कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

नयाँ वर्षमा दाहालका पुरानै प्रतिबद्धता

गंगा बीसी

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले २०८० नयाँ वर्षको अवसरमा गरेका प्रतिबद्धता २०८१ मा पुनः दाहोर्‍याएका छन् । नयाँ वर्षको अवसरमा दिएको शुभकामना सन्देशमा उनले वाक्य, शव्द र भाषा सम्पादन गरी पुनः उस्तै प्रतिबद्धता जनाएका छन् । यो एक वर्षको अवधिमा उनको उस्तै प्रतिबद्धताले मुलकुको आर्थिक वृद्धि, सुशासन र संघीयताको कार्यान्वयनमा खासै काम र प्रगति नभएको स्पष्ट पार्छ ।

नयाँ वर्षमा दाहालका पुरानै प्रतिबद्धता

दाहालले २०८० बैशाख १ मा प्रतिबद्धता गरेका थिए, ‘संकल्प गरौं, सिंगो राष्ट्रको साझा संघर्ष र संकल्पबाट यो वर्ष केवल क्यालेण्डर परिवर्तन गर्ने छैनौं, राष्ट्रको आर्थिक र सामाजिक जीवनमा पनि रचनात्मक परिवर्तन ल्याउनेछौं ।’

उनले २०८१ नयाँ वर्ष सुरुवात भएको दिन उनले विगतजस्तै सन्देशलाई भाषा र शव्द मिलाएर शुभकामना दिएका छन् । ‘नयाँ वर्षको सुरुवातसँगै हामी सबै नेपालीमा नयाँ जोश, नयाँ उमङ्ग र नयाँ उत्साहका साथ आ–आफ्नो कर्मक्षेत्रमा जुट्नेछौँ भन्ने विश्वास व्यक्त गर्दछु,' उनले भनेका छन्, ‘यस सुखद् अवसरमा विगत वर्षका अनुभवबाट शिक्षा लिई नयाँ वर्षमा अझ बढी मेहनतका साथ आ–आफ्ना कार्यक्षेत्रमा खटिई सुशासन, समृद्धि र सामाजिक न्यायका निम्ति समर्पित हुन हार्दिक आह्वान गर्दछु ।’

गत वर्ष दाहालले मुलुकको आर्थिक र सामाजिक जीवनमा परिवर्तन ल्याउने वाचा गरे पनि आम नागरिकले अनुभूति गर्न सकेका छैनन् । २०८० मा दाहालले निराशालाई चिर्ने प्रतिबद्धता जनाएका थिए । ‘नयाँ वर्ष हामी आफैंमाथि भरोसा र आशाको वर्ष हुनेछ’ उनको सकल्प थियो । तर यो अवधिमा उनले संकल्प गरेअनुसार न आशाको वर्ष हुन सक्यो, न सरकारप्रति भरोसा नै ।

राजनीतिक विश्लेषक श्याम श्रेष्ठले राजनीतिक दलको मुलुकलाई अग्रगति दिनेभन्दा सत्तालाई केन्द्रमा राखेका कारण हरेक वर्ष उस्तै प्रतिबद्धता आएको बताए । ‘यो एक वर्षको अवधिमा संघ र प्रदेशमा सरकार परिवर्तन भए । सरकार परिवर्तन कसका लागि ? दल र नेताको भागबण्डाका लागि भयो,’ उनले भने, ‘शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, उद्योगको क्षेत्रमा परिवर्तनको महसुस त भएन ।’

बरु २०८० आम नागरिकको आशा र भरोसाको भन्दा सत्ता लुछाचुडीको वर्ष बन्यो । दाहाल गत वर्ष कांग्रेसलगायत अन्य दलको प्रधानमन्त्री थिए भने यो वर्ष सत्ता समीकरण परिवर्तन गरी एमाले, रास्वपा लगाएत दलको समर्थनमा प्रधानमन्त्री भएका छन् ।

