिको नाफा घाटाबारे कुनै पनि पक्षको हिसाबकिताब, खोज–अनुसन्धान गर्ने परिपाटी विकास गरिएको छैन । बाढी, पहिरो, कटान, डुबानका कारण बर्सेनि राज्यकोषबाट ठूलो धनराशि खर्चनुपरिरहेको छ । संस्थागत परिवर्तन नगरी यो समस्या समाधान हुने देखिन्न ।

३. सार्वजनिक शिक्षा तथा स्वास्थ्यमा राज्यको ढुकुटीबाट सालिन्दा खर्बौं रुपैयाँ खर्च भइरहेको छ । तर शिक्षामा विभेद झाँगिँदो छ । सार्वजनिक शिक्षालयहरू स्तरहीन हुने क्रम जारी छ । र, निजी विद्यालयका उत्पादन मानवीय शिक्षाका दृष्टिकोणले अत्यन्त दरिद्र बन्न पुगेका छन् । यही गति र अव्यवस्थापनले केही वर्षसम्म निरन्तरता पाउने र शिक्षालाई क्रय–बिक्रयको बजारु साधन बनाइरहने हो भने नेपाल केही दशकभित्रै अशिक्षित गँवारहरूको मुलुक घोषणा हुने निश्चित छ ।

४. एकातर्फ बैंक, बिमा तथा बित्तीय संस्थाहरू बढी भए भनेर मर्जर तथा एक्विजिसनमा लगेर धनीहरूलाई बलशाली बनाउन राष्ट्र बैंक हतारिएको देखिन्छ । अर्कोतर्फ साना–तिना उद्यमहरू खोल्न र सञ्चालन गर्न मिटरब्याजी साहु–महाजन खोज्न उद्यम सञ्चालकहरू बाध्य छन् । अनुत्पादक उद्यम तथा व्यापारमा बैंकहरू लगानी गर्न उद्यत देखिन्छन् । लगानी बैंक तथा व्यापारिक बैंकको अवधारणालाई व्यवस्थित रूपमा सञ्चालन गर्न राज्यले पहल गरेको देखिन्न । मिटरब्याजी साहु–महाजन र वित्तीय संस्थाहरूका कारण आम उद्यमी आत्महत्या गर्न विवश छन् । समग्र वित्तीय प्रणालीलाई लोकतन्त्रीकरण गर्नुको विकल्प देखिँदैन तर राज्य सञ्चालकहरूसँग बैंक तथा वित्तीय संस्थाहरूको लोकतन्त्रीकरण कसरी गर्ने भन्ने सोचसम्म पनि देखिन्न ।

५. कृषि भन्नेबित्तिकै सिँचाइ जोडिन्छ, सिँचाइ भन्नेबित्तिकै ऊर्जा जोडिन्छ, र वन, पूर्वाधार, पर्यटन, सञ्चार, उद्यम तथा व्यापार जोडिन्छन् । एक अवयवको विकास अर्को अवयवसँग जोडिन्छ, जोड्नुपर्ने हुन्छ । नेपालमा यी सबै भिन्न मन्त्रालयहरू अन्तर्गत क्रियाशील छन् तर एकअर्कामा फिटिक्कै समन्वय देखिन्न । संस्थागत समन्वय गर्ने निकायहरू फितला र शक्तिविहीन देखिन्छन् । यसले गर्दा यी अवयवहरूमा गरिने सरकारी लगानीबाट प्राप्त प्रतिफल क्रमिक रूपमा कमजोर हुँदै गएको छ । यसले समग्रतामा पुँजीगत खर्चमा मात्र कमी आइरहेको छैन आर्थिक वृद्धिदर तथा प्रतिव्यक्ति आयमा विशाल खाडल पुरिनै नसकिने गरी बढिरहेको छ ।

