कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३२

३६३ केजी सुन तस्करीमा २९ जनाविरुद्ध मुद्दा

तस्करीमा ५ कर्मचारी, ९ विदेशी र अन्य १५ जना
प्रतिवादीविरुद्ध ७ वटा कसुरमा ३ अर्ब ५० करोड ३० लाख ९१ हजार बिगो मागदाबी
मातृका दाहाल

काठमाडौँ — अन्तरदेशीय संगठित गिरोहमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको तस्करीको सुन प्रकरणमा भन्सारका पाँच कर्मचारी र नौ विदेशी नागरिकसहित २९ जनाविरुद्ध साढे ३ अर्ब रुपैयाँ बिगो कायम गरेर जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।

३६३ केजी सुन तस्करीमा २९ जनाविरुद्ध मुद्दा

करिब ६१ केजी सुन प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरेको अनुसन्धानका आधारमा सरकारी वकिल कार्यालय काठमाडौंले दावाजिन वाङलाई मुख्य नाइके किटान गरेर २९ जनाविरुद्ध आइतबार ३ अर्ब ५० करोड ३० लाख ९१ हजार ९ सय ७५ रुपैयाँ बिगो, कैद र जरिवाना मागदाबीसहित मुद्दा दायर गरेको हो । अभियोगपत्रमा ११ महिनाको अवधिमा ब्रेक शुमा लुकाएर ३ सय ६३ किलो सुन तस्करी भएको उल्लेख छ । मुद्दामा प्रतिवादी बनाइएकामध्ये साउन २ यता २६ जना पक्राउ परिसकेका छन् । तीन जना फरार छन् । फरारको हकमा अदालतबाटै पक्राउ पुर्जी जारी गर्न भनिएको छ ।

अभियोगपत्रमा सबै प्रतिवादीविरुद्ध भन्सार ऐन २०६४ को दफा ५७ (१) र संगठित अपराध निवारण ऐन २०७० को दफा २ र ३ तथा ५ अनुसार बिगो, कैद र जरिवाना भराउन मागदाबी लिइएको छ । संगठित रूपमा आपराधिक समूह खडा गरी आयात हुने मालवस्तुको आवरणमा तस्करीको सुन ल्याएको कसुरमा उनीहरूलाई सजाय हुनुपर्ने मागदाबी छ । तस्करीको धन्दा चलाउने क्रममा अन्य अपराधमा समेत जोडिएकालाई संलग्नता र भूमिकाअनुसार नेपाल राष्ट्र बैंक ऐन, मुलुकी अपराध संहिता ऐन, राहदानी ऐन, नागरिकता ऐन र अध्यागमन ऐन गरी अरू थप ५ कसुरमा पनि सजाय गर्नुपर्ने मागदाबी छ ।

जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपक दाहालका अनुसार अभियोगपत्रमा चिनियाँ नागरिक एलेक्स भन्ने याओ फुचेन, अली भन्ने ली वेन सुङ, ली नेङकाई, लीन चछ्याङ, देङ सेङ फा, याङ वेन, मि सियान, तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङ, तिब्बती मूलका भारतीय नागरिक टासी भनिने थुप्तिन छिरिङलाई प्रतिवादी बनाइएको छ । दाहालका अनुसार नेपाली नागरिकहरू हर्कराज राई, कृष्णकुमार श्रेष्ठ, पुष्करराज भट्ट, राजेन्द्रकुमार राई, यादव पराजुली, सुदर्शन गौतम, रामकुमार भुजेल, दिलीप भुजेल, सुमन खरेल, शिवकुमार सर्राफ, किशोर बस्नेत, रुक्मिना सुब्बा, भोला साह सोनार, जीवन चलाउने, अमला रोका, सन्तोष चन्द, गणेशप्रसाद पौडेल, वीरेन्द्र नेपाली, कुमार ढकाल, सरोज श्रेष्ठलाई सुन तस्करीमा सघाएको कसुरमा प्रतिवादी बनाइएको छ ।

यसमध्ये सन्तोष चन्द, गणेशप्रसाद पौडेल, वीरेन्द्र नेपाली, कुमार ढकाल र सरोज श्रेष्ठ विमानस्थल भन्सारका कर्मचारी हुन् । सुन तस्कर दावा छिरिङकी पत्नी अमला, तस्करका सहयोगी चलाउने र सुन खरिदकर्ता साह फरार छन् । तस्करीमा संलग्न तर हाल फरार १५ विदेशीको हकमा तीन पुस्ता नखुलेको र पछि पक्राउ परेका बखत सोहीअनुसार हुने गरी अभियोगपत्र दायर भएको छ । प्रतिवादीमध्येका दुई कर्मचारी पौडेल र नेपालीले क्रमशः सुन भएका १ हजार ८० र १ हजार १ सय ८० वटा ब्रेक शुमा शंकास्पद रूपमा जाँचपास गरी छाडिदिएका थिए । एक्सरेमा बस्ने कर्मचारीले पुनः परीक्षण भनी लेखेका सामान पनि नजाँची छाडिदिएका थिए । तस्करीको सुन भन्सारबाट पास गराउन उनीहरूले सहयोग गरेको अभियोगपत्रमा उल्लेख छ । त्यस्तै ढकाल र चन्दले क्रमशः २ सय र ३ सय ४० थान सुन भएका ब्रेक सु तस्करसँगको साठगाँठमा फुत्काएका थिए । अर्का कर्मचारी श्रेष्ठले एक्सरेमा कैफियत देखिएपनि सुन भएका सामान तस्करकै योजनामा पास गराएको अभियोग लगाइएको छ ।

