कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७
भिडियो

बाबु हराए, आमालाई कोभिडले लग्यो

घर–ठेगाना जनाउने कागजपत्र नहुँदा दुई छोरी ‘अनागरिक दैनिकी’ गुजार्दै
देवेन्द्र भट्टराई

काठमाडौँ — ‘साँघुरो गल्लीमा मेरो चोक छ,
यहाँ के छैन ? सबथोक छ ।’
कवि भूपी शेरचनको यो पंक्ति धोबीधाराभित्रको गल्लीमा बस्ने सविना–दीपिकाको जीवनमा जोडिएको दुःखान्त कथासँग मेल खान्छ । यी दिदीबहिनीसामु ‘टुहुरो’ हुनुभन्दा पनि ठूलो संकट तेर्सिएको छ– ‘अनागरिक’ हुनुको ।

बाबु हराए, आमालाई कोभिडले लग्यो

पूरै रहस्यमयी चलचित्रजस्तो लाग्ने यस कथामा सिन्धुपाल्चोक मूलघर भएका दीपक कोइराला र धरान, छाताचोककी सन्जमाया बम्जनको काठमाडौंमा भेटघाट हुन्छ । दैनिक ज्यालादारीका भरमा जीवन गुजारा गर्ने दुवैको मन मिलेपछि सँगै रहन, बस्न थाल्छन् । जीवनयापनको आ–आफ्नै धपेडी र अन्तरजातीय विवाहको तिरस्कारमाझ दुवैले नागरिकता झिक्न वा विवाह दर्ता गर्नसमेत पाएका थिएनन् । त्यही क्रममा जन्मिएकी जेठी छोरी सविना कोइराला (तामाङ) आज २६ वर्ष पूरा भएकी छन्, जो अहिले आफ्ना बा–आमाको परिबन्दका कारण खेप्नुपरेको पीडा सुनाइरहेकी छन् । आमा सन्जमाया धोबीधारा गल्ली–टोलमा संगीता तामाङ नामले चिनिएकी रहिछन्, उनको सहृदयी र विनयी स्वभाव टोलवासीले अझै सम्झिरहेका छन् ।

‘म डिल्लीबजारकै एक स्कुलमा ५ कक्षामा पढ्दै थिएँ, म ९ वर्षको हुँदा बहिनी पनि जन्मिएकी थिइन्, दुःखै गरेर भए पनि जीवन चलिरहेको थियो,’ मुस्किलले दुई दिदीबहिनी अटाउने डेरामा भेटिएकी सविना सुनाउँदै थिइन् ।उनले थपिन्, ‘बहिनी एक वर्षकी थिई, एक बिहान कोठाबाट निस्किएका बा फेरि फर्केर कहिल्यै आउनुभएन । प्रहरीमा सोधखोजका लागि जान पनि पाएनौं किनभने बुबाले आफ्ना कागजात, तस्बिर सबै साथैमा लिएर हिँड्नुभएको रहेछ । बुबाको नाम दीपक कोइराला र ठेगाना सिन्धुपाल्चोकबाहेक अरू विवरण र परिचय केही थिएन । बुबाले आफ्नो घर देखाउन परिवारलाई कहिल्यै नलगेको र आमा आफ्नो माइती कहिल्यै नगएको कुरा मलाई पनि थाहा थियो ।’

१७ वर्षअघि बाबुले घर त्यागेर हिँड्दा समाजमा माओवादी द्वन्द्वको थोरबहुत निखार छँदै थियो । कतै गएर खोजीनिती गर्न पनि नागरिकता वा अरू पहिचानको आधार चाहिने थियो । ‘अनि मैले पढाइ छाडें, बहिनीलाई मात्रै पढाउन सघाएँ,’ दीपिका सम्झिन्छिन्, ‘बहिनी पद्मकन्या विद्यालयमा पढ्दै थिई । उसलाई पढाउन र घर खर्च चलाउन आमा अरूका घरमा हाउसमेडझैं काम गर्नुहुन्थ्यो । त्यही पनि कोरोना संक्रमणले थलिएर २०७८ असारमा आमाको वीर अस्पतालमा निधन भयो । अनि त हामी दिदीबहिनी टेक्ने न समाउने भयौं ।’

अहिले सविना कमलपोखरीको एक पसलमा काम गर्छिन्, दीपिका पनि बिहान विद्यालयमा पढेर दिउँसो अरूकै घरमा काम गर्न जान्छिन् । अब १२ कक्षामा दीपिकाको जन्मदर्ता चाहिने र अरू कामका लागि दुवैलाई नागरिकता पनि चाहिने भएपछि यी दिदीबहिनीले बेहोरेको निसास स्थिति कहिनसक्नुको छ । ‘आमा बितेपछि हामी दिदीबहिनी सोधखोज गर्दै धरानसम्म पुगेका थियौं, त्यहाँ मामा–माइजू भेटिनु पनि भयो,’ सविना भन्छिन्, ‘यतिका वर्षपछि हामी मावल पुग्दा मामा–माइजू अचम्ममा पर्नुभयो तर सर्जिमिन, नाता–प्रमाणितका अनेक कानुनी प्रक्रिया पूरा गर्न तत्कालै सम्भव नहुने र भन्नासाथै जन्मदर्ता नहुने भनेपछि फर्केर धोबीधारा आयौं ।’

यता काठमाडौंमा आफ्नै वडा (३०) मा गएर वडाध्यक्ष र अरू जनप्रतिनिधिलाई भेट गर्दा पनि जन्मदर्ताको समस्या सुल्झन सकेन । आमाबाबुको पहिचान वा पितृत्व–मातृत्वको ठेगान पहिल्याउने लम्बेतान प्रक्रियाबारे उपदेश दिनेहरू भने वडा कार्यालयमा पनि प्रशस्तै भेटिन्छन् तर यी दिदीबहिनी नेपाल नागरिकता ऐनका प्रबन्धहरूले पनि सम्बोधन गर्न नसक्ने सकसको स्थितिमा बाँचिरहेका छन् । ‘हो, मेरी बहिनीलाई कोभिडले लगेपछि दुई भान्जी धरान आएका थिए । हामी बसेको यो १३ नम्बरको वडाध्यक्ष नेत्र काफ्ले मेरै बहिनी सन्जमायासँग स्कुलमा पढेको साथीसमेत हो । मैले भान्जीहरूको जन्मदर्ता र कागजी कामका लागि कुरा राखेको छु,’ सविना–दीपिकाका मामा शिव तामाङले फोनमा भने, ‘प्रक्रिया निकै लामो रहेछ । सर्जिमिनदेखि नाता प्रमाणित र अरू कुरा चाहिने रहेछ । तत्कालै हुन नसक्ने देखिएको छ ।’

यति कुरा गरिरहँदा पद्मकन्याकी विद्यार्थी दीपिका आफूले फुटबल, भलिबल, कबड्डीसहितका खेलकुदमा पाएको विजेता प्रमाणपत्र देखाइरहेकी थिइन् । साथै, आफूसँग रहेको सम्झना र नासोसरहको आमा सन्जमाया तामाङको एकमात्र धूमिल तस्बिर काखमा राखेर सुमसुम्याइरहेकी थिइन् । जेठी सविना भने मजेत्रो तानेर भेलसरी बहेका आँसु पुछिरहेकी थिइन् ।

प्रकाशित : जेष्ठ २८, २०८० ०६:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?