२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

आयरल्यान्डका राष्ट्रपतिलाई राजदूत आचार्यले बुझाए ओहोदाको प्रमाणपत्र

नविन पाेखरेल

लन्डन — आयरल्यान्डका लागि समेत राजदूत रहेका बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले आयरल्यान्डका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएका छन् ।

आयरल्यान्डका राष्ट्रपतिलाई राजदूत आचार्यले बुझाए ओहोदाको प्रमाणपत्र

राजदूत आचार्यले बिहीबार विशेष समारोहबीच राष्ट्रपति माइकल डी हिगिन्ससमक्ष ओहोदाको प्रमाणपत्र बुझाएको दूतावासले जनाएको छ ।

डब्लिनस्थित राष्ट्रपति कार्यालयमा ओहोदाको प्रमाणपत्र ग्रहणपश्चात राष्ट्रपति हिगिन्सले राजदूत आचार्यलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिए । राष्ट्रपति हिगिन्सले आचार्यको कार्यकालमा दुई देशबीचको सम्बन्ध अझै प्रगाढ हुने विश्वाससमेत व्यक्त गरे ।

समारोहमा राजदूत आचार्यले राष्ट्रपतिको सुस्वास्थ्य र आयरल्यान्डका जनताको उत्तरोत्तर प्रगतिका लागि नेपालका राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालको सन्देश सुनाएका थिए ।

राजदूत आचार्यले कोभिड महामारीका बेला आयरल्यान्डले नेपाललाई पुर्‍याएको सहयोगको प्रशंसा गर्दै नेपालको राजनीतिक, सामाजिक र आर्थिक विकास तथा वर्तमान सरकारका विकास प्राथमिकताबारे अवगत गराए ।

शिक्षा, सूचना प्रविधि तथा पर्यटनका माध्यमबाट नेपाल र आयरल्यान्डबीच अझै मजबुत सम्बन्ध बनाउन सकिनेमा पनि दुवै सहमत भएका छन् । उनीहरूबीच आयरल्यान्डमा रहेका नेपाली समुदायले गरेको योगदानबारे पनि कुराकानी भएको दूतावासको विज्ञप्तिमा उल्लेख छ ।

सो अवसरमा राजदूत आचार्य, धर्मपत्नी सुनिता आचार्य र दूतावासका द्वितीय सचिव रामबाबु नेपालसमेत उपस्थित थिए ।

प्रकाशित : जेष्ठ २६, २०८० ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?