कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सर्वोच्च शिखर चुम्ने पहिलो प्रहरी

‘प्रहरी संगठन रोज्ने गाउँकै पहिलो बनेको म अहिले प्रहरीबाट सगरमाथा आरोहण गर्ने पहिलो बनेको छु, धेरै खुसी छु ।’
प्रकाश धौलाकोटी

काठमाडौँ — नेपाल प्रहरीका वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) पुरूषोत्तम नेपाली विश्वको सर्वोच्च शिखर सगरमाथाको शिखर चुम्ने पहिलो प्रहरी बनेका छन् । उनी नेपाल प्रहरीको मात्रै होइन, विश्वका १९५ देश सदस्य रहेको अन्तरसरकारी संगठन इन्टरपोलबाटै सगरमाथा शिखर चुम्ने पहिलो प्रहरी अधिकृत बनेका छन् ।

सर्वोच्च शिखर चुम्ने पहिलो प्रहरी

सगरमाथा आरोहणको सात दशक लामो इतिहासमा नेपाल प्रहरीबाट पहिलो आरोहण भएकोमा वरिष्ठ सई नेपालीलाई बधाई दिँदै नेपाल प्रहरी र इन्टरपोलले समेत खुसी साँटेका छन् ।

इन्टरपोलको १०० औँ वर्ष पुगेको सन्दर्भमा सिंगापुरमा आयोजित १८ औँ हेड अफ नेसनल सेन्ट्रल ब्युरोको सम्मेलनमा भाग लिन गएका प्रहरी महानिरीक्षक कुँवरले वरिष्ठ सई नेपालीले सर्वोच्च शिखरमा फहराएको नेपाल प्रहरी र इन्टरपोलको झण्डा बुधबार इन्टरपोलका पदाधिकारीलाई हस्तान्तरण गरेका छन् ।

सगरमाथा आरोही नेपालीलाई नेपाल प्रहरीले सम्मान गरेको छ भने इन्टरपोलले समेत सम्मानको घोषणा गरेको छ । उनलाई गृहमन्त्री नारायणकाजी श्रेष्ठले गत शुक्रबार प्रहरी प्रधान कार्यालयमा एक समारोहबीच साहसिक कार्यका लागि सम्मान गरेका थिए ।

सगरमाथा आरोहणको साहसिक यात्रा पूरा गरेका नेपालीले सर्वोच्च शिखरबाट आफूले विश्वका १९५ देशमा हिमाल आरोहण, हिमाली पर्यटन र नेपाल सुरक्षित छ भन्ने सन्देश प्रवाह गर्न सफल भएको दाबी गर्छन् । ‘मैले इन्टरपोल र नेपाल प्रहरी संगठनको प्रतिनिधित्व गरेर पहिलो पटक सर्वोच्च शिखर चुम्ने मौका पाएँ, मैले सर्वोच्च शिखरमा नेपाल प्रहरी र इन्टरपोलको झण्डा फहराएँ,’ उनी भन्छन्, ‘यो म, म आबद्ध संगठन र इन्टरपोलको लागि समेत खुसीको विषय बनेको छ । यसबाट विश्वका १९५ देशमा नेपालको हिमाल आरोहण र हिमाली पर्यटनसमेत सुरक्षित छ भन्ने सन्देश प्रवाह भएको छ ।’

इन्टरपोल र नेपाल प्रहरीको पूर्वस्वीकृति लिएर आरोहणमा लागेका नेपालीलाई २६ चैतमा मन्त्रिपरिषद् बैठकले आरोहणमा रोयल्टी छुट दिने निर्णय गरेको थियो । त्यसपछि महाराजगञ्जमा प्रहरीको ड्युटी छोडेर उनी २०८० को वैशाख २ गते नाम्चे उडे, र अर्को दिनबाटै आरोहणमा लागे । एक महिना लामो प्रयासपछि २ जेठको बिहान १०:१५ बजे वरिष्ठ सई नेपालीले सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा आफूलाई उभ्याएका थिए ।

नेपाल प्रहरीबाट यसअघि २०३१ सालमा प्रहरीको ९ सदस्यीय टोलीले पहिलोपटक ६,९२० मिटर उचाइको टुकुचे हिमाल आरोहण गरेको थियो भने २०३३ असोज १६ गते प्रहरीकै अर्को टोलीले ६,११९ मिटर उचाइको लोबुचे हिमाल आरोहण गरेका थिए । वरिष्ठ सई नेपालीले यसपटक आरोहणमा प्रहरी संगठनको त्यो इतिहास ब्रेक गरेका छन् ।

‘चुचुरोमा पुग्नुभन्दा पहिले मर्छु कि भनेर त्रसित थिएँ, तर जब चुचुरोमा पुगेँ, सबै बिर्सिएँ,’ सफल आरोहण पूरा गरेर काठमाडौं फर्किएका नेपालीले इकान्तिपुरसँग भने, ‘हिमाल आरोहण साहसिक कला होइन, भाग्यको कुरा रहेछ । मेरो भाग्य बलियो, मैले मृत्यु जितेर नेपाललाई, नेपाल प्रहरीलाई १९५ देशमाझ चिनाएँ ।’

