कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१३

माओवादी उपाध्यक्ष महरा हाजिरी जमानीमा छुटे

स्वास्थ्य अवस्थालाई मध्यनजर गरेर आरोपित महरालाई अनुसन्धानका लागि बोलाएका बेला उपस्थित हुने गरी छोराको जिम्मा लगाइएको छ, छुटे पनि अनुसन्धानलाई कुनै असर पर्दैन : सन्देश श्रेष्ठ- सहन्यायाधिवक्ता तथा प्रमुख जिल्ला, सरकारी वकिल कार्यालय, काठमाडौं 
मातृका दाहाल

काठमाडौँ — सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई हाजिरी जमानीमा छाडिएको छ ।

माओवादी उपाध्यक्ष महरा हाजिरी जमानीमा छुटे

सुन तस्करी गरेको आरोपमा पक्राउ परेका पूर्वसभामुख तथा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा हाजिरी जमानीमा छुटेका छन् । २०७९ पुस १० मा विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याएको सुन तस्करी प्रकरणका आरोपीमध्येका एक महरालाई गत सोमबार कपिलवस्तुबाट पक्राउ गरिएको थियो । शुक्रबार उनी हाजिरी जमानतमा रिहा भएका हुन् । महरालाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले छोरा निर्मल महराको जिम्मा लगाएको छ ।

कपिलवस्तुको पकडीबाट पक्राउ परेका महरालाई त्यही दिन भैरहवा विमानस्थल हुँदै काठमाडौं ल्याइएको थियो । अदालतले सुरुमा महरालाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएकामा स्वास्थ्यमा समस्या देखाएर प्रहरी हिरासत छल्दै उनी नर्भिक अस्पताल भर्ना भएका थिए । त्यसपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनीमाथि ४ दिन लगाएर बयान लिएकामा बिहीबार बयान सकिएको थियो । प्रहरी स्रोतका अनुसार महरालाई सुन तस्करीमा बिचौलिया र मतियारको भूमिकामा प्रतिवादी बनाएर अनुसन्धान भइरहेको छ ।

अनुसन्धान जारी रहेकै बेला सरकारी वकिल कार्यालयले बाँकी अनुसन्धानलाई निरन्तरता दिँदै महरालाई हाजिरी जमानीमा आफन्तको जिम्मा लगाएको हो । विद्युतीय चुरोट (भेप) मा लुकाएर गरिएको सुन तस्करी प्रकरणमै महराका कान्छा छोरा राहुल भनिने रेशम महरा पुर्पक्षमा कारागारमै छन् । बाबु महरालाई भने सरकारी वकिल कार्यालयले हिरासत बाहिरै राखेर अनुसन्धान गर्न ‘सहुलियत’ दिएको हो । जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंका प्रमुख तथा सहन्यायाधिवक्ता सन्देश श्रेष्ठले महराको स्वास्थ्य अवस्थालाई मध्यनजर गरेर हाजिरी जमानतमा छाडिएको बताए । ‘स्वास्थ्य अवस्थालाई मध्यनजर गरेर आरोपित महरालाई हाजिरी जमानीमा छाडिएको हो,’ श्रेष्ठले कान्तिपुरसँग भने, ‘निजलाई अनुसन्धानका लागि बोलाएका बेला उपस्थित हुने गरी छोराको जिम्मा लगाइएको छ । महरा छुटे पनि अनुसन्धानलाई कुनै असर पर्दैन ।’

पूर्वगृह, अर्थ, परराष्ट्रदेखि सञ्चारमन्त्रीसमेत रहिसकेका महरा यसअघि संसद् सचिवालयकै एक महिला कर्मचारीमाथि यौन शोषण गरेको अभियोगमा पक्राउ परेका थिए । उक्त मुद्दामा केही महिना जेलमा बसेका महरालाई काठमाडौं अदालतले भने ‘निर्दोष’ ठहर गरेपछि छुटेका थिए । त्यसपछि पुनः राजनीतिमा सक्रिय बनेका महरा चिनियाँ सुन तस्करसँग मिलेर आपराधिक गतिविधि गरेको अरोपमा मुछिएका थिए ।

बाबु–छोरा नै यो कसुरमा जोडिए पनि प्रहरीले बाबुलाई उन्मुक्ति दिएर छोरा राहुलविरुद्ध मात्रै संगठित अपराधसहितका कसुरमा मुद्दा चलाएको थियो । पछिल्लो पटक पूर्वन्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतामा गठित जाँचबुझ आयोगले भेप प्रकरणमा महराको भूमिका सन्दिग्ध रहेको र तथ्य, प्रमाणले ‘कसुरदार होइन भन्न नसकिने’ भन्दै पुनः अनुसन्धान गर्नुपर्ने राय दिएको थियो । आयोगकै प्रतिवेदनले किटान गरेपछि महरालाई सीआईबीले पक्राउ गरी अनुसन्धान अघि बढाएको हो । प्रहरी स्रोतका अनुसार भेपमा लुकाएर ल्याएको ९ किलो सुनबाहेक चिनियाँ गिरोहबाट भएका अरू तस्करीमा पनि महराको भूमिका शंकास्पद भन्दै सूक्ष्म अनुसन्धान गर्नुपर्ने राय दिएको थियो ।

सुन लुकाएर ल्याइएको भेपलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारले रोकिदिएपछि छुटाउन महराले कान्छा छोरा राहुललाई परिचालन गरेका थिए । भेप प्रकरणमा मात्रै सुन तस्करको सञ्जाल र भन्सारका अधिकारीलाई महरा बाबुछोराले २ सय ५६ पटक संवाद गरेको खुलेको थियो । त्यसको अनुसन्धान हुँदा राहुल मात्रै प्रतिवादी बने भने बाबु महरालाई उन्मुक्ति दिइएको थियो । महरालाई भेपबाहेक ब्रेक सुमार्फत सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि जेलमा रहेका चिनियाँ तस्कर दावा छिरिङको पनि सहयोगी बनेको तथ्य भेटिएको छ । महरामाथि थुप्रै दसी/प्रमाणहरू फेला परेको र त्यसमा अनुसन्धान भइरहेका बेला सरकारी वकिल कार्यालयले जमानतमा रिहा गरेको सीआईबीका एक अधिकारीले बताए ।

‘अनुसन्धान त जारी नै थियो, महरामाथि बयान मात्रै सकिएको हो,’ एक प्रहरी अधिकारीले कान्तिपुरसँग भने, ‘पक्राउ परेका आरोपित छुटेपछि अब बिस्तारै अनुसन्धान गर्दा पनि हुने देखियो ।’ महरा भेपबाहेक तत्कालीन उपराष्ट्रपति नन्दबहादुर पुनका सल्लाहकार जीवनकुमार गुरुङ तथा चिनियाँ सुन तस्करद्वय दावाजिन वाङ र दावा छिरिङसहितको समूहसँगको साँठगाँठमा बिचौलिया भूमिकामा काम गरेको स्रोतको दाबी छ । जाँचबुझ आयोगको प्रतिवेदनअनुसार महराले चिनियाँ सुन तस्कर दावा छिरिङले प्रयोग गर्ने सवारीसाधन तत्कालीन उपराष्ट्रपति पुनका सल्लाहकार गुरुङका नाममा दर्ता गर्न पनि भूमिका खेलेको पुष्टि भइसकेको छ । दावा छिरिङ ब्रेक सुमा लुकाएर ल्याएको ६१ किलो सुन प्रकरणका प्रतिवादी हुन् । महरा भेप र ब्रेक सु दुवै प्रकरणका तस्करसँग सम्पर्क–साँठगाँठमा रहेका तथ्य भेटिएका छन् । तर, अनुसन्धानको टुंगो नलाग्दै हाजिरी जमानतमा रिहा गर्दा अनुसन्धान प्रभावित हुने संशय भने बढेको छ ।

प्रकाशित : चैत्र ९, २०८० १३:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?