कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८६

विवाह संस्थाका बहुआयामिक पक्ष

महिलाहरू आफ्नो स्वतन्त्रताका लागि निरन्तर लडिरहेका छन् । तर, समाज महिलाप्रति अझै सहयोगी बन्न सकेको छैन । यो असहयोगी संयन्त्रमा महिलामाथि विभेद, शोषण र दमनमा आफू जन्मेको घर–समाज कुनै अपरिचित पुरुषभन्दा एक कदम अगाडि छ ।
नारायणी देवकोटा

विवाह भन्दा अहिले पनि आम रूपमा उमेर पुगेका दुई विपरीतलिंगी मानिसहरूबीचको सम्बन्ध भनेर बुझ्ने–बुझाउने गरिन्छ । धेरैका लागि विवाहमा महिला अनि पुरुष हुन्छन् । समाज विज्ञानमा पनि लामो समयसम्म र आज पनि विवाहको कुरा आउँदा महिला वा पुरुषको सवाल बढी र बाँकी सवालहरू कम उठाइन्छ ।

विवाह संस्थाका बहुआयामिक पक्ष

नेपालको हिन्दु समुदायमा विवाहको अघिल्लो दिन बाआमाले एक छाक खान्छन् र छोरीको विवाह भए, खास कार्यक्रमअघि उसको क्रिया सारिन्छ अर्थात् जिउँदो मानिसको श्राद्ध गरिन्छ । जिउँदै श्राद्ध गरिसकेको मानिसलाई वस्तुसरह दान गरिन्छ । विवाहपछि हिन्दु र हिन्दुबाहेकका समाजमा पनि विवाहित युवती आफ्नो श्रीमान्को घर जाने आम चलन छ । जुन घर युवतीका लागि परिचयभित्रको पनि हुन सक्छ र परिचयबाहिरको पनि । नवविवाहितलाई नयाँ परिवारमा जुन व्यवहार गरिन्छ, त्यो युवा र युवती हेरी धेरै हदसम्म उल्टो छ । अर्थात्, नयाँ जोडिएको सम्बन्धमा पुरुषलाई मानसम्मान र महिलालाई अपमानित गर्ने धेरै चलन छन् । विवाहलाई पुरुषलाई सम्मान दिने र शक्तिशाली बनाउने अनि महिलालाई अपमानित गर्ने र शक्तिविहीन वा वस्तुकरण तुल्याउने संस्थाका रूपमा हेर्न सकिन्छ ।

वैचारिक रूपमा मार्क्सवादीहरू एंगेल्सको ‘परिवार, निजी सम्पत्ति र राज्यसत्ताको उत्पत्ति’ लाई सन्दर्भग्रन्थका रूपमा लिने गर्छन् । उनीहरूको व्याख्या छ, ‘विवाह संस्थाको विकास निजी सम्पत्तिको विकाससँगै भएको हो । जेजति विभेदले भरिएका व्यवहार, परम्परा, आर्थिक सम्बन्धहरू छन्, ती निजी सम्पत्तिमा आधारित छन् । निजी सम्पत्तिको अन्त्य नै यो विभेदको अन्त्य र वास्तविक प्रेमको सुरुआत हुन्छ ।’ विवाह संस्थाले महिलालाई पुरुषको निजी सम्पत्तिको उत्तराधिकारी जन्माउने, हुर्काउने, घरभित्रको काम बेतलबी मजदुरका रूपमा गर्ने र पुरुषले चाहेजसरी नचाउन सक्ने दासका रूपमा लिँदै गयो भन्ने सार यसबाट निकाल्न सकिन्छ । विवाह कहिल्यै महिलाको हितमा थिएन र अब पनि कानुनी सुधार मात्रै भएको विवाह संस्था महिलाको हितमा हुनै सक्दैन भन्ने तर्क पनि गर्ने गर्छन् उनीहरू । एंगेल्स र उनका विचारमा टेकेर गरिने मार्क्सवादी व्याख्याको यस्तो तर्कलाई काट्न सकिन्न । वर्तमानकै अनुभव लिँदा पनि हामीले विवाह संस्थाले यस्तोयस्तो विभेद गर्छ, दमन गर्छ, शोषण गर्छ भनेर लामो सूची बनाउन सक्छौं । ती तमाम विभेद, दमन र शोषणका बावजुद विवाह संस्था किन निरन्तर छ भन्ने प्रश्नवरिपरि यो लेख केन्द्रित छ ।

