कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०६

प्रभाव क्षेत्रमा अवरोधपछि मध्य पहाडतिर एमाले

पहाडी क्षेत्रमा सामाजिक सद्भाव बिगार्ने गरी काम भएको भन्दै त्यसलाई निस्तेज पार्न कार्यक्रम गर्न लागिएको दाबी
मणि दाहाल

काठमाडौँ — जातीय पहिचानको विषय उठाएर आफ्नो प्रभाव क्षेत्र पूर्वी पहाडमा अवरोध सिर्जना भएपछि एमालेले मध्य पहाडी लोकमार्गमा तीन साताको राष्ट्रिय अभियान सञ्चालन गर्ने भएको छ ।

प्रभाव क्षेत्रमा अवरोधपछि मध्य पहाडतिर एमाले

एमालेको बुधबार सम्पन्न सचिवालय बैठकले मंसिर १४ बाट ‘झुलाघाट–चिवा भञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ गर्ने निर्णय गरेको हो । राष्ट्रिय एकता, सामाजिक एकता र विकास निर्माणका लागि अभियान सञ्चालन गर्ने एमालेले जनाएको छ । बैतडीको मध्य पहाडी लोकमार्गमा ठूलो राजनीतिक दलले पहिलो पटक राष्ट्रिय अभियान अभियान सञ्चालन गर्न लागेको हो । चिवा भञ्जाङबाट झुलाघाटसम्मको पुष्पलाल मध्यपहाडी लोकमार्गको दूरी १ हजार ७ सय ७१ किमि लामो छ ।

एमाले उप–महासचिव प्रदीप ज्ञवालीले पछिल्लो समयमा पहाडी क्षेत्रमा सामाजिक सद्भाव बिगार्ने गरी काम भएको भन्दै त्यसलाई निस्तेज पार्न कार्यक्रम गर्न लागिएको बताए । ‘सामाजिक सद्भाव अभिवृद्धि गर्न, राष्ट्रिय एकता बलियो पार्न, कम्युनिस्ट पार्टी स्थापनाको ७५ वर्ष पुगेको अवसर पारेर संस्थापक पुष्पलालका नाममा यो अभियान चलाउन लागिएको हो,’ उनले भने, ‘अहिले जुन रूपमा निरासाको खेती गर्ने कोसिस भएको छ र यसलाई परिवर्तनको विरोधमा उभ्याउने काम भइरहेको छ, त्यसका विरुद्ध पनि जनतालाई जगाउँदै स्थानीय समस्या, राष्ट्रिय सन्देश दिने गरी काम हुनेछ ।’

कोशी प्रदेशको नामकरणपछि पूर्वी पहाडी क्षेत्रमा एमाले लक्षित अवरोध र नेताहरूमाथि आक्रमण हुँदै आएको छ । अवरोध गर्नेहरूले जातीय पहिचानका आधारमा प्रदेशको नामकरण हुनुपर्ने बताउँदै आएका छन् । एमालेले त्यस्ता गतिविधिले सामाजिक सद्भाव बिथोल्ने कार्य भएको दाबी गरेको छ ।

२०७२ सालमा संविधान जारी भएपछि मधेशमा एमालेमाथि भौतिक आक्रमण हुँदा पनि मेची महाकाली अभियान सञ्चालन गरेको थियो । जसमा सप्तरीको मलेठमा आइपुग्दा अवरोध सिर्जना भएको थियो । यसपटक एमालेले पश्चिम नेपालबाट कार्यक्रम आयोजना गरेर पूर्वतर्फ आउने निर्णय गरेको छ । एमाले यसपटक सुदूरपश्चिमको बैतडीस्थित झुलाघाटबाट कार्यक्रम सुरु गरेर पूर्वको पाँचथरको चिवाभन्ज्याङ पुगेर कार्यक्रम सम्पन्न गर्ने निर्णय गरेको छ । मंसिर १४ गते बिहान साढे ८ बजे अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेर अभियान उद्घाटन गर्नेछन् । यसपटक कार्यक्रममा सभाहरू, स्थानीय बासिन्दा तथा उद्यमी व्यवसायीसँग अन्तर्क्रिया, ऐतिहासिक स्थलको अवलोकन सहितको फरक–फरक प्रकारको कार्यक्रम तय गरेको छ । एमालेले सभाहरूमा तराई तथा हिमाली जिल्लाका मानिसलाई पनि सहभागी गराउने जनाएको छ ।

उपमहासचिव ज्ञवालीले अभियान राजनीतिक मात्रै नहुने बताए । ‘पहाडमा विरोधाभास देखिएको छ । पूर्वाधार गाउँतिर पुग्ने तर मानिस तराई, सहर र पछिल्लो समयमा विदेशसमेत बसाइँसराइ गर्ने विरोधाभास छ, त्यसलाई अन्त्य गर्न जरुरी छ,’ उनले भने, ‘पहाडको विकासको चुनौती के हो र कसरी पहाडको बसाइँसराईलाई कम गर्न सकिन्छ र त्यसलाई समृद्धिको आधार बनाउन सकिन्छ ? पहाड समृद्ध नहुन्जेल सिंगो राष्ट्र समृद्ध हुन सक्दैन । विकासको समस्यालाई पहिचान गर्दै पहाडको समृद्धिलाई अघि बढाउने यो अभियानको महत्त्वपूर्ण उद्देश्य हुनेछ ।’

अस्थायी घर बनाउन स्वयंसेवक परिचालन

एमालेले जाजरकोटका भूकम्पपीडितलाई अस्थायी आवास निर्माणका लागि १ हजार स्वयंसेवक परिचालन गर्ने भएको छ । एमाले सचिवालयको बुधबार सम्पन्न बैठकले मंसिर १ गतेदेखि अस्थायी घर टहरा निर्माणका लागि स्वयंसेवक परिचालन गर्न निर्णय गरेको हो ।

‘एमालेले २०७२ सालमा ५० हजार स्वयंसेवक परिचालन गरेर तीन महिनामा २७ हजार अस्थायी घर–टहरा बनाएको थियो,’ उप–महासचिव ज्ञवालीले भने, ‘यसपटक १ हजार स्वयंसेवक खटिनु हुनेछ । ५ हजार कार्य दिनभन्दा बढी खट्ने छौं । १ करोड रुपैयाँभन्दा बढीको श्रम परिचालन हुनेछ ।’ यस क्रममा हजारौं घर–टहरा बनाउने उनले बताए । यस कामको संयोजन पार्टीको प्रदेश कमिटीले गर्ने एमालेले जनाएको छ ।

एमालेले भूकम्पपीडितहरूका लागि संकलन भएको राहत प्रभावकारी रूपमा वितरण गर्नसमेत माग गरेको छ । ‘चिसोमा भूकम्पपीडितहरू भोकभोकै सुत्नु परेको छ,’ ज्ञवालीले भने, ‘विपद् पर्यटनका नाममा घुम्न जाने र सेल्फी खिच्ने काम भएको छ । राहत वितरण पारदर्शी, जिम्मेवार र प्रभावकारी रूपमा गर्न सरकारको ध्यानाकर्षण गराउँछौं ।’

एमालेले राहत वितरणमा पक्षपात भएको भन्दै त्यस्तो नगर्न पनि ध्यानाकर्षण गराएको छ । गत शुक्रबार जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा ३५ हजारभन्दा बढी घरमा क्षति पुगेको छ, जसमा सबैभन्दा बढी क्षति जाजरकोट र पश्चिम रुकुममा पुगेको छ ।

प्रकाशित : कार्तिक २३, २०८० ०६:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?