कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

खल्बलिँदै चरा संसार

डढेलो, तापक्रमको फेरबदल र चारोको अभावमा बासस्थान बदल्दै चरा
दीपक परियार

पोखरा — धुपी र सल्लाको दानालाई आफ्नो आहार बनाउने पंखथोप्ले महाठुँड चरा शनिबार कास्कीको मादी गाउँपालिकामा हाडे काफल खाँदै गरेको भेटियो । समुद्री सतहबाट ३ हजारदेखि ४ हजार मिटरको उचाइमा पाइने यो चरा अहिले १ हजार ८ सय मिटरको उचाइमा पाइन थालेको छ । हिमाली भेगको धुपी र सल्लाको वनमा बस्ने यो चरा अहिले पहाडको बाक्लो वनमा भेटिन थालेको पन्छीविद् मनशान्त घिमिरेले बताए । 

खल्बलिँदै चरा संसार

‘यता समथर भूभागमा पाइने मयूर अहिले हिमालको फेदीमा पाइन थालेको छ,’ उनले भने, ‘गएको वैशाखमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकास्थित स्वाँतका स्थानीयले वनमा पोथी मयूर डुल्दै गरेको देखेको सुनाएका थिए ।’ ३ सय ५० देखि ४ सय मिटरसम्मको उचाइमा पाइने मयूर २ हजार ६ सय मिटरको भूभागमा भेटिएको खबरले संरक्षणकर्मीलाई अचम्मित तुल्याएको छ ।

पोखरा पन्छी समाजका अध्यक्ष घिमिरे हिमाली भेगमा पाइने डाँफे समथर भूभागमा झर्न थालेको बताउँछन् । ‘साधारणतया डाँफे २ हजार ८ सय मिटर माथि पाइन्छ । यिनीहरू बुट्यान नभएको खुला ठाउँमा जडिबुटी चर्न मन पराउँछन्,’ उनले भने, ‘तर अहिले उपत्यका वरपरका घना जंगलमा डाँफे भेटिएका छन् ।’

आहाराको खोजीमा चराहरूले बासस्थान बदल्ने भए पनि तराईका चरा हिमालमा र हिमालका चरा पहाडमा पाइनुलाई जलवायु परिवर्तनको असरका रूपमा उनी अर्थ्याउँछन् । ‘चराहरू तल्लो भेगको तातो छल्न माथिल्लो भेगमा पुगिरहेका छन्,’ उनी भन्छन्, ‘माथिल्लो भेगमा अत्यधिक आहारा पाइने ठाउँमा बढी पानी पर्दा त्यहाँका चरा तल झरेका छन् ।’ वनमा अत्यधिक फैलिएको डढेलोका कारण पनि खानाको खोजीमा बासस्थान बदल्नुपर्दा चराको संसार खल्बलिएको उनले सुनाए ।

श्रीलंकाबाट बच्चा कोरल्न नेपाल आउने स्वर्गचरी घिमिरेले सन् २०१९ मा मुस्ताङको जोमसोममा देखे । १ हजार ४ सय मिटर उचाइको हाराहारीमा पाइने यो चरा हिमालपारि २ हजार ७ सय ५० मिटरको उचाइमा उनले भेटेका थिए । ४ सय मिटरसम्मको उचाइमा पाइने बगाले भ्याकुर तीन वर्षअघि २ हजार ९ सय मिटरको फुल्चोकी डाँडामा अभिलेख भयो । २ सय ५० मिटर उचाइमा बस्ने पहेंलो जुन बकुल्ला र कालो जुन बकुल्ला पोखरा पन्छी समाजको चरा गणनाको क्रममा गत वर्ष ७ सय मिटरमा रहेको पोखराको न्युरेनी तालमा भेटिए ।

पहाडी भेगमा पाइने सेतो गिद्ध मुक्तिनाथदेखि माथि ५ हजार ५ सय मिटरको उचाइसम्ममा अभिलेख भएको नेपाल पन्छीविद् संघका अध्यक्ष डा.तुल्सी सुवेदीले बताए । तापक्रम घट्ने बढ्ने हुँदा आहारामा हुने परिवर्तनले गर्दा चराहरूले बासस्थान बदलिरहेको उनी बताउँछन् । ‘तापक्रम घटबढ हुँदा किराफट्यांग्राको फैलावटमा पनि फरक पर्छ,’ उनी भन्छन्, ‘निश्चित समयमा पाइने आहारा त्यस समयभन्दा चाँडै पाइने हुँदा चराले बासस्थान फेरिरहेका छन् ।’ यसको प्रत्यक्ष असर चराको प्रजनन क्षमतामा परेको उनी सुनाउँछन् । भन्छन्, ‘जहाँ जुन समयमा आहारा पाउनुपर्ने हो, नपाउँदा प्रजनन क्षमतामा ह्रास आउँछ । फलस्वरूप संख्या घट्दै जान्छ ।’

गत वैशाख २५ मा अन्नपूर्ण संरक्षण क्षेत्रको उपल्लो मुस्ताङस्थित लोमन्थाङ (३८४० मि.)मा नेपालका लागि नयाँ प्रजातिको चरा फुस्रो सारौं अभिलेख गरिएको थियो । नेपालका चराविद् शंकर तिवारीले उक्त क्षेत्रमा विदेशी पाहुनाको साथमा पदयात्रा तथा चरा अवलोकनको क्रममा चरा भेटेका हुन् । उनले तस्बिर खिचेर आफ्नोतर्फबाट प्रारम्भिक पहिचान गरे । वैशाख ३१ मा उक्त चराको यकिन पुस्ट्याइँको लागि नेपाल पन्छीविद् संघअन्तर्गतको नेपाल चरा अभिलेख समितिमा विवरणसहित चराको तस्बिर पठाए । प्राप्त विवरणहरूको अध्ययन, राष्ट्रिय–अन्तर्राष्ट्रिय पन्छीविद्सँग राय सुझाव संकलन गरेपछि समितिले उक्त चरा नेपालका लागि नयाँ भएको पुष्टि गर्‍यो ।

तिवारीले अवलोकन गरेको उक्त चराको अंग्रेजी नाम ह्वाइट चिक्ड स्टार्लिङ र वैज्ञानिक नाम स्पोडायोप्सर सिनेरेसियस हो । यो चरा उत्तर र पूर्वी एसियाका चीन, जापान, मंगोलिया, उत्तर कोरिया, रुस दक्षिण कोरिया, हङकङ, ताइवान र भियतनाममा आवासीय रुपमा पाइन्छ । लाओस्, म्यानमार, फिलिपिन्स र थाइल्यान्डमा फिरन्ते रुपमा अभिलेख भएको छ ।

प्रकाशित : जेष्ठ १३, २०८१ ०७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रदेश सरकारहरूले आगामी आर्थिक वर्षको बजेटमा घुमाउरो बाटोबाट सांसदहरुलाई बजेट दिने व्यवस्था गरेकोमा तपाईंको धारणा के छ ?