श्रेष्ठले तेस्रो दलले निरन्तर तीन सरकारको नेतृत्व गर्नु ‘ऐतिहासिक’ राजनीतिक घटना भएको व्यंग्य गरे । ‘सरकारले काम गर्ने हो भने पहिलो दिनदेखिनै थालनी हुन्छ । यहाँ परिवर्तनको अपेक्षा राख्नुनै गलत हुने भइसक्यो’ उनले भने, ‘तेस्रो पार्टीले तीन सरकारको नेतृत्व गरेको बिरलै देख्न पाइन्छ ।’

मुलुकको आर्थिक अवस्था अपेक्षित रुपमा सुधार हुन सकेको छैन । सुशासनको क्षेत्रमा प्रचारमुखी सुधार भएको देखिन्छ भने सरकारको कार्यसम्पादनमा खासै सुधार हुन सकेको छैन । रोजगारीको अवस्था झन् कमजोर हुँदै गएको छ । दाहालले गत वर्ष राष्ट्र निमाणका लागि साझा संकल्पको वर्ष हुने दावी गरेका थिए ।

विश्लेषण्क श्रेष्ठले सरकारले प्रतिबद्धता अनुसार काम गर्न नसकेकाले हरेक वर्ष पुरानै बाचा दिइरहेको बताए । ‘रुपान्तरणकारी काम गरेको भए, उही प्रतिबद्धता दाहोर्‍याउनु पर्दैनथ्यो’ उनले भने ।

मुलुकका आर्थिक सूचकांक, रोजगारी, कृषि लगायत क्षेत्रको उत्पादन, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा आशा लाग्दो आधार बन्न सकेन । उनले २०८० को पहिलो दिन ‘हामीले आत्मसमीक्षा गर्नैपर्छ तर हामीलाई निराश हुने छुट छैन’ भने पनि मुख्यगरी आर्थिक वृद्धि, रोजगारी, सुशासनको क्षेत्रमा आशाको दियो बल्न सकेको छैन ।

‘राष्ट्र–निर्माणको साझा संकल्पका लागि नयाँ वर्षभन्दा उपयुक्त समय अरु हुनै सक्दैन’ गत वष दाहालले भनेका थिए, ‘नयाँ वर्षका मेरा हरेक दिन र हरेक क्षण संविधानको कार्यान्वय, गणतन्त्रको सुदृढीकरण, स्थिरता र समृद्धिका लागि समर्पित हुनेछन् ।’

उनले प्रतिबद्धता जनाएअनुसार संविधान कार्यान्वयन, गणतन्त्रको सुदृढीकरण, राजनीतिक स्थिरता र समृद्धिको क्षेत्रमा प्रगति हुन सकेन । संविधान कार्यान्वयन गर्न संघीयता सम्बन्धी निजामती, प्रहरी समायोजनजस्ता अध्यादेश हाल संसदबाट पारित हुन सकेनन् ।

गणतन्त्र सुदृढीकरण भन्नुको अर्थ आम नागरिकले संघीयता कार्यान्वयनको सुविधान लिन सक्नुपर्थ्यो । तर प्रदेश सरकारलाई बलियो बनाउनु सट्टा त्यहाँको सरकार निर्माणमा केन्द्रीकृत मानसिकता सत्तारुढ र प्रतिपक्ष दलहरुमा हावी भयो । राजनीतिक स्थिरता कायम गर्ने दावी गरेको प्रधानमन्त्रीले एक वर्ष नपुग्दै समीकरण फेरेर नयाँ सरकार बनाए । यसको असर सातै प्रदेशमा पर्‍यो । प्रदेश सरकार झन् अस्थिर हुँदा संघीयता बिरोधीहरुले प्रशस्त प्रश्न गर्ने मौका पाए ।

यद्यपि दाहालले २०८१ को अवसरमा तथ्यलाई बेवास्ता गर्दै आशालाग्दो काम भएको दावी गरेका छन् । ‘संघीयताको प्रभावकारी कार्यान्वयन, सुशासनका निम्ति चालिएका दूरगामी कदम र प्राप्त उपलब्धि, सेवा प्रवाहमा सरलता, समस्याग्रस्त आर्थिक क्षेत्रको सुधारमा अग्रसरता, जनताका समस्याहरूको प्रत्यक्ष सम्बोधन, देशको अन्तर्राष्ट्रिय सम्बन्ध र कुटनीतिक क्षेत्रमा प्राप्त सफलता विसं २०८० का हाम्रा आशालाग्दा राष्ट्रिय उपलब्धि हुन्’ दाहालको दावी छ ।