विवाह कुनै एउटा समाजमा जसरी गरिन्छ, संसारभरिका समाजमा ठ्याक्कै त्यसै गरी नहुन सक्छ । निकट विगतमा कुनै समाजमा एकै पुरुषका कैयौं श्रीमती हुन्थे भने कुनै समाजमा एउटै महिलाका एकसाथ कैयौं श्रीमान् । कुनै समाजमा उमेर पुगेको केटासँग कलिला बालिकाको विवाह हुन्थ्यो भने कुनै समाजमा उमेर पुगेकी युवतीसँग कलिला बालकको । सामन्ती समाजमा पुरुष र महिला दुवैलाई आफूले मन परेका युवा–युवतीलाई जीवनसाथीका रूपमा छान्ने र ऊसँगै जीवन बिताउने स्वतन्त्रता अपवादबाहेक थिएन । अभिभावक, कुल र समाजले श्रीमान् वा श्रीमतीका रूपमा चिनाइदिएको मानिस मन परे पनि मन नपरे पनि उसबाट छुटकारा पाउने हक केही सीमित ‘ठालु’ बाहेकलाई थिएन । ‘इतिहास भनेको राजा–महाराजाका कथा मात्रै होइनन्’ भन्ने मार्क्सवादी स्कुलमा हुर्केका धेरैले विवाह संस्था दमनकारी थियो भन्नका लागि कुन महाराजको सती कति जना गएका थिए भन्ने सन्दर्भ जोड्न भने भुलेका हुँदैनौं । तर यो कुनै एक समाजको इतिहासको कुनै एक कालखण्डको सत्य हो, सम्पूर्ण मानव समाजको सार्वकालिक सत्य होइन भन्न छुटाइरहन्छौं । सती प्रथा विवाह र वैवाहिक सम्बन्धका नाममा गरिने निकृष्ट दमनको एउटा उदाहरण हो ।

विवाह दुई जनाबीचको सम्बन्ध त पक्कै हो तर त्यति मात्रै पनि होइन । दुई जनाले गर्ने विवाहमा उनीहरूका परिवार, जात, धर्म, परम्परा,

रीतिरिवाज, खानपान, आर्थिक हैसियतजस्ता पक्षमा समाज जोडिएर आउँछ । ऐतिहासिक रूपमा हेर्दा विवाह महिलामाथि विभेद, दमन, शोषणको हतियार त हो नै; सँगै सन्तान जन्माउन, जन्मेका सन्तानलाई समाजमा पहिचान दिन, एकै ठाउँमा खान–बस्न, यौन आवश्यकता पूरा गर्न, आफ्ना भावनाहरू पोख्न, दुःखमा वा बिरामी पर्दा स्याहार्न गर्न चाहिने साथीको छनोट र स्थायित्व पनि हो । महिलामाथि भइरहेको विभेद, दमन, शोषणको कुरा गर्दा हामीले विवाहका सकारात्मक पक्षहरूलाई बिर्सने गरेका छौं ।

अर्को पक्ष, विवाह कोसँग गर्ने, कति जना (एकै पटक वा एकपछि अर्को गरेर) सँग गर्ने, कुन उमेरमा गर्ने, विवाहपछि को कसको घरमा जानेजस्ता कुरा धेरै हदसम्म व्यक्तिको हातमा हुँदैनन् । चौतर्फी विभेद, निजी सम्पत्तिमा स्वामित्वको दबदबा र मुखौटामाथि मुखौटा भिरेर हिँडिरहेका मानिसले भरिएको वर्तमान विश्वमा मन मिल्नु मात्रै प्रेम वा विवाहका लागि पर्याप्त हुँदैन । विवाह नगर्दैमा समाजका तमाम बन्धनबाट मुक्ति मिल्छ भन्ने पनि हुँदैन ।

