तत्काल उद्धार, राहत र पुन:स्थापनामा सहयोग पुर्‍याउन गैर सरकारी संस्थाहरुलाई परिषद्को अनुरोध

कान्तिपुर संवाददाता

काठमाडौँ — समाज कल्याण परिषद्ले राष्ट्रिय र अन्तर्राष्ट्रिय गैर सरकारी संघ, संस्थाहरुलाई तत्काल आवश्यक उद्धार, राहत र पुन:स्थापनामा सहयोग पुर्‍याउनको लागि अनुरोध गरेको छ ।

‘नेपालको कर्णाली प्रदेशको जाजरकोटमा केन्द्रविन्दु बनाएर शुक्रबार मध्यराति गएको ६.४ म्याग्निच्युडको भूकम्पको कारण ठूलो मानवीय र भौतिक सम्पत्तिको क्षति हुन गई जनजीवन अस्तव्यस्त भएको यस दुःखद घडीमा सबै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी सामाजिक संघ संस्थाहरुलाई आ–आफ्नो परियोजना संचालन भएको कार्यक्षेत्रबाट तत्काल आवश्यक उद्धार, राहत र पुन:स्थापनामा सहयोग पुर्‍याउन हुन समाज कल्याण परिषद् अनुरोध गर्दछ,’ परिषद्का सदस्यसचिव मनोज भट्टद्वारा जारी सूचनामा उल्लेख छ ।

सूचनामा संघसंस्थाहरुले यस कार्यमा सहयोग गर्दा सम्बन्धित स्थानीय तह एवं जिल्ला प्रशासन कार्यालयसँग समन्वय र सहकार्य गर्न पनि अनुरोध गरिएको छ । साथै, समन्वय र सहकार्य गरेको जानकारी परिषद्मा पठाउन पनि भनिएको छ ।

‘विपद्को समयमा सहयोगको लागि कार्यरत सामाजिक संघसंस्थाहरुलाई सहजरुपमा कार्यसम्पादन गर्ने वातावरण मिलाई सहयोग गरिदिन हुन सम्बन्धित स्थानीय तह तथा जिल्ला प्रशासन कार्यालयमा समाज कल्याण परिषद् हार्दिक अनुरोध गर्दछ,’ सूचनामा भनिएको छ ।

प्रकाशित : कार्तिक १८, २०८० १८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्थानीय तहको २६ प्रतिशत वित्तीय अनुदान कटौती गर्ने सरकारको निर्णयबारे तपाईं के धारणा छ ?