२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९२

कतारका अमिर आज आउँदै

५ विषयमा समझदारी हुने, कतारका अमिरलाई राष्ट्रपति पौडेलले विमानस्थलमा स्वागत गर्ने

काठमाडौँ — नेपालको दुईदिने राजकीय भ्रमणमा मंगलबार आउन लागेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीलाई राष्ट्रपति रामचन्द्र पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने भएका छन् । विमानस्थलको अति विशिष्ट कक्षमा कतारका अमिरलाई २१ तोपको सलामी दिएर सम्मान गरिने कार्यक्रम रहेको छ । 

कतारका अमिर आज आउँदै

फिलिपिन्सबाट एसिया भ्रमण थालेका कतारी राजा बंगलादेशबाट काठमाडौं उत्रन लागेका हुन् । उनले मंगलबार बेलुका नै राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेटवार्ता गर्नेछन् । उक्त भेटवार्तापछि राष्ट्रपति पौडेलले कतारी राजाको सम्मानमा सोल्टी होटलमा राजकीय रात्रिभोज आयोजना गर्दै छन् । भ्रमणको दोस्रो दिन बुधबार बिहान कतारी राजा र प्रधानमन्त्री पुष्पकमल दाहालबीच प्रतिनिधि मण्डलस्तरीय द्विपक्षीय भेटवार्ता हुने तय भएको छ । उक्त बैठकपछि दुई मुलुक बीचमा विभिन्न ५ क्षेत्रमा समझदारी हुने परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतकुमार राईले जानकारी दिए ।

राईका अनुसार उच्च शिक्षा र वैज्ञानिक अनुसन्धान तथा युवा र खेलकुदका विषयमा सहकार्य गर्ने विषयमा समझदारी हुनेछ । साथै, थप अन्य तीन विषयमा पनि समझदारी हुने राईले बताए । नेपाल र कतारबीच हुने भनिएको श्रम सम्झौता भने यस पटक नहुने भएको छ ।

दुई मुलुकबीच कूटनीति सम्बन्ध स्थापना भएपछि पहिलो पटक कतार प्रमुखबाट हुन लागेको उच्च भ्रमण महत्त्वपूर्ण भएको राष्ट्रपतिका परराष्ट्र मामिला सल्लाहकार सुरेश चालिसेले बताए । ‘यो भ्रमणले दुवै मुलुकको आर्थिक र सामाजिक पक्षलाई थप बलियो बनाएर जनस्तरको सम्बन्धलाई पनि थप प्रगाढ बनाउन मद्दत गर्नेछ,’ उनले भने । नेपाल र कतारबीच सन् १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । त्यसपछि नेपालबाट प्रधानमन्त्रीहरू, तत्कालीन दुई राजाहरू, पूर्व दुई राष्ट्रपतिहरू, सभामुख र मन्त्रीहरूले कतारको भ्रमण गरिसकेका छन् । नेपालबाट कतारमा पहिलो उच्च भ्रमणका रूपमा सन् १९९८ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले गरेका थिए । तर कतारबाट भने मन्त्रीस्तरमा मात्र हालसम्म भ्रमण भएको थियो ।

कतार नेपाली श्रमिकका लागि पश्चिम एसियाली मुलुकमा महत्त्वपूर्ण गन्तव्य हो । कतारमा हाल करिब साढे ३ लाख नेपाली कामदार कार्यरत छन् । हालसम्म करिब १७ लाख नेपालीले कतारमा गएर काम गरिसकेका छन् । कतारले सन् २०२२ मा विश्वकप फुटबल आयोजना गर्दा पनि पूर्वाधार निर्माणमा नेपाली श्रमिकको महत्त्वपूर्ण भूमिका रहेको थियो । नेपाल आउँदै गरेका कतारी राजा एक हवाईजहाजमा र अर्कोमा भ्रमण दलका अन्य सदस्यहरूसहित दुई निजी जहाजमा आउँदै छन् । उनको साथमा आधा दर्जनभन्दा बढी मन्त्रीहरू रहने स्रोतले जनाएको छ । राजकीय भ्रमणको पूर्वतयारीका लागि कतारका ५० भन्दा बढी प्रतिनिधिहरू काठमाडौं आइसकेका छन् ।

कतारी अमिरलाई दुई हात्ती उपहार

नेपालले कतारी राजालाई दुईवटा हात्ती उपहार दिने भएको छ । ‘कन्जर्भेसन’ कूटनीतिलाई जोड दिँदै नेपालले ती हात्ती उपहार दिन लागेको एक वन तथा वातावरण मन्त्रालयका अधिकारीले जनाए ।

‘नेपालका तर्फबाट प्रधानमन्त्रीज्यूले दुईवटा हात्ती हस्तान्तरण गर्ने कार्यक्रम छ,’ ती अधिकारीले भने, ‘हात्तीलाई कसरी स्याहारसुसार गर्ने भन्ने सम्बन्धमा बुझ्नका लागि नेपालमा कतारी अधिकारी आइसकेका छन् भने नेपालबाट पनि कतारमा गएर हात्तीलाई राख्ने दोहा चिडियाखाना अवलोकन भइसकेको छ ।’ राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य–सचिव शरद अधिकारीले नेपाल सरकारले प्रदान गर्ने दुई हात्ती हस्तान्तरणमा कोषले प्राविधिक सहयोग गर्ने बताए ।

नेपालले विपिन जोशी रिहाइको विषय उठाउने नेपालले कतारी राजासमक्ष प्यालेस्टिनी लडाकु समूह हमासको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गर्ने भएको छ । प्रधानमन्त्री दाहालले विपिनको रिहाइका लागि पहलकदमी लिइदिन कतारी राजासँग आग्रह गर्ने आश्वासन दिएका छन् । ‘विपिनको रिहाइका लागि आवश्यक पहल गरिदिन कतारी राजासमक्ष प्रमुख रूपमा कुरा राखिनेछ,’ आइतबार सुदूरपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले भने । विपिन सात महिनादेखि प्यालेस्टिनी लडाकु समूह हमासको नियन्त्रणमा छन् ।

कञ्चनपुरका विपिनका आमाबुबाले पनि कतारका राजासमक्ष छोराको रिहाइको विषय उठाइदिन सरकारसँग आग्रह गरेका छन् । ‘इजरायल र हमासबीच मध्यस्थता गरिरहेको कतारका राजा नै नेपाल आउँदै हुनुहुन्छ । सरकारले विपिनको रिहाइको विषयलाई उहाँसमक्ष पहिलो प्राथमिकतामा राखेर कुरा गरोस्,’ विपिनका बुबा महानन्दले कान्तिपुरसँग भने । उनीहरूले कतार र हमासलाई पनि यथाशीघ्र विपिनको रिहाइ गर्न अपिल गरेका छन् । ‘कतार र हमासको सम्बन्ध राम्रो छ ।

नेपाल र कतारको सम्बन्ध पनि राम्रो छ । जसरी भए पनि कतारले फिर्ता पठाइदिनका लागि मध्यस्थता गरिदिन अनुरोध गर्दछु,’ उनले भने । त्यस्तै आमा पद्माले विपिन निर्दोष भएको भन्दै रिहाइ गर्न हमाससमक्ष अपिल गरेकी छन् । गत ७ अक्टोबर (असोज २०) मा विपिनसहित २ सय ५३ जनालाई हमासले बन्धक बनाएको हो । गाजापट्टीको सीमानजिकै रहेको इजरायलको किबुज अलुमिमबाट जोशीसहित थाई नागरिकलाई बन्धक बनाएर लगिएको थियो ।

प्रकाशित : वैशाख ११, २०८१ ०६:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?