कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

पोखराका सहकारीपीडित भन्छन् : प्रभावमा परेर प्रहरीको अनुसन्धान फितलो

‘पीडितको दिनदिनै बिचल्ली, सरकार मौन छ’
दीपक परियार

पोखरा — सहकारी ठगीको छानबिन तथा अनुसन्धानमा प्रहरी, अड्डा अदालतदेखि नियामक निकायसम्म राजनीतिक प्रभावमा परेको पोखराका सहकारीपीडितले बताएका छन् । न्याय दिनुपर्ने निकाय नै प्रभावमा पर्दा सहकारीपीडितको बिचल्ली भएको उनीहरूको भनाइ छ । 

पोखराका सहकारीपीडित भन्छन् : प्रभावमा परेर प्रहरीको अनुसन्धान फितलो

सहकारी ठगीको निष्पक्ष छानबिनको माग गर्दै आइतबार पोखरामा विरोध प्रदर्शन गर्ने पीडितको तयारी छ । विरोध प्रदर्शनबारे जानकारी दिन शनिबार आयोजित पत्रकार सम्मेलनमा सहकारी ठगीको छानबिन गर्न सरकार गम्भीर नभएको बचतकर्ताले बताए । कास्की सहकारीपीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले उस्तै प्रकृतिको घटनामा राप्रपा सांसद गीता बस्नेतविरुद्ध पक्राउ पूर्जी जारी भए पनि गृहमन्त्री रवि लामिछानेले उन्मुक्ति पाएको बताए ।

‘अहिले गृहमन्त्रीविरुद्ध कहीँ कतै जाहेरी छँदै छैन भनेर गुमराहमा राखिएको छ,’ उनले भने, ‘माघ २२ मा हामीले कास्की प्रहरीमा जोहरी दिएकै हो । के ताम्रपत्रमा लेखेर दिनुपर्ने हो र ? ठगी धन्दाको बारेमा स्वर्णिम अक्षरमा लेखेर दिनुपर्ने हो र ? कागजमै लेखेर दिएको हो । जिल्ला प्रहरी प्रमुखले मागेरै लिनुभएको हो ।’ यो विषयमा अबको छानबिन प्रतिवेदनबाट प्रक्रिया अगाडि बढाउने आश्वासन कास्की प्रहरी प्रमुखले दिएको उनले सुनाए ।

पोखरा महानगरपालिकाको विज्ञ टोलीले तयार गरेको सूर्यदर्शन सहकारीको दोस्रो चरणको वित्तीय विश्लेषण प्रतिवेदन प्रहरीले वैशाख २७ मा बुझेको थियो । ‘जाहेरीभन्दा पनि ठूलो चिज हाम्रो हातमा आएको छ, यसभित्र जेजे छ हामी अगाडि बढाउँछौं भनेर प्रहरी प्रमुखले भन्नुभएको छ,’ उनले भने । यसअघि पनि कास्कीका सहकारीमा उस्तै प्रकृतिका अभियोगमा कसैलाई मुद्दा चल्ने र कसैलाई नचल्ने, कोही पुर्पक्षका लागि थुनामा जाने र कोही धरौटीमा छुट्ने भइरहेकोले देशैभर प्रहरी प्रशासनदेखि अड्डा अदालतसम्म राजनीतिक प्रभावमा परेको उनको आरोप छ । चितवनको सहारा सहकारीले ३२ कम्पनीविरुद्ध जाहेरी दिए पनि प्रहरीले अनुसन्धान अघि नबढाइ थन्क्याएर राखेको श्रेष्ठले बताए ।

संसदीय छानबिन समिति बनाएर गृहमन्त्रीमाथि पनि छानबिन गर्नुपर्ने सहकारीपीडितको माग छ । त्यस्तो समितिले जीबी राईबाट ठगिएका सहकारीबाट छानबिन सुरु गर्नुपर्ने पीडितले बताएका छन् । ‘कता-कता गृहमन्त्रीले छानबिन समिति बनाउन हुँदैन भन्ने सुनिएको छ । उहाँले यसरी रोक्न पनि मिल्दैन । एमाले अध्यक्ष केपी शर्मा ओलीले रोक्नुभएको छ भन्ने सुनिन्छ । उहाँले पनि रोक्न मिल्दैन,’ संयोजक श्रेष्ठले भने, ‘छानबिन समिति कुनै पनि हालतमा बन्नुपर्छ । छानबिन समिति बन्दै गर्दा सत्तामा भएका मान्छे सहकारी ठगीमा जोडिएका भए तुरुन्तै राजीनामा दिनुपर्छ । प्रधानमन्त्री, गृहमन्त्री जो भए पनि राजीनामा दिनुपर्छ ।’

सरकारलाई कसरी यो सत्ता टिकाउने, कसरी कुर्सी बचाउने, कसरी अर्को सरकार बनाउने भन्ने मात्रै ध्याउन्नमा हुँदा पीडित दिनप्रतिदिन थपिँदै गएको उनको अनुभव छ ।‘रविलाई हामीले पनि कुनै दिन सपोर्ट गरेकै हो । भोलि सफाइ पाउनुहोला तर छानबिन गरौं न । के रहेछ वास्तविकता बुझौं न । त्यसै अन्धभक्त भएर, एकोहोरो साथ समर्थन गरेर मात्रै हुँदैन,’ उनले भने, ‘आज यही सरकारले समर्थन गरेर उहाँलाई कुर्सीमा राखेको छ । रवि लामिछाने दोषी भएको पाइयो भने उहाँहरूले त्यतिखेर के भन्नुहुन्छ ?’

धेरैपल्ट विरोधका कार्यक्रम गरे पनि कुनै सुनुवाइ नभएको पीडित बचतकर्ताको गुनासो छ । ‘सहकारीका सञ्चालकले प्रत्यक्ष ठगे तर नियामक निकाय र यो राज्य व्यवस्थाबाट झन् धेरै पीडित भएका छौं,’ संयोजक श्रेष्ठले भने, ‘सरकारलाई वास्तै छैन । मान्छे दिनदिनै मरिरहेका छन् । औषधिउपचार गर्न नपाएर मान्छे मरिरहेका छन् । सम्बन्धविच्छेद भइरहेको छ । किरिया गर्ने पैसा छैन । दिनदिनै रुवाबासी चलिरहेको छ । यो कुरा सरकारलाई थाहा छैन ।’

पक्राउ परेर पुर्पक्षका लागि थुनामा गएकाको सम्पत्तिबाट बचत फिर्ता गर्न सरकारले छिटो ऐन, कानुन बनाउनुपर्ने, ऋणिलाई ऋण तिर्न आह्वान गर्नुपर्ने, सहकारीका सम्पत्तिको संरक्षण गर्नुपर्ने, बचतकर्तालाई सम्बोधन गर्ने कुनै एउटा निकाय बनाउनुपर्ने पीडितको माग छ । आइतबार सहकारीपीडितले पोखराको सिर्जनाचोकबाट पृथ्वीचोकसम्म विरोध र्‍याली गर्दै छन् । कास्कीमा क्रियाशील ७ राजनीतिक दलले सहकारीपीडितलाई न्यायको माग गर्दै आयोजना गर्ने र्‍यालीमा समस्यामा रहेका ७ सहकारीका बचतकर्ता सहभागी हुने छन् ।

प्रकाशित : जेष्ठ १३, २०८१ ०६:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रदेश सरकारहरूले आगामी आर्थिक वर्षको बजेटमा घुमाउरो बाटोबाट सांसदहरुलाई बजेट दिने व्यवस्था गरेकोमा तपाईंको धारणा के छ ?