६. कृषिक्षेत्र ओरालो लाग्दा खाइजीविका मात्र होइन स्वरोजगारी पनि सकिन्छ । औद्योगिकीकरण हुन नसक्दा रोजगारी संकुचित हुने मात्र होइन, समग्र विकास नै ओरालो लाग्छ । अहिले उत्पादनविहीनता, बेरोजगारी, मुद्रास्फीति, र कुशासन मात्रै वृद्धि भइरहेको छैन, राष्ट्रिय पुँजी निर्माणमा आम नागरिकको पहुँच पनि कमजोर हुन पुगेको छ । एकथरी योजनाविद् र नीति–निर्माताहरूले दशकौंदेखि बाह्य प्रत्यक्ष लगानी आएन भनेर रोइलो गरिरहेका छन् । सर्वोच्च अदालत पनि कृषिमा वैदेशिक लगानीको पक्षपाती भएर निस्किएको व्यहोरा हालै प्रकाशित भएको छ (‘स्वदेशी लगानी र जीविका गुम्ने चिन्ता’, ४ चैत २०७९ कान्तिपुर) । अर्कोतर्फ राज्य आफैंले छुट्याएको पुँजीगत खर्च गर्न सकिरहेको छैन । यो संस्थागत निकम्मापनले राज्यका सबै अंगहरूको पुनःसंरचना आवश्यक भइसकेको संकेत गर्छ ।

७. सर्वांगीण विकासका लागि नेपाली पुँजी तथा प्रविधि अपूर्ण छ । यसबारे कोही पनि अनभिज्ञ छैन । तर त्यसको अर्थ सम्पूर्ण विकासका लागि प्रत्येक्ष वैदेशिक लगानी एक मात्र रामवाण होइन र हुन सक्तैन । प्रत्यक्ष वैदेशिक लगानीबेगर मुलुकको विकास सम्भव छैन भन्ने चिन्तनले नेपाललाई निश्चित धनाढ्य मुलुकहरूको खाद्यान्नदेखि उपभोग्य सामग्रीको एकाधिकारयुक्त बजार बनाउने निश्चित छ । अर्थतन्त्रमा ‘मोनोप्सनी’ बजार बन्न र बनाउन दिनु ठूलो खतरा निम्त्याउनु हो । उदाहरणका रूपमा ‘हामीले आफूले लगानी गरेको पावरहाउसबाट निस्किएको बिजुली मात्र खरिद गर्नेछौं,’ भन्नु अर्को अमुक मुलुकको लगानी आउन निषेध गर्नु हुन्छ ।

८. सन् १८७० को दशकदेखि जलविद्युत्को विकास सुरु भएपछि नै अमेरिकाले बेलायती साम्राज्यलाई परास्त गर्दै लग्यो । तुलनात्मक रूपमा नेपालमा पानी र बिजुलीको विकासका सम्भावनाहरू पर्याप्त छ भन्ने कथन छ । ऊर्जा अर्थात् बिजुलीलाई कच्चा पदार्थ मानेर आफ्नै औद्योगिकीकरणमार्फत वस्तु तथा सेवा निर्यात गर्ने वा कच्चा पदार्थकै रूपमा निर्यात गर्ने भन्ने विषयमा नेपालमा बाक्लो छलफल नै भएको छैन । नेपालले पानी संकलन गरेर (रिजर्भवायरमार्फत) संकट मोल्दा र जनताको बसोबासो र खाइजीविकासमेत मासेर तिनलाई विस्थापित गर्दा पानीको उपयोगबापत तल्लो तटीय उपभोगकर्ताले कति मूल्य तिर्छन् भन्नेसमेत तय नगर्ने परिपाटीले नेपालको दुवै छिमेकी मुलुकको सापेक्षतामा विकास सम्भव छैन । विकल्पहरूको खोजी र भविष्यका लागि बाँकी के भन्ने विषयमा मुलुक अनभिज्ञ देखिन्छ ।

