कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४०

एमालेको ‘मिसन ग्रासरुट’

राजेन्द्र मानन्धर

एमालेको ‘मिसन ग्रासरुट’ अभियान चलिरहेको छ । पार्टीको जरा संगठन टोल कमिटीसम्म पुगेर केन्द्रकै टोलीले उपचार गर्ने यो अभियान सफल पार्न ‘फस्ट एड बक्स’ बोकेर केन्द्रीय नेताहरू जिल्ला सदरमुकामहरूमा पुगिसकेका छन् । जिल्लास्तरको बैठक गरेर टोल कमिटीसम्म अभियान फैलाउने तालिका तयार गरिएको छ ।

एमालेको ‘मिसन ग्रासरुट’

यो अभियान चिनियाँ नेता माओले आमाबाट प्राप्त गरेको शिक्षासँग मिल्दोजुल्दो देखिन्छ । सायद अध्यक्ष केपी शर्मा ओलीलाई पनि एमालेको जरामा मलजल नपुगेको अनुभूति भएको छ । जराको उपचार सकिएपछि लाग्न सक्छ, रोग त हाँगा र टुप्पामा पनि पो रहेछ र त्यहाँ पनि उपचार जरुरी छ । कुनै समय आमा बिरामी पर्दा बगैंचा हेरचाहको जिम्मेवारी माओले पाएछन् । केही दिनपछि आमा तंग्रिएर बगैंचा पुग्दा डाँठहरू सुकेका र पातहरू पहेंलो हुँदै गएका देखिछन् । छोराले बगैंचा स्याहार नगरेको ठानेर आमा रिसाइछन् । दैनिक पात पुछ्दै, हाँगाहरू पानीले सफा गरे पनि बोटबिरुवाको हालत खराब भएको माओले स्पष्टीकरण दिएछन् । यो सुनेपछि आमाले भनिछन्, ‘तिमीले मिहिनेत गरेछौ, तर सही ठाउँमा गरेनछौ ।’ जरामा पानी हालेको भए हाँगा र पात सुक्दैनथ्यो । यो अर्तीपछि माओले चीनको जरा, ग्रामीण किसानबाट क्रान्ति सुरु गरे । यसकै जगमा जनगणतन्त्र चीनको स्थापना भयो ।

एमालेले पनि जरा संगठनका रूपमा रहेको टोलसम्मका पार्टी प्रणालीमा उपचार गर्ने अभियान ल्याएको छ । जराहरू स्वस्थ र सञ्चारित भए भने पार्टीका हाँगा, डाँठ र पातहरू बलिया हुन्छन् । यसअघि पार्टीका जराहरू कमजोर भैरहेकोप्रति त्यति वास्ता गरिएन । जरालाई माया नगर्ने व्यवहार विकसित हुँदै गयो । जरा संगठनले पाउनुपर्ने अधिकारहरू कटौती हुँदै गए । जस्तो गत स्थानीय निर्वाचनमा, जसले जिताउनुपर्ने हो, उसलाई बेवास्ता गरियो । उम्मेदवार छनोटको अधिकार कटौती गरियो । काम मात्र थोपरियो । माथिल्ला कमिटीबाट वडा र पालिकामा उम्मेदवारहरू तोकिए । यसको परिणाम दुःखद आयो ।

पछिल्लो समय जरा संगठनलाई ध्यान नदिई टुप्पाटुप्पाबाट पार्टीका सबै निर्णय भइरहेका छन् । निर्णय अधिकार खिच्ने, आफूआफू मिलेर लाभको बाँडफाँट गर्ने तथा राजकीय पद र सुविधाहरूको खिचातानी गर्ने परिपाटी अस्वाभाविक रूपमा देखियो । हाँगा र पातहरूमा अनेक विकृति फैलिएपछि पार्टी थेग्ने जराहरू शिथिल र रोगी हुन थाले । हालै सकिएको तीनै तहका निर्वाचनमा जराले आफ्नो तागतसम्म प्रस्तुत गर्न सकेन ।

