श्रमिकको जीवनस्तर सुधार्न सामाजिक सुरक्षा कोष

योगदानमा आधारित सामाजिक सुरक्षा ऐन–२०७४ को प्रभावकारी कार्यान्वयन हुँदा पनि करिब ६८ लाख नागरिक जोखिमको घेराभन्दा माथि उठ्न सहयोग हुन्छ । यस्तो आकार हाम्रो कुल जनसंख्याको करिब २२ प्रतिशत हुन आउँछ ।
एकनारायण अर्याल

नागरिकका न्यूनतम आधारभूत आवश्यकताहरू पूरा गर्न र बाँच्नका लागि बाध्यतावश गर्नुपर्ने अनियमितता, भ्रष्टाचारजस्ता खराब आचरण बीजारोपण हुने धरातललाई साँघुरो बनाउन राज्यमा सुदृढ सामाजिक सुरक्षा प्रणाली अपरिहार्य हुन्छ ।

सामान्यतया कर र योगदानमा आधारित सामाजिक सुरक्षाका दुइटा पद्धति अभ्यासमा देखिए पनि अधिकांश देशले नागरिकलाई मिश्रित स्वरूपको प्रणालीमार्फत सामाजिक सुरक्षाको दायरामा आबद्ध गरेका छन् । बृहत् ऐक्यबद्धतामा आधारित सामाजिक सुरक्षा प्रणालीले सामाजिक–आर्थिक विषयका बहुआयामिक संयन्त्रहरूमार्फत नागरिकलाई जोखिम व्यवस्थापन गर्नुपर्नाले गरिबीको रेखाभन्दा तल झर्ने सम्भावनाबाट बचाउँछ, गरिबीको रेखाभन्दा तल रहेको जनसंख्यालाई कोखदेखि शोकसम्मको औषधि–उपचार र विभिन्न स्वरूपको अशक्तताबाट सृजना हुने जोखिमको व्यवस्थापनमा समेत सहयोग गर्छ । औपचारिक वा अनौपचारिक रूपको न्यून तलब वा आयमा दैनिक जीवनयापनका लागि संघर्ष गर्नुपर्ने समूहका लागि समेत स्वास्थ्य सम्बन्धी उपचार र भवितव्यको वित्तीय दायित्वको भारलाई कोषले वहन गरिदिन्छ । भौतिक पुँजी निर्माणका लागि घर निर्माण कर्जा र सन्ततिको शिक्षाका लागि समेत सहुलियत दरमा शैक्षिक कर्जाको व्यवस्था हुन्छ भने प्राथमिकताप्राप्त क्षेत्रमा लगानीमार्फत श्रम उपयोग हुने गरी रोजगारीका अवसरहरू सृजना गर्छ । यहाँ सामाजिक सुरक्षा कोषले आर्थिक–सामाजिक पर्यावरण स्वचालित बनाई गरिबीको दुश्चक्रलाई न्यून गर्न कसरी बहुआयामिक भूमिका निर्वाह गर्न सक्छ भन्नेबारे चर्चा गरिएको छ ।

गरिबीको दुश्चक्रबाट बचाउने उपाय : दुर्घटना, अस्वस्थता, अशक्तता, वृद्धावस्था, मृत्युका कारणले योगदानकर्ता वा आश्रित परिवारमा निम्तिने वित्तीय भारलाई निश्चित योगदानका आधारमा परिपूर्ण सामाजिक सुरक्षा योजनाहरूमा आबद्ध गरी कोषले जिम्मा लिने हुँदा प्रतिकूल परिस्थितिमा पनि श्रमिकलाई गरिबीको रेखाभन्दा तल आउन दिँदैन । श्रम सर्वेक्षण–सन् २०१७/१८ को तथ्यांकलाई आधार मान्दा करिब २६ लाख औपचारिक रोजगारीमध्ये १७ लाख श्रमिक कुनै पनि सामाजिक सुरक्षा उपलब्ध नहुने अनौपचारिक स्वरूपको श्रममा छन् । हाल १७ लाखलाई पहिलो चरणमा आबद्ध गर्दा र नेपालको औसत पारिवारिक संख्या ४ मान्दा करिब ६८ लाख नागरिकलाई औषधि–उपचारदेखि पेन्सनसम्मको सुविधा उपलब्ध हुने गरी परिपूर्ण सामाजिक सुरक्षाको दायरामा ल्याउन सकिन्छ । योगदानमा आधारित सामाजिक सुरक्षा ऐन–२०७४ को प्रभावकारी कार्यान्वयन हुँदा पनि करिब ६८ लाख नागरिक जोखिमको घेराभन्दा माथि उठ्न सहयोग हुन्छ । यस्तो आकार हाम्रो कुल जनसंख्याको करिब २२ प्रतिशत हुन आउँछ ।

