कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६७

भोलि नेपाल आउँदै कतारी राजा

श्रम, पर्यटन, जलविद्युत्, स्वास्थ्य, शिक्षा, खेलकुद र संस्कृतिलगायत क्षेत्रमा द्विपक्षीय समझदारी हुने

काठमाडौँ — राष्ट्र प्रमुखसमेत रहेका कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका लागि मंगलबार नेपाल आउँदै छन् । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा उनको भ्रमण हुन लागेको हो । पहिलोपल्ट कतारका राजा नेपाल आउन लागेका हुन् । दुई निजी जहाज लिएर आउन लागेका उनका साथमा आधा दर्जनभन्दा बढी मन्त्री हुने बताइएको छ ।

भोलि नेपाल आउँदै कतारी राजा

उनको भ्रमणपूर्व नै तयारीका लागि ५० भन्दा बढी कतारी प्रतिनिधि काठमाडौं आउने छन् । नेपालस्थित कतारी राजदूत मिस्हल बिन मोहम्मद अल अन्सारीले भ्रमणको गृहकार्य अन्तिम चरणमा रहेको बताए ।

परराष्ट्र मन्त्रालयका अनुसार कतारका अमिरले मंगलबार राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेटवार्ता गर्नेछन् । प्रधानमन्त्री पुष्पकमल दाहालसँग भने बुधबार द्विपक्षीय वार्ता गरी केही सम्झौता र समझदारीमा हस्ताक्षर हुने कार्यक्रम तय भएको छ । उनी बुधबार बेलुका नै कतार फर्कने छन् । कतार न्युज एजेन्सीले एसियाली मुलुकको भ्रमणमा निस्केका राजाले सम्बन्धित मुलुकका नेता तथा वरिष्ठ अधिकारीहरूसँग सहकार्य अभिवृद्धि गर्ने तथा विभिन्न क्षेत्रमा सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुने उल्लेख गरेको छ ।

तीन एसियाली मुलुकको भ्रमणका लागि गत आइतबार दोहाबाट फिलिपिन्स उडेका कतारी अमिर बंगलादेश हुँदै नेपाल आउन लागेका हुन् । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ भन्छन्, ‘कतारलगायतका खाडी मुलुकमा हाम्रा श्रमिक कार्यरत छन् । त्यससँगै ती मुलुकसँग नेपालको आर्थिक सहयोगका मुद्दाहरूमा पनि सहकार्य अघि बढाउने कोसिस हुनेछ ।’

नेपाल र कतारबीच १९७७ जनवरी २१ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । नेपालले २००० जुलाई ११ मा कतारको राजधानी दोहामा दूतावास स्थापना गरेको थियो भने कतारले सन् २०११ अगस्टमा काठमाडौंमा आफ्नो दूतावास स्थापना गरेको हो ।

कतारसँगको कूटनीतिक सम्बन्ध स्थापना भएको २० वर्षपछि सन् १९९८ मा नेपालका तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले कतारको भ्रमण गरेका थिए । कतारका तर्फबाट भने द्विदेशीय सम्बन्ध कायम भएको ४५ वर्षपछि मात्र हुन लागेको हो । रोजगारीका लागि कतार नेपालीको महत्त्वपूर्ण गन्तव्यमध्येमा पर्छ । हालसम्म कतारमा १७ लाखभन्दा बढी नेपाली श्रमिकले काम गरिसकेका छन् भने सरकारी तथ्यांकअनुसार हाल साढे ३ लाख नेपाली श्रमिक कार्यरत छन् । जसले गर्दा कतारसँग नेपालको सम्बन्ध थप महत्त्वपूर्ण मानिन्छ ।

कतार पछिल्लो समय पश्चिम एसियाको महत्वपूर्ण शक्ति राष्ट्रका रूपमा देखा परेको छ । बदलिँदो विश्व भूराजनीतिक परिदृश्यमा कतारले रणनीतिक मुलुकका रूपमा आफ्नो भूमिका विस्तार गर्दै लगेको छ । पछिल्लो समय खाडी क्षेत्रका मुलुकहरूबीच मध्यस्थता र शक्ति सन्तुलनमा पनि कतारले अह्म भूमिका खेल्दै आएको छ । नेपालका लागि कतार विगत डेढ दशकदेखि वैदेशिक रोजगारीको प्रमुख गन्तव्य रहँदै आएको छ ।

कतारका लागि नेपाली राजदूत नरेशविक्रम ढकाल अरब क्षेत्रबाट नै राष्ट्र प्रमुखका रूपमा पहिलो पटक कतारी अमिरको नेपाल भ्रमण हुनु ऐतिहासिक भएको बताए । भने, ‘यो भ्रमणले खाडीका अन्य राष्ट्रका राष्ट्र प्रमुखलाई पनि नेपाल आउनका लागि ढोका खोलेको छ । यो भ्रमणले नेपाल र कतारी जनताबीच सम्बन्ध विस्तार गर्नेछ । कतारी जनतालाई नेपालको भ्रमण गर्न पनि उत्साहित बनाउनेछ ।’

