२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७८१

प्रकाशकीय : लोकतान्त्रिक व्यवस्थाका आधारभूत सिद्धान्तमाथि सम्झौता गर्न कान्तिपुर तयार छैन

प्रकाशकीय

२०४६ को राजनीतिक परिवर्तन र त्यसपछि सुरु भएको खुला बजारले नेपाली समाज र अर्थतन्त्रलाई गतिशील बनाएकै हो । अझ लोकतन्त्रको सबलीकरण र नेपाली मिडियाको औद्योगीकरण यात्रा सँगसँगै अघि बढेका हुन् ।

प्रकाशकीय : लोकतान्त्रिक व्यवस्थाका आधारभूत सिद्धान्तमाथि सम्झौता गर्न कान्तिपुर तयार छैन

आजभन्दा ३१ वर्षअघि स्थापना भएको कान्तिपुर पब्लिकेशन्स्ले नेपालमा व्यावसायिक पत्रकारितालाई संस्थागत गरेको मात्र होइन, अभिव्यक्ति तथा राजनीतिक स्वतन्त्रतालाई पनि सशक्त आवाज प्रदान गर्दै आएको छ । यो बीचमा देशका लागि समय सधैं सहज अवश्य थिएनन् ।

छोटा–छोटा अन्तरालमा भएका ठूला–ठूला परिवर्तनले देशको आत्मविश्वासलाई हल्लाउन नखोजेका पनि होइनन् । तर यी सबै कम्पन र परिवर्तनमा कान्तिपुर एक अमुक साक्षीका रूपमा होइन, हस्तक्षेपकारी हिस्सेदारका रूपमा रहँदै आएको छ । विधि र सुशासनको पक्षमा कान्तिपुरले देशको आवाज र देशले कान्तिपुरको संवादलाई साथ दिँदै आएकाले आज सफलतापूर्वक पब्लिकेशन्स्ले ३१ औं वार्षिकोत्सव मनाउँदै छ । यो गौरवपूर्ण दिनमा कान्तिपुरका समस्त पाठक, शुभचिन्तक, बिक्रेता, विज्ञापनदाता तथा विभिन्न कालखण्डमा कान्तिपुर परिवारमा जोडिएर आफ्नो भूमिका पूरा गर्ने समस्त सहकर्मीप्रति पब्लिकेशन्स् नतमस्तक छ ।

संसारभर मूलधारको मिडियाका समाचारलाई अवमूल्यन गर्न मिथ्या र भ्रामक सूचनाको आँधी चलिरहेको छ । हुरी, बतास वा आँधीको आयु जति छोटो भए पनि त्यसको प्रवृत्ति ध्वंसात्मक हुनेमा सन्देह छैन । त्यसैले त्यो प्रतिकूलताको सामना गर्न संस्थागत प्रेस र नागरिक समाजको सहकार्य अझ बलियो हुनुपर्ने भएको छ । किनकि संस्थागत सञ्चारगृहले प्रशोधन गरेर प्रकाशन गरेका समाचारप्रति अनास्था फैलाउने प्रवृत्ति कुनै संस्था विशेष र पेसा विशेषलाई होइन, समग्र लोकतन्त्रकै लागि खतरनाक हुन्छ ।

कसैलाई प्रिय लाग्न सक्छ वा अप्रिय पनि । यसको लेखाजोखा गरेर लोकतान्त्रिक व्यवस्थाका आधारभूत सिद्धान्तमाथि सम्झौता गर्न कान्तिपुर तयार छैन । जननिर्वाचित संविधानसभाबाट लिपिबद्ध संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रतासहितको लोकतन्त्र, संघीयता र धर्मनिरपेक्षता कान्तिपुरका पनि मार्गदर्शक सिद्धान्त हुन् । संविधानले निर्दिष्ट गरेको मार्गबाट कोही कतै विचलित हुन खोजेमा खबरदारी गर्ने आफ्नो जिम्मेवारीबाट कान्तिपुर कहिल्यै डगमगाएको छैन, डगमगाउने छैन ।

हो, देश अहिले अघोषित आर्थिक मन्दीबाट गुज्रिरहेको छ । त्यसका प्रभाव पर्यटन, शिक्षा, स्वास्थ्य र अन्य उद्यम तथा व्यवसायमा जस्तै मिडियामा पनि परेको छ । समय साँच्चै कठिन छ तर हरेक कठिनाइको पनि आफ्नो अवधि र चक्र हुन्छ ।

अझ, समग्र नेपाली अर्थतन्त्रको परिवेशलाई बिर्सेर आफ्नै अनुकूलता वा प्रतिकूलताबाट प्रभावित हुने सुविधा मिडियालाई छैन । समाज संकटमा परेका बेला मार्गदर्शन गर्ने झन् ठूलो जिम्मेवारी मिडियाको छ । त्यो जिम्मेवारी पूरा गर्न कान्तिपुर पब्लिकेशन्स् सबल र प्रतिबद्ध छ । हामीलाई थाहा छ, आरोह–अवरोह आउँछन् जान्छन्, व्यावसायिक सम्बन्ध र जिम्मेवारी भने अटुट छ ।

प्रकाशित : फाल्गुन ७, २०८० ०६:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?