राजनीतिक रुपान्तरणका लागि बहिर्गमन नीति अनिवार्य : महामन्त्री शर्मा

काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक रुपान्तरणका लागि 'एग्जिट पोलिसी' (बहिर्गमन नीति) को आवश्यकता रहेको बताएका छन् ।

राजनीतिक रुपान्तरणका लागि बहिर्गमन नीति अनिवार्य : महामन्त्री शर्मा

सोमबार बसेको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले राजनीतिक दलहरुले एग्जिट पोलिसी बनाएको खण्डमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र सांसदहरु भइरहने प्रवृत्तिको अन्त्य हुने बताए ।

राजनीतिमा उमेर नभइ एजेण्डा महत्त्वपूर्ण हुने भए पनि महत्त्वपूर्ण पदहरुमा भने एग्जिट पोलिसी राख्न जरुरी देखिएको उनको तर्क थियो ।

‘रुपान्तरणको अभियान भनेर केही साथीहरुले नै कार्यक्रम गरेर हिँड्नुभयो, त्यहाँ कतिपय शब्द प्रयोग गर्दैगर्दा कमजोरी भएको छ भने ती साथीहरुले आत्मालोचना गरेर बस्नुपर्छ । तर त्यहाँ पनि केही महत्त्वपूर्ण विषयहरु संगठनका लागि गरौं भनेर आएका छन् । त्यसलाई पनि कांग्रेसले ग्रहण गर्नुपर्छ । राजनीतिक रुपान्तरणको लागि एउटा के जरुरी देखियो भने एग्जिट पोलिसी जरुरी देखियो । त्यो एग्जिट पोलिसी भनेको त्यो सबैमा थियो भने धेरै वर्ष पहिला सभापतिले राजनीतिबाट राजीनामा दिनुहुन्थ्यो । केही वर्षअघि लहर चलेको थियो । ७० वर्ष नाघेकालाई राजनीतिबाट बिदा गर्ने भनिएको थियो । एज नभइ राजनीतिमा एजेण्डा हुनुपर्छ भनेर मैले भन्दा म आलोचित भएँ । हामीले एग्जिट पोलिसी राखेको भए शेरबहादुर दाईले जस्तो ५ पटक हुन्थें भन्ने सोच्दैन । त्यसैले एग्जिट पोलिसी आवश्यक छ,’ महामन्त्री शर्माले भने ।

यस क्रममा उनले विभिन्न नयाँ दलहरुले मिसन २०८४ सञ्चालन गरे पनि २०८४ मा २००७ सालको जस्तो क्रान्ति नभइ निर्वाचन मात्र हुने बताएका थिए ।

साथै कालो मोसो दल्ने, शारीरिक आक्रमण गर्ने व्यक्तिलाई पार्टीमा कुनै स्थान दिन नहुने पनि उनले बताएका थिए । र कानुन हातमा लिने कार्यकर्ताको तत्काल सदस्यता खारेज गर्न पनि उनले प्रस्ताव गरेका थिए ।

प्रकाशित : श्रावण ८, २०८० १७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले यस वर्ष ल्याउने वार्षिक नीति तथा कार्यक्रम मुख्य रुपमा कुन क्षेत्रमा बढी केन्द्रित हुनुपर्छ ?