कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रुसमा जाने कामदारलाई श्रम स्वीकृति खुला, इजरायल बन्द

नेपाली कामदार रुसी सेनामा भर्ना नभएको भन्दै विभागद्वारा स्वीकृति खुला, म्यानपावर कम्पनीबाट इजरायलको कृषि क्षेत्रमा कामदार भर्ना स्थगित
म्यानपावर कम्पनीले इजरायलमा कामदार पठाउन पाउने गरी ल्याइएको कार्यविधिलाई नयाा श्रममन्त्री डीपी अर्यालले अध्ययन गर्ने भन्दै समिति गठन
होम कार्की

काठमाडौँ — वैदेशिक रोजगार विभागले रुसमा जाने कामदारलाई श्रम स्वीकृति खुला गरेको छ । विभागले रुसमा श्रम स्वीकृति लिएर जाने नेपाली कामदार रसिया सेनामा भर्ना नभएको भन्दै स्वीकृति दिन थालेको हो । विभागले गत पुस १९ मा रुस जाँदा हुन सक्ने थप क्षतिलाई न्यूनीकरण गर्न अर्को व्यवस्था नभएसम्म श्रम स्वीकृति दिन बन्द गरेको थियो ।

रुसमा जाने कामदारलाई श्रम स्वीकृति खुला, इजरायल बन्द

त्यसअघि नै रुसी सेनामा नेपाली भर्ती सम्बन्धमा अध्ययन गर्न श्रम मन्त्रालयले मंसिर १४ मा अध्ययन टोली गठन गरेको थियो । टोलीले श्रम स्वीकृति लिई गएकाहरू रुसी सेनामा भर्ती नभएको प्रतिवेदन बुझाएको थियो । ‘हामीले धेरै अनुसन्धान गर्‍यौं । अनुसन्धानले म्यानपावरमार्फत श्रम स्वीकृति लिएर रुस पुगेका नेपाली कामदारहरू एक जना पनि रसिया सेनामा भर्ना भएको देखिएन,’ विभागका महानिर्देशक डन्डुराज घिमिरेले कान्तिपुरलाई भने, ‘जुन कम्पनीमा गएको हो, त्यहीं काम गरिरहेको देखियो ।’ उनले मन्त्रीस्तरबाट नभई सचिवस्तरको निर्णयबाट श्रम स्वीकृति दिने नीतिलाई खुलाइएको जानकारी दिए ।

रसियाको व्लागोभेस्चेङ्स् सिटीस्थित सिनोपेक इन्जिनियरिङ रसिया ग्रुपमा काम गर्न श्रम स्वीकृति दिइएको घिमिरेले बताए । उनका अनुसार संस्थागत र पुनः श्रम स्वीकृति सबैलाई खुल्ला गरिएको छ । ‘रसियामा विभिन्न पेसा वयवसाय गरिरहेकाहरू पनि नेपाल आउँदा जान नपाउने देखियो,’ उनले भने, ‘रसिया सेनामा भर्ना नहुने सुनिश्चित भएकालाई श्रम स्वीकृति खुल्ला गरिएको छ ।’ अहिलेसम्म भिजिट र विद्यार्थी भिसामा गएकाहरू मात्रै रसिया सेनामा भर्ती भएको देखिएको विभागको भनाइ छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डीपी अर्यालले भने आफूले कार्यभार लिनुभन्दा अगाडि नै फागुन ९ र १६ मा सचिवस्तरीय निर्णयबाट रुस जानेलाई श्रम स्वीकृति दिने निर्णय भइसकेको बताए । ‘यो मैले कार्यभार लिनुभन्दा अगाडि नै भएको निर्णय हो,’ उनले भने । विभागका अनुसार चालु आर्थिक वर्षको हालसम्म श्रम स्वीकृति लिएर रुस जानेको संख्या ३ सय ७० जना छन् । विभागका अनुसार साउनमा ५३, भदौमा १ सय ६१, असोजमा ४७ र कात्तिकमा ४३, मंसिरमा ४० जना, पुसमा एक जना र फागुनमा २५ जनाले श्रम स्वीकृति लिएर रुस गएका छन् । गत आर्थिक वर्षमा २ सय ६६ जना गएका थिए ।

विभागले म्यानपावर कम्पनीबाट इजरायलको कृषि क्षेत्रमा कामदार भर्ना प्रक्रिया भने स्थगित गरेको छ । बी–टु–बी (म्यानपावरबाट) मार्फत कामदार लैजाने विषयमा श्रम मन्त्रालयबाट पुनरावलोकन लागि समिति गठन भई अध्ययन भइरहेकाले मंगलबारदेखि भर्ना प्रक्रिया स्थगित गरिएको विभागले जनाएको हो ।

विभागले पहिलो पटक कृषि क्षेत्रमा दुई सय जना कामदार पठाउनका लागि छनोट गर्न काठमाडौं इन्टरनेसनल इन्कर्पोरेट प्रालिलाई अनुमति दिएको थियो । त्यसमा पनि रोक लगाइएको छ । इजरायलका विभिन्न क्षेत्रमा रोजगारीको प्रलोभन देखाई व्यक्ति, संस्था तथा समूहले गैरकानुनी रूपमा रकम उठाएमा जानकारी दिनसमेत विभागले अनुरोध गरेको छ ।

इजरायलमा सरकारी संयन्त्रमार्फत दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदार (केयरगिभर) र विश्वविद्यालयमार्फत लर्न एन्ड अर्न कार्यक्रममार्फत कृषि क्षेत्रमा विद्यार्थी मात्रै जाने व्यवस्था छ । गत असोज २० मा प्यालेस्टाइनी लडाकु समूह हमासको आक्रमणमा परी लर्न एन्ड अर्न कार्यक्रमअन्तर्गत इजरायल गएका १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । त्यही कार्यक्रममा गएका कञ्चनपुरका विपिन जोशी अझै पनि हमासको नियन्त्रणमा छन् ।

म्यानपावर कम्पनीले इजरायलमा कामदार पठाउन पाउने गरी ल्याइएको कार्यविधिलाई श्रममन्त्री अर्यालले अध्ययन गर्ने भन्दै समिति गठन गरेका हुन् ।

‘इजरायलको विषयमा इजरायली राजदूतसँग केही दिनअगाडि शिष्टाचार भेटमा कुरा गरें । त्यसमा इजरायली राजदूतले आश्चर्यजनक कुराहरू राख्नुभयो । त्यसमा मन्त्रालयका सहसचिवज्यूहरू हुनुहुन्थ्यो,’ श्रम मन्त्रालयमा हालै आयोजित पत्रकार सम्मेलनमा मन्त्री अर्यालले भने, ‘मन्त्रालयकै कर्मचारीहरू, जसले इजरायलको भिसासम्बन्धी फाइलमा हस्ताक्षर गर्नुभयो । उहाँ पनि साक्षी हुनुहुन्छ । यसमा इजरायल र

नेपालका म्यानपावरबीच बी–टु–बी (म्यानपावरमार्फत) मा काम गर्ने गरी कुनै पनि सम्झौता आदानप्रदान भएको छैन ।’ उनका अनुसार कियरगिभर र लन एन्ड अर्नबाहेकका क्षेत्रमा बाहेक अरू संयन्त्रमार्फत कामदार जान पाउने जानकारी मन्त्रालयसँग छैन । मन्त्री अर्यालले इजरायलमा म्यानपावरको संलग्नतासम्बन्धी फाइलमा छानबिन गरेर सत्यतथ्य सार्वजनिक गर्ने तयारी भइरहेको बताए ।

प्रकाशित : चैत्र १५, २०८० ०६:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?