९. सन् २०२२ देखि विश्व तनावपूर्ण बन्दै गएको छ । रुस र उक्रेन युद्धले मात्र होइन, चीन र अमेरिकाबीच सुरु भएको व्यापार युद्ध र नयाँ शीतयुद्धले पनि विश्व तनावग्रस्त बन्दै छ, र ध्रुवीकरण बढ्दो छ । अमेरिकाजस्तो धनाढ्य मुलुक— जो नवउदारवादको मुख्य प्रणेता थियो/ हो— आफैं अहिले बृहत् राष्ट्रिय उत्पादनमा फर्किएको छ । भएका उद्योग तथा वित्तीय संस्थाहरूको संरक्षण गर्न उद्यत देखिएको छ । आम रोजगारीका लागि उद्यम र पूर्वाधार विकासमा होमिएको छ । हाम्रा मूलधारका अर्थशास्त्री, नीति निर्माताहरू नवउदारवादी बजारकै रटानमा छन् । कम्तीमा हिजोका पुँजीवादी विचारकहरू कसरी हेर्दै छन् र बुझ्दै छन् भन्ने कुरा केलाए पनि त हुन्थ्यो । जस्तो ‘फाइनान्सियल टाइम्स’ का मार्टिन ओल्फ लेख्छन्, ‘नवउदारवादी पुँजीवाद मौद्रिक अर्थशास्त्र हो । त्यो यस्तो सामाजिक प्रणाली हो जसले सबै प्राकृतिक तथा कृत्रिम वस्तु तथा सेवालाई मात्र होइन, श्रम शक्तिलाई समेत बजारु वस्तुमा गणना गर्छ । रकम जगेडा गर्ने र नगर्नेबीच तह वा वर्ग खडा गर्छ, र समाजलाई पूर्ण रूपमा विभाजित गर्छ । सबैभन्दा ठूलो कुरा त लोकतान्त्रिक अर्थतन्त्र र राजनीतिबीच जुन सन्तुलन आवश्यक पर्छ, उक्त सन्तुलन भत्काउने दिशातर्फ मुलुकलाई हुत्याउँछ (‘द क्राइसिस अफ डेमोक्र्याटिक क्यापिटालिजम–२०२३’ पेन्गुइन प्रेस, न्युयोर्क) ।

नवउदारवादी बजार आर्थिक प्रणालीले नेपालको अविकासमा मात्र योगदान गरेको छैन, सिद्धान्तहीन मौकापरस्त राजनीति र व्यक्तिवादी संस्कार र संस्कृति हुर्काउनमा पनि प्रमुख भूमिका खेलेको छ । हिजोआज देखिएको कुत खाने प्रवृत्ति, घूसबेगर न्याय सम्पादनको कल्पनै गर्न नसकिने अवस्था, पुँजी पलायनमा व्यापकता, अमानवीय क्रूरता आदि लोकतान्त्रिक गणतन्त्रमा समेत सामान्य देखिनु कुनै अनौठो कुरा भएन । प्रोफेसर डेभिड हार्वेले उल्लेख गरेझैं नवउदारवादी बजार अर्थतन्त्र केवल आर्थिक परियोजना मात्र थिएन, यो राजनीतिक, सांस्कृतिक, सामाजिक अर्थात् समष्टिमा व्यक्तिवादी संस्कार र संस्कृति भित्र्याउने परियोजना पनि थियो र समाजलाई छिन्नभिन्न पार्न यो सफल हुन पुग्यो (डेभिड हार्वे, २००५, ‘एन इन्ट्रोडक्सन टु नियोविरालिजम’, भर्सो प्रेस) । नवउदारवादी अर्थराजनीतिक दर्शनले १ प्रतिशत धनाढ्य र ९९ प्रसेन्ट गरिब जन्मायो । आज नेपाल लगायत तेस्रो विश्वका अधिकांश मुलुकमा देखिएको अर्थराजनीतिक संकट प्रणालीगत संकट हो, जसमा सुधारको गुञ्जायस देखिन्न । कम्तीमा तत्कालीन संकटबाट पार पाउन अब जण्ड–सुधारको रणनीति आवश्यक देखिइसकेको छ ।

के हो जण्ड सुधार ?

नेपाली सन्दर्भमा जण्ड सुधार धार्मिक आधारमा खोजिएको होइन । त्यसैले पुरातन क्रिस्चियानिटीको आधारमा गरिएको व्याख्याको यहाँ कुनै सन्दर्भ मिल्दैन । हामीले खोजेको त्यस्तो जण्ड सुधार हो, जुन एक पटक लागू भएपछि कसैले बदल्न सक्तैन अर्थात् कुनै पनि सत्ता आउँदा त्यो सुधार कार्यक्रमले निरन्तरता पाइरहन्छ (हरि रोका, ‘अधुरो आर्थिक सर्वेक्षण’ टक्सार वर्ष २, अंक १२, चैत २०७९) । यसलाई सुधार हुन नसक्ने सुधार (नन्रिफर्मिस्ट रिफर्म) भनिन्छ । यसको अर्थ हो— आम समुदायको भलाइ र आवश्यकता अनुसार आर्थिक सुधारको कार्यक्रम । नन्रिफर्मिस्ट रिफर्म त्यसकारण आवश्यक ठानिन्छ जब स्थापित आर्थिक तथा सामाजिक प्रणालीले काम गर्न छोड्छ । आम रूपमा कठिनाइ बेहोर्नुपर्ने अवस्थामा यो सामाजिक आवश्यकता बन्न पुग्छ, जसले स्थापित प्रणालीलाई जरैबाट सुधार्न सकोस्; बिग्रँदै गरेको आर्थिक दुश्चक्रलाई सुल्टो घुमाएर पुनः लिकमा हिँडाउन र प्रगति गर्न सकोस् (आन्द्रे ग्रोज, (२०१२) ‘क्यापिटालिजम, सोसिलिजम, इकोलोजी’ भर्सो प्रेस) ।

