कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बेलुनमा मान्छे उडाउने व्यवसाय

भक्तपुरमा जन्मे–हुर्केका विक्रम बाडे पर्यटकीय नगरी पोखरामा रहेर साहसिक पर्यटनमा सक्रिय छन् । उनको कम्पनी बेलुन नेपाल पर्यटकलाई हट एयर बेलुनमा उडाउने देशकै एक मात्र कम्पनी हो । हाल भने उनी बेलुनबाट स्काई डाइभ गराउने तयारीमा जुटिरहेका छन् । 

काठमाडौँ — स्वरसम्राट् नारायण गोपालले गाएको कालजयी गीत छ, ‘एउटा मान्छेको मायाले कति फरक पार्दछ जिन्दगीमा’ । चाँदनी शाहले लेखेका गीतका अजरअमर शब्द कतिपयको जिन्दगीसँग ठ्याक्कै मिल्छन् । त्यसैमध्येका एक हुन्, साहसिक पर्यटन उद्यमी विक्रम बाडे । तर बाडेका लागि फरक पार्नेचाहिँ मान्छेको होइन, बेलुनको माया हो । त्यसैले त उनलाई नजिकबाट बुझ्नेले भन्ने गर्छन्, ‘एउटा बेलुन–सपना कति फरक पार्दछ जिन्दगीमा ।’ 

बेलुनमा मान्छे उडाउने व्यवसाय

करिब एक दशकअघि हो, उमेरले भर्खर दुई दशक नाघेका थिए विक्रम । व्यवस्थापनमा स्नातकोत्तर अध्ययन सुरु गरेका उनमा उद्यमी बन्ने हुटहुटी थियो । त्यही क्रममा उनले ट्राभल एन्ड टुर कम्पनी सञ्चालनमा ल्याए । कामकै सिलसिलामा भारत पुगेका विक्रमका लागि त्यो भ्रमण नै जीवनको ‘टर्निङ पोइन्ट’ बन्यो । भारतीय आकाशमा ठूला बेलुनहरू उडिरहेको देखेपछि उनको दिमागले बाल्यकालको स्मरण गर्‍यो ।

करिब तीन दशकअघि नेपालमै पहिलो पटक सनराइज कम्पनीले ‘हट एयर बेलुन’ उडाउने गर्थ्यो । त्यतिखेर काठमाडौंको कीर्तिपुरस्थित आकाशबाट उडान भर्ने बेलुन भक्तपुरको ठिमी आसपासमा अवतरण हुन्थ्यो । भक्तपुरमै जन्मे हुर्केका विक्रम त्यतिबेला स्कुल जान छाडेर बेलुन हेर्न कुद्थे । ‘बिहान स्कुल जाने समयमा बेलुन ल्यान्ड हुन्थ्यो । स्कुल नगई बेलुन हेर्न पुग्थें,’ विक्रमले उतिबेलाका दिन सम्झिए, ‘बेलुनबाट मानिस निस्किएको देख्दा अचम्म लाग्थो ।’ तर सनराइजको बेलुन त्यतिखेर ६ महिनामै बन्द भएको थियो ।

भारत भ्रमणका क्रममा बेलुन उडेको देखेपछि भने उनमा ‘बेलुन सपना’ जाग्यो । बेलुन उडाएरै सफल साहसिक पर्यटन उद्यमी बन्ने सोच पलाएपछि विक्रमले आफू उडेर अनुभव मात्र लिएनन्, यो व्यवसायबारे अध्ययन अनुसन्धान पनि गरे ।

त्यसपछि उनी नेपालमै हट एयर बेलुन उडाउने दृढतासाथ घर फर्किए । तर उनले आफ्नो योजनामा परिवारको साथ भने पाएनन् । त्यहीबीचमा साथीहरूसँगको सरसल्लाहपछि २०७३ सालमा उनले बेलुन नेपाल कम्पनी दर्ता गरे । भक्तपुरमै हुर्किएका उनलाई नगरकोटमा बेलुन उडाउन मन थियो । तर हवाई उडानको रुट पर्ने भएकाले अनुमति नपाएपछि ठाउँको खोजीमा लागे ।

पोखरामा करिब एक महिना बसेर उनले व्यवसायका लागि उपयुक्त हुने ठाउँ पत्ता लगाए, धम्पुर र ल्वाङघलेल । हवाई रुट पनि नपर्ने र आकर्षक हिमशृंखला पनि देखिने उनलाई धम्पुसले झनै मोहित पार्‍यो । धम्पुसबाट देखिने अन्नपूर्ण र माछापुच्छ्रे हिमालको दृश्यले तानेपछि विक्रमले उडान अनुमतिका लागि प्रक्रिया सुरु गरे ।

२०७४ कात्तिकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट हट एयर बेलुन उडानको अनुमति पाएपछि उनले चीनको गोन्जाओबाट १६ लाख रुपैयाँमा एउटा बेलुन किनेर ल्याए । उडाउनका लागि भारतीय पाइलट झिकाए । २०७५ मा पहिलो पटक धम्पुसबाट आफैं उडेर परीक्षण उडान गरे ।