समाजशास्त्रमा हामी हरेक कुरा समय अनुसार बदलिन्छ भन्छौं । मार्क्सले गरेको इतिहासको व्याख्यालाई विवाह संस्थाका सन्दर्भमा जोडेर हेर्ने हो भने पनि दास युगमा पुरुषले आफ्नो शारीरिक क्षमताका आधारमा अर्को समुदायका महिलालाई जबरजस्ती ल्याएर दासीका रूपमा श्रीमती बनायो, सामन्तवादमा आउँदा धर्मका नाममा, कुलका नाममा, जातका नाममा यस्तो दमनलाई निरन्तरता दिइयो । तर उक्त दमन दास युगमा पुरुषले जबरजस्ती गरेर लैजानेभन्दा फरक थियो, युवतीका परिवारलाई मनाएर अप्रत्यक्ष रूपमा महिलामाथि विभेद, दमन र शोषण हुन्थ्यो । नेपालको समाजमा त्यसका कैयौं उदाहरण देख्न पाइन्छन् । त्यसमा कुनै पुरुष वा उसको समुदाय मात्रै संलग्न हुँदैन, महिला र उसको समुदायको पनि संलग्नता हुन्छ । सामन्तवादी युगमा आइपुग्दा नै पुरुष धेरै हदसम्म आफ्नो चाहना र रुचिकी युवतीलाई आफ्नी श्रीमती बनाउनबाट वञ्चित भयो । पुँजीवादी युगमा आउँदा मानिसहरू आफ्नो

साथी छान्न धेरै हदसम्म स्वतन्त्र त छन् तर पनि जात, धर्म, वर्ण, यौनिक अभिमुखीकरण र वर्गका पर्खाल भत्काएर साथी छान्ने स्वतन्त्रता धेरै हदसम्म छैन ।

समाजमा रहेको विभेद, समाज विज्ञानमा बढी पढिने सिद्धान्तहरू र पछिल्लो शताब्दीमा उठेका महिला आन्दोलनमा रहेर हामीले महिलामाथि हुने विभेद, दमन र शोषणको सवाल उठाइरहे पनि महिलाको यौनिकता, यौन चाहना, महिलाका सपनाहरूबारे बहस निकै मधुरो स्वरमा मात्रै गरेका छौं । पुरुषलाई यौनमा सक्रिय र महिलालाई निष्क्रिय, पुरुषलाई भोक्ता र महिलालाई भोग्याका रूपमा चित्रण गर्ने गरिएको छ । त्यसैले साठी वर्षको पुरुषले विवाह गर्दै छु भन्दा बधाई दिने समाजले कुनै महिलाले साठी वर्षमा विवाह गर्छु भन्दा नकारात्मक टिप्पणी गर्छ, कुनै महिलाले बेबी बम्पसहितको फोटो पोस्ट गर्नुमा हामी अनैतिकता देख्छौं । समाजका तमाम विभेदसँग लड्दै आफ्ना खुट्टामा उभिएका महिलाहरू आफ्ना जीवनसाथी आफैंले छनोट गर्ने हैसियत राख्छन्, विवाह गरेको मानिससँग मन नमिले सम्बन्धविच्छेद गर्न र त्यसपछि कसैलाई मन पराउन, विवाह गर्न वा अविवाहित रहन सक्छन् । राज्यको कानुनले अहिले जबरजस्ती विवाहलाई रोक लगाएको छ भने, नाबालिगसँगको यौनसम्बन्धलाई कानुनी रूपमा वर्जित गरिसकेको छ । भलै कानुन कार्यान्वयनको पक्ष कमजोर होला, तर टेक्ने धरातल उपलब्ध छ ।

आज विवाह नामको सामाजिक संस्थामा ठाउँठाउँमा प्वाल पर्दै छ । विवाह नगरी, कुनै सम्बन्धमा नरही, विवाह नगरे पनि सम्बन्धमा रही, एक जनासँग विवाह गरी अरू एक वा सोभन्दा बढीसँग सम्बन्धमा रही, समाजसँग लडेर विवाह गरे पनि सम्बन्धविच्छेद गरी, एउटा सम्बन्धविच्छेदपछि पुनः विवाह गरी बस्ने चलन बढ्दो छ । विवाह विपरीतलिंगीको सम्बन्धबाट अगाडि बढेर समलिंगी व्यक्तिहरूबीचको सम्बन्ध पनि बन्न पुगेको छ । विवाहको उद्देश्य बच्चा जन्माउनुबाट अगाडि बढेर वृद्धावस्थाको सहारा खोज्नु बन्न पुगेको छ । विवाह सम्बन्धी अबको समाज विश्लेषणमा यी आयामलाई छोडेर महिला–पुरुष सम्बन्धका रूपमा मात्र व्याख्या गरियो भने त्यो अपुरो हुन्छ ।