सत्ताको केन्द्रमा माओवादी र आफूलाई राखेर गर्ने दाहालका निर्णयले मुलुकमा अस्थिरता झन् बढाएको छ । दाहालले फेरि पनि सत्ता समीकरणको सम्बन्धनलाई बलियो बनाउन जोड दिएका छन् ।

‘सत्ता समीकरणमा आबद्ध दलहरूको सम्बन्धलाई सुदृढ तुल्याउँदै सहमति र सहकार्यको संस्कृति एवं राजनीतिक स्थिरता सुदृढ बनाउनु, अर्थतन्त्र सुधारमा गुणात्मकता प्रदान गर्नु, समृद्धिको बलियो जग बसाउनु, सेवा प्रवाहलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउँदै विकासशील राष्ट्रको बलियो आधार तयार पार्नु वि.सं. २०८१ का मूल जिम्मेवारी हुन्’ उनले विगतजस्तै प्रतिबद्धता जनाएका छन्, ‘यी प्राथमिकता र प्रयासमार्फत देश र जनतामा आशाको नयाँ रक्तसञ्चार पुनःजागृत हुनेछ ।’

२०८० को नयाँ वर्षका अवसरमा पनि दाहालले यस्तै प्रकृतिको प्रतिबद्धता गरेका थिए । ‘अर्थतन्त्रमा देखिएका संकट र चुनौती क्रमशः कम हुादै गएका छन् । वैदेशिक रोजगार व्यवस्थित हुँदै गएको छ, श्रमिकको अधिकार सुरक्षित गर्न महत्वपूर्ण सामाजिक सुरक्षा अभियानमा उनीहरू जोडिएका छन्’ उनले शुभकामना सन्देशमा भनेका थिए, ‘नागरिकले प्राप्त गर्ने सेवाहरू झन्झटमुक्त बनाउने अभियान सुरू भएको छ ।’

सरकारी कार्यार्लय अस्पताल, शिक्षा सम्बन्धी सेवा, मालपोत, सवारी चालक अनुमतिपत्र लगायत क्षेत्रमा सर्वसाधारणले सहज सेवा पाउन सकेका छैनन् ।

२०८० लाई ‘सहमति र सहकार्यमार्फत समृद्ध नेपालको आधार निर्माण गर्ने वर्षका रूपमा मनाउने’ बताएका दाहालले एक वर्ष नपुग्दै सत्ता समीकरण फेरबदल गरी प्रमुख दलहरुमबीच द्वन्द्व बढाएका छन् । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एबं उपप्रधानमन्त्री रवि लामिछाने मुछिएको बारे कांग्रेसले ससदीय छानविन समितिको माग गर्दै संसद अवरुद्ध गरिरहेको छ । सत्तारुढ दलले समिति गठन गर्न अस्वीकार गरेका छन् । कांग्रेससित दूरी बढेका कारण सहमति खोज्नु पर्ने संक्रमणकालीन न्याय टुंगमा पुग्न अनिश्चित भएको छ ।

गत वर्ष दाहालले २०८० लाई ‘ऐतिहासिक वर्ष बनाउने प्रण’ लाई यसवर्ष पनि दोहोर्‍याएका छन् । ‘मुलुकको प्रतिष्ठा अभिवृद्धि गरी समस्त नेपालीको जीवनलाई थप उन्नत र समृद्ध बनाउनु हामी सबैको सर्वोपरि लक्ष्य हो । यस साझा लक्ष्यलाई प्राप्त गर्न हामी सबै नेपालीबीच एकता, पारस्परिक मेलमिलाप, आत्मीयता र सौहार्दपूर्ण भावनालाई अभिवृद्धि गर्दै नयाँ वर्षलाई उपलब्धि र समृद्धिको ऐतिहासिक मानकका रूपमा स्थापित हुने विश्वास व्यक्त गर्दछु’ उनको प्रतिबद्धता गरेका छन् ।

प्रकाशित : वैशाख १, २०८१ २१:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?