४३ वर्षीय अमिर तमिम बिनलाई नेपालको दीर्घकालीन विकासमा बृहत्तर योगदान गर्न सकारात्मक बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ । राजदूत ढकाल भन्छन्, ‘नेपाल र कतारबीच रणनीतिक विकास साझेदारका रूपमा विकास गर्न सहयोग पुग्छ । नेपालको पर्यटन, जलविद्युत्, स्वास्थ्य, शिक्षा, खेलकुद, श्रम, संस्कृतिलगायतका क्षेत्रमा द्विपक्षीय समझदारी गर्ने गरी तयारी भइरहेको छ ।’

कतारका लागि नेपालका पूर्वराजदूत सूर्यनाथ मिश्रले कतारका अमिरको नेपाल भ्रमणका दौरान तीन महत्त्वपूर्ण कुरालाई जोड दिनुपर्ने ठान्छन् । उनले भने, ‘नेपाल र कतारबीच वैदेशिक रोजगारको सीमित सम्बन्धबाट फराकिलो हुन जरुरी छ । अहिलेसम्म श्रमिक मात्रै पठाउँदै आएका छौं । कतारबाट तुलनात्मक लाभ लिन सकेका छैनौं, अन्य लगानीका क्षेत्र र व्यापारमा पनि जोड दिन आवश्यक छ ।’

उनले कतारमा कृषियोग्य जमिन पर्याप्त नभएकाले कतारी कम्पनी हसाद फुड कर्पोरेसनले विदेशमा जग्गा भाडामा लिएर कृषि, फलफूल तथा पशुपालनमा लगानी गरिरहेको बताए । हसाद फुड कर्पोरेसनसँग सम्झौता गर्न नेपालले एक दशक अगाडि नै मस्यौदा पठाएको जानकारी दिँदै मिश्रले थपे, ‘त्यो सम्झौता गर्न जरुरी छ । यसले नेपालमा उपयोगविहीन भएका हजारौं बिघा जमिन प्रयोगमा आउनुका साथै आन्तरिक रोजगारी सिर्जना हुन्छ ।’

उनले कतारमा कार्यरत नेपाली कामदारको २४ घण्टे बिमा गर्न पनि सुझाए । ‘कार्य घण्टाको मात्रै बिमा हुँदा कतारमा मृत्यु भएका मध्ये ५६ प्रतिशत मृतक परिवारले क्षतिपूर्ति पाउनबाट वञ्चित हुनुपरेको छ,’ उनले भने । साथै, उनले अर्बौं डलरको कोष भएको कतार लगानी प्राधिकरणले विदेशमा लगानी गर्ने उल्लेख गर्दै कतारले भविष्यमा आम्दानी गर्ने गरी विदेशमा लगानी गरिरहेको बताए । उनले त्यो लगानी नेपालमा ल्याउने गरी आयोजनाहरू दिइनुपर्ने प्रस्ट पारे ।

कतारका लागि नेपालबाट तत्कालीन राजादेखि प्रधानमन्त्री, राष्ट्रपति, सभामुख र मन्त्रीहरूको विभिन्न समयमा गरी करिब एक दर्जन भ्रमण भए पनि कतारबाट भने कमै भ्रमण भएका छन् । हालसम्म कतारबाट सन् २०१५ अप्रिलमा श्रम तथा सामाजिक मामिलामन्त्री अब्दुल्लाह बिन सालेह मुबारक अल खुलाइफी, सन् २०१२ अप्रिलमा पर्वतीय देशहरूको सम्मेलनमा भाग लिने गरी वातावरणमन्त्री अब्दुल्लाह बिन मुबारक बिन अबाउद अल मिधादी र सन् २००९ मा परराष्ट्रमन्त्री शेख हमाद बिन जसिम बिन जबर अल थानीले नेपाल भ्रमण गरेका थिए ।

नेपालबाट भने पछिल्लो पटक सन् २०१८ अक्टोबर ३० देखि नोभेम्बर २ सम्म तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले कतारको राजकीय भ्रमण गरेकी थिइन् । त्यसअघि सन् २०११ अक्टोबर १० मा तत्कालीन राष्ट्रपति रामवरण यादव, सन् २०१९ अप्रिलमा तत्कालीन सभामुख कृष्णबहादुर महरा र सन् २००५ मा जी–७७ को दोस्रो शिखर सम्मेलनमा सहभागिताका क्रममा तत्कालीन राजा ज्ञानेन्द्र शाह दम्पतीले कतारको भ्रमण गरेका थिए । त्यसअघि सन् १९९९ मा तत्कालीन राजा वीरेन्द्रले कतारको निजी भ्रमण गरेका थिए भने सन् १९९८ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पनि कतारको औपचारिक भ्रमण गरेका थिए ।

प्रकाशित : वैशाख १०, २०८१ ०६:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?