गुणस्तरीय मानवपुँजी निर्माण : कुनै पनि श्रमिक र परिवारको गुणस्तरीय स्वास्थ्यमा पहुँचमा हुँदा उसको कार्यसम्पादनमा सुधार हुन्छ । त्यसबाट व्यक्तिगत आय आर्जन र प्रतिष्ठानस्तरको आम्दानी विस्तार हुने गरी सम्भावनाका द्वारहरू खुल्ने आधार बन्छ । यस्तो चक्रीय प्रभावले लगानीमैत्री वातावरण तयार गर्दै लैजान्छ ।

मातृत्व सुरक्षासँग सम्बन्धित योजनाहरूका कारण आमा र बच्चाको उपचारसहित पौष्टिक खानाको प्रबन्ध हुन्छ, जसका कारण मातृ–शिशु मृत्युदर घट्छ । यसले प्रचुर सम्भावना बोकेको मानव पुँजी निर्माणको जग बसाली गरिबीको दुश्चक्रलाई तोड्न सक्छ ।श्रमिकको अशक्तता र मृत्युजस्ता कारणबाट हुन सक्ने जीवननिर्वाहको र बालबच्चाको शैक्षिक निरन्तरताको जोखिम व्यवस्थित गर्नका लागि कोषले नियमित आयको प्रत्याभूति गर्ने भएकाले घरमुली अशक्त हुँदा वा गुमाउँदा परिवारविशेष गरिबीको रेखाभन्दा तल झर्ने सम्भावना रहँदैन । यसरी न्यूनतम आधारभूत आवश्यकता सुनिश्चित भई नयाँ सम्भावनाहरू प्रस्फुटन हुने आधार बन्ने गर्छ ।

वास्तविक वित्तीय पहुँच : योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीले खाता खोल्ने मात्रको नभएर वास्तविक वित्तीय पहुँचको वातावरण बनाउँछ । जस्तो- सामाजिक सुरक्षा कोषमा आबद्ध हुँदा रोजगारदाताबाट २० प्रतिशत र स्वयं श्रमिकको ११ प्रतिशत कट्टी भई मासिक रूपमा उसको नाममा बचत हुन्छ, कोषले घर निर्माण र शैक्षिक कार्यका लागि सुलभ दरमा सापटी उपलब्ध गराउँछ । यसले श्रमिकको जीवनस्तरलाई गुणस्तरयुक्त बनाउन सहयोग गर्छ । माथि नै भनियो, श्रम सर्वेक्षण–२०१७/१८ अनुसार, औपचारिक क्षेत्रभित्रको अनौपचारिक रोजगारीमा रहेका करिब १७ लाख श्रमिकले कुनै पनि सामाजिक सुरक्षा पाएका छैनन् । ऐनको प्रभावकारी कार्यान्वयनमार्फत कोषमा आबद्ध गर्दा यस्तो श्रम शक्तिको वास्तविक वित्तीय पहुँचको दायरा बढाउन सकिन्छ ।

कार्यसम्पादनमा सुधार र लगानीमैत्री वातावरण : श्रमिकको जीवनचक्रको प्रत्येक जोखिम व्यवस्थापन हुने भएकाले प्रतिष्ठानप्रति श्रमिकको लगाव र वफादारी बढ्दै जान्छ । प्रतिष्ठानले अनुभवी कर्मचारीलाई टिकाइराख्न खोज्नाले र कर्मचारीहरू संस्थाप्रतिको जवाफदेही बढ्नाले उत्पादकत्व वृद्धि हुन्छ । श्रम बजारमा व्यावसायिक तथा सीपयुक्त जनशक्तिको उपलब्धताले लगानीमैत्री वातावरण सृजना हुन्छ ।

