कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८६

रिक्त भएको ७ महिनापछि नास्टमा उपकुलपति नियुक्तिका लागि खुल्ला आवेदन माग

शिक्षामन्त्री अशोक राईको अध्यक्षतामा गठित सिफारिस समितिमा नास्टका प्राज्ञहरु समेत रहेका प्राध्यापकद्वय भरतमणि पोखरेल र शैलेन्द्रकुमार मिश्र सदस्य छन् ।
नास्टको इतिहासमा पहिलो पटक उपकुलपतिका लागि खुल्ला आवेदन माग
गोविन्द पोखरेल

काठमाडौँ — नेपाल विज्ञान तथा प्रविधि प्राज्ञ प्रतिष्ठान(नास्ट)मा उपकूलपति रिक्त भएको ७ महिनापछि सरकारले नियुक्ति प्रक्रिया सुरु गरेको छ । २०७९ सालको पुसमा सुनिलबाबु श्रेष्ठको कार्यकाल सकिएपछि नास्टमा उपकुलपति रिक्त छ ।

रिक्त भएको ७ महिनापछि नास्टमा उपकुलपति नियुक्तिका लागि खुल्ला आवेदन माग

कुलपति समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले सहकुलपतिको अध्यक्षतामा दुई जना प्राज्ञ सदस्य रहेको सिफारिस समित गठन गरेका छन् । नास्टको सहकुलपति शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री हुने व्यवस्था छ । सिफारिस समितिमा नास्टका प्राज्ञहरु समेत रहेका प्राध्यापकद्वय भरतमणि पोखरेल र शैलेन्द्रकुमार मिश्र सदस्य छन् । सिफारिस समितिले सिफारिस गरेका व्यक्तिहरूमध्ये कुनै एक जनालाई कुलपतिले उपकुलपति चयन गर्ने व्यवस्था छ ।

सिफारिस समितिको गठनसँगै नास्टको इतिहासमा पहिलो पटक उपकुलपति चयनका लागि खुल्ला दरखास्त आह्वान भएको छ । नास्टको ऐनमा भएको व्यवस्था बमोजिम नै सिफारिस समितिले उपकुलपतिका लागि इच्छुक हुने व्यक्तिहरूले आफ्नो कार्ययोजना र बायोडाटासहित शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई असार १० गतेसम्म बुझाउन भनेको छ ।

सिफारिस समितिको सूचना अनुसार नास्टको उपकुलपति हुन इच्छुक व्यक्तिहरू विज्ञान तथा प्रविधिको क्षेत्रमा उत्कृष्ट योगदान दिएका व्यक्ति हुनुपर्ने उल्लेख छ । नास्ट ऐन,२०४८ को दफा १९को उपदफा(१क)मा उपकुलपतिमा हुने व्यक्तिले विज्ञान तथा प्रविधिको क्षेत्रमा उत्कृष्ट योगदान गरेको हुनुपर्छ । इच्छुक व्यक्तिहरूले विज्ञान तथा प्रविधिको क्षेत्रमा आफूले पुर्‍याएको योगदान,विज्ञान तथा प्रविधि क्षेत्रको विकास र समृद्धिका लागि आफ्नो कार्ययोजनासहित लिखित निवेदन दिन समितिले भनेको छ ।

नास्टका प्राज्ञ दिनेशराज भुजुले पहिलो पटक आवेदन माग गरेर नियुक्ति प्रक्रिया सुरु गर्ने काम स्वागतयोग्य रहेको बताए । उनले भने, 'नास्टमा बल्ल पुरानो ऐन कार्यान्वयन भएको छ ।' नास्टका विज्ञान तथा प्रविधि स‌ंकायका प्रमुख समेत रहेका भुजुले कान्तिपुरसित भने,'यो कदमले नास्टमा प्राज्ञ र गैर प्राज्ञ सबैले आवेदन दिन पाउनेछन् ।'

नास्टमा यसअघि सिफारिस समिति गठन हुने र उक्त समितिले आफूलाई योग्य लागेको व्यक्तिहरुको सूची बनाउने र दलीय आबद्धताको आधारमा उपकुलपति नियुक्ति हुँदै आएको थियो ।

सिफारिस समिति गठन गरेपनि त्यसको निष्पक्षतामा भने प्रश्न गर्ने ठाउँहरु हुन सक्ने औंल्याउँछन् नास्टका प्राज्ञ समेत रहेका त्रिभुवन विश्वविद्यालयका इमिरेट्स प्रोफेसर डा प्रमोद कुमार झा । उनी भन्छन्, ' अन्य शैक्षिक एवं प्राज्ञिक संस्थाहरूमा यसअघि पनि खुला आवेदन माग गरेर नियुक्त भएपनि राम्रो नतिजा दिन नसकेको अवस्था छ । जो आएपनि नास्टलाई नेतृत्व गर्न सक्ने व्यक्ति आउनुपर्छ ।'

