कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११६

अबको चुनावसम्मै कांग्रेस प्रतिपक्षमा : एमाले उपाध्यक्ष पौडेल

चितवन — नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले वर्तमान सरकारको गठबन्धन आगामी चुनावसम्मै कायम रहने बताएका छन् । 

अबको चुनावसम्मै कांग्रेस प्रतिपक्षमा : एमाले उपाध्यक्ष पौडेल

शनिबारदेखि भरतपुरमा सुरू भएको एमाले चितवनको ११ औं जिल्ला अधिवेशनको उद्घाटन गर्दै नेता पौडेलले भने, 'प्रतिपक्षमा बसेर चुनावमा भाग लिएको अनुभव कांग्रेसलाई छैन । तर आउँदो ८४ सालको चुनाव हुँदा कांग्रेस प्रतिपक्षमै हुन्छ । किनकि अहिलेको गठबन्धन सरकार चुनावसम्मै जान्छ ।'

प्रधानमन्त्रीमा पुष्पकमल दाहाललाई चयन गर्दै पहिले बनाएको गठबन्धन राष्ट्रपति चुनावपछि भत्काएर कांग्रेसले आफू दिग्विजय भएँ भन्ने सोचेको र अहिले नयाँ गठबन्धन बनेपछि कांग्रेस भयानक बेचैइनी र छटपटिमा रहेको पौडेलले बताए । 'त्यसो त अहिले पनि कांग्रेस नयाँ सहयात्रा भंग गर्ने प्रयत्नमा छ । तर यो सहयात्रा ८४ सालको चुनावसम्मै कायम रहन्छ । यो थाहा पाएर कांग्रेस संसद्‌मा ताण्डव नृत्य मच्च्याइरहेको छ । संसद्‍को र सभामुखको कुनै मर्यादा गरेको छैन,' पौडेलले भने ।

उनले कांग्रेसले अवरूद्ध गरेको संसद् खुलाउन संवाद गर्ने तर सहमतिमा नआए व्यवधान पन्छ्याएर अगाडि बढ्ने बताए । 'यो गठबन्धन रहे आफ्नो भविष्य छैन भन्ने कुरा कांग्रेसले बुझेको छ र नै अनेक प्रपञ्चमा छ,' पौडेलले भने ।

सोमबारसम्म चल्ने चितवन एमालेको जिल्ला अधिवेशनले नयाँ कार्यसमिति पनि चयन गर्ने छ । एमाले चितवनका प्रचार विभाग प्रमुख प्रकाश ढुंगनाका अनुसार जिल्ला अधिवेशनमा ७ सय ६१ जना प्रतिनिधि सहभागी छन् । अधिवेशनले १ सय २० जनाको कार्यसमिति गठन गर्ने छ । नयाँ कार्यसमितिको अध्यक्ष पदका लागि हालका अध्यक्ष रामप्रसाद न्यौपाने र उपाध्यक्ष कमल पाठकको नाम चर्चामा छ ।

त्यसैगरी कृष्ण भुर्तेल र तेजेन्द्र खड्काले पनि अध्यक्ष पदमा रुची देखाएका छन् । आइतबार मनोनयन दर्ताको कार्यक्रम छ । सर्वसम्मत नभए सोमबार मतदान हुने एमाले चितवनले जनाएको छ ।

प्रकाशित : जेष्ठ १२, २०८१ १७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रदेश सरकारहरूले आगामी आर्थिक वर्षको बजेटमा घुमाउरो बाटोबाट सांसदहरुलाई बजेट दिने व्यवस्था गरेकोमा तपाईंको धारणा के छ ?