वास्तवमा जण्डसुधार कार्यक्रममा ३ वटा प्रक्रिया हुन्छन् । पहिलो प्रक्रिया नियमित सञ्चालनमा रहिरहेको प्रणालीले सामाजिक जीवनमा खडा गरेका कठिनाइबारे समीक्षा गर्ने हो । यसमा विकल्पहरू के हुन सक्छन् भन्ने विषयबारे तथ्यमा आधरित भएर नयाँ परिकल्पना गरिन्छ । किनकि सुधार भनेको उद्देश्यको अन्त होइन, रूपान्तरण हो । र जण्ड सुधार भनेको भइरहेको प्रणाली र प्रशासनको कार्यसूची मात्र पनि हुन सक्दैन । यी त मानवीय आवश्यकता तथा मागमा आधारित भएर उठ्ने कार्यसूची हुन् । जण्डसुधारको उद्देश्य राजनीतिक, आर्थिक र सामाजिक रूपान्तरणलाई ध्यानमा राखेर थालनी गरिन्छ, जसलाई प्रगतिशील एजेण्डाको नाम दिँदा हुन्छ ।

दोस्रो प्रक्रिया लोकप्रिय शक्ति संगठित गर्ने विषयसँग सम्बन्धित छ । माथिल्लो विशिष्ट वर्गमा रहेको अधिकार आम समुदायसम्म पुर्‍याउने त्यसको निहित उद्देश्य हुन्छ । सारमा आम सरोकारका मागहरूलाई कसरी पूरा गराउन सकिन्छ भनेर एउटा दृष्टिकोण बनाउने र नयाँहरूलाई अटाउने खास ठाउँ तयार पार्नैपर्ने हुन्छ । अर्को अर्थमा, लामो समयसम्म दिगो र भरपर्दो रूपान्तरणका लागि सामाजिक अभियन्ताहरू, विषय सरोकार भएका र सामाजिक आन्दोलनसँग जोडिएर आएका विज्ञहरू तथा सरोकारवाला जनसमुदायको श्रमिक जनशक्तिलाई संगठित बनाउने विषय जण्ड सुधारको प्रक्रियाभित्र पर्छ । यस्तो सुधारको सम्भावना लोकतन्त्रका हिमायतीहरूको नयाँ शक्तिकेन्द्र नबनाई सम्भव हुँदैन । नाफा आर्जनका लागि शक्तिकेन्द्र बनाएर सत्ता र पुँजीमार्फत हैकम चलाइरहेकाहरूसँग लड्न सजिलो हुँदैन । जस्तो, कृषिमा वैदेशिक लगानी भित्र्याउन जुन प्रकारको कानुनी आड तयार पारियो र बहुराष्ट्रिय निगमहरूको पक्षमा जसरी सर्वोच्च अदालतले निर्णय दियो त्यस्ता शोषणका कानुनी प्वालहरू टाल्न वैधानिक तथा एकलकाँटे संघर्ष मात्र काफी हुँदैन ।