नास्टको उपकुलपतिको कार्यकाल ४ वर्षको हुन्छ । ऐनले नास्टको प्रज्ञासभा र परिषद्ले गरेका निर्णयहरु र निर्देशनहरु कार्यान्वयन गर्ने गराउने अभिभारा उपकुलपतिमा रहने व्यवस्था गरेको छ ।

नास्टमा हालसम्म ७ जना उपकुलपति भए । यस्तै दुई जनाले निमित्त उपकुलपति भएर काम गरे । तीमध्ये दुई जना गैरप्राज्ञ थिए ।

तत्कालीन शाही सरकारले २०३९ सालमा नास्ट गठन गर्दै प्रा रत्नशमशेर जबरालाई उपकुलपतिमा नियुक्ती गरेको थियो । जबरा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बहाल रहेकै बेला शाही सरकारले नास्टको उपकुलपतिमा जबराले नियुक्त गरेको थियो । पहिलो कार्यकाल सुःखद रुपमा बिताएपनि जबराको दोस्रो कार्यकाल भने राम्रो बन्न सकेन । कार्यकाल सकिनुअघि २ वर्षअगावै उनले राजीनामा दिएका थिए ।

कार्यकाल सकिनुअघि नै राजीनामा दिएपछि नास्ट नेतृत्वविहीन भएको थियो । निमित्त उपकुलपतिमा प्राडा पारश नारयण सुवालले करिब दुई वर्ष नास्टको नेतृत्व गर्ने मौका पाए ।

२०४९ सालमा नास्टको ऐन राजपत्रमा प्रकासित भएपछि १५ जना प्राज्ञमा नियुक्त भएका थिए । त्यसबेला प्राज्ञहरुमध्येबाट उपलकूपति चयन हुने व्यवस्था थियो । प्राडा दयानन्द बज्रचार्य र नास्टका प्राज्ञ केदारलाल श्रेष्ठले उपकुलपति बन्ने इच्छा देखाएपछि प्राज्ञहरुले मतदान गरेर उपकुलपतिका लागि सिफारिस गरेका थिए । हरेक प्राज्ञले उम्मेदवारहरुलाई १ देखि ५ अंक दिने र धेरै नम्बर आउनेलाई उपकुलपतिमा सिफारिस गर्ने समझदारी भएको थियो । श्रेष्ठले ४५ नम्बर पाएर उपकुलपतिका लागि सिफारिस भएका थिए । बज्रचार्यले ४३ नम्बर पाएका थिए । नास्टमा प्राज्ञहरुले निर्वाचन गरेर उपलकूपति सिफारिस गरेको पहिलो र अन्तिम थियो ।

श्रेष्ठको कार्यकाल पनि सुःखद हुन सकेन । उनले ३ वर्ष मात्रै काम गर्न पाए । नास्टमा सचिव, उपकुलपति र कर्मचारीहरुबीच विवाद हुँदा महिनौंसम्म नास्ट ठप्प भएको थियो । श्रेष्ठपछि नास्टका प्राज्ञ प्राडा धुव्रमान आमत्यले २ वर्षसम्म निमित्त उपकुलपति भएर काम गरेका थिए ।

२०५४ मा पहिलो पटक ऐन संशोधन भएपछि जोकोही व्यक्ति उपकुलपति हुने प्रावधान राखिएको थियो । त्यसपछि नियुक्त भएका प्राडा दयानन्द बज्रचार्य दुई कार्यकाल नास्टको उपलकूपति भएका थिए । उनलाई प्राज्ञहरुले अनुमोदन गरेर सिफारिस गरेका थिए ।

बज्रचार्यपछि नास्टमा प्राडा होमनाथ भट्टराई ठाडो नियुक्तिमा उपकुलपतिमा नियुक्त भएका थिए । उनी नास्टको प्राज्ञ नभई नियुक्त भएका थिए । भट्टराईपछि भौतिकशास्त्री प्राध्यापक सुरेन्द्रराज काफ्ले उपकुलपति बनेका थिए । उनी पनि नास्टका प्राज्ञ थिएनन् । त्यसपछि क्रमशः प्राडा जीवराज पोखरेल र सुनिलबाबु श्रेष्ठ नास्टको उपकुलपतिमा एक/एक कार्यकालमा बहाल भएका थिए । पोखरेल कांग्रेस र श्रेष्ठ माओवादीको कोटाबाट नियुक्त भएका थिए ।

प्रकाशित : असार ६, २०८० ११:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?