अर्थतन्त्रको चक्रबाट प्रत्यक्ष रोजगारी सृजना : कोषमा आबद्ध श्रमिकहरूबाट संकलित रकम दीर्घकालीन पुँजीका रूपमा राज्यले परिचालन गर्न सक्छ, जसलाई भौतिक पूर्वाधार निर्माणमा प्रयोग गर्न सकिन्छ । यसले तत्कालका लागि रोजगारीको सृजना गर्छ भने दीर्घकालका लागि निजी क्षेत्रको उत्पादन लागत न्यूनीकरण हुने आधार तयार गरी राज्यको प्रतिस्पर्धात्मक क्षमतामा सुधार ल्याउँछ । राज्यले भूमण्डलीकरणको लाभ लिन सक्ने गरी पर्यटन क्षेत्र र उत्पादनमार्फत निर्यात प्रवर्द्धन हुने फराकिलो आधार तयार हुन्छ । अन्तर्राष्ट्रिय मुद्रा कोषको फिस्कल मोनिटर प्रतिवेदनमा उल्लिखित विश्लेषण एवं नेपालकै निजी क्षेत्रको लगानी र रोजगारी सृजनाको अनुपातको आधार हेर्दा, सामाजिक सुरक्षा कोषमा २० लाख श्रमिक आबद्ध हुँदा हुने १ खर्बभन्दा बढी योगदान रकमलाई दीर्घकालीन प्रकृतिको आन्तरिक पुँजीका रूपमा परिचालन गरी वार्षिक ३ लाखभन्दा बढी नयाँ रोजगारी निकाल्न सकिन्छ । यसले रोजगारीसँगै श्रमिकको जीवनचक्रमा आधारित परिपूर्ण सामाजिक सुरक्षाको प्रत्याभूतिसहित मर्यादित जीवनको आधार बनाउँछ ।

पुनर्वितरण र क्षेत्रगत सन्तुलन : योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीले रोजगारदातालाई अनिवार्य रूपमा आफ्ना कर्मचारी तथा श्रमिकका नाममा राज्यको संरक्षणमा तोकिएको रकम मासिक रूपमा योगदान गर्नुपर्ने बनाउँछ । यस्तो प्रसारण संयन्त्रले चारवटा प्रभाव पार्छ । पहिलो, कर्मचारीको रोजगारीप्रतिको सुरक्षाको प्रत्याभूतिले कार्यसम्पादनमा सुधार भई उत्पादकत्व बढ्ने देखिन्छ । दोस्रो, रोजगारदाताको अनिश्चितताबाट सृजना हुने कर्मचारी सम्बन्धी भारलाई पनि राज्यको संयन्त्रमा हस्तान्तरणमार्फत कम गर्न सकिन्छ । तेस्रो, अर्थतन्त्रका सबै क्षेत्रका श्रमिकहरूको आधारभूत रूपमा सामाजिक सुरक्षामा एकरूपता आउने हुँदा उनीहरूको रोजगारीप्रतिको आबद्धता पनि क्षेत्र तथा उपक्षेत्रगत रूपमा सन्तुलित हुन्छ । चौथो, वितरण कुशलतामार्फत राज्य मजबुत हुँदै जान्छ । साथै, समाजमा आर्थिक रूपको केही व्यक्तिका नाममा हुने सम्पत्ति केन्द्रीकरणबाट हुने सम्पत्ति सघनता सम्बन्धी जोखिम न्यूनीकरण भई पुनर्वितरणको दरिलो जग तयार हुन्छ ।

सुशासनको आधार निर्माण : सामाजिक सुरक्षा सुदृढ भएको राष्ट्रमा बाध्यतावश हुने भ्रष्टाचारजन्य कार्यहरू शून्यप्राय: देखिन्छ । योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीको अभ्यासले विभिन्न बहानामा हुने अनियमित कार्यहरूलाई निष्क्रिय तुल्याउन सहयोग गर्छ । किनभने नागरिकका न्यूनतम आधारभूत आवश्यकताहरू राज्यले वहन गरिदिने हुँदा मानिस त्यस्तो चिन्ताबाट मुक्त भई वित्तीय अनुशासनमा बस्छ । यसरी जीवनचक्रको जोखिम व्यवस्थापन भई न्यूनतम आधारभूत आवश्यकताको सुनिश्चितता भएमा सार्वजनिक निकायमा हुने अनेकन् आर्थिक अनियमितता न्यूनीकरण भई सुशासनको आधार बन्ने देखिन्छ ।

