२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१५

इरानद्वारा इजरायलमाथि आक्रमण, पश्चिम एसिया थप तनावमा

इरानले प्रहार गरेका करिब तीन सय मिसाइल र ड्रोनमध्ये ९९ प्रतिशत निष्क्रिय गराएको इजरायलको दाबी, उचित समयमा उचित दण्ड दिने घोषणा
तनाव लम्बिए नेपालीहरूको रोजगारीमै असर पुग्ने, इजरायल र इरानमा रहेका नेपाली भन्छन् : डर छ, तर आत्तिएका छैनौं

काठमाडौँ — इजरायलको जेरुसेलमस्थित मोहिनमा कार्यरत बाँकेका कुमार बुढा क्षेत्रीलाई शनिबार राति इरानले इजरायलमाथि आक्रमण गर्दै छ भन्ने पूर्वसूचना थियो । तर, त्यो आक्रमण कति भयानक हुन्छ भन्ने क्षेत्रीलाई आकलन थिएन । 

इरानद्वारा इजरायलमाथि आक्रमण, पश्चिम एसिया थप तनावमा

‘इजरायलमाथि आक्रमण हुँदै छ भन्ने हल्ला एक सातादेखि नै व्यापक थियो । यहाँको सरकारले शनिबार राति आक्रमण हुँदै छ भन्ने पूर्वसूचना दिएको थियो । त्यसअनुसार हामी सुरक्षित अवस्थामा बसेका थियौं,’ क्षेत्रीले कान्तिपुरसँग भने, ‘नभन्दै राति पौने १ बजेदेखि नै जोडले साइरन बज्न थाल्यो ।’ क्षेत्रीका अनुसार तीन मिनेटसम्म साइरन बजिरह्यो । लगत्तै इरानबाट आएका ड्रोन र मिसाइलहरूको वर्षा भइरह्यो । ‘साइरन बज्नासाथ हामी बंकरभित्र पस्यौं । यो साइरन पहिलाको जस्तो सीमित क्षेत्रमा मात्रै होइन, पूरै सहर नै घन्किने गरी बजिरह्यो । तीन मिनेटपछि साइरन बज्न छोड्यो,’ एक होटलमा कार्यरत काभ्रेका शिवराज खड्काले भने, ‘त्यो क्षण निकै डरलाग्दो थियो ।’

इजरायली डिफेन्स फोर्स (आईडीएफ) का अनुसार इरानले तीन सयभन्दा बढी मिसाइल प्रहार गरेको थियो । तीमध्ये ९९ प्रतिशतलाई निस्तेज पारिएको आईडीएफको दाबी छ । १ सय ७० ड्रोन र क्रुज मिसाइललाई खसाले पनि १२ जना भने घाइते भएको आईडीएफले जनाएको छ । गत अक्टोबर ७ मा हमास विद्रोहीले आक्रमण गर्दा इजरायलमा करिब १४ सय मारिएका थिए । जसमा १० नेपाली विद्यार्थी पनि थिए । त्यसयता विपिन जोशी हमासकै कब्जामा छन् । इजरायलले हमासलाई समाप्त गर्ने भन्दै साढे ६ महिनादेखि निरन्तर हमला गर्दै आएको छ, अहिलेसम्म ३५ हजारको ज्यान गएको छ । इजरायलले सिरियाको दमस्कसस्थित आफ्नो वाणिज्य दूतावासमा आक्रमण गरेकाले इजरायलमाथि प्रत्याक्रमण गर्नुपरेको दाबी इरानको छ ।

इरानको आक्रमणपछि पश्चिम एसिया क्षेत्रको शान्ति, सुरक्षा, अर्थतन्त्र र रोजगारीमा चुनौतीसमेत बढाएको छ । इजरायल, इजिप्ट, लेबनान र जोर्डनमा गरी करिब १० हजार नेपाली कार्यरत छन् । सरकारी तथ्यांकअनुसार इजरायलमा मात्रै ४५ सय नेपाली छन् । जसमा सबैभन्दा बढी महिला छन् । अहिले इजरायलबाट मात्रै मासिक करिब एक अर्ब ३५ करोड रुपैयाँ रेमिट्यान्स आइरहेको छ । ‘इजरायल सबैभन्दा सुरक्षित र आकर्षक गन्तव्य हो । भूराजनीतिकको चपेटाले यो गन्तव्यमा पनि असुरक्षा बढ्यो,’ पूर्वसचिव पूर्णचन्द्र भट्टराईले भन्छन्, ‘इरान–इजरायलबीचको तनाव कसरी अगाडि बढ्छ । त्यसअनुसार नेपालीको रोजगारीको भविष्य जोडिएको छ ।’

गैरआवासीय नेपाली संघ इजरायलका संरक्षक गणेश गिरी इजरायलको सुरक्षा प्रणालीका कारण नेपालीहरू त्रसित नभएको बताउँछन् । ‘यहाँ रहेका ९० प्रतिशतभन्दा बढी नेपाली घरभित्रै रहेर काम गर्ने हो । बाहिर निस्किरहनु पर्दैन । इजरायलको सुरक्षा प्रणाली र तयारी अवस्था देख्दा आत्तिहाल्नुपर्ने अवस्था छैन,’ उनी भन्छन्, ‘तर, शक्तिशाली राष्ट्रबीच नै तनाव बढ्दा वा एकअर्काबीच आक्रमणको प्रतिक्रिया दिने अवस्था बढ्दा सहज अवस्था पक्कै देखिँदैन ।’