सरकारी वकिल कार्यालयले फरारको हकमा ‘तीनपुस्ते नखुलेको’ कारण देखाएर प्रतिवादी बनाएको छैन । पक्राउ परेका ६ जना अशोक लामा, नरेश तामाङ, राजनकुमार श्रेष्ठ, पुष्पा जोशी (अधिकृत), कमल परियार (नासु) र श्रीधर टण्डन (उपसचिव) लाई मुद्दा नचलाउने निर्णय भएको छ । तस्करी नाइके मध्येका दावा छिरिङ, ली नेङकाई, याओ फुचेन र तस्करीको सुन खरिद गर्ने शिवकुमार सर्राफविरुद्ध अबैध सुनको कारोबारबाट प्राप्त रकम क्रिप्टो करेन्सीमा लगानी गरेको कसुरमा नेपाल राष्ट्र बैंक ऐनको दफा ९५ (१) अनुसार थप सजाय माग गरिएको छ । फर्जी विवरणका आधारमा नेपाली नागरिकता र राहदानी लिएका दावा छिरिङ, ली नेङकाई र याओ फुचेनविरुद्ध नागरिकता ऐन, राहदानी ऐन तथा अध्यागमन ऐनअन्तर्गत सजाय पनि माग दाबी लिइएको छ । दावा, नेङकाई, फुचेन र सर्राफलाई मुलुकी अपराध संहिता २०७४ अनुसार प्रतिवादी बनाइएको छ ।

थुप्तिन विगतमा खाग तस्करीमा सजाय काटेर छुटेको पटके कसुरदार भन्दै संगठित अपराध र भन्सार ऐनबाहेक थप सजाय मुलुकी अपराध संहिताबमोजिम गर्न भनिएको छ । पछिल्लो पटक साउन २ मा बरामद ६० केजी ७ सय १६ ग्रामसहित पछिल्लो ११ महिनाभित्र यो गिरोहले ३ सय ६२ केजी ७ सय ७८ ग्राम सुन तस्करी गरेको अभियोग लगाइएको छ । अवैध सुन ल्याउन प्रयोग गरिएका ब्रेक सुसहित २८ लाख ७५ हजार ४ सय २३ रुपैयाँ बराबरका सामानसमेत गरी प्रतिवादीविरुद्ध साउन २ को सुनको बजारभाउ अनुसार हुने गरी ३ अर्ब ५० करोड ३० लाख ९१ हजार ९ सय ७५ रुपैयाँ बिगो मागदाबी गरिएको छ । उनीहरूविरुद्ध संगठित अपराध निवारण ऐन २०७० र भन्सार ऐन–२०६४ ले बर्जित गरेको कसुरमा प्रतिवादी बनाइएको हो ।

भन्सार ऐनको कसुरमा प्रतिवादी बनाइएकालाई बिगो जफत गरी प्रतिवादीविरुद्ध तीन गुणासम्म जरिवाना वा ७ वर्षसम्म कैद वा दुवै सजाय गर्नुपर्ने दाबी लिइएको छ । तस्करीको मुख्य अभियुक्त दावाजिन वाङलाई किटान गरिएको छ । पक्राउ परेकामध्ये वाङपछिका तस्कर नाइकेका रूपमा एलेक्सलाई उल्लेख गरिएको छ । दुवैको बिचौलिया बनेर व्यवस्थापन गर्ने दावा छिरिङलाई देखाइएको छ ।

फरार रहेका दावाजिन र हाल थुनामा रहेका दावा छिरिङ सत्तारूढ माओवादीका नेताहरू पूर्वसभामुख कृष्णबहादुर महरा र पूर्वमन्त्री वर्षमान पुन तथा माओवादीका पूर्वनेतासमेत रहेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनको परिवार निकट रहेको अनुसन्धानबाट खुलेको छ । दावाजिनले नेपालमा फलफूल आयात गर्ने व्यापारीको आवरणमा माओवादी नेताहरूसँग सम्बन्ध बनाएर सुन तस्करी गर्दै आएको खुलेको छ । महराका छोरा राहुल भेप (विद्युतीय चुरोट) मा लुकाएर ल्याइएको सुन तस्करी प्रकरणमा थुनामा छन् । दावाजिनका साझेदार दावा छिरिङ पनि सीआईबीकै हिरासतमा छन् ।

