२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५३

सहमति वार्ता

अखण्ड भण्डारी

काठमाडौ — 'भोक निकै लागेको छ,' किस्तीमै नजर गाड्दै अर्काले प्रस्ताव राखे, 'पहिला खाने कि क्या हो ?'

वार्तास्थलमा मगमग बास्ना आइरहेको थियो । भित्र भान्सामा परिकार पाक्दै थियो । भान्सेहरू नमिठो हुने हो कि भनेर सजग थिए । वार्ताको समय हुन लाग्यो । परिकार पनि पाकिसक्यो । उनीहरूले त्यसलाई नाङ्लोजत्रो किस्तीमा राखे । र, नेताहरू नआउँदै टेबुलको बीचमा सजाइसके ।
शीर्ष नेताहरू आउने भएकाले त्यहाँ रौनक फेरिएको थियो । कतै केही बिग्रन्छ वा अपुग हुन्छ भन्ने डरले सबैलाई सताएको थियो । पहिल्यै सुरक्षाकर्मीका ट्रक/भ्यानका ताँती लागिसकेका थिए । साथमा यत्रतत्र थिए वाईसीएल, युथ फोर्स र तरुण दलका युवाहरू । आफ्नाचाहिँ नेतालाई केही भइहाल्छ कि भनेर उनीहरू 'अलर्ट' थिए । फूलको थुँगो खस्यो भने पनि झस्कन्थे ।
सडकमा हाईहाई र हुईहुई आवाज आयो । टोलैभरि ध्वनिप्रदूषण हुने गरी साइरन बज्यो । गुड्दै गरेका कति गाडीका चालक तर्सिए । पूरै साइड नछाड्ने कतिलाई ट्राफिकले सातो उड्ने गरी हकारे । थामिनसक्नु गतिमा लस्करै ४ वटा गाडी कम्पाउन्डमा छिरे । सबै सुरक्षाकर्मीका दाहिने हात सर्लक्क निधारमा पुगे । बसेर घाम ताप्नेका जीउ पनि तनक्क तन्किए । परिस्थिति हेर्दा लाग्थ्यो- आज देशमा ठूलो सफलता मिल्दै छ । गतिलो काम हुँदै छ । साँच्चै सलाम ठोक्ने काम गर्दै छन् यी नेताहरू ।
शीर्ष नेताहरू सीधै वार्ताका लागि सजाइएको टेबुलमा पुगे । एकएक वटा कुर्सीमा थचक्क बसे । सुरुमै सबैको नजर टेबुल बीचको किस्तीमा पर्‍यो । आहा ! सबैभन्दा मन पर्ने परिकार ! त्यो देख्दा मात्रै र्‍याल चुह्यो- एउटाको होइन, सबैको । अर्काले देख्यो कि भनेर सबैले सबैतिर पुलुक्क हेरे । आठै आँखा एकैपटक जुधे । कुरा मिलेझैं मुसुक्क हाँसे र नजर फेरि किस्तीतिरै झारे ।
'समय थोरै छ,' एउटाले भने, 'वार्ता सुरु गरिहालौं न त ।'