संसदीय प्रतिस्पर्धामा अब्बल एमालेले मार्गदर्शन सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज) को सफल प्रयोग गरिरहेको छ । नेपाली विशेषतासहितको जबजको जगमा एमालेले जनमत पाइरहेकै छ । यति हुँदाहुँदै पनि संगठन नै संगठन भएको पार्टी किन असंगठितजस्तो लाग्छ ? विचार भएको पार्टीका नेता–कार्यकर्ता किन दोबाटाको यात्रीजस्तो अलमलमा छन् ? पार्टीको आधार मानिएको जनवर्गीय संगठनहरू किन शक्तिहीन भैरहेका छन् ? यस्ता प्रश्नहरू मिसन ग्रासरुटले निरूपण गर्ने अपेक्षा छ । निर्वाचन परिणाम सोचेभन्दा फरक आउँदै छ भन्ने पत्तो नपाउने ग्रासरुट संगठनहरू त्यति बेला निदाएकै थिए त ! भुइँ संगठनहरूमा लागेको रोग निदान गर्न यस पटक केन्द्रीय टोली खट्ने भनिएको छ । परन्तुः यो ‘दौडाहा टोली’ मात्र हुन सक्छ । दौडेर पुग्ने, दौडेर फर्कने मात्र गर्दा वडास्तर संगठन सुदृढ गर्ने अभियान प्रभावकारी हुन सक्दैनन् । हुन त, ग्रासरुटमा खटिएका पार्टी नेताहरू ६० दिनसम्मै जनताका घरमा हुने भनिएको छ । नेताहरूको सुविधाभोगलाई निरुत्साहित गरिएको छ । प्रत्येक दिनको कामको दैनिक कार्यतालिका केन्द्रमा सम्प्रेषण गर्न भनिएको छ । चुनौतीहरू सामना गर्न र नवीन विचार दिन सक्ने नेता–कार्यकर्ता उत्पादन गरिने उल्लेख छ । तर्कशील, मिहिनेती, श्रमजीवी नेता र कार्यकर्ता बनाउने लक्ष्य राखिएको छ ।

यसका लागि एमालेका केन्द्रीय पदाधिकारीहरूले सात प्रदेशको बैठकमा भाग लिइसकेका छन् । ७७ जिल्लाका बैठकहरू पनि सकिएका छन् । केन्द्रीय सदस्यले आफ्नो जिल्ला र पालिकाभन्दा फरक स्थानमा काम गर्नुपर्ने सूची सार्वजनिक भएको छ । तिनले सबै वडामा काम गर्नेछन् । आवश्यकताका आधारमा टोल कमिटीसम्म पुग्नेछन् । नेताहरूले घरघरमा पुगेर जनताका समस्या बुझ्नेछन् । गुनासाहरू पहिचान गर्नेछन् ।

निर्वाचन जितिएन भने पार्टीले शासन गर्न सक्दैन । जबजको मार्गदर्शन अनुसार समाजवादका आधार तयार गर्न सत्तामै पुग्नुपर्छ । पार्टी बाहिरका कारकबाहेक पछिल्ला निर्वाचनहरूमा सोचे अनुरूप परिणाम नआउनुमा अन्तर्घात र अस्वस्थ अन्तरसंघर्ष मुख्य कारण भएको एमालेको निष्कर्ष छ । अहिलेको अभियानले यसैको उपचार गर्ने उद्देश्य लिएको छ । त्यस्तै प्रविधिको उचित प्रयोग गर्न पनि पार्टी पंक्ति चुक्दै छ । मिसन ग्रासरुटले कार्यकर्ताहरूलाई प्रविधिको दास बन्ने हैन, प्रविधिको उपयोग गर्न सिकाउँछ । यसको विकृत पक्षबाट जोगिन पहल गर्छ । अभियानले पार्टी संगठनहरूका इन्जिनका पार्टपुर्जा कसकास गर्छ । तल्ला संगठनको जराको ओखती गर्छ । पार्टी सदस्यता नवीकरण गर्न शिविर सञ्चालन गर्छ । नयाँ सदस्यलाई आकर्षित गर्छ । राजनीतिक दलका लागि पार्टी सदस्य ठूलो सम्पत्ति हो ।

प्रकाशित : फाल्गुन २८, २०७९ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?