त्यसो त सगरमाथा आरोहण गर्ने उनको सानैदेखिको रुचीको विषय हो । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–२, लुक्लामा जन्मिएका उनी सानैदेखि सगरमाथा चढ्नेबारे सोच्थे । गाउँमा अग्लो ढुंगा देख्नेबित्तिकै चुचुरोमा चढ्ने उनी एकदिन यसैगरी सर्वोच्च शिखर चढ्छु भनेर कल्पना गर्थे । उनका बुवाको व्यवसाय थियो, आरोहीहरूले खाने खानेकुराको । बुवाले आरोहणका दुःखसुख सुनाउँदा उनी चासो दिएर सुन्थे । सगरमाथाकै पेरिफेरिमा उनको बाल्यकाल बित्यो । ०५५ सालमा महेन्द्रज्योति माविबाट एलएलसी उत्तीर्ण गरेपछि पढाइका लागि उनी काठमाडौं आए, पछि उनको परिवार नै काठमाडौं सर्‍यो । तर, सगरमाथा चढ्ने चाहले उनलाई भने सधैँ हिमालतिरै डोहोर्‍याइरहन्थ्यो ।

‘सानो हुँदा रहर मात्रै थियो, ठूलो भएपछि त्यो सहज छैन भन्ने बुझियो । न आर्थिकरुपले सहज, न त परिवारको साथ, एउटा सामान्य परिवारको मलाई सगरमाथा चढ्ने सपना पूरा गर्न सहज हुने कुरै भएन,’ उनले आफ्नो विगतबारे सुनाउँदै अघि भने, ‘०६३ सालमा प्रहरीमा भर्ना भएँ, सईका रूपमा । तर प्रहरीमा पनि मेरो चासोचाहिँ आरोहणमै थियो ।’

प्रहरीमा भर्ना भएका उनले लगत्तै थाहा भए, त्यो बेलासम्म नेपाल प्रहरीबाट कसैले पनि सगरमाथा आरोहण गरेको छैन । अनि उनले प्रहरीभित्रै आफू सगरमाथा आरोहण गर्न चाहेको सुनाउन थाले । त्यसको १५ वर्षपछि प्रहरी संगठनबाटै उनको आरोहण सपना पूरा गरिदिएको छ ।

‘लुक्लाबाट प्रहरीमा भर्ना हुने म नै पहिलो व्यक्ति थिएँ, त्यहाँ बरू पर्यटन क्षेत्रमै काम गर्ने चलन छ । तर सरकारी सेवामा धेरै मान्छे आउँदैनन्,’ उनले भने, ‘प्रहरी संगठन रोज्ने गाउँकै पहिलो बनेको म अहिले प्रहरीबाट सगरमाथा आरोहण गर्ने पहिलो बनेको छु, धेरै खुसी छु ।’

अब उनको अर्को सपना छ, प्रहरीमा पर्वतारोहण शाखा ब्युँताउने ।

‘हिमाल आरोहण, पर्यटन र प्रहरी परिपूरक हुन् । पर्वतारोहणलाई सुरक्षित बनाउन प्रहरीको भूमिका आवश्यक छ,’ उनी भन्छन्, ‘नेपालमा ०३३ सालमा त्यस्तो प्रयास भयो, तत्कालीन आईजी स्वर्गीय खड्गजित बरालले हिमाल आरोहण शाखा स्थापना गर्नुभयो, त्यसले हिमाल आरोहणमा सुरक्षा, सरसफाई र उद्धारको काम गर्थ्यो, तर अहिले त्यो शाखा छैन । म त्यो शाखालाई फेरि ब्युँताउन चाहन्छु ।’

उनले त्यसका लागि प्रहरी प्रधान कार्यालयमार्फत् प्रक्रिया अघि बढिसकेको सुनाए । ‘नेपालको पर्यटनमा हिमाल आरोहण प्रमुख हो, हामीसँग यति धेरै हिमालहरू छन्, तर हिमालमा प्रहरीको भूमिका जति हुनुपर्ने हो, त्यो देखिएको छैन,’ उनी भन्छन्, ‘हिमाल सुरक्षित छ, सम्भव छ भन्ने सन्देश विश्वभरि जाने हो भने आरोहण नेपालको लागि राम्रो स्रोत बन्न सक्छ ।’

सर्वोच्च शिखर चढेर साहसिक कार्य पूरा गरेका नेपाली अहिले त्यसबेला मनमा पसेको डर व्यक्त गर्न पनि डराउँछन् । उनी भन्छन्, ‘जिन्दगीको माया नहुने मान्छेहरू मात्रै सगरमाथा चढ्न जाने रहेछन् । तर मलाई केही भएको भए, मेरो परिवारको के हालत हुन्थ्यो होला ?’

त्यसो त उनी चर्चित गीतकार पनि हुन् । उनले केही वर्षअघि सगरमाथाको आरोहीका दुःख वेदना समेटेर गीत लेखेका थिए । त्यसबेला अरुका कथा सुनेर शब्दमा उतारेका उनी अहिले त्यही दुःखको साक्षी बनेर फर्किएका छन् ।

‘जति फर्किएर आउँछु भन्ने आशा थियो, त्यति उतै मर्छु होला भन्ने त्रास थियो । मैले त हातमा लगाएको औंठी र एटीएम पनि श्रीमतीलाई छोडेर बिदा भएको थिएँ,’ आरोहणअघिको त्यो क्षण बोल्दै गर्दा उनले आफ्नै गीतका हरफहरू पनि सम्झिए :–

कत्ति चढ्नु उकाली हिउँको पहिरो र भीर

कसले बुझ्ने दुःखकष्ट आरोहीको पीर

कठ्याँग्रिएको चिसो हातले आइसएक्स समाई अघि बढ्दा

चस्स मुटु दुख्छ प्यारीले बिदाइमा आँसु झार्दा

विश्वसामु एक भई हामी शिरमा झण्डा राखौँला

जोखिम त हाम्रो रगतमा बग्छ, विश्वमा इतिहास रचौँला...

प्रकाशित : जेष्ठ २६, २०८० १७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?