२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

मनाङ जहाँ मुद्दै छैन

‘कहिलेकाहीँ हुने सामान्य भनाभन गाउँमै मिल्छ । ढुंगामुढा हुने झगडा हुँदैन, हुन लागेमा पनि मिलाइहाल्छन् । अदालत र प्रहरी प्रशासनसम्म पुग्दैन ।’
आश गुरुङ

लमजुङ — चारैतिर सेता हिमाल । बीचमा मर्स्याङ्दी नदी सुसाइरहेको छ । हिमाली भञ्ज्याङ थोराङ्ला (५,४१६ मि.) चढेर मुस्ताङ फड्किन पर्यटक लम्किरहेका छन् । सुन्दर अनि शान्त वातावरणमा बिहानै गुम्बामा पूजा हुन्छ । जहाँ शान्ति र अमनचयनको पाठ हुन्छ ।

मनाङ जहाँ मुद्दै छैन

गौतम बुद्धका उपदेश जपिन्छ । शान्तिको कामना गरिन्छ । त्यसपछि सबै आ–आफ्ना काममा व्यस्त । नेपालमै सबैभन्दा कम जनसंख्या ५ हजार ६ सय ५८ जना छन् । यीमध्ये कतिपय काठमाडौं बस्छन् । पोखरा, चितवन, बेंसीसहर केही बस्छन् । आपराधिक गतिविधि ज्यादै न्यून हुन्छ ।

मनाङमा अहिले मुद्दा छैन, न्यायाधीश पनि छैनन् । गत वर्ष वैशाख ३१ गते स्थानीय तह चुनाव गराएका न्यायाधीश पुनाराम खनाल साउनमा धनुषा जिल्ला अदालत जनकपुर सरुवा भए । त्यसपछि गएका न्यायाधीश उत्तम सिलवाल मंसिर ४ को निर्वाचन सकेर फागुनमा काठमाडौं काज सरुवा भए । त्यसपछि लमजुङका न्यायाधीश शिवप्रसाद खनाललाई हेर्ने जिम्मा दिइयो ।

खनालले गत फागुनमा दर्ता भएको सवारी ज्यानसम्बन्धी मुद्दा चैत २३ गते फर्स्यौट गरे । उनी चैत २६ गते फर्केर जिल्ला अदालत लमजुङ सम्हालिरहेका छन् । न्यायाधीश खनालका अनुसार अहिले मनाङ अदालतमा मुद्दा छैनन् । चालु आर्थिक वर्षमा ४ वटा मुद्दा रहेकोमा सबै फर्स्यौट भएको उनले बताए । फर्स्यौट भएकोमध्ये एउटा मुद्दा गत वर्ष सरेर आएको हो । ‘मैले मनाङ ङिस्याङ गाउँपालिकाको न्यायिक समितिमा गएर पनि हेरें । मुद्दा नै छैनन्,’ उनले भने ।

अदालतका स्रेस्तेदार तारादत्त बडूका अनुसार मुद्दा नहुँदा मनाङ शान्त छ । यस वर्ष २ वटा सम्बन्धविच्छेद र गत वर्षको सरेर आएको जबर्जस्ती करणी उद्योगको मुद्दा फागुनमै फैसला भइसकेको छ । फागुनमा दर्ता भएको सवारी ज्यानसम्बन्धी मुद्दा चैतमा फैसला भएपछि अदालतमा मुद्दा नरहेको उनले बताए ।

अदालतका कर्मचारी अहिले ६ जना काजमा छन् । ४ जनाको दरबन्दी खाली छ । अदालतमा अहिले ९ जना कर्मचारी छन् । ४ जना कार्यालय सहयोगी छन् । मुद्दा नहुँदा कर्मचारी कामबिहीन छन् । मनाङमा गत आवमा १५ मुद्दा रहकोमा १४ वटा फर्स्यौट भएको थियो । आव २०७७/०७८ मा ११ र आव २०७६/०७७ मा ८ वटा मुद्दा परेको थियो ।

सहायक प्रमुख जिल्ला अधिकारी शिशिर घिमिरेका अनुसार प्रशासन कार्यालयमा यस वर्ष ३ वटा मुद्दा परेकोमा २ वटा फर्स्यौट भएको र अभद्र व्यवहारसम्बन्धी एउटा मात्रै मुद्दा फर्स्यौट हुन बाँकी छ । आर्थिक वर्ष २०७८/०७९ मा एउटा मुद्दा परेको थियो । यस्तै, आव २०७७/०७८ मा ३ वटा मुद्दा परेको थियो । कारागारमा अहिले ४ जना छन् ।

प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुंगेलले मनाङमा मुद्दा नै नपर्ने बताइन् । ‘यहाँ सबैका व्यवहार शान्त छन् । प्रकृति नै शान्त छ । कहिलेकाहीं बाहिरबाट आएका कामदारबीचका केही मुद्दा भए मात्रै हो, नत्र मुद्दा नै पर्दैन’ उनले भनिन्, ‘जाडोमा धेरै यहाँ बस्दैनन् । सिजनमा आ–आफ्नो काम गर्नुपर्‍यो । स्थानीय झैझगडातिर लाग्ने फुर्सद नै छैन ।’

जिल्ला समन्वय समिति मनाङका प्रमुख चिनबहादुर घलेका अनुसार जघन्य आपराधिक गतिविधि मनाङमा हुँदैन । ‘सातोतिनो कहिलेकाहीँ हुने सामान्य भनाभन गाउँमै मिल्छ । ढुंगामुढा हुने झगडा हुँदैन । हुन लागेमा पनि मिलाइहाल्छन् । अदालत र प्रहरी प्रशासनसम्म पुग्दैन,’ उनले भने । उनले मनाङी मिलेर बसेकाले पनि झै–झगडा नहुने बताए ।

प्रकाशित : जेष्ठ ४, २०८० १४:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?