कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

नारायणगढ-बुटवल सडक समयमै निर्माणका लागि 'दबाब यात्रा' गर्दै रवि

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा प्रतिनिधिसभा सदस्य रवि लामिछाने नारायणगढदेखि बुटवलसम्म 'दबाब यात्रा' गर्ने भएका छन् । १ सय १३ किलोमिटर लामो सडकमा लामिछानेले पैदल यात्रा गर्दै निर्माण कार्य समयमै सम्पन्न गराउन दबाब दिन लागेका हुन् ।

नारायणगढ-बुटवल सडक समयमै निर्माणका लागि 'दबाब यात्रा' गर्दै रवि

२०७५ सालदेखि नारायणगढ-बुटवल सडकखण्डको स्तरोन्नति कार्य सुरु भएको थियो । तर निर्धारित समयमा सडक निर्माण सम्पन्न नभएपछि समय थपिएको थियो । थपिएको समयमा पनि निर्माण सम्पन्न गर्ने गरी काम नभइरहेको भन्दै सभापति लामिछानेले दबाब यात्रा गर्न लागेका हुन् ।

सभापति लामिछानेको सचिवालय संयोजकसमेत रहेकी रास्वपाकी सहप्रवक्ता प्रतिभा रावलका अनुसार पुस ९ देखि पैदल यात्रा सुरु हुनेछ । यात्रामा रास्वपाका सांसद र नेताहरू सहभागी हुने भएका छन् ।

'नारायणगढ-बुटवल सडकखण्डको स्तरोन्नति निर्धारित समयमै सक्न दबाब दिने र सो सडकखण्डमा यात्रा गर्दा नागरिकले बेहोर्नु परेको सास्ती र हैरानीप्रति ध्यानाकर्षण गराउनका लागि यो पैदल यात्रा गर्न लागिएको हो । यस क्रममा सडक आसपासका स्थानीयसँग अन्तरक्रिया गर्ने कार्यक्रम पनि तय गरिएको छ,' पैदलयात्राबारे रावलले भनिन् ।

निर्धारित समयमा काम नसकिने भएपछि २०८० साउनमा सरकारले उक्त सडकको पश्चिम खण्डका लागि ३५० र पूर्वी खण्डका लागि ३३० दिन म्याद थपेको थियो । दोस्रो पटक थप गरिएको पाँच महिना बित्दा पनि ४० प्रतिशतमात्र काम सम्पन्न भएको छ । अहिलेकै गति जारी रहेमा थप गरिएको समयमा पनि सडक निर्माण सम्पन्न नहुने सडक विभागका अधिकारीहरूको निष्कर्ष छ ।

प्रकाशित : पुस ५, २०८० १९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?