अर्याल रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव तथा सामाजिक सुरक्षा कोषका अध्यक्ष हुन् ।

प्रकाशित : चैत्र ३, २०७९ ०७:२७
प्रतिक्रिया
पठाउनुहोस्

नेपालीको सारथि बन्न सक्छ सामाजिक सुरक्षा कोष

एकनारायण अर्याल

नेपालको संविधानको धारा ३४ मा श्रमिकहरूको योगदानमा आधारित सामाजिक सुरक्षा एवं धारा ४३ मा आर्थिक रूपले विपन्न, आफ्नो हेरचाह गर्न नसक्ने र लोपोन्मुख व्यक्तिलाई राज्यले सामाजिक सुरक्षाको दायरामा ल्याउनुपर्ने व्यवस्था छ ।

चालु आर्थिक वर्षमा सामाजिक सुरक्षाका प्रमुख भत्ताहरूको खर्च १ खर्ब रूपैयाँभन्दा बढी हुने अनुमान छ । यस्तो खर्चको अनुपात कुल गार्हस्थ्य उत्पादनसँग २ प्रतिशतभन्दा बढी हुन्छ । यद्यपि सामाजिक सुरक्षाका समग्र शीर्षकको यस्तो अनुपात करिब ५ दशमलव ५७ प्रतिशत छ । अन्तर्राष्ट्रिय श्रम संगठनको प्रतिवेदनमा सामाजिक सुरक्षाको कुनै न कुनै सुविधा प्राप्त गर्ने जनसंख्या १७ प्रतिशत रहेको उलेख भए पनि हालसम्म ३१ प्रतिशतसम्म पुगेको अनुमान छ । तर, जीवनचक्रको प्रत्येक जोखिम व्यवस्थापन हुने परिपूर्ण सामाजिक सुरक्षाको दायरामा आबद्ध जनसंख्या १० प्रतिशत पनि छैन । त्यसैले औसत आयु बढेसँगै राज्यलाई वृद्धभत्ताको लागत थपिँदै जानु, विभिन्न जोखिमको प्रकृति बढ्दै जाँदा खर्च बढ्नु र आन्तरिक रोजगारी सृजना हुन नसक्दा ऊर्जाशील जनशक्तिको परिचालन मुलुकको श्रम बजारले गर्न नसक्नुजस्ता कारणले आर्थिक–सामाजिक पर्यावरण नै असन्तुलित हुने जोखिम बढ्दो छ ।

कोषमार्फत उपलब्ध हुने सुविधा

कोषले अन्तर्राष्ट्रिय अभ्यासमा रहेका ९ योजनामध्ये बेरोजगारीबाहेक अन्य ८ वटालाई ४ वटामा वर्गीकरण गरी श्रमिकको जीवनचक्रमा हुने जोखिमहरूमा सुविधा उपलब्ध गराएको छ । ‘औषधि–उपचार, स्वास्थ्य र मातृत्व सुरक्षा योजना’ अन्तर्गत योगदानकर्ता र उनका श्रीमान् वा श्रीमतीको वार्षिक १ लाखसम्मको औषधि–उपचार खर्च, मातृत्व सुविधामा १५ हजार शिशु स्याहार खर्च र ३८ दिनसम्मको मातृत्व बिदामा आधारभूत तलबको ६० प्रतिशत अनि बिरामी बिदामा ७९ दिनको आधारभूत तलबको ६० प्रतिशतले हुने रकम बराबर पाइन्छ । ‘दुर्घटना तथा अशक्तता सुरक्षा योजना’ अन्तर्गत रोजगारीजन्य दुर्घटना वा रोगमा सम्पूर्ण उपचार खर्च कोषले उपलब्ध गराउँछ । अशक्तता भएमा पछिल्लो आधारभूत तलबको ६० प्रतिशतले हुने रकम आजीवन पेन्सन पाइन्छ । रोजगारीजन्य दुर्घटना नभएको अवस्थामा ७ लाखसम्मको उपचार खर्च कोषले उपलब्ध गराउँछ । तेस्रो, ‘आश्रित परिवार सुरक्षा योजना’ अन्तर्गत जुनसुकै कारणले योगदानकर्ताको मृत्यु भएमा काजकिरियाका लागि २५ हजार रुपैयाँसहित योगदानकर्तामा आश्रित श्रीमान् वा श्रीमतीलाई आधारभूत तलबको ६० प्रतिशत र बालबच्चाका हकमा २१ वर्ष नहुन्जेल ४० प्रतिशतले हुने रकम शैक्षिक वृत्तिका रूपमा दिइन्छ । ‘वृद्धावस्था सुरक्षा योजना’ अन्तर्गत अवकाश सुविधासहित ६० वर्ष पुगेपछि मासिक पेन्सनको व्यवस्था छ । योगदानकर्तालाई असाध्य रोग लागे १० लाख रूपैयाँसम्मको औषधि–उपचारको सुविधा पाइन्छ । योगदानकर्ताको भौतिक र मानवीय पुँजी निर्माण हुने गरी सापटीको सुविधा पनि पछिल्ला दिनहरूमा थप हुँदै गएको छ, जसमा घरका लागि ७५ लाखसम्म, शिक्षामा ३५ लाखसम्म र सामाजिक कार्यमा ५ लाखसम्म पाउन सकिन्छ । यही पुसदेखि औषधि–उपचार सुविधालाई योगदानकर्ताका श्रीमान् वा श्रीमतीसम्म विस्तार गरिएको छ भने असाध्य रोग लागे योगदानकर्ताले १० लाखसम्म पाउने व्यवस्था थप गरिएको छ ।