भेप प्रकरणमा पूर्वसभामुख महरा पनि अनुसन्धानको घेरामा छन् । पूर्वउपराष्ट्रपति पुनका छोरा दीपेशलाई भने सीआईबीले सोधपुछ गरेर छोडेको थियो । सरकारी वकिल कार्यालयले पनि उनलाई प्रतिवादी बनाएको छैन । त्यस्तै पूर्वमन्त्री वर्षमानका भाइ प्रनिश पुन सुन तस्कर दावा छिरिङसँग साझेदार रहेको खुलेको छ । दावा छिरिङकी पत्नी अमला रोका सञ्चालक रहेको भियाना कम्पनीमा प्रनिश साझेदार देखिएका छन् । तस्करी प्रकरणमा अमला फरार छिन् । प्रनिशविरुद्ध पनि मुद्दा चलाइएन ।

सीआईबीका एसएसपी दिनेश आचार्यले ब्रेक सु प्रकरणको पहिलो चरणको अनुसन्धानका आधारमा मुद्दा गएको बताए । साथै उनले बाँकी अनुसन्धान अघि बढाइसकेको जानकारी दिए । ‘अदालतमा दायर मुद्दा ब्रेक सुबाट भित्रिएको सुनको मात्रै अनुसन्धानसँग जोडिएको विषय हो । भेपको अनुसन्धान जारी छ । अरू मालवस्तुमा भित्रिएको सुनमा पनि हेरिरहेका छौं,’ एसएसपी आचार्यले भने, ‘अपराधको एउटा सञ्जाल तोडिएको छ । अहिले अनुसन्धानको दायरामा नपरेका र तथ्य, प्रमाणले थप खुलाएमा पछि पूरक प्रतिवेदन फेरि बुझाउँछौं ।’ सरकारी वकिल कार्यालयले पनि प्रमाणले पछि पुष्टि भएबमोजिम हुने भन्दै अनुसन्धानलाई खुला राखेर अभियोजन गरेको छ । तीनपुस्ते कसुर नखुलेका तर तस्करीमा संलग्न १५ विदेशी नागरिकलाई नेपालभित्र पक्राउ परेको बखत सोहीअनुसार हुने गरी हाललाई प्रतिवादीको सूचीमा राखिएको छैन ।

मुद्दामा प्रतिवादी बनाइएका भन्सारका ५ कर्मचारीमध्ये अधिकृतद्वय सन्तोष चन्द र गणेशप्रसाद पौडेल, नासुद्वय वीरेन्द्र नेपाली र सरोज श्रेष्ठ तथा खरिदार कुमार ढकालविरुद्ध अख्तियारबाट र बाँकीको हकमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमार्फत अनुसन्धान गर्न ती निकायमा लेखी पठाउने पनि निर्णय भएको सरकारी वकिल कार्यालयले जनाएको छ । २०८० असार २९ मा क्याथे प्यासिफिकको उडानबाट स्कुटरका ब्रेक सुसहित विभिन्न सामग्रीका आवरणमा भित्र्याइएको करिब ६१ केजी सुनसहितका सामान साउन २ मा राजस्व अनुसन्धान विभाग र सशस्त्र प्रहरीको टोलीले विमानस्थल भन्सारपछि सिनामंगल सडकबाट बरामद गरेको थियो । त्यसपछि १९ दिन विभाग आफैंले अनुसन्धान गरेकोमा अपराध संगठित किसिमको देखिएको भन्दै सीआईबीलाई अनुसन्धानको जिम्मा लगाइएको थियो । त्यसअघि २०७९ पुस १० मा भेपमा लुकाएर ल्याइएको ९ केजी सुनको अनुसन्धान पनि सीआईबीमै विचाराधीन थियो । दुवै अनुसन्धानलाई एकै ठाउँमा राखेर अनुसन्धान गरेको सीआईबीले पछिल्लो ११ महिनामा ३ सय ६३ केजी सुन तस्करीबाटै भित्रिएको पत्ता लगाएको हो ।

अनुसन्धानकै क्रममा पछिल्लो साढे २ वर्षमा सुन तस्करीबाट आर्जित करिब ४ अर्ब रुपैयाँ बराबरको कालोधन तस्करको हातमा पुगेको सीआईबीकै अनुसन्धानले पुष्टि गरेको छ । त्यसमध्ये ३ अर्ब ५५ करोड रुपैयाँभन्दा बढी रकम क्रिप्टो करेन्सी यूएसडीटी र ३० करोड भारु अन्य डिजिटल माध्यमबाट भुक्तानी भएको खुलेको थियो । यस्तै सुन तस्करले १३ करोड रुपैयाँ वाल्डो क्यासिनोमा कारोबार गरेको पुष्टि भएको थियो ।

प्रकाशित : आश्विन १, २०८० ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?