'ठीकै छ,' तेस्रो बोले, 'वार्ता गर्दै खाउँ न, हुँदैन ?'
'हाहाहा...,' चौथो हाँसे, 'आफ्नाअगाडि आएको चिज खान पनि कोही कुर्छ वा सल्लाह गर्छ ? म त बजाइदिन थालें ! पहिला अघाउँजी खान्छु अनि कुरा गरौंला ।'
हो त नि ! हातैले भेट्ने ठाउँमा आफ्नै लागि राखिएको यति मीठो परिकार ! एक नम्बर नेतालाई पनि खाउँ-खाउँ लाग्यो । उनलाई पनि जिन्दगीमा सबैभन्दा मन पर्ने खाना यही हो । तर, के गर्नु सधैं खान भाग्यले नदिने ! पेटभरि खाएर धित मार्न कहिल्यै नपाउने । अलिअलि स्वाद मात्र आएको हुन्छ, अर्काले तान्न थाल्छ । दिएन भने ढुंगै हान्न थाल्छ । नछाडी धरै हुँदैन !
'त्यस बेलाको स्वाद अझै जिब्रामै झुन्डिरहेको छ,' उनले पहिला त्यही परिकार खाएको याद गरे, 'फेरि खान चाह्यो भने बानी बिग्रन्छ । यसपालि अर्कैलाई दिनुपर्ला ।' नजिक पुगिसकेको हात थपक्क पछि ताने । र, जति भोक लागे पनि वा जति मीठो भए पनि आफूलाई जोडतोडले सम्हाले ।
'आहा ! बास्ना त साह्रै मीठो छ,' दुई नम्बर नेताले सोचे, 'खान पाए क्या मज्जा आउँदो हो ? मैले त जिन्दगीमा पहिलोपल्ट देखेको परिकार हो यो । पहिला त खान त्यति रहर लाग्दैनथ्यो । सबैले खाएर मुख मिठ्याएको देख्दा मलाई पनि खाउँखाउँ लाग्न थाल्यो । नखाउँ भने दिनभरिको सिकार, खाउँ भने कान्छा बाउको अनुहारजस्तो पो भो यो । लौ न के गरौं ?' उनलाई खाने इच्छाले फड्को होलाजस्तो भयो ।
तीन नम्बर नेताको हेराइ पनि किस्तीमै थियो । त्यहाँ गढेका आँखा बिस्तारै माथि ठाए । कोटको खल्तीबाट सानदार रुमाल झिके । अर्कातिर फर्केर चिउँडातिर लागेको र्‍याल पुछे । 'बेला न कुबेला मलाई पनि के सकसक लागेको होला ?' उनले सोचे, 'जिनिस त यो साह्रै मीठो हो । यस परिकारमा हामी लोभिएको देखेर सारा जनता गाली गर्छन् । यसको स्वाद बिचरा उनीहरूलाई के थाहा ? च्याउ नखानेले त्यसको स्वाद जान्ने कुरो पनि त भएन !'
मनै त हो, सोच्न कसले रोकोस् । कसले के सोच्यो भन्ने न कसैले थाहा पाउँछ, न मिटर लाएर जान्न सक्छ । तीन नम्बरलाई त्यस्तै लाग्यो । उनले फेरि एकपटक त्यो परिकार पेटभरि खाएको कल्पना गरे । हेर्दाहेर्दै त्यसको स्वादले डम्म भएको सपना देखे । कल्पनाको दुनियाँमा डुब्दाडुब्दै झुक्किएर 'ढ्याउ' खुस्काइहाले ।
'अर्काले खाइरहेका ठाउँमा डकार्नचाहिँ भएन है, नेताज्यू,' चार नम्बर नेता झोंक्किए, 'अलि सभ्यता पनि सिक्नुपर्‍यो ।'
'सरी नेताज्यू,' तीन नम्बरले भने, 'भोक लागेका बेला पनि डकार आउँदो रहेछ कहिलेकाहीं । यो कलियुगमा उल्टो-उल्टो हुन्छ भन्थे, हो क्यारे !'
चार नम्बर खानमै व्यस्त भए । 'मीठो भए पनि टोक्न अलि सारो रहेछ,' उनले जिब्रो फड्कार्दै भने, 'तपाईंहरूको खाने हिम्मत छ
त ? छ भने खानुस् !'
बाँकी तीनै जनाले मुखामुख मात्र गरे । खान मन त सबैलाई लागेकै हो । भोक पनि नलागेको होइन । तर, चार नम्बरको खुवाइको रमिताले नै उनीहरू तनावमा डुबिसकेका थिए । खाउँ कसरी खानु, नखाउँ सबैका लागि बनाएको हो । पालो गर्दै भए पनि खान पाए हुन्थ्यो जस्तो उनीहरूलाई पनि भयो ।
चार नम्बर नेता आफ्नै धूनमा खाइरहेका थिए । उनलाई लाग्यो- 'जति खाए पनि नसकिने, खाएको खायै गर्दा पनि नअघाउने, कस्तो परिकार हो यो ? कसरी बनाएछन् केटाहरूले ?'
'एक्लै नखानुस्, चोखे लाग्ला', दुई नम्बरले भने, 'फेरि छेरौटी चल्ला !'
'मलाई चोखेसोखेमा विश्वास छैन, नेताज्यू,' चार नम्बरले चपाउँदै जवाफ दिए, 'बरु छेरौंला, पेटभरि नखाई उठ्दिनँ ।'
फेरि तीनै जनाले मुखामुख गरे । अरू हेरिरहे, चार नम्बर खाइरहे । आजको वार्ता यस्तै भयो ।

प्रकाशित : पुस १५, २०६९ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?