कोषमा किन जोडिनुपर्छ ?

कुनै संस्थाको कार्यकारी प्रमुखको मासिक तलब १० लाख रुपैयाँ छ भने कार्यालय सहायकको चाहिँ १८ हजार हुन सक्छ । आर्थिक क्षमता र जीवन व्यवस्थापन ज्ञानको हिसाबले १० लाख तलब खाने कर्मचारी/श्रमिकले आफ्नो र परिवारको सामाजिक सुरक्षा आफैं गर्न सक्ने भएकाले उसलाई सामाजिक सुरक्षाको दायरामा ल्याइनु हुँदैन भन्ने तर्क पनि छ । कुनै प्राविधिक वा वित्तीय जोखिमले उसको रोजगारी गुम्यो र बचत पनि सकियो भने ऊ र उसको परिवारलाई आधारभूत सुरक्षा दिने काम राज्यको हो । राज्य यसबाट पन्छिन पाउँदैन । त्यस्तो श्रमिक पनि अरूसरह सामाजिक सुरक्षाको संरचनामा सहभागी हुनैपर्छ र थप योजना आवश्यक परेमा निजी बिमा योजनाहरूमा आबद्ध हुन सक्छ । दोस्रो कारण, सहअस्तित्वका लागि क्षेत्रगत सन्तुलन जसले गर्दा उच्च वर्गको सुविधायुक्त रोजगारीको अवसर समग्र व्यवसाय विस्तार र प्रवर्द्धनमा निर्भर हुन्छ, जसको प्रवर्द्धन र विकासमा न्यून तलब खाने अन्य धेरै क्षेत्रका लाखौं श्रमिकको योगदान रहेको हुन्छ । त्यस्तो क्षेत्र र व्यक्तिको कार्यसम्पादन राम्रो भएको खण्डमा मात्र संस्थाको वित्तीय अवस्था सबल र उच्च तहका कर्मचारीको सुविधाको निरन्तरता हुने हुँदा आधारभूत सामाजिक सुरक्षाका लागि सबै क्षेत्रका सबै श्रमिक राज्यको एकीकृत संरचनाभित्र गोलबद्ध हुनुपर्छ ।

