२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५३

साकेलामा रम्दै

गणेश राई

काठमाडौ — उँभौली र उँधौलीमा तन्नेरी-तरुनी बाजाको ताल र गानामा नाच नाच्नु सांस्कृतिक रुपान्तरणको मूल कडी हो ।

किरातले हरेक वर्ष उँधौली र उँभौली मनाउँछन् । राजधानीमा रहेका किरात राई, लिम्बू, याक्खा र सुनुवारहरू एकै ठाउँ भेला भएर सामूहिक पूजाआजा र सांस्कृतिक नाच प्रदर्शन गर्ने थलो हो, ललितपुरको सानो हात्तीवनस्थित किरात धार्मिक क्षेत्र 'किरात माङहिम' मा । इतिहासविद् मञ्जुल याक्थुम्बाका अनुसार वि.सं. १९०५ देखि यो ठाउँमा किरातीहरूले पूजाआजा गर्दै आएका हुन् । तत्कालीन नेपाली सेनामा किरात पल्टन थियो । किरात प्रदेश पल्लोकिरात, माझकिरात र वल्लोकिरात क्षेत्रबाट भर्ती भएका किराती सैनिकहरू उँभौली र उँधौली चाड मनाउन घर पुग्न नसक्ने अर्थात् लामो बिदा मिल्दैनथ्यो । त्यसैले यो सानो हात्तीवनमा गई पूजाआजा गर्ने गर्थे । त्यही परम्परा अहिलेसम्म जारी छ ।
किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ, किरात याक्खा छुम्मा र किरात सुनुवार सेवा समाजको मागअनुसार नेपाल सरकारले २०५८ सालमा सानो हात्तीवन क्षेत्रलाई 'किरात धार्मिक वन' नामकरणसहित धार्मिक स्थलका रूपमा घोषणा गरेको थियो । वरिपरि जंगलले घेरिएको डाँडोमा किरातीहरूको माङ्हिम (देवघर/मन्दिर) रहेको छ । यहाँ हरेक उँधौली र उँभौलीका दिन नाक्सो, धामी, साम्बा, यबा, कुलपुजारीबाट मुन्धुम परम्पराअनुसार फलफूलबाट पूजाआजा गर्ने गर्छन् । पूजाआजापछि किराती चलनअनुसार सहभागीले निधारमा सेतो टीका (दही, चामल) लगाइदिन्छन् । त्यही वर्ष मंसिरेपूणिर्मा तिथिलाई 'किरात चाड' घोषणा भएको हो । २०६४ सालदेखि वैशाखेपूणिर्मालाई समेत उँधौली किरातचाडका रूपमा सरकारले घोषणा गरेको छ ।
यो माङ्हिममा उँधौली, उँभौलीको अवसर पारेर देश, विदेशका किरातीहरू आउँने गर्छन् । यो पटकको उँधौलीमा भने बर्माको याङ्गुनबाट किरातीहरू चाड मनाउन आइपुगे । पुख्र्यौली थलोको मौलिक पहिचान पहिल्याउँदै आइपुगे । 'अहिले 'बर्मेली नेपाली' हुनुपूर्व खाँटी नेपाली थियौं,' याङ्गुनबाट काठमाडौं आइपुगेका बोमबहादुर लिम्बू भन्छन्, 'हाम्रा पुर्खाहरू खोज्दै डुल्न आयौं । उँधौली मनाउन पाउँदा ज्यादै खुसी लागेको छ । हामी पनि त्यहाँ किरात समाज स्थापना गरेको पचास वर्ष पुग्दै छ । त्यो स्वर्णउत्सव मनाउन निम्तो दिन आएका हौं ।'
नेपालबाट बर्मामा पुगेका किराती राई, लिम्बू, देवान -याक्खा) हरू किरात संघ एकबद्ध रहेका छन् । 'यो पटक वंश, धार्मिक र सांस्कृतिक पहिचानको अवलोकन गर्न आयौं,' आफू तेस्रो पुस्ताको बर्मेली रहेको उल्लेख गर्दै डम्बरबहादुर राई भन्छन्, 'अहिले मेरा नाति पुस्ताका निम्ति सांस्कृतिक पुस्तान्तरण गर्न पुख्र्यौली पहिचान सोधीखोजी गर्दै छौं ।' उनको पुख्र्यौली इलाम हो भने नजिकका आफन्तहरू भोजपुरका छन् र यो पटक तिनै आफन्तसित राजधानीमा भेटघाट र सांस्कृतिक पहिचान खोजी गर्न साइत जुरेको उनी सुनाउँछन् ।
गोरखा भूतपूर्व सैनिक संघ (गेसो) का महासचिव महेन्द्रलाल राईका अनुसार बि्रटिसले नेपाल सरकारसँग सम्झौता नगरी पाँचदेखि दस हजार गोरखा सैनिकहरूलाई बर्मामा छाडेको थियो । बिना पेन्सिन छाडिए । उनीहरू उतै बिहे गरेर बसे । त्यसका अलावा बर्मामा हिराखानीमा काम गर्न गएका थिए । त्यतै व्यवस्थित भएर रहे । बर्मामा रहेका नेपाली जो अहिले पनि नेपाली संस्कार संस्कृति पालना गर्छन् ।
पुस १३ गतेबाट उँधौली चाड सुरु भएको छ । युवा पुस्ताका किरात राई तन्नेरीहरू दौरा, सुरुवाल, टोपी र तरुनी बहिनीहरू गुन्यु, चोली, गरगहनामा सजिएर साकेला सिलीमा सरिक छन् । काँधमा ढोल, दुवै हातमा झ्याम्टा, सिकिरी, चमर हल्लाउँदै 'सै सै ला हौ कुर्र हा हा..' जोसिँदै उफ्री उफ्री नाचिरहेको हेर्न साह्रै मजा लाग्दो छ । किरात सुनुवार महिला, पुरुषहरू युवा पुस्तालाई डोर्‍याउँदै श्याँदरसिल (नाच) नाचिरहेका छन् । लाँकादुले (भाले ढोल) र आमदुले (पोथी ढोल) 'जसि भ्रुकुमभ्रुकुम', 'हा हा हासल हासल', 'दुकुम सिलसिल' तालमा ताल मिलाउँदै कम्मर मर्काइरहेको ज्यादै दर्शनीय थियो । किरात याक्खा महिला र पुरुषहरू ढोल र झ्याम्टासँग केलाङ नाच नाचिरहेका छन् । शिरमा अग्लो ढाकाटोपी धारी किरात लिम्बू युवा तन्नेरीहरू काँधमा च्याब्रुङ भिरेर, टम्मै गहनामा लिम्बुनी तरुनीहरू हातमा हात समाएर धाननाच नाचिरहेका छन् । उँभौली र उँधौली तन्नेरी-तरुनीबीच भेटघाट, सांस्कृतिक पहिचानजन्य वेशभूषामा सजिएर सांस्कृतिक बाजाको ताल र गानमा नाच नाच्नु सांस्कृतिक रूपान्तरणको मूल कडी हो ।

प्रकाशित : पुस १५, २०६९ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?