जण्ड सुधारको तेस्रो प्रक्रिया मौलिक आलोचक (र्‍याडिकल क्रिटिक) र सुधारका श्रष्टाहरू तथा संगठित शक्तिहरूबीच तर्कमा आधारित बहस–छलफल गराउने हो । रूपान्तरणका पक्षपातीहरूबीचको वैचारिक सुदृढता अनिवार्य सर्त हुन्छ यस्तो बहसको । त्यसपछि मात्र राजनीतिक, आर्थिक वा सामाजिक रूपान्तरणका लागि आवश्यक ठानिएका मुद्दाहरू परिपक्व र सबैका साझा बन्छन् । बहसमार्फत प्राप्त मुद्दा वा एजेण्डा सम्बन्धी शिक्षाले मात्र जनप्रदर्शन र हडतालहरूको औचित्य साबित गर्छ र वैकल्पिक संस्थाहरूको निर्माण सुरु हुन्छ । रणनीति (स्ट्राटेजी) र कार्यनीति (ट्याक्टिस), सुधार र रूपान्तरणमाथिको बहस र छलफलले मात्र गहिरोसँग चेतनाको निर्माण हुन सक्छ, र संघर्षमा होमिन समाजका सबै सदस्यहरूलाई प्रेरणा प्राप्त हुन्छ ।

नेपालमा जण्ड सुधार सम्भव छ ?

एक्काइसौं शताब्दीमा दासत्व स्वीकार्य हुन सक्तैन । विश्वको विश्वसनीय खबरपत्रिका ‘गार्डियन’ का अनुसार खाडीमा बहुसंख्यक नेपाली कामदारहरूको जीवन नव–दासभन्दा भिन्न छैन । नेपाली अनपढ तथा अदक्ष्य श्रमिकलाई विदेशमा शारीरिक श्रम बेच्ने सिलसिलाले आधुनिकीकरण तथा अत्याधुनीकरणका (आर्टिफिसिएल इन्टेलिजेन्स) का कारण अब निरन्तरता पाउन गाह्रो छ । बिस्तारै मुलुकभित्रै रोजगारीको विकल्प खोज्नुको विकल्प देखिन्न । त्यसको अर्थ मुलुकभित्रै बहुसंख्यक कामदार— जो विदेशबाट काम नपाएर फर्कन्छन् र जो नयाँ श्रमिकका रूपमा श्रम बजारमा ओर्लिन्छन्— का लागि राज्यले नै रोजगारी खोज्नुपर्ने हुन्छ ।

कृषिबाट उखेलिएका, उद्योगमा अल्झिन नसकेका, सरकारी पुँजीगत खर्च बमोजिम नयाँ पुँजी निर्माणमा संलग्न हुन नपाएका, वैदेशिक रोजगारीमा जान नपाएर आधारभूत आवश्यकताको पूर्ति गर्न असमर्थ रहेका, आधुनिक युगमा पनि आफ्ना बालबालिका अशिक्षित हुनुपरेको पीडा टुलुटुलु हेर्नुपर्ने अवस्थामा रहेका, आधारभूत शिक्षा र सामान्य स्वास्थ्य उपचारबाट पनि वञ्चित हुनुपरेका मानिसहरूका लागि राज्यले कहीँ कतै केही प्रबन्ध गर्न नसक्नुको परिणति कसरी अभिव्यक्त हुन्छ भन्ने कुरा सन् २०११ को अरब स्प्रिङ विद्रोहबाट बुझ्न सकिन्छ (बायत, असेफ, २०१७, ‘रेभ्युल्युसन उइदाउट रेभ्युल्युस्नरिज, मेकिङ सेन्स अफ द अरब स्प्रिङ’ स्ट्यान्ड्फोर्ड युनिभर्सिटी प्रेस) ।

ज्यादतीको पनि परकाष्टा हुन्छ । परकाष्टा नाघेपछि विद्रोह हुन्छ, जसरी ०७, ०४७, ०५२/६२ मा भयो । सत्ताका मूलपात्र हिजोका वरिष्ठ क्रान्तिकारी हुन् भनेर मान्छेले भोको पेट र नांगो आङसहित ठिंग उभिएर ‘दर्शन–नमस्ते’ भनेर राजेश पायल राईको गीत गाइरहँदैन । क्रान्तिकारीबेगरकै क्रान्ति बोल्न मान्छे हतारिएका छन् । बेलैमा गठबन्धनमा सामेल शक्ति र व्यक्तिहरू जण्ड–सुधारका लागि तयार भएर योजना र कार्यक्रमसहित अगाडि सरेनन् भने अर्को छ महिना, वर्षदिनपछि उनीहरूसँग राज्यसत्ताको गुमाउनुपर्ने केही बाँकी रहनेछैन ।

प्रकाशित : चैत्र १३, २०७९ ०७:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×