आन्तरिक पुँजी परिचालनको आधार

योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीले मानवीय–भौतिक पुँजी निर्माणमार्फत सामाजिक र आर्थिक चरहरू (जस्तै- श्रमशक्तिको माग र आपूर्तिबीच सन्तुलन, मानव विकासमा सुधार र लगानी योग्य रकमको सृजनासहित उत्पादनमूलक प्राथमिकताप्राप्त क्षेत्रमा लगानी) लाई रचनात्मक रूपमा चलायमान बनाउन सहयोग गर्छ । सामाजिक सुरक्षा कोषमा २० लाख श्रमिक आबद्ध हुँदा वार्षिक करिब १ खर्ब १९ करोड योगदान रकम संकलन हुन सक्छ । उक्त रकममध्ये १ खर्बभन्दा बढी दीर्घकालीन प्रकृतिका भौतिक पूर्वाधार, प्राथमिकताप्राप्त र उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सकिन्छ । राज्यले यस्तो रकमलाई बन्डमार्फत कोषको दायित्व पूरा हुने प्रतिफल सुनिश्चितता गरी परिचालन गर्न सक्छ । २० लाख श्रमिक मात्र आबद्ध हुँदा वार्षिक १ खर्बभन्दा बढी दीर्घकालीन लगानी योग्य रकम परिचालन हुन सक्ने देखिएकाले मुलुकको पन्ध्रौं योजनाले परिकल्पना गरेको राष्ट्रिय गौरवका आयोजनाहरूको कुल अनुमानित लागत करिब ३० खर्बको ठूलो हिस्सा सामाजिक सुरक्षा कोषको कार्यान्वयनमार्फत परिपूर्ति गर्न सकिन्छ । आबद्धता बढ्दै जाँदा रकम पनि बढ्दै जान्छ । त्यसैले सामाजिक सुरक्षा कोषले राज्यको सामाजिक संरक्षणलाई मात्र सुदृढ गर्ने नभई आन्तरिक पुँजी परिचालनमा पनि महत्त्वपूर्ण योगदान दिन सक्छ । मलेसिया र सिंगापुरले सामाजिक सुरक्षाको योगदान रकमलाई आन्तरिक पुँजीका रूपमा परिचालन गरी भौतिक पूर्वाधारका क्षेत्रहरूमा लगानी गर्ने गरेका छन्, जुन हाम्रा लागि पनि अनुसरणीय छ ।

मानव विकास सूचकांक सुधार्ने उपाय

राज्यमा मानवीय पुँजी निर्माणको सबैभन्दा महत्त्वपूर्ण अवयव भनेको स्वास्थ्य हो । २० लाख श्रमिक कोषमा आबद्ध हुँदा परिवारसहित करिब ८० लाख जना परिपूर्ण सामाजिक सुरक्षाको दायरामा समेटिन सक्छन् । भवितव्य भइहाले यसले आधारभूत आवश्यकता पूर्ति हुने गरी रक्षावरण गर्छ, गरिबीको दुश्चक्र तोडी मर्यादित जीवनको सुनिश्चितता गराउँछ । सामाजिक सुरक्षामा यो स्तरको आबद्धता मात्रै हुँदा पनि १० वर्षमै समग्र अर्थतन्त्रमा सीपयुक्त र उच्च मनोबल भएका एवं व्यावसायिक जनशक्तिको उपलब्धता हुन्छ, मानव विकासमा सुधार र लगानीयोग्य रकमको सृजनासहित उत्पादनमूलक प्राथमिकताप्राप्त क्षेत्रमा लगानीको गुणात्मक प्रभाव पर्छ । यसबाट १० प्रतिशतसम्मको गरिबी न्यूनीकरण गर्न सहयोग मिल्छ । हामीले सुन्ने गरेकै छौं, विकसित देशमा एउटा कार्डका भरमा नागरिकले स्वास्थ्य उपचार पाउँछ । त्यो योगदानमा आधारित सामाजिक सुरक्षाको संयन्त्रले नै उपलब्ध गराउने सुविधा हो । त्यस्तै प्रणाली अनुरूप नेपालमा पनि कोषमा आबद्ध योगदानकर्ताका लागि सामाजिक सुरक्षा कार्डका आधारमा तोकिएको अस्पतालबाट स्वास्थ्यसेवा लिन सक्ने गरी स्वचालित विधि अपनाइएको छ । तर, स्वास्थ्य बिमा बोर्डमा राज्यले भुक्तानी गर्नुपर्ने रकम बढी भएकाले यसको व्यवस्थापनको जिम्मा कसलाई दिने भन्नेबारे विकल्प सोच्नुपर्ने भएको छ ।

सह–योगदानको परिकल्पना र अभ्यास

सामाजिक सुरक्षा ऐन–२०७४ ले अनौपचारिक र स्वरोजगार एवं नियमित आय हुने वर्गलाई सुरक्षाको दायरामा ल्याउन राज्यको सह–योगदानको परिकल्पना गरेको छ । योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीलाई संस्कारका रूपमा स्थापित गर्न यस्तो अभ्यास सुरु भएको हो । पछिल्लो समय थाइल्यान्डले सह–योगदान अभ्यासबाट सामाजिक सुरक्षा प्रणालीको दायरा छोटो समयमै उल्लेखनीय रूपमा बढाएको छ ।

