कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नीति तथा कार्यक्रम बोकेर ल्याइएको फाइल नै खाली भएपछि...

सुवास विडारी

मकवानपुर — वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्न प्रदेश प्रमुखलाई उपलब्ध गराएको फाइल नै खाली भेटियो ।

नीति तथा कार्यक्रम बोकेर ल्याइएको फाइल नै खाली भएपछि...

मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई वाचन गर्न उपलब्ध गराएको फाइलमा नीति तथा कार्यक्रम नै नभेटिएपछि प्रदेशसभामा केही बेर सबै अलमलमा परे ।

सांसदलाई वितरण गर्नका लागि प्रदेशसभामा ल्याइएको नीति तथा कार्यक्रम मुख्यमन्त्रीले प्रदेश प्रमुखलाई उपलब्ध गराएका थिए । मुख्यमन्त्री नीति तथा कार्यक्रम खोज्न हिँडेपछि केही समय सदनभित्र सांसदहरूबीच मुखामुखको अवस्था सिर्जना भएको थियो ।

आइतबार दिउँसो २ बजे बसेको प्रदेशसभा बैठकमा प्रदेश प्रमुख शर्माले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने सूची रहेको थियो । मुख्यमन्त्री जम्कट्टेलले मानवीय कार्यमा गल्ती हुने भन्दै अवस्था सामान्य बनाउन खोजेका थिए । ‘यो सामान्य प्राविधिक त्रुटि भयो । यो हाम्रो व्यवस्थापकीय कमजोरी हो,’ उनले भने ।

प्रतिपक्षी नेकपा एमाले र नेपाल मजदुर किसान पार्टीले सरकारले बिनातयारी नीति तथा कार्यक्रम ल्याउँदा भद्रगोलको अवस्था सिर्जना भएको भन्दै आपत्ति जनाएका थिए । ‘सरकारभित्रै समस्या छ भन्ने कुरा यही घटनाबाट प्रष्ट भएको छ । प्रदेश सरकार स्थापनादेखि हालसम्म सबैभन्दा कमजोर नीति तथा कार्यक्रम अहिले नै आएको छ,’ नेमकिपाका सांसद सुरेन्द्रराज गोसाईंले भने ।

प्रकाशित : जेष्ठ १४, २०८० १६:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?