त्यसपछि ‘एयर अपरेटर सर्टिफिकेट (ओसी)’ को प्रक्रियामा अघि बढेका बाडेको दाँतमा ढुंगा लाग्यो । कारण, चिनियाँ बेलुनको मापदण्ड नपुगेको भन्दै उनले उडान अनुमति पाएनन् । ‘नेपालमा युरोपियन एभिएसन स्ट्यान्डर्डले स्वीकृत गरेको बेलुन मात्र उडाउन पाइदो रहेछ । त्यसबारे विस्तृत रूपमा नबुझी चीनबाट बेलुन ल्याएर अनावश्यक खर्च र दुःख भयो,’ उनले भने ।

घरमा मागेको पैसा बालुवामा पानी खन्याएजस्तै भएपछि बाडेले सविन महर्जनलाई व्यावसायिक सहयात्री बनाए । हाल बाडे बेलुन नेपालका अध्यक्ष र महर्जन मार्केटिङ म्यानेजर छन् । त्यसपछि बेलुन नेपालले स्पेनको अल्ट्रा म्याजिक कम्पनीबाट बेलुन मगाएर अनुमति प्रक्रियामा अघि बढे ।

धम्पुसमा उडान अनुमति नपाएपछि लौरुकबाट उडाउने र पामेमा अवतरण गर्ने गरी अनुमति लिए । बेलुन नेपाल हट एयर बेलुन उडाउने देशकै एक मात्र कम्पनी हो । कम्पनीले हाल दुई वटा हट एयर बेलुनमार्फत दैनिक करिब ४० यात्रु उडाउँदै आएको छ । बेलुन उडाउन सुरुआती समयमा अमेरिकी र भियतनामी पाइलट थिए भने हाल स्पेनी पाइलटले उडान भर्दै आएका छन् ।

अहिले बेलुन नेपालले युरोपियन स्ट्यान्डर्ड बेलुनका साथै सोही स्ट्यान्डर्डको पाइलट राखेको छ । नेपालमा भने हालसम्म बेलुन उडाउने सर्टिफाइड पाइलट छैनन् । ‘विदेशी पाइलटलाई डलरमा तलब दिनुपर्छ । जसका कारण अप्ठ्यारो त छँदै छ,’ बाडेले भने, ‘यात्रुहरूका लागि शुल्क समेत केही महँगो पर्न गएको छ ।’ बेलुन नेपालले केही समयअघि छात्रवृत्तिमा पाइलट कोर्स अध्ययन गराउने उद्देश्यले आवेदन आह्वानसमेत गरेको थियो । तर नेपालीले भने रुचि देखाएनन् । ‘पाइलटका लागि नेपालीलाई नै आकर्षित गर्न सके रोजगारी पनि सिर्जना हुन्थ्यो ।’

सुरुसुरुमा हट एयर बेलुनलाई पर्यटकीय आकर्षणका लागि स्थापित गर्न गाह्रो भए पनि अहिले केही सहज भएको बाडे बताउँछन् । उनका अनुसार पछिल्लो समय बेलुनमा उड्ने विदेशीभन्दा नेपाली पर्यटकको संख्या बढी छ । हट एयर बेलुनलाई लक्जरियस एडभेन्चरका रूपमा लिइन्छ । बेलुन आकारमा देखिने यसको ‘इनेभेलप’ भित्र पंखाले हावा भरिन्छ । बेलुन आकारमा आइसकेपछि ग्यासबाट आगो बालेर उक्त हावा तताइन्छ । तातो हावाका कारण बेलुनको उचाइ लिन्छ र हावाको गति नियन्त्रण गर्दै पाइलटले उडान भर्छन् । २१ मिटर अग्लो बेलुनको तल्लो भागमा जडित ३२ वर्ग मिटरको बास्केटमा एक पटकमा बढीमा आठ यात्रु उड्न सक्छन् ।

बेलुनको उडानबाट सूर्योदय र सूर्यास्तको दृश्यावलोकन हेर्न सकिन्छ । बिहान सामान्यतया लौरुकबाट ५:४० बजे पहिलो उडान सुरु हुन्छ । आधा घण्टाको उडानमा यात्रुले ९ हजार फिट माथिबाट पोखरा उपत्यका र वरपरका हिमालको दृश्यावलोकन गर्न पाउँछन् । बाडेका अनुसार उडान भर्न नेपालीका लागि ९५ सय, सार्क मुलुक र चिनियाँलाई एक सय अमेरिकी डलर र अन्य देशका नागरिकलाई १३० अमेरिकी डलर शुल्क लाग्छ ।

व्यवसाय विस्तारका लागि अन्य गन्तव्यको खोजीमा लागिरहेका बाडे पछिल्लो समय भने हट एयर बेलुनबाट स्काई डाइभिङ गराउने तयारीमा छन् । पोखरामा हाल स्काई डाइभ गराउनका लागि हेलिकोप्टरको प्रयोग हुँदै आएको छ । तर हेलिकोप्टरको साटो बेलुनबाट स्काई डाइभ गराउँदा फरक अनुभव हुने र शुल्क पनि कम लाग्ने उनले बताए ।

प्रकाशित : चैत्र १२, २०८० ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?