कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शुक्लाफाँटा आरक्ष पीडितको समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले कञ्चनपुरका शुक्लाफाँटा आरक्ष पीडितको समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । सोमबार बिहान बालुवाटारमा कञ्चनपुरका जनप्रतिनिधिसहित आरक्ष पीडितहरुसँगको भेटमा प्रधानमन्त्री दाहालले जग्गा र क्षतिपूर्ति दिएर यथाशक्य चाँडो पुनर्स्थापनाका लागि प्रक्रिया अगाडि बढाउन प्रतिबद्धता जनाएका हुन् ।

शुक्लाफाँटा आरक्ष पीडितको समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

प्रधानमन्त्री भेट्न परराष्ट्रमन्त्री तथा कञ्चनपुर २ बाट निर्वाचित सांसद एनपी साउदको नेतृत्वमा सांसदहरु तारालामा तामाङ, प्रदेश सांसद ओमविक्रम भाट र आरक्ष पीडित संघर्ष समितिका पदाधिकारी तथा पीडितहरु बालुवाटार पुगेका थिए । पीडितका तर्फबाट संघर्ष समितिका सचिव प्रेमदत्त भट्टले प्रधानमन्त्री दाहाललाई ज्ञापनपत्र बुझाएका थिए । पीडितको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री दाहालले भने, ‘अहिले देशमा आर्थिक मन्दी छ । पुनर्स्थापनाका लागि पैसा दिन सकिने अवस्था छैन । आर्थिक मन्दी लागेको बेला जग्गा खोजेर दिनु उपयुक्त हुन्छ । कति दिने, कसरी दिने भन्ने मोडालिटी गठबन्धनका नेताहरु बसेर छलफल गरेर टुंग्याउँछौ । यो समस्याको समाधान हुन्छ, ढुक्क हुनुस् ।’

प्रधानमन्त्री दाहालले १४८० परिवार पहिचान गरेको पूर्वन्यायाधीश ठाकुर प्रसाद शर्मा नेतृत्वको आरक्ष समस्या समाधान आयोगको निर्णय नियालेर अगाडि बढ्ने प्रतिबद्धता समेत जनाएका थिए । ‘यो समस्या चाँडो भन्दा चाँडो सदाका लागि समाधान गर्न सरकार तत्पर छ । जसरी हुन्छ टुंगोमा पुर्याउनुपर्छ,’ उनले भने ।

आरक्ष पीडितसँगको छलफलमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. महेश्वर ढकालले पैसाले यो समस्या धेरै लामो समयदेखि थाँती रहेको भन्दै आर्थिक रुपमा मुआब्जा दिएर समाधान गर्नुपर्ने सुझाव दिएका थिए । ‘३२/३३ वटा आयोग बनेका छन् । अब पनि आयोग बनाएर ढुकुटी रित्याउनुभन्दा आर्थिक हिसाबले पैसा दिएर समस्या समाधान छिटो हुन्छ । भारतमा पनि यही मोडल अभ्यासमा छ । जग्गाभन्दा आर्थिकरुपमा मुआब्जा दिएर जाँदा उपयुक्त होला,’ उनले भने । तर प्रधानमन्त्री दाहालले देशमा आर्थिक मन्दी रहेको भन्दै पैसा भन्दा जग्गा नै दिनुपर्ने र जग्गा पहिचान गर्न निर्देशन दिएका थिए ।

परराष्ट्रमन्त्री साउदले आफ्नो क्षेत्रको यो धेरै पुरानो समस्या भएकाले चाँडो सम्बोधनका लागि निर्णय लिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । ‘कसरी समाधान गर्ने भनेर जानुपर्छ, बसेकै ठाउँमा नापी गराएर घरगोठको क्षतिपूर्ति दिने हो कि वा नयाँ ठाउँमा जग्गा उपलब्ध गराएर हुने हो कि, केर गरेर हुन्छ सम्बोधन हुनुपर्‍यो ।’ परराष्ट्रमन्त्री साउदले समस्या समाधानका लागि प्रधानमन्त्रीले प्रतिबद्धता जनाएको र यो विषयमा सरकारले छलफल अगाडि बढाएको बताए ।

तत्कालीन शाही शुक्लाफाँटा वन्यजन्तु आरक्ष विस्तारका क्रममा ०५८ सालमा विस्थापित भएका पीडितको अझै पुनर्स्थापना भएको छैन । राज्यले ३२ वटा आयोग बनाउँदा पनि पीडितले क्षतिपूर्ति तथा मुआब्जा पाएका छैनन् ।

प्रकाशित : जेष्ठ ८, २०८० १२:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?