इजरायलमा रहेका अरू नेपाली पनि पछिल्लो आक्रमणबाट धेरै आत्तिएको देखिँदैनन् । ‘मनमा केही डर त अवश्य पलाएको छ । तर आत्तिएका छैनौं । इजरायलको सुरक्षा प्रणालीमाथि विश्वास छ,’ तेलअभिममा कार्यरत रमेश जोशीले भने, ‘यहाँ इजरायली नागरिकले जस्तो सुरक्षाको सुविधा पाइरहेका छन् । हामीले पनि त्यही पाउने हो ।’

इरानको आक्रमणपछि इजरायलस्थित नेपाली दूतावासले त्यहाँको अवस्थालाई लिएर सूचना जारी गरेको छ । भनिएको छ, ‘इजरायलमाथि इरानी हमला सुरु भएको सन्दर्भमा हालै इजरायली होम फ्रन्ट कमान्डद्वारा सर्वसाधारणका लागि नयाँ निर्देशनहरू जारी भएका छन् । सोमबार राति ११ बजेसम्म लागू हुने गरी शैक्षिक क्रियाकलाप बन्द गर्ने र ठूलो स्तरका सभा/भेला नगर्न निर्देशन जारी भएको छ ।’ दूतावासले त्यस सूचनालाई मध्यनजर गरी आवश्यक सुरक्षाका लागि नेपालीलाई स्थानीय सुरक्षा मापदण्ड पालना गर्न, आफ्नो क्षेत्रका लागि जारी गरिएका अद्यावधिक सूचना बारेमा जानकार रहन र आफ्नो सुरक्षातर्फ विशेष ध्यान दिन, अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन तथा सुरक्षित आश्रयस्थल आसपास रहनसमेत अनुरोध गरेको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतकुमार राईले इरान र इजरायलबीचको द्वन्द्वलाई नेपाल सरकारले नजिकबाट हेरिरहेको उल्लेख गरे । उनले भने, ‘इजरायली सरकारले त्यहाँ कसरी सुरक्षित रहने प्रोटोकल जारी गरेको छ । त्यही अनुरूपको सूचना दूतावासले पनि जारी गरिसकेको छ । तर वरिपरिका अन्य मुलुकमा रहेका नेपालीको सम्बन्धमा अहिले नै केही कदम चालिएको छैन । परिस्थिति हेरेर नेपाल सरकारले आवश्यक निर्णय लिन्छ ।’

पश्चिम एसियामा इरान र इजरायलबीच सधैं शत्रुतापूर्ण सम्बन्ध छ । साढे ६ महिनाअघिको आक्रमणमा हमास विद्रोहीले प्रयोग गरेका ड्रोन, हातहतियार, तालिम र अन्य सबै सहयोग इरानले उपलब्ध गराएको इजरायलको आरोप छ । त्यसयता लेबनानमा रहेको हतियारधारी समूह हिजबुल्लाह र इजरायली सेनाबीच लगातार द्वन्द्व चलिरहेको छ ।

इरानले इजरायलमाथि आक्रमण गरेसँगै अमेरिका, अस्ट्रेलियालगायत पश्चिमा मुलुकहरूले इजरायलको पक्षमा वक्तव्य जारी गरेका छन् । पश्चिम एसियाको रणनीतिक शक्ति साउदी अरबले भने युद्धलाई रोकेर वार्तामार्फत समाधान रोज्ने प्रयास गर्नुपर्ने उल्लेख गरेको छ ।

पूर्वपरराष्ट्र सचिव मधुरमण आचार्य पश्चिम एसियामा थप युद्ध चर्किए नेपाललाई समस्या हुने प्रस्ट पारे । उनले भने, ‘पश्चिम एसियामा भइरहेको संकट हामीले संवेदनशील भएर हेर्नुपर्छ । शान्तिको पक्षमा नेपाल सरकार पनि बोल्नुपर्छ ।’ उनले भारतले पनि युद्ध रोकेर वार्ता गर्नुपर्छ भनिरहेको उल्लेख गर्दै नेपालले पनि आफ्नो धारणा प्रस्ट पार्नुपर्ने सुझाए । आचार्यले भने, ‘पश्चिम एसियामा नेपालीहरू धेरै छन् । अमेरिका पनि युद्धमा जोडियो भने थप समस्या हुन्छ । इन्धनको भाउ थप बढ्न सक्छ । यो हाम्रा लागि चासोको विषय हो ।’

इरानले आफ्नो मकसद पूरा भएको भन्दै थप आक्रमण नगर्ने बताएको छ । तर, इजरायल चुप लागेर बस्छ वा बस्दैन महत्त्वपूर्ण पक्ष रहेको आचार्यको भनाइ छ । ‘यो द्वन्द्वमा ठूलो शक्ति थपिए भने समस्या हुन्छ । केही न केही उपाय निकालेर समाधानको बाटोमा जान आवश्यक छ,’ उनको भनाइ छ ।

भूराजनीतिक मामिला जानकार तथा अवकाश प्राप्त उपरथी विनोज बस्न्यात पश्चिम एसियाको युद्धले अब इन्धनको मूल्यमा थप वृद्धि हुने तथा त्यस क्षेत्रमा काम गरिरहेका नेपालीहरूलाई असर पर्न सक्ने बताउंछन् । भन्छन्, ‘अहिलेको युद्धले नेपालीहरूको रोजगारीमा असर पर्न सक्छ । मुलुकभित्र रोजगारीको अवसर छैन, त्यहाँ रहेका नेपाली फर्कनुपर्‍यो भने थप समस्या हुन्छ ।’

प्रकाशित : वैशाख ३, २०८१ ०६:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?