सह–योगदानबाट राज्यलाई भार पर्छ कि जस्तो देखिन्छ तर त्यस्तो नभई यसले भारलाई योगदानमा आधारित स्तरमा रूपान्तरित गरी स्किमहरूलाई लक्षित वर्गको आवश्यता पूर्ति हुने गरी दिगो सामाजिक संरक्षण निर्माणका प्रशस्त आधारहरू तयार गर्छ । अनौपचारिक क्षेत्रका श्रमिकहरूको सह–योगदानको लाभ–लागत हेरौं । मासिक ८८० रुपैयाँ राज्यले सह–योगदान गर्दा वार्षिक १०,५६० लाग्छ भने यही अनुपातमा २५ वर्षको व्यक्तिलाई राज्यले ३५ वर्ष सह–योगदान गर्दा करिब ३ लाख ६९ हजार लागत लाग्छ । यस्तो रकमलाई वार्षिक ५ प्रतिशतका दरले अवसर प्रतिफल अनुसार समायोजन गर्दै लैजाँदा ३५ वर्षमा करिब ९ लाख ३६ हजार हुन्छ । योगदानकर्ताले ६० वर्षपछि करिब १६ हजार मासिक पेन्सन प्राप्त गर्छ भने उसकै योगदानबाट उसको जीवनचक्रमा आइपर्ने स्वास्थ्य, दुर्घटना, अशक्तता र आश्रित परिवारजस्ता जोखिमहरूको पनि व्यवस्थापन हुन्छ । त्यो व्यक्तिलाई हालकै वृद्धभत्ता व्यवस्था अनुसार ६८ वर्ष पुगेपछि मासिक ४ हजारबाट वार्षिक ३ प्रतिशत वृद्धि हुँदा ४० वर्षपछि १३ हजार दिनुपर्ने हुन्छ । करिब ५० वर्षपछि नेपालीको औसत उमेर ७५ वर्ष पुग्ने अनुमान गर्दा त्यस्तो श्रमिकलाई राज्यले ७ वर्ष वृद्धभत्ता उपलब्ध गराउँदा करिब १० लाख ९२ हजार खर्च लाग्छ । यसरी सोझै मौद्रिक रूपको लाभ–लागत विश्लेषण गर्दा पनि बचत करिब १ लाख ५६ हजार हुन्छ । वृद्धभत्ता पेन्सनबाहेक स्वास्थ्य उपचार अशक्तता र आश्रित परिवारजस्ता भवितव्यहरूमा हुने खर्चसमेत बचत हुन्छ ।

प्रभावकारी बनाउन चाल्नुपर्ने कदम

सामाजिक सुरक्षा कोषलाई राज्यको आर्थिक–सामाजिक रूपान्तरणको महत्त्वपूर्ण संरचनाका रूपमा स्थापित गर्न तीन पक्षमा ध्यान दिनुपर्छ । पहिलो, बृहत् आबद्धता हुने गरी ठोस नीतिगत समन्वयÙ दोस्रो, सञ्चालन कुशलता सृजना हुने गरी प्रभावकारी सेवाप्रवाहका लागि भौतिक संरचनाको निर्माणÙ र तेस्रो, कुशल र व्यावसायिक लगानीमार्फत वित्तीय दिगोपनाको सुनिश्चिततामार्फत सामाजिक सुरक्षा सम्बन्धी सुविधाहरूलाई एकीकृत ढंगबाट नागरिकले नजिकको स्थानबाट प्राप्त गर्न सक्ने संयन्त्रको विकास । संघ, प्रदेश र स्थानीय तहका सुविधाहरू दोहोरोपन नहुने गरी प्रदान गर्नुका अतिरिक्त कोषमा जम्मा भएको रकम योगदानकर्ताहरूकै हितमा लगानी गर्ने वातावरण भएमा सामाजिक सुरक्षा कोष प्रत्येक नेपालीको जीवनयापनको सारथि बन्दै जानेमा शंका छैन ।

अर्याल सामाजिक सुरक्षा कोषका अध्यक्ष एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव हुन् ।

प्रकाशित : माघ ४, २०७९ ०७:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×