महिलाहरू आफ्नो स्वतन्त्रताका लागि निरन्तर लडिरहेका छन् । तर, समाज महिलाप्रति अझै सहयोगी बन्न सकेको छैन । यो असहयोगी संयन्त्रमा महिलामाथि विभेद, शोषण र दमनमा आफू जन्मेको घर–समाज कुनै अपरिचित पुरुषभन्दा एक कदम अगाडि छ । घर र परिवारबाट घायल भएका महिलालाई दमन गर्न राज्य खडा छ; विवाह दर्ता नगरी बच्चा जन्माउन, देश छोडेर विदेश जान र प्रेमीबाट कुटाइ खाँदा रिपोर्ट लेखाउन दिनसम्म राज्य तयार छैन । यसले गर्दा प्रेम सम्बन्ध, लिभिङ टुगेदर वा समलैंगिक सम्बन्धमा पनि हिंसा, दमन र शोषण छ भन्नेबारे बौद्धिक जमातमा थोरै मात्र छलफल भएको छ, र कानुनी उपचार पाउन सहज छैन । यसले गर्दा महिला मन पर्दासम्म, समाज र आफन्तले सम्बन्ध थाहा नपाउँदासम्म, पुरुषले भनेको मान्दासम्म, युवती गर्भवती नहुँदासम्म सम्बन्धमा रहने र समाजले चिन्न थालेपछि वा युवती गर्भवती भएपछि वा उसले जसरीतसरी राम्रो कमाउन नसकेर पुरुषमा भर पर्न थालेपछि सम्बन्ध तोड्ने क्रम समाजमा थोरै भए पनि बढ्दो क्रममा छ । यसबाट पुरुषलाई विवाह सम्बन्धमा रहँदाभन्दा बढी उन्मुक्ति मिल्ने र महिलालाई थप भार पर्ने गरेका सन्दर्भहरू अबका बहसमा आउनुपर्छ । यसै पनि सन्तान उत्पादनको सवालमा जैविक रूपमा पुरुष महिलाभन्दा स्वतन्त्र छ । आर्थिक हैसियतमा शक्तिशाली छ र समाजका नियमकानुन पनि उसैका पक्षमा छन् । यस्तो अवस्थामा भएका संस्थागत बन्धनबाट पुरुषलाई छुटकारा बढी मिल्छ कि महिलालाई भन्ने विषयमा सोच्न, बोल्न र अनुसन्धान गर्न अब ढिलो हुँदै छ ।

अन्त्यमा, इतिहासमा विवाह संस्थाको सुरुआत दमनबाट, निजी सम्पत्ति स्याहार गर्न महिलालाई अमानवीय रूपमा दमन गर्ने प्रक्रियाबाट सुरु भएको थियो । उक्त दमनलाई सर्वस्वीकार्य बनाउनका लागि पितृसत्ताले धर्म, समाज र राज्यका नीतिनियमलाई हतियारका रूपमा प्रयोग गरेको थियो । त्यसमाथि शारीरिक बनावटका कारण महिलामाथि विभेद, दमन र शोषण गर्न पुरुषलाई सहज भएको थियो । त्यस्तो क्रूर दमनको सिलसिला समाजमा अझै पनि छ । महिलामाथि हुने हरेक विभेद र अमानवीय सम्बन्धलाई विवाह संस्थासँग जोडेर हेर्न सकिन्छ । तर, उक्त विवाह संस्था आफैं भने सम्पत्ति सम्बन्धमा आधारित विभेदको जगमा खडा छ । आज आफ्नो

आर्थिक हैसियत बलियो भएका महिलाहरू विभेद र दमनले भरिएको सम्बन्धमा बस्नुभन्दा सम्बन्धविच्छेद गर्न अग्रसर छन् । त्यसैले विवाह संस्था निर्माणको आधार सम्पत्ति सम्बन्धलाई परिवर्तन गर्न जरुरी छ । सम्पत्ति सम्बन्धको अन्त्य गर्न नसके पनि घरभित्र छोरा र छोरीलाई समान आर्थिक–सामाजिक हैसियत दिन सकिन्छ । राज्यले बनाएका सम्पत्ति सम्बन्धी कानुनलाई कार्यान्वयनमा ल्याउने, भइरहेका विभेदपूर्ण कानुनलाई परिवर्तन गर्ने, नभएका कानुन निर्माण गर्ने हो भने विवाह वा अन्य सम्बन्धका नाममा भएका विभेद, शोषण र दमन घट्दै जानेछन् ।

प्रकाशित : चैत्र १०, २०७९ ०७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?