सगरमाथाको खुम्बु क्षेत्र जोड्ने सडकमा मोटरेबल पुल

पैदलै लुक्ला पुग्न अब पाँच घण्टा मात्रै, सडक यातायातका कारण सल्लेरीबाट पैँयासम्मको यात्रा सहज बनेकोमा स्थानीय खुसी

फाल्गुन २८, २०८०

ऋषिराम पौड्याल

A motorable bridge on the road connecting the Khumbu area of ​​Mt

काठमाडौँ — सगरमाथा आरोहणका लागि विश्वका पर्यटक आउजाउ मुलुककै प्रमुख पर्यटीय क्षेत्र सोलुखुम्बुको खुम्बु क्षेत्र जोड्ने सडकमा दुई वटा पक्की पुल बनेपछि पैदलै लुक्ला पुग्ने समय छोटिएको छ । माप्य दुधकोशी गाउँपालिका–२ र खुम्बु पासाङल्हामु गाउँपालिका जोड्ने उक्त पुल निर्माणले स्थलमार्ग भएर सगरमाथा क्षेत्रमा आउजाउ गर्न बाह्रै महिना सहज हुने भएको हो ।

माप्यदुधकोशी र खुम्बु पासाङल्हामु गाउँपालिका जोड्ने भोक खोलामा बनेको पुल आइतबारदेखि सञ्चालनमा ल्याइएको छ । सल्लेरीबाट दुधकोशी हुँदै खुम्बु क्षेत्रको पैँयासम्म सडक छिचोलिएपछि पैदल नै लुक्ला पुग्ने समय छोटिएको हो ।

२०७७ मंसिरमा सगरमाथातर्फ जाने दुधकोशीको ओर्लाङघाटमा निर्मित माप्य–खुम्बु मितेरी पुलपछि सदरमुकाम सल्लेरीबाट करिव ३८ किमी लुक्लातर्फ रहेको छ । दुधकोशी पुलले सदुरमकामबाट लुक्ला पुग्न एक दिनको पैदल यात्रा छोटिएको थियो । आर्लाङघाटको उक्त पुल दुधकोशी पार गरेर सगरमाथातर्फको लुक्का पुग्ने पहिलो मोटरेबल पुल हो ।

अहिले बनाएको भोट खोलाको पुल भने सदरमुकाम सल्लेरीबाट करिव ३७ किमि लुक्लातर्फ पर्छ । उक्त पुलको अभावमा वर्षात्‌मा यातायात ठप्प हुने गरेको थियो । अब खुम्बु क्षेत्रको लुक्लातर्फ स्थानीय पैँयासम्म वर्षात्‌मा पनि यातायात सञ्चालन गर्न सकिने स्थानीयको भनाई छ ।

खुम्बु पासाङल्हामु गाउँपालिका चौरीखर्चस्थित मेहेन्द्र ज्योतिमा माविका प्रधानाध्यापक कुमार सिंह राईले सडक र पुलले लुक्लासम्मको जनजीवन सहज बन्दै गरेको बताए । उनले स्थानीयवासीले बर्षौदेखि भारी बोकेर उकालो ओरालो गरेको दुःख अब विस्तारै हट्न थालेको भन्दै खुशी व्यक्त गरे । ‘सोलुबासीको वर्षौदेखिको लुक्लासम्म सडक पुर्‍याउने सपना पूरा हुनु धेरै खुशीको कुरा हो,’ उनले भने ।

भोकमा बनेको पुलका कारण पर्यटक मात्र होइन सदरमुकाम क्षेत्रका स्थानीयलाई खुम्बु क्षेत्र जान सहज भएको छ । पुलका कारण माप्य दुधकोशीको ५ वडा र पासाङल्हामु गाउँपालिकामा गाडी चढेर जान सक्ने भएपछि वडाहरुमा पुग्ने पैदलको बाटो पनि छोटिएको छ । माप्य दुधकोशीका अध्यक्ष बुद्धिकिरण राइका अनुसार पर्यटकलाई त सुविधा पुग्छ नै जिल्लाको दक्षिण क्षेत्रबाट स्थानीय उत्पादन लुक्लालगायतका खुम्बु क्षेत्र पुर्‍याउन सहज हुनेछ ।

जसरी चार वर्ष अघि ओर्लाङघाटको पुल सगरमाथा प्रस्थान बिन्दुको मुख्य आधार बन्यो यसैगरी यो पुलले बाह्रै महिना यातायात सञ्चालन गर्न कोसेढुंगो सावित हुने उनले दाबी गरे । 'हामीले निकै ठूलो मेहनतले पुल बनाएका छौं,' अध्यक्ष राइले भने, ‘यो पुल विश्वकै अग्लो सगरमाथा प्रवेश गर्नेहरुले प्रयोग गर्ने भएकाले पनि बढी महत्व दिएको हो ।’

१८ मिटर लम्बाइको उक्त पुल माप्यको दुई आर्थिक वर्षको बजेट करिव २ करोड ७३ लाख लागतमा निर्माण भएको हो । उक्त पुलको उद्घाटन प्रतिनिधिसभा सदस्य मानबीर राई, कोशी प्रदेश प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारी, माप्य दुधकोशी तथा खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्षद्वय क्रमशः बुद्धिकिरण र मिङमा छिरी शेर्पासहितका जनप्रतिनिधिलगायतले पालैसँग रिवन काटेर संयुक्त रुपमा गरे ।

काठमाडौबाट वीपी राजमार्ग, ओखलढुंगा, सोलुको सदरमुकाम सल्लेरी, दुधकोशी हुँदै करिव तीन सय ६० किमी पार गरेपछि सगरमाथाको पहिलो आधार क्षेत्र लुक्ला पुग्न सकिन्छ । अहिले उक्त सडक लुक्लातर्फ पैँया भन्ने स्थानसम्म पुगेको छ । उक्त स्थानबाट ४ देखि ५ घण्टा पैदलमा लुक्ला पुग्छन् ।

सडक बाह्रै महिना सञ्चालन हुने हो भने काठमाडौं आउजाउ गर्न हेलिकोप्टर वा जहाज कुरेर लामो समय लुक्लामा बस्नुपर्दैन । लुक्लाबाट फर्किदा करिव ४ घण्टा हिँडेपछि गाडी चढ्ने स्थान खुम्बुको पैँया पुगिन्छ । सल्लेरीबाट ३८ किमि दूरीको कच्ची सडक करिव ५ घण्टाको गाडीको यात्रापछि दुधकोशी पुल पुगिन्छ । दुधकोशीको पुल भएर थामडाँडा हुँदै पैँयासम्म साना सवारी साधन चढेर पुग्न सकिन्छ ।

ऋषिराम पौड्याल कान्तिपुरका संवाददाता हुन् । उनी निजामती प्रशासन, संसदीय मामिला, संघीयता र राजस्वसँग सम्बन्धित रिर्पोटिङ गर्छन् ।

Link copied successfully