कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६८

पानी सञ्चित गर्न रसुवामा 'आइस स्तूपा'

बलराम घिमिरे

रसुवा — रसुवामा 'आइस स्तूपा' बनाएर पानी सञ्चित गर्ने प्रविधिको परीक्षण सफल भएको छ ।  आमाछोदिङ्मो गाउँपालिका–३ गतलाङ गाउँभन्दा माथि गोठेन खर्कनजिकै 'आइस स्तूपा' निर्माण गरिएको छ । यो नेपालमै पहिलो पटक निर्माण गरिएको 'आइस स्तूपा' हो ।  भारतको लद्दाखमा भने यो प्रविधिको प्रयोग गरिएको छ ।

पानी सञ्चित गर्न रसुवामा 'आइस स्तूपा'

आमाछोदिङ्मो गाउँपालिकासँग सहकार्य गरेर रिसोर्स हिमालय फाउन्डेसन र लाङटाङ क्षेत्र संरक्षण सरोकार समाजले आइस स्तूपा निर्माण गरेको समाजका अध्यक्ष सन्तोष घलेले बताए । जलवायु परिवर्तनका कारण हिमाली भेगमा यसको असर धेरै परेको छ । पानीको मुहानहरू सुक्दै जान थालेका छन् ।

'आइस स्तूपा' निर्माणको मुख्य उद्देश्य भनेको हिमाली क्षेत्रमा पानी जम्मा गर्नु रहेको रसोर्स हिमालय फाउन्डेसनका कमल अधिकारीले बताए । 'मंसिर, पुस र माघ महिनामा उच्च हिमाली भेगमा बगेर खेर जाने पानीलाई केही समय जमाएर आइस स्तूपा बनाउन सकिन्छ,' उनले भने, य'सरी बनेको आइस स्तूपा सुख्खा मौसममा पग्लन थाले पछि त्यसको पानी प्रयोग गर्न सकिन्छ । यसरी सुख्खा मौसममा हिमाली क्षेत्रमा हुने पानीको अभाव पुरा गर्न सकिन्छ ।'

आइस स्तूपाका कारण सुख्खा मौसममा वन्यजन्तु र खर्कमा चर्ने जनावरलाई पानीको अभाव नहुने अधिकारीको भनाइ छ । समुद्री सतहदेखि ३ हजार २ सय ६० मिटरको उच्चाइमा आइस स्तूपा निर्माण गरिएको छ । सामान्य प्रविधिबाट पनि पानी जमाउन सकिने रिसोर्स हिमालय फाउन्डेसनका दिपेश प्याकुरेलले बताए । 'माथिबाट फोर्समा आएको पानीलाई स्प्रिङ कलको साहायताले फालेर जमाउन सकिन्छ । माथिबाट पाइपमा बगेर आएको पानीको तापक्रम र हावाको तापाक्रम दुईवटै मिलेर जिरो डिग्रि हुन्छ अनि पानी जम्छ,' उनले भने ।

प्रकाशित : फाल